पारिजातका चिठी चियाउँदा
पारिजातका चिठीमा अभाव र पीडा मात्र छैन, जिउन र लेख्नका लागि गरेको संघर्ष र जिद्दीपन पनि छ।
निर्जला अधिकारी
२०५० सालपछि जन्मेका धेरैका लागि चिठी लेखन नौलो विधा हो। यही नौलो विधाले मलाई पनि जिज्ञासु बनायो। कसैलाई चिठी नलेखेको र अरूले लेखेको पनि नदेखेको भएर होला, दुई जना साहित्यकारका चिठीले तान्यो। पछिल्लो एक महीना लगभग चिठी मात्र पढें।
भारतीय साहित्यकार अमृता प्रितमले आफ्ना प्रेमी इमरोजलाई लेखेका पत्र पढिरहँदा यो जोडीबीचको प्रेम र भाषाशैलीले पुलकित भएँ। चिठी साहित्य र अभिव्यक्तिको कति सुन्दर माध्यम रहेछ भन्ने पहिलो पटक अनुभूत भयो।
अमृतापछि पारिजातलाई पढ्न चाहन्थें। एकदिन अचानक पुस्तक पसलमा पारिजातको नयाँ संस्मरण भावुकताको सूर्यास्त, अनास्थाको अन्धकार भेटें। ९४ पानाको पुस्तकको मूल्य ३९९ रुपैयाँ थियो। स्थापित लेखक भएर पनि जीवनभर आर्थिक अभावमा बाँचेकी पारिजातको संस्मरणको आकाशिएको मूल्य देख्दा किन्न मन लागेन। पुस्तकको यो मूल्य त पारिजातका लागि पनि ठूलो ठट्टा थियो। यो दुःखद मजाक झैं लाग्यो।
घर फर्केपछि पनि त्यो मूल्यले लखेट्न छोडेन। अभावसँग संघर्ष गरेकी पारिजातलाई पढ्न अब सम्पन्न बन्नुपर्ने कुराले कताकता घोच्यो। अहिले पारिजातका नाममा राखिएको पुस्तकको चर्को मूल्यले उँचो कद र उनले बोकेको/हिंडेको विचारलाई अनादर गरेको हो कि भन्ने पनि महसूस भयो।
पारिजातको संस्मरण।
पारिजातको जीवनका कैयौं पहेली मेरा लागि सधैं बुझ्ने र बुझाउने माध्यम बनिराखेका छन्। स्नातकोत्तरको शोधपत्रमा पारिजातको जीवनलाई उनकै प्रिय पात्र सकमबरीसँग जोडेर हेरेकी थिएँ। किन ऊ चुरोट पिउँछे पारिजात झैं? किन सकमबरी फूललाई प्रेम गर्छे पारिजात झैं? यस्तै प्रश्नको उत्तर खोज्दै सकिएको थियो, शोधपत्र।
संस्मरणको मूल्यले निराश बनेर घर फर्केपछि पारिजातले दिल्लीमा रहँदा बहिनी सुकन्यालाई लेखेका पत्रहरू पल्टाएँ। यस अपराजिताः पारिजातका चिठीहरू पुस्तकमा पारिजातले सन् १९९३ देखि १९९५ सम्म उपचारका क्रममा भारतको दिल्लीमा रहँदा बहिनी सुकन्या र परिवारका अन्य सदस्यलाई लेखेका चिठी संकलित छन्।
सुकन्यालाई लेखेका प्रायः चिठीमा पैसाको अभावको विषय उल्लेख छ। एक त्यस्ती लेखक जसले आफ्नो समयको लेखनलाई अनेकौं बाधाबीच उचाइमा पुर्याए पनि पैसाको अभावले कहिल्यै नछोडेको कुरा चिठीले बोल्छन्। यो आलेख पारिजातको जीवन र उनले भोगेको रोग र अभावलाई उनकै चिठी मार्फत केलाउने प्रयास हो।
पुस्तकको शुरूआतमै सुकन्या लेख्छिन्, ‘रोगसँग अटुट संघर्षले तिम्रो पूर्वार्द्ध निश्चय नै नैराश्यपूर्ण थियो। त्यही रोगसँग जीवनको उत्तरार्द्धमा तिमी कस्तरी लड्न सक्यौ, यही विवरणहरू कोरिएका चिठीहरू आफैं बोल्छन्। सही मूल्यांकनका पक्षधर साहित्यकारहरूलाई पनि तिमीलाई भित्रैदेखि चिन्न, बुझ्न सहयोग पुग्ला कि भन्ने अर्को पक्षलाई ध्यानमा राख्दै प्रस्तुत गर्न लागिरहेछु।’
सुकन्याले लेखेका यी कुराले किताबको महत्त्व के छ भन्ने बोल्छन्। पुस्तकले समग्रमा पारिजातको रोगका कारण उत्पन्न कठिनाइबारे मिहिन जानकारी दिन्छ।
पारिजात र सुकन्याको सम्बन्ध
पुस्तकमा संकलन गरिएकामध्ये अधिकांश चिठी पारिजातले बहिनी सुकन्यालाई लेखेका हुन्। चिठीको संकलनकर्ता पनि सुकन्या नै हुन्। तथापि पुस्तकले पारिजात र सुकन्याबीचको सम्बन्धलाई देखाउँछ। नाताले बहिनी र उमेरले सानी भए पनि सुकन्याको भूमिका अभिभावक झैं लाग्छ।
कतिपय चिठीमा पारिजात आफैंले पनि त्यो कुरा व्यक्त गरेकी छन्। उनले लेखेकी छन्, ‘पैसाको अभाव भएको वेला लामाजीलाई गुनासो नपोख्नू है! म तेरो गृहस्थीको धड होइन, ऐंजेरु हुँ, जसलाई तिमीहरूले मलजल पुर्याउनुपर्छ अर्थात् पुर्याइराखेका छौ। यति भन्दा पनि तँ त फेरि चित्त दुखाउँछेस् नि! बाँच्नलाई जहाँ बाँचूँ, मर्नलाई तेरै घरको सँघार चाहिन्छ, सुकन।’

चिठीमा उल्लिखित यस्तै वाक्यले पारिजात र सुकन्याबीचको सम्बन्ध र त्यसको गहिराइबारे धेरै कुरा बोल्छन्।
त्यस्तै, चिठीहरू पढ्दा यस्तो लाग्छ, पारिजातले जसरी लेखिन् वा जे बनिन् त्यो सुकन्या बेगर सम्भव थिएन। सुकन्याको उपस्थितिले पारिजातलाई बुझ्न सघाउँछ। शायद सुकन्याले गरेको यो काम पनि पारिजातलाई नै बुझाउने प्रयास हो।
अभाव र शारीरिक अस्वस्थता
चिठीका अधिकांश प्रसंग अस्पतालका छन्। त्योसँगै महँगी र आर्थिक कठिनाइ पनि छन्। कतिपय प्रसंग रमाइला लाग्छन्। दुःख, पीडाका अँध्यारो समयमा पनि मानिस केही उज्यालोसँग ठोकिन्छ झैं लाग्छ। दिल्लीमा उपचारका क्रममा उनले जेजस्तो सम्मान पाइन्, त्यो सम्मानको अनुभूति चिठी पढ्दा गर्न सकिन्छ। तथापि अभाव र अस्वस्थता उनीसँग सधैं रहन्छ।
प्रत्येक चिठीमा पारिजात बहिनी सुकन्यालाई पैसाको कमीबारे अवगत गराइरहेकी नै हुन्छिन्। रोग र अभावकै उपज हुनुपर्छ, उनीसँग निराशा पनि जोडिन्छ।
कैयौं पटक उनले मृत्युबारे पनि बोलेकी छन्। ‘फूलहरू कहिल्यै सिद्धिंदैनन्। एक जना मरे पनि अर्को बाँचिरहन्छ। एउटा मरे पनि अर्को फुलिरहन्छ,” उनले लेखेकी छन्।
यो पढिरहँदा लाग्छ, पारिजात सकमबरी नै हुन्। यदाकता निराश झैं लागे पनि निस्सार भने लाग्दैन।
पारिजात सुकन्यालाई लेख्छिन्, ‘शरीरको मलाई त्यति मायामोह छैन, सुकन। मृत्युले के गर्छ र? एउटा मीठो छुटकारा दिन्छ, शारीरिक यातनादेखि। तर मैले जुन दुई-चार वटा काम शुरू गरेकी छु, त्यो सिध्याउनै पर्छ। जतिकै संघर्ष किन नपरोस्।’
बहिनी सुकन्यासँग पारिजात।
जति नै कष्ट भए पनि आफ्नो काम र लेखनप्रति लगाव र जिम्मेवारीबोध भेटिन्छ। रोगले उनलाई बलियो र कमजोर दुवै बनाए झैं लाग्छ। तर समग्रमा चिठी पढिरहँदा रोग र अभावसँग जुध्दाजुध्दै पनि पारिजातले जसरी आफूलाई अघि बढाएकी छन्, त्यसले पाठकलाई पनि अघि बढ्न प्रेरणा दिन्छ।
अप्रकाशित संस्मरण
पारिजातका विषयमा अध्ययन गर्ने कतिपय अध्येता तथा लेखकले उनले बाँचुन्जेल आत्मसंस्मरण प्रकाशित गर्न नखोजेको जिकिर गरेका छन्। चिठीमा पनि पारिजातले कैयौं पटक संस्मरण प्रकाशित गर्न चाहेको लेखेकी छन्। ‘सम्भव हुन्छ भने मेरो संस्मरणको भोल्युम छपाउने प्रकाशक पनि खोज्दै गर्नू है। पैसा मिले त हामीले छापेकोमा धेरै नाफा हुन्छ। बैंसको मान्छे जत्रो चार भाग हुन्छ,’ उनले लेखेकी छन्।
पारिजातले सुकन्यालाई पठाएका चिठीमा भने आत्मसंस्मरण नछाप्नेबारे केही भनेकी छैनन्। उनले एउटा चिठीमा भनेकी छन्, ‘बैंसको मान्छेका लागि कोशिश गर्नु नि हौ। त्यो किताब कतिलाई पुगको छैन। उपन्यास लेख्नेवाला छ, आत्मसंस्मरणभन्दा त्यो किताब नै पहिले निस्केला जस्तो छ।’
चिठीमा उल्लिखित संस्मरणको अन्तिम भाग भर्खरै बजारमा आएको छ, तर त्यसबाट जीवनपर्यन्त प्रकाशन गर्न नचाहेको कुरा खुल्दैन।
जिद्दीपन र अठोट
चिठीमा जति पारिजात निराश देखिन्छन् उति नै जिद्दी र आँटिली पनि। शायद पारिजातको आँटिलोपनले जिउन र लेख्न सिकायो। ‘धेरै गुनासो पनि के गर्नु हगि? यस्तो भै नै रहन्छ। सहनै पर्दो रहेछ तर यसपालि मैले औषधिलाई नै चुनौती दिएँ। सबै औषधि ममा परस्पर विरोधी भैसकेछन्,’ उनले लेखेकी छन्।
यस्ता वाक्य चिठीमा धेरै भेटिन्छन्। शायद उनमा जिद्दीपन नहुँदो हो त ती सबै रोग र चुनौतीसँग जुध्न सजिलो हुने थिएन।
यो पारिजातका चिठी मार्फत उनलाई बुझ्न गरिएको एक पाठकीय अवलोकन मात्र हो। चिठीमा अभाव र पीडा मात्र छैन, जिउन र लेख्नका लागि पारिजातले गरेको संघर्ष र जिद्दीपन पनि छ। चिठी पढिसक्दा लाग्यो, पारिजात र अमृता भिन्न भूगोलका तर आफ्नै भूगोललाई नाघेका उन्मुक्त आत्मा हुन्।
पारिजातबारे थप सामग्री पढ्नुहोस्: