सुप्रिम सहकारीमा रवि लामिछाने ‘कनेक्सन’
पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछाने र छविलाल जोशीमाथिको अनुसन्धान बुटवलको सुप्रिम सहकारीतर्फ पनि सोझिएको छ। के हो सुप्रिम सहकारी प्रकरण?
सूर्यदर्शन सहकारीको बचत ठगीको कसूरमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई कात्तिक ५ मा पोखराबाट बुटवल लगियो। जोशीसँग जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीमा दुई दिनसम्म बयान लिइयो। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी गरेको आरोपमा उनीसँग बयान लिइएको थियो।
सूर्यदर्शन सहकारीको बचत ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन्। लामिछानेले पनि बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको आरोप छ।
पूर्व गृहमन्त्री लामिछाने, पूर्व डीआईजी जोशीसँगै गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई लगायत विरुद्ध सहकारी ठगी, कीर्ते र संगठित अपराधमा अनुसन्धान चलिरहेको छ। पोखराको सूर्यदर्शन सहकारीसँगै बुटवलको सुप्रिम सहकारीको बचत ठगी र हिनामिनामा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। केही आरोपित विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ भने केही आरोपितमाथि छानबिन भइरहेको प्रहरीको भनाइ छ।
गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसँगै रास्वपा सभापति रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी, अनेरास्ववियु (क्रान्तिकारी)का नेता दिपेश पुन लगायतले बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको आरोप छ। उनीहरू कसरी जोडिए सुप्रिम सहकारीसँग?
रुपन्देहीको बुटवलमा २०५७ सालमा मैत्रेय बचत तथा ऋण सहकारी संस्था स्थापना भएको थियो। त्यति वेला राजु गुरुङ अध्यक्ष बनेका थिए। यो सहकारीमा माया गुरुङ उपाध्यक्ष र ओमप्रकाश गुरुङ सचिव थिए।
अध्यक्ष राजु गुरुङको मृत्यु भयो। त्यसपछि माया गुरुङ नै अध्यक्ष बनिन्। शुरूआती समयमा मात्रै होइन, केही वर्षसम्म पनि सहकारीमा खासै कारोबार थिएन। बचत गर्ने र ऋण प्रवाह गर्ने कामकाज भइरहेको थियो। सहकारी राम्रैसँग चलिरहेको थियो।
ससानो पूँजीबाट कारोबार शुरू गरेको सहकारीको करोडौं कारोबार पुगिसकेको थियो। सदस्य संख्या र कारोबार पनि बढ्दै गयो।
डेढ दशकपछि एकाएक सहकारीमा परिवर्तन आयो। त्यो परिवर्तन ल्याएका थिए, जीबी राईले। उनी २०७२ सालमा मैत्रेय बचत तथा ऋण सहकारीमा जोडिए। उनको समूह पनि सहकारीमा जोडिन पुग्यो। त्यससँगै सहकारीलाई जीबी राई र दिपेश पुनले चलाउन थाले। दिपेश पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन्।
उनीहरूले सहकारीको नाम पनि परिवर्तन गरे। मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम फेरिएर सुप्रिम बचत तथा ऋण सहकारी संस्था बन्यो। जीबी राई अध्यक्ष बने भने दिपेश पुन कोषाध्यक्ष भए।
