धर्म रक्षाको नाममा विद्यालयमा पढाइँदै ‘जयश्री राम’
तराईका विद्यालयमा विश्व हिन्दू परिषद् नेपालका अभियन्ताले धर्म रक्षाको नाममा ‘जयश्री राम’ घोकाइरहेका छन्।
लुम्बिनी क्षेत्र वरपरका विद्यालयमा विश्व हिन्दू परिषद् नेपालका अभियन्ता कक्षाकोठामै गई विद्यार्थीलाई रामायणका पाठ पढाइरहेका छन्। त्यस्ता कक्षामा ‘विधर्मीहरूले हिन्दू धर्ममाथि आक्रमण गरिरहेकाले सनातन धर्मको रक्षार्थ एकजुट हुन’ विद्यार्थीलाई आह्वान गरिँदै आएको छ। त्यसपछि पुरुषोत्तम रामको कथा सुनाउँदै रामायणका श्लोक घोक्न लगाइने गरेको विद्यार्थी बताउँछन्।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-४ स्थित अमारी आधारभूत विद्यालयमा कार्तिक २ गतेदेखि प्रारम्भ गरिएको यस्तो विशेष कक्षा ‘श्री राम जय राम जय जय राम’ को ‘विजय मन्त्र’ वाचन गर्दै/गराउँदै उद्घाटन गरिएको थियो। जुत्ताचप्पल फुकाल्न लगाई प्रत्येक विद्यार्थीका डेस्क अगाडि सरल रामायण किताब राखेर मन्त्र वाचन गर्न लगाइएको शिक्षक बताउँछन्। मन्त्रपछि रामायणबाट राम र रावणबारे कथा पढेर विद्यार्थीमाझ बुझाइएको थियो।
विद्यालयका प्रधानाध्यापक श्री निवास बरईका अनुसार इच्छुक विद्यार्थीका निम्ति हरेक शुक्रबार एक घन्टा सञ्चालन हुने यो कक्षा २६ हप्तासम्म चल्नेछ। विश्व हिन्दू परिषद् र विद्यालयको आयोजनामा गरिएको यस्तो कक्षा अमारी बाहेक अन्य दुई वटा सरकारी विद्यालयमा पनि सञ्चालन गरिएको छ।
अमारी आधारभूत विद्यालयकी सहप्रधानाध्यापक लक्ष्मी मिश्राका अनुसार बुद्ध आदर्श उच्च मावि र आमा मावि विद्यालयमा पनि कक्षा सञ्चालन गरिएको छ। यस्तो कक्षा लिन परिषद्कै प्रशिक्षक आउने गरेका छन् भने उनीहरूसँग विद्यालयका शिक्षकले पनि पढाउने गरेको मिश्राले जानकारी दिइन्।
विद्यालयका प्रधानाध्यापक बरई विद्यार्थीलाई मर्यादित बनाउन यस्तो कक्षा सञ्चालन गरिएको बताउँछन्। “विद्यार्थीमा संस्कारको कमी देखिन थाल्यो। तिनलाई मर्यादित र सम्मानजनक जीवनशैली सिकाउन कक्षा ६ देखि माथिका विद्यार्थीका निम्ति यो कक्षा आयोजना गरिएको हो,” उनी भन्छन्, “कक्षा जीवनका विभिन्न आयामको समस्या समाधान कसरी गर्ने भन्ने विषयमा केन्द्रित रहन्छ। त्यसका निम्ति मर्यादापुरुष श्रीरामको आदर्श शिक्षा दिइन्छ।”
केही समयअघि परिषद्का कार्यकर्ता प्रधानाध्यापक बरई समक्ष विद्यालयमा हिन्दू शास्त्रको पढाइ गराउने अनुमति माग्न आएका थिए। बरई भन्छन्, “मलाई पनि उहाँहरूले भने झैं हाम्रा हिन्दू ग्रन्थको अध्ययन गराए बच्चाहरूलाई अनन्तकालसम्म फाइदा पुग्ने ठानेर पढाउने अनुमति दिएँ।”
केही समययता तराई-मधेशका जिल्लामा विभिन्न धार्मिक संस्थाले ‘हिन्दू धर्म रक्षार्थ’ भन्दै यस्ता कक्षा र तालीम सञ्चालन गर्दै आएका छन्। गएको वर्ष विश्व हिन्दू स्वयंसेवक संघ, नेपालले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा २० दिने ‘युद्ध दण्ड र व्यायाम’ प्रशिक्षण दिएको थियो, जसमा ३२ जिल्लाका १२० युवा सहभागि थिए। उनीहरूलाई युद्धकौशल, दण्ड र व्यायामसँगै धर्मशिक्षा पनि दिइएको संघले जनाएको छ।
२०८० चैत २९ गते एक साताको यस्तै खालको प्रशिक्षण महिलाका निम्ति आयोजना गरिएको थियो। यसको आयोजना हिन्दू स्वयंसेवक संघ, नेपालको महिला सेलले गरेको थियो। यी संस्था भारतको सत्ताधारी दलको मातृ संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का नेपालस्थित भ्रातृ संगठनका रूपमा क्रियाशील छन्। यी धार्मिक कम राजनीतिक क्रियाकलापमा बढी संलग्न देखिन्छन्।
मधेशमा सक्रिय हिन्दूत्ववादी संस्थालाई अध्ययन गरिरहेका पर्सा जिल्लाका शिक्षक रामसेवक कुशवाहाका अनुसार यी संस्थाले प्रारम्भमा विद्यार्थीलाई ‘संस्कारी शिक्षा’ का नाममा रामायणका कथा सुनाउँछन्। श्लोक घोकाउँछन्। धर्म शिक्षामै आधारित खेलकूद र वक्तृत्वकला प्रतियोगिता आयोजना गर्छन्। सामान्य ज्ञान र वादविवाद प्रतियोगिता गराउँछन्।
प्रतियोगिता मार्फत उत्कृष्ट र विजयी हुने विद्यार्थी छनोट गरी बिदाको समयमा १५ दिनदेखि एक महीनासम्मका लागि भ्रमणको व्यवस्था मिलाउँछन्। त्यस्ता भ्रमणस्थल भारतीय धार्मिकस्थल हुने गरेका छन्। कुशवाहा भन्छन्, “त्यसरी लगिएका युवालाई धर्मसंकटमा परेको भन्दै संगठित गराइन्छ र धर्म रक्षाका निम्ति मानसिक रूपमा तयार पारिन्छ।”
आयोजकले यी सबै आयोजना सिमानापारि भारतका कट्टरपन्थी धार्मिक संस्थाबाट सिको गरेको देखिन्छ। यस्ता क्रियाकलाप सन् २०१४ देखि भारतमा निकै बढिरहेको छ। त्यहाँ जय श्री रामको नाममा सत्ताधारी दल भारतीय जनता पार्टीको मातृ संगठन आरएसएस लगायत संस्थाले धार्मिक असहिष्णुता फैलाइरहेको ठानिन्छ, जसको त्यहाँ खुलेर विरोध हुँदै आएको छ। यसरी प्रशिक्षित गरिएका ‘धर्म सेना’ हरूले फैलाइरहेको हिंसाको दुष्प्रभाव भारतीय समाजले भोग्न परिरहेको भन्दै नरेन्द्र मोदी सरकारको पनि आलोचना हुँदै आएको छ।
भारतमा चलेको यस्तो दूषित हावा नेपालतिर पनि सरिरहेको विश्लेषक बताउँछन्। तराईका विद्यालयमा अहिले चलिरहेको रामायण शिक्षा पनि उतैबाट प्रवेश गरेको उनीहरूको भनाइ छ। जस्तै- भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिर उद्घाटन (२२ जनवरी २०२४) हुने समयावधिलाई लक्षित गर्दै विश्व हिन्दू परिषदद्वारा उत्तर प्रदेशको गोरखपुरस्थित विद्यार्थीमाझ ‘रामायण ज्ञान परीक्षा’ सञ्चालन गरिएको थियो भने युवामा शौर्य जागरण यात्रा सञ्चालन गरिएका समाचार प्रकाशन भएका थिए।
परिषद्को भ्रातृ संगठन महाराजा सुहेलदेव जनसेवा न्यासद्वारा प्रकाशित पुस्तक सुबोध रामायण विद्यार्थीलाई वितरण गरेर त्यसलाई आधार बनाई परीक्षा सञ्चालन गरिएको थियो। ५० प्रश्न समेटिएको परीक्षा सय पूर्णांकको थियो। परीक्षामा उत्तीर्ण हुनेहरूलाई विशेष कार्यक्रम गरेर पुरस्कार र सम्मान प्रदान गरिएको भारतीय दैनिक पत्रिका प्रभात खबरमा समाचार प्रकाशन भएको थियो।