स्याङबोचेभन्दा माथि हेलिकोप्टर उडाउन निषेध
सगरमाथा राष्ट्रिय निकुञ्जले तीन हजार ८०० मिटरको उचाइमा पर्ने स्याङबोचेभन्दा माथि हेलिकोप्टर उडाउन निषेध गरेको छ।
निकुञ्जले कात्तिक ८ मा नागरिक उड्डयन प्राधिकरण, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र नेपाल प्रहरी लगायत सरोकारवाला पक्षलाई पत्राचार गरी हेलिकोप्टर उडानमा रोक लगाएको हो। निकुञ्ज क्षेत्रमा दैनिक ५० भन्दा बढी हेलिकोप्टर उडान भइरहेकाले ध्वनि प्रदूषण भई जनावरको आनीबानीमा समेत असर पर्नुका साथै वातावरणमा प्रतिकूल असर परेको जनाउँदै हेलिकोप्टरको व्यावसायिक उडानमा निषेध गरिएको पत्रमा उल्लेख छ।
निकुञ्जले सगरमाथा क्षेत्रको सुरक्षार्थ नाम्चेमा रहेका नेपाली सेनाको भगवती प्रसाद गुल्म, नाम्चे इलाका प्रहरी कार्यालय, स्थानीय खुम्बु पासाङ गाउँपालिका र मध्यवर्ती क्षेत्र व्यस्थापन समितिलाई समेत पत्राचार गरेर हेलिकोप्टर उडानमा रोक लगाउने निर्णय कार्यान्वयन गर्न अनुरोध गरेको छ।
पछिल्ला वर्षमा सगरमाथा आरोहणको समय र पर्यटकीय याममा सगरमाथा क्षेत्रमा पर्यटक र आरोही ओसारपसार गर्न हेलिकोप्टरको प्रयोग अत्यधिक बढेकोमा निकुञ्जले चिन्ता जनाएको छ। निकुञ्ज क्षेत्रमा दैनिक हेलिकोप्टर उडान हुन थालेपछि ती क्षेत्रमा पाइने जंगली जनावर दिनभर देखिन छाडेका छन्। भयभीत जनावर हिमनदीको खोचमा जाने गरेको निकुञ्ज कर्मचारीको भनाइ छ।
स्याङबोचे तीन हजार ८०० मिटरको उचाइमा पर्छ। पर्यटन व्यवसायीले पाँच हजार मिटरभन्दा उचाइको क्षेत्रमा रहेको सगरमाथा आधारिशिविर, गोक्यो, कालापत्थरसम्म हेलिकोप्टर लिएर पर्यटक ओसार्ने गरिरहेका छन्।
अत्यधिक हेलिकोप्टर उडानले वातावरणीय हिसाबले संवेदनशील रहेको सगरमाथा क्षेत्रमा प्रतिकूल असर परेको स्थानीय बासिन्दाको पनि गुनासो छ। उनीहरूले हेलिकोप्टरका कारण उत्पन्न नकारात्मक असरलाई न्यूनीकरण गर्न उडानमा रोक लगाउनुपर्ने माग गर्दै आएका थिए।
२०७९ सालको वसन्तकालीन आरोहणको वेला स्थानीय बासिन्दाले स्याङबोचेभन्दा माथिको क्षेत्रमा हेलिकोप्टर उडान रोक्नुपर्ने माग राखेका थिए। हेलिकोप्टर उडानका कारण सगरमाथा आसपासको क्षेत्रमा हिमपहिरो गइरहने भएका कारण सगरमाथा आधारशिविरमा जोखिम बढेको उनीहरूको तर्क थियो। त्यस्तै, हेलिकोप्टर उडानले स्थानीय भरियाले काम नपाएको र रोजगारी खोसिएको उनीहरूको गुनासो थियो।
स्थानीय सरकारले वातावरणीय र रोजगारीको मुद्दा उठाएर सगरमाथा आधारशिविर नजीकसम्म सामान लैजान हेलिकोप्टरको सट्टा चौंरी, जोक्पे र भरिया प्रयोग गर्नुपर्ने अडान राखेका थिए। तर पर्वतारोहण र हेलिकोप्टर व्यवसायीको पहुँच र बलजफ्तीका कारण उनीहरूको आन्दोलन यत्तिकै निस्तेज भएको थियो। त्यसपछि हेलिकोप्टरको निर्बाध उडान चलिरहेको थियो।
सगरमाथा आरोहणको वेला सगरमाथा आधारशिविर पुग्नुअघि आरोहीलाई करीब दुई महीनासम्म आवश्यक खाद्यान्न र बन्दोबस्तीका सामान काठमाडौंबाट हेलिकोप्टरमा ओसार्ने गरिन्छ। सामान ओसार्न सगरमाथा आधारक्षेत्रको तल्लो बस्तीसम्म हेलिकोप्टरको ओहोरदोहोर चलिरहन्छ।
आरोहीका लागि आवश्यक टेन्ट, लत्ताकपडा‚ अक्सिजन सिलिन्डर, पकाउने भाँडाकुँडा‚ खाद्यान्न, पेयपदार्थ र पर्वतारोहणमा चाहिने सामग्री आधारशिविरसम्म ओसार्नु सामान्य भइसकेको छ। यी सबै वस्तु आधारशिविरमा पुगेपछि र आरोहणका लागि शिखरसम्म बाटो तयार भइसकेपछि मात्र चुचुरोको यात्रा शुरू हुन्छ। सगरमाथा क्षेत्रमा अहिले शुरूआती चरणका काम भइरहेको छ।
स्थानीय खुम्बु पासाङल्हामु गाउँपालिकाले वातावरणीय र स्थानीय रोजगारीको मुद्दा उठाएर आधारशिविर नजीकसम्म सामान लैजान हेलिकोप्टरको प्रयोग गर्न नहुने बताएको थियो। तर चार हजार ४०० मिटर उचाइको दिङबोचे, फेरिचे र आधारशिविरसम्म हेलिकोप्टरबाट खाद्यान्न र आरोहण सामग्री ओसार्न थालिएको छ। आरोहणको वेला आपत्कालीन उद्धारको नाममा सगरमाथाको दोस्रो शिविर र आधारशिविरसम्म पनि हेलिकोप्टर उडान निर्बाध रूपमा हुँदै आएको थियो।
स्थानीय र गाउँपालिकाले भने आरोहण व्यवस्थापकले शक्ति र पैसाको आडमा सगरमाथा आरोहणलाई व्यापारीकरण गरेर स्थानीयको रोजगारी खोसेको बताउँदै आएका छन्। प्रशासकलाई प्रभावमा पारेर उद्धारको नाममा दोस्रो शिविरबाट धेरै रकम तिर्ने आरोही ओसार्न थालिएपछि सगरमाथा क्षेत्रमा हेलिकोप्टरको प्रयोग अत्यधिक बढेको उनीहरूको गुनासो छ।
आरोहणको समय बाहेक पनि पर्यटकलाई आधारशिविरसम्म ट्रेकिङका लागि लैजाने क्रममा हेलिकोप्टर उडान हुँदै आएको छ। जसले गर्दा वातावरणमा प्रभाव परेको निष्कर्षका साथ अहिले निकुञ्जले कडाइ गरेको जनाइएको छ।