बिखालु हावा बहने याम शुरू, सर्वसाधारणको स्वास्थ्य जोखिममा
नेपालमा वायु प्रदूषणको मौसम शुरू भएसँगै जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ, तर सरकार यसतर्फ ध्यान दिने गरेको छैन।
मनसुनी बादल बाहिरिएसँगै नेपाली आकाशमा एउटा वार्षिक अतिथिको आगमन हुन्छ। पूर्वानुमानित तर अनिच्छित पाहुना- वायु प्रदूषण। यस वर्ष पनि पश्चिमी वायुको प्रभाव जम्न थालेसँगै हामीले श्वास फेर्ने हावामा प्रदूषणका मसिना कणको मात्रा बढ्न थालेको छ र यो आगामी वर्षा याम शुरू हुनुअघिसम्म थप बाक्लो हुँदै जानेछ।
हिउँदका महीनामा डढेलो, सवारीसाधन, इँटाभट्टा तथा औद्योगिक क्षेत्रबाट उत्पन्न हुने प्रदूषणका मसिना कणले देशका मुख्य शहरलाई छोप्छ, जसले जनस्वास्थ्य तथा वातावरणमा गम्भीर असर पार्छ। यस्तो परिचित धूवाँ काठमाडौं उपत्यकामा जम्न थालिसकेको छ।
छिमेकी देश भारत र पाकिस्तानका विभिन्न शहरमा मौसमी वायु प्रदूषणको कहर शुरू भइसकेको छ। यो साता भारतको राजधानी दिल्ली सहित विभिन्न शहरमा वायु प्रदूषणको तह खतरनाक स्तरमा उक्लियो। सफा हावालाई शून्य र प्रदूषित हुँदै जाँदा स्वास्थ्यका लागि घातक हावालाई ५०० को मापन स्केलमा राखेर वायु गुणवत्ता सूचकांक तयार गरिन्छ।
कात्तिक पहिलो साता दिल्लीको हावाको सूचकांक ३०० भन्दा माथि उक्लिएको देखिएको छ। सामान्यतया सूचकांक १५० भन्दा माथि हुनु अस्वस्थ मानिन्छ। ३०० भन्दा माथि नाघ्नु त धेरै खराब अवस्था हो।
भारत र पाकिस्तानका विभिन्न शहरमा साताभरि नै हावाको सूचकांक अस्वस्थ अवस्थामा देखिएको छ। नेपालमा पनि काठमाडौं उपत्यकामा वायु गुणवत्ता सूचकांक अस्वस्थ स्थितिमा पुगिसकेको देखिएको छ।
भारतको पन्जाब र हरियाणाका किसानले धान काटेर खेतमा ठुटा र पराल जलाउने क्रम शुरू भएको छ। त्यसबाट निस्केको धूवाँ बोकेको पश्चिमी वायु नेपाली आकाशसम्म आइपुग्दा वायुको गुणवत्ता थप खस्किँदै जानेछ।
बितेका दुई हिउँदमा जस्तै यो वर्ष पनि हिउँदे वर्षाको सम्भावना कमजोर रहेको मौसमविद्ले बताएका छन्। हिउँदमा खडेरी लाग्यो वा कम पानी पर्यो भने डढेलोको जोखिम बढ्ने, जसले निकाल्ने धूवाँ मिसिएर वायुको गुणस्तर थप खस्किनेछ। पानी नपरेपछि कचौरा आकारको काठमाडौं उपत्यका झन् बाक्लो धूवाँले ढाकिने जोखिम छ।
परिचित संकट
नेपालमा वायु प्रदूषण लामो समयदेखि प्रमुख वातावरणीय र जनस्वास्थ्यको समस्या बनिरहेको छ। खासगरी हिउँदमा यसको असर ज्यादा हुन्छ। मौसमको फेरबदल, अन्तर्देशीय वायु प्रदूषणको प्रवाह र देशभित्र तीव्र शहरीकरणले यो समस्यालाई थप जटिल बनाएको छ।
