मदरसा शिक्षामा गर्नै पर्ने सुधार
विशेषगरी धार्मिक एवम् नैतिक आचार रटाउन सीमित देखिंदै आएको मदरसा शिक्षालाई बालबालिकामा नवीनतम ज्ञान-विज्ञानको सिकाइ र व्यावहारिक सीपको विकास गर्ने गरी रूपान्तरण गरिनुपर्छ।
मुस्लिम समुदायका बालबालिका पढ्ने परम्परागत धार्मिक विद्यालय हो, मदरसा। मदरसामा धार्मिक, सांस्कृतिक र नैतिक शिक्षा दिइन्छ। यसले कुरान, पैगम्बर मोहम्मदको जीवनी र धार्मिक नीति नियमको अध्ययनलाई प्राथमिकता दिन्छ।
नेपालमा करीब दुई हजार मदरसामा दुई लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। मदरसा लगायत धार्मिक विद्यालय सञ्चालनका लागि सरकारले मापदण्ड तोकेको छ र पाठ्यक्रम पनि लागू गरेको छ। तर धेरै मदरसा अनुमति बेगर चलेका छन् र आआफ्नै ढंगले पाठ्यक्रम बनाई पाठ्यपुस्तक पढाइरहेका छन्।
यसका कारण मदरसा शिक्षