सहकारीपीडितको नाममा राजनीति गर्न खोजिंदै छ : बचतकर्ता संरक्षण अभियान
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले सहकारीपीडितलाई स्वार्थवश आयोजित राजनीतिक आन्दोलनमा सहभागी नहुन निर्देशन दिएको छ।
आफूलाई ‘कानूनभन्दा माथि हुँ’ भन्ने मानसिकता बोकेका नेतालाई जोगाउन भइरहेको आन्दोलनमा साथ दिन नहुनेमा अभियानको जोड छ। “कुनै नेता अहिले घरमा आएर तपाईंका लागि हामी लड्छौं भनेर ब्ल्याकमेल गर्यो भने बुझ्नुहोस् उसले आफ्नो राजनीति गर्न आएको छ,” अभियानका अध्यक्ष कुशलभ केसीले शुक्रबार जारी विज्ञप्तिमा भनेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘सहकारीपीडितलाई न्याय दे’ लेखिएको प्लेकार्ड सहित काठमाडौंको माइतीघरमा प्रदर्शन गरेकै दिन पीडितको संस्थाले यस्तो विज्ञप्ति जारी गरेको हो। सहकारी ठगी र संगठित अपराध सम्बन्धी आरोपमा पक्राउ परेका आफ्नो पार्टीका सभापति रवि लामिछानेको पक्षमा आन्दोलनमा उत्रिन रास्वपाका नेताले पोखरामा घरदैलो कार्यक्रम गरेका थिए। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई थुनामा राख्न अदालतले दोस्रो पटक म्याद थप गरेको छ।
१८ महीनादेखि जारी आन्दोलनलाई सम्बोधन गर्न एक शब्द खर्च नगरेको पार्टीले पीडितका नाममा राजनीति गर्न खोजिरहेको अभियानको निष्कर्ष छ। अभियानले भनेको छ, ‘तपाईंहरूका राजनीतिक स्वार्थ पूरा गर्न हाम्रा सदस्यहरूको बलि चढाउने काम बन्द गरिदिनुहोस्, होइन भने प्रतिकारमा हाम्रो महासंघ उत्रिन बाध्य हुनेछ।’
अभियानले मंसीर ५ गते बृहत् प्रदर्शनको आयोजना गरेको छ। पीडितको समस्या समाधान गर्न सरकारले चासो नदेखाएकाले आन्दोलन घोषणा गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ।
यो पनि पढ्नुहोस् :