जाडो मौसममा ‘इन्भर्सन’ भनिने प्रक्रिया बढ्छ। जमीनको सतह नजीकै चिसो हावाको एक तह बन्छ। यसलाई ढकनीले जस्तै तातो हावाको तहले छोपिदिन्छ, जसका कारणले प्रदूषण मिसिएको हावाको बहाव थुनिन्छ। अर्थात् वायुमण्डलीय कारण धूलोको बाक्लो तर मसिना कण भरिएको हावा जमीन नजीकै थुनिंदा यसले सूर्यको प्रकाशलाई धमिलो बनाउँछ, जसले गर्दा उपत्यकाको प्रदूषण थप बढ्छ। हरेक वर्ष निम्तिने यो समस्या पूर्वानुमानित भए पनि नियन्त्रणको प्रभावकारी प्रयास नगरिंदा असर थप गहिरिंदो छ।
पछिल्ला केही वर्षका तथ्यांकले पनि नेपालीले श्वास फेर्ने हावा खराब रहेको देखाउँछन्। गत हिउँदमा काठमाडौंमा उच्च वायु प्रदूषण भएका वेला ‘पीएम २.५’ भनिने हावामा नदेखिने धूलोको कण ४०० माइक्रोग्राम प्रतिघनमिटर नाघेको थियो, जुन विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित सीमाभन्दा कैयौं गुणा बढी हो। नेपालले २४ घण्टामा सरदर ‘पीएम २.५’ को मात्रा प्रतिघनमिटर ४० माइक्रोग्रामसम्म रहेको हावालाई स्वस्थ भनेर मापदण्ड तोकेको छ।
२०८० चैतको अन्तिम सातादेखि २०८१ वैशाखको तेस्रो सातासम्म काठमाडौंको हावा निस्सासिंदो गरी प्रदूषित भएको थियो। कैयौं दिन त विश्वका सबैभन्दा प्रदूषित शहरको सूचीमा काठमाडौं अग्रस्थानमा आयो। संसारकै उच्च वायु प्रदूषण भएका मुलुकमध्ये नेपाल आठौं स्थानमा रहेको ‘विश्व वायु गुणस्तर प्रतिवेदन, २०२३’ ले उल्लेख गरेको छ।
सन् २०२३ मा नेपालको हावामा आँखाले नदेखिने धूलोको कण ‘पीएम २.५’ सरदरमा ४२.४ माइक्रोग्राम प्रतिघनमिटर देखिएको थियो। विश्व स्वास्थ्य संगठनले हावामा ‘पीएम २.५’ को मात्रा वार्षिक औसत प्रतिघनमिटर पाँच माइक्रोग्रामभन्दा बढी हुन नहुने मापदण्ड तय गरेको छ। यस अनुसार नेपालको हावा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा झन्डै साढे आठ गुणा बढी प्रदूषित देखिएको हो। हावाको गुणस्तर मापन गर्ने ‘आईक्यू एअर’ का अनुसार गत वर्ष संसारका ११४ राजधानीमध्ये काठमाडौं ११औं प्रदूषित शहरका रूपमा दरिएको थियो।
दुई महीनाअघि प्रकाशित ‘एअर क्वालिटी लाइफ इन्डेक्स’ द्वारा प्रकाशित प्रतिवेदनले वायु प्रदूषणका कारण नेपालीको औसत आयु सरदरमा ३.४ वर्षले घटिरहेको उल्लेख गरेको छ। त्यस्तै, सबैभन्दा बढी प्रदूषण हुने महोत्तरी लगायत क्षेत्रमा नेपालीको आयु ५.३ वर्षसम्म कम हुन सक्ने आकलन गरेको छ।
यसैगरी, ‘द स्टेट अफ ग्लोबल एअर’ प्रतिवेदनले सन् २०२१ मा नेपालका ५० हजारभन्दा धेरै नागरिकले वायु प्रदूषणका कारण ज्यान गुमाएको उल्लेख गरेको छ। प्रतिवेदनका अनुसार यो वर्षभरि हुने कुल मृत्युको १९ प्रतिशत हो।
यी तथ्यांकले वायु प्रदूषण महामारीकै रूपमा रहेको देखाउँछन्। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नेपालले वायु प्रदूषण घटाउन सके तराईका बासिन्दाले ५.२६ वर्ष बढी बाँच्न पाउनेछन् भने काठमाडौंवासीले सरदरमा २.५८ वर्ष बढी जीवन पाउनेछन्।
नेपालको हावालाई बिखालु बनाउनेमध्ये मुख्य भूमिका छिमेकी देश भारतमा शुरू हुने खेतीपातीका ठुटाठाटी र रहलपहल जलाउने अभ्यासको छ। पन्जाब र हरियाणाका किसानले धानका ठुटा र पराल जलाएर अर्को बालीका लागि खेत तयार गर्छन्। यसबाट निस्किने धूवाँ पश्चिमबाट चल्ने वायुमा मिसिएर सिमाना पार गर्दै नेपाल भित्रिन्छ, जसले प्रदूषित हावालाई झन् विषाक्त बनाउँछ। हिउँद याममा नेपाली आकाशमा पश्चिमी वायुको प्रभाव हुन्छ, जसले गर्दा हावा पश्चिम दिशाबाट चल्छ।
नेपालको वायुलाई विषाक्त बनाउन डढेलोको पनि भूमिका छ। गाईबस्तुलाई खुवाउन पर्याप्त नयाँ घाँस पलाओस् भन्ने हेतुले किसानले हिउँदमा जंगलमा आगो सल्काउने गर्छन्। यसले डढेलोको रूप लिन्छ, जुन भयावह समस्या बन्न पुगेको विज्ञहरूले बताउँदै आएका छन्।
यसरी मनसुनी वर्षा शुरू हुनुअघिका महीनामा लाग्ने डढेलोले वायु प्रदूषणलाई थप खराब स्तरमा ओराल्छ। अमेरिकी अन्तरिक्ष निकाय नासाको मोडिज भू-उपग्रहले गत हिउँदमा नेपालभर पाँच हजारभन्दा धेरै स्थानमा डढेलो लागेको पहिचान गरेको थियो। यो पछिल्लो दशककै सर्वाधिकमध्ये एक हो।
हिउँदमा पानी परे वनमा सल्किएको आगोे छिटै निभ्छ भने जमीन ओसिलो रहने भएकाले डढेलो धेरै फैलिन पनि पाउँदैन। तर पानी नपर्दा डढेलो अनियन्त्रित रूपमा फैलिन्छ। गत हिउँद सुक्खा बितेको थियो। जल तथा मौसम विभागका अनुसार पोहोर हिउँदमा सरदरको १९.५ प्रतिशत मात्रै पानी पर्यो।
अर्कातिर, गाउँका बस्ती र शहरी क्षेत्रमा काठ र अन्य फोहोर जलाउने प्रचलनले पनि वायु प्रदूषण बढाउने गरेको छ। जाडोसँग जुध्न आगो ताप्ने मात्रै होइन, कानूनले वर्जित गरेको फोहोर समेत जलाउने गरिन्छ। यसमा नागरिक त भए नै, वायु प्रदूषणलाई नियन्त्रण गर्ने जिम्मेवारी पाएका स्थानीय सरकार पनि संलग्न छन्। वातावरण विभागको सन् २०२० को ‘वेस्ट मेनेजमेन्ट बेसलाइन सर्भे’ ले ३२.१ प्रतिशत नगरपालिकाले संकलित फोहोर जलाउने गरेको देखाएको थियो।
कालो धूवाँको मुस्लो छोड्दै सडकमा दौडिइरहेका बस, ट्रक लगायत सवारीसाधन त यसै पनि हावालाई श्वासै फेर्न मुश्किल बनाउने प्रधान कारक हुँदै हुन्। सन् २०२० मा प्रकाशित एउटा अध्ययनले काठमाडौंको वायु प्रदूषणमा मर्मत नगरी चलाइएका सवारीसाधनको १८ प्रतिशत भूमिका रहेको उल्लेख गरेको थियो।
अहिले दर्ता भएका सवारीसाधनको संख्या ५५ लाख हाराहारी पुगेको छ। यसमध्ये अधिकांश त पेट्रोलियम पदार्थबाटै चल्ने साधन छन्। सरकारले सवारीसाधनबाट निस्किने वायु प्रदूषणलाई नियन्त्रण गर्न मापदण्ड पनि बनाएको छ। यस अनुसार चारपांग्रे सवारीसाधन हरेक वर्ष धूवाँ जाँच गराएर उत्तीर्ण भएपछि मात्रै सडकमा निस्किन पाउँछन्। तर काठमाडौं उपत्यकाका तीनमध्ये एक सवारीसाधनले मात्रै नियमित धूवाँ जाँच गराइरहेको भेटिएको छ।
जनस्वास्थ्य प्रणाली र अर्थतन्त्रमा असर