यही वेला जीबीका दाइ देवेन्द्रबाबु राई पनि जोडिए। उनी सदस्य बने। नयाँ सञ्चालक समिति बन्यो र नयाँ नामले सहकारी चल्न थाल्यो।
सहकारीको कारोबार पनि बढ्यो। कारोबार बढेसँगै कार्यक्षेत्र पनि विस्तार गरियो।
त्यस्तै, २०७६ सालमा रुपन्देहीकै जय अम्बे बहुउद्देश्यीय सहकारी संस्थासँग एकीकरण गरियो। एकीकरण भने पनि सञ्चालक समिति भने सुप्रिमकै रह्यो।
एकीकृत भएको सहकारीमा ओमप्रकाश गुरुङलाई अध्यक्ष बनाइयो। दिपेश पुन सचिव भए। जीबी राई सल्लाहकारको भूमिकामा बसे। सल्लाहकार भने पनि कारोबार भने उनकै निर्देशनमा चल्न थाल्यो।
त्यसको दुई वर्षपछि सहकारीले सेवा केन्द्र विस्तार गर्यो। २०७८ सालमा भैरहवा र २०७९ सालमा कपिलवस्तुको जितपुरमा सेवा केन्द्र खुले। योसँगै सदस्य संख्या र कारोबार पनि बढ्दै गयो।
सहकारीको व्यवस्थापकको जिम्मेवारीमा सागर केसी थिए। जीबी राई अध्यक्ष बनेदेखि केसी नै व्यवस्थापक थिए। यो समूहको प्रवेश भएसँगै सहकारीमा भद्रगोल शुरू भएको सहकारी रकम दुरुपयोग छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ।
जीबी राई समूहले अन्धाधुन्ध ऋण प्रवाह गर्न थाल्यो। यो सहकारीबाट ३१२ जनाले ऋण लिएका छन्। उनीहरूले बचतकर्ताको ८६ करोड १८ लाख रुपैयाँ हिनामिना गरेको संसदीय छानबिन समितिले पाएको छ।
यसरी ऋण लिनेको सूचीमा रास्वपाका सभापति लामिछाने र पूर्व डीआईजी जोशी पनि छन्। लामिछानेको नाममा सहकारीबाट दुई करोड ऋण प्रवाह भएको देखिएको छ। जबकि उनी सहकारीका सदस्य थिएनन्।
सहकारीले लामिछानेलाई ‘व्यापार ऋण’ दिएको २०८१ वैशाखमा जिल्ला अदालत, रुपन्देहीमा दायर मुद्दाको अभियोगपत्रमा उल्लेख छ। त्यति वेला लामिछानेलाई प्रतिवादी बनाइएको थिएन। ऋण लिने रवि लामिछाने र रास्वपा सभापति लामिछाने एउटै व्यक्ति हुन् कि होइनन् भन्ने यकीन नभएको प्रहरीको भनाइ थियो। त्यति वेला लामिछाने गृहमन्त्री थिए।
त्यस्तै, सुप्रिम सहकारीबाटै पूर्व डीआईजी जोशीको नाममा दुई करोड ५० लाख रुपैयाँ ऋण प्रवाह भएको छ। उनी पनि सहकारी सदस्य थिएनन्।
अध्यक्ष रहेको वेला जीबी राईले पनि ऋण लिएका छन्। उनले एक करोड ९२ लाख रुपैयाँ ऋण लिएको पाइएको छ। तीनै जनाले लिएको ऋण गोर्खा मिडिया प्रालिमा लगानी गरेको संसदीय विशेष समितिको छानबिनमा देखिएको छ। समितिले उनीहरूलाई कारबाही गर्न पनि सरकारलाई सिफारिश गरेको थियो।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम हिनामिना प्रकरणमा २०८० असोज १६ मा जीबी राई लगायत १९ जना विरुद्ध जिल्ला अदालत, कास्कीमा मुद्दा दर्ता भएको थियो। सहकारीपीडितले माघ २२ मा लामिछाने सहित १८ जना विरुद्ध पूरक जाहेरी दिएका थिए।
लामिछानेलाई कात्तिक २ गते र जोशीलाई असोज ६ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो। जीबी राई भने फरार छन्। उनीहरू विरुद्ध सहकारी ठगी, कीर्ते र संगठित अपराधमा अनुसन्धान चलिरहेको छ। पोखराको सूर्यदर्शनसँगै बुटवलको सुप्रिम सहकारीको बचत ठगीमा पनि अनुसन्धान गरिने प्रहरीको भनाइ छ।
यो पनि पढ्नुहोस् :