हरेक वर्ष हिउँदे प्रदूषणको वेला काठमाडौं उपत्यकाका अस्पताल श्वासप्रश्वासजन्य रोगको नयाँ लहरको सामना गर्न तयार रहनुपर्छ। अस्पतालमा दम, निमोनिया, रुघाखोकी सहितका वायु प्रदूषणसँग सम्बन्धित रोगबाट पीडित बिरामीको संख्या बढ्दै जान्छ। बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीको स्वास्थ्य वायु प्रदूषणको प्रकोपबाट थप प्रभावित हुन्छ। गत वर्ष हिमालखबरले गरेको अध्ययनमा अस्पताल पुगिरहेका बालबालिकामध्ये श्वासप्रश्वास सम्बन्धी समस्या हुनेको संख्या धेरै रहेको देखिएको थियो।
काठमाडौंको ह्याम्स अस्पतालका श्वासप्रश्वास रोग विशेषज्ञ डा. राजु पंगेनी मनसुन सकिए लगत्तै अस्पतालमा श्वासप्रश्वासका रोगीको संख्या लगातार बढ्दै जाने र यो क्रम मनसुन शुरू हुनुअघिसम्म रहने बताउँछन्। “वायुको खराब गुणस्तरले गर्दा जाडो याममा श्वासप्रश्वासका बिरामीको भर्ना दर बढ्छ,” डा. पंगेनी भन्छन्, “अस्पतालमा बिरामी भएर चिकित्सकको परामर्श लिन आउने मात्रै होइन, भर्ना हुने तथा सघन उपचार कक्षमा उपचार गर्नुपर्ने बिरामी समेत अधिकांश श्वासप्रश्वाससँग सम्बन्धित रोगका हुन्छन्। यो सबै वायु प्रदूषणले गर्दा भएको प्रस्टै छ।”
वायु प्रदूषण नभएका वेलाभन्दा प्रदूषण उच्च भएका वेला रुघाखोकी जस्ता साधारण समस्या समेत जटिल बन्न सक्ने डा. पंगेनी बताउँछन्। बालबालिकाका सम्बन्धी चिकित्सक डा. गणेश राई डेढ-दुई दशकअघि झाडापखाला, टाइफाइड, जन्डिस, कुपोषणका बिरामी बालबालिका धेरै जँचाउन आउने गरेकामा अहिले श्वासप्रश्वासका बिरामीको संख्या धेरै हुने बताउँछन्।
हावा विषाक्त बन्दै जाँदा यसको नदेखिने प्रभाव पनि भयावह तरीकाले बढिरहेको छ। सन् २०१९ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रकाशन गरेको ‘बर्डन अफ डिजिज्’ प्रतिवेदनमा वायु प्रदूषणसिर्जित रोगका कारण नेपालमा दैनिक ४९ जनाको ज्यान जाने गरेको उल्लेख छ।
वायु प्रदूषणसिर्जित आर्थिक लागत पनि सानो छैन। खराब वायु गुणस्तरका कारण जनस्वास्थ्यमा पुगेको असरबाट नेपालको अर्थतन्त्रले ६ प्रतिशत जति रकम घाटा बेहोरिरहेको विश्व ब्यांकले अनुमान गरेको छ। यो भनेको वार्षिक तीन खर्ब ४२ अर्ब रुपैयाँ हुन्छ। दूषित हावाले बिगार गरेका श्रमिकको श्रम उत्पादकत्व गुम्नु, उपचार खर्च बढ्नु र प्रदूषणका कारण कार्यक्षमता घट्नुले आर्थिक भार झन् बढाइरहेको छ।
काठमाडौं जस्ता शहरी क्षेत्रमा प्रदूषणले दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ। हावामा बाक्लो धूलोका कण जमेपछि घाम छेकिएर हिउँदका दिनमा घामको राप हराउँछ, प्रकाश मधुरो हुन्छ। यसले जनजीवनलाई थप कष्टकर बनाउँछ।
त्यसभन्दा पनि महत्त्वपूर्ण त हिमाली क्षेत्रको पदयात्रा र हिमाली दृश्यलाई प्रदूषण अर्थात् बाक्लो तुँवालोले छेकिदिन्छ। जसले गर्दा आन्तरिक तथा बाह्य पर्यटक भ्रमण गर्न हिचकिचाउँछन्। यसले देशको पर्यटन क्षेत्रमा दीर्घकालसम्मै खराब असर पार्ने पर्यटन व्यवसायी बताउँछन्।
भयावह समस्या निम्त्याउँदा पनि नेपालमा वायु प्रदूषण नियन्त्रणका प्रयास भने निकै सुस्त छन्। सरकारले सवारीसाधन र औद्योगिक स्रोतबाट उत्सर्जन कम गर्न बनाएका नीतिहरू नै कार्यान्वयन गर्न सकेको छैन। काठमाडौं उपत्यकामा धूवाँ फाल्दै दौडिने सवारीसाधन यसका उदाहरण हुन्।
यस्तै, फोहोर जलाउन रोक्ने तथा जलाउनेलाई कारबाही गर्ने जस्ता कानून कार्यान्वयन हुने गरेका छैनन्। मन्त्रिपरिषद्ले २०७६ सालमै ‘काठमाडौं उपत्यकाको वायुको गुणस्तर व्यवस्थापन कार्ययोजना’ बनाएको थियो। यसमा सवारीसाधनको उत्सर्जन घटाउन एक वर्षभित्र सवारीसाधनको प्रदूषण मापदण्ड ‘यूरो-४’ लागू गर्ने, फोहोर जलाउन रोक्ने, डिजेलबाट चल्ने सवारीमा फिल्टर प्रयोग गर्नुपर्ने व्यवस्था लागू गर्ने सहितका बुँदा समेटिएका थिए। झन्डै पाँच वर्ष पुग्न लाग्दा कार्ययोजना कार्यान्वयनमा आएको छैन।
प्रदूषण नियन्त्रणका लागि भारतसँग सीमा पार सहयोग गर्ने विषयमा छलफल त भएकै छैन। जसले गर्दा नियन्त्रणविहीन र सीमापार प्रदूषणको असर नेपालले भोग्न परिरहेको छ। विज्ञहरू प्रभावकारी राजनीतिक इच्छाशक्ति र नागरिकप्रतिको जवाफदेही विना यी उपाय कार्यान्वयनमा नआउने बताउँछन्।
वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दास सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील हुने हो भने तत्कालै सवारीसाधनको धूवाँ जाँच गरी खराब अवस्थाका गाडीलाई सडकमा निस्कन रोक्नुपर्ने बताउँछन्। फोहोर र कृषि अवशेष बाल्न रोक्ने तथा यसका लागि स्थानीय सरकारले समेत सार्वजनिक सूचना एंव सचेतताका प्रयास थाल्नुपर्ने डा. दासको सुझाव छ।
सरकार धेरै संवेदनशील नदेखिएकाले नागरिक आफैंले प्रदूषणसँग बच्ने उपाय खोज्नुपर्ने उनको भनाइ छ। खासगरी घर बाहिर निस्कँदा मास्क लगाउने, बढी प्रदूषण भएका वेला घर बाहिर ननिस्किने तथा जाडो महीनामा दाउरा र फोहोर बालेर आगो नताप्ने जस्ता उपायले प्रदूषणको सामना गर्न सघाउँछ।
छाती तथा सघन उपचार रोग विशेषज्ञ डा. राजु पंगेनी सडक र बढी प्रदूषण भएको वेलामा घर बाहिर निस्कने व्यक्तिले प्रदूषण रोक्ने खालको मास्क लगाउनुपर्ने बताउँछन्। घरभित्रको धूवाँ कम गर्न तथा खुला स्थानमा आगो नबाल्न डा. पंगेनी सुझाउँछन्। उनी खासगरी बालबच्चा, वृद्धवृद्धा र दीर्घरोगका बिरामी संवेदनशील समूह भएकाले प्रदूषणसँग बच्नुपर्ने बताउँछन्।
आउँदो हिउँदमा बढीभन्दा बढी पानी परिदियो भने प्रदूषणको मात्रा केही घट्न सघाउनेछ। नत्र अहिलेका लागि आमनागरिकले प्रदूषित मौसमको सामना गर्नुको विकल्प छैन।
वायु प्रदूषण सम्बन्धी थप सामग्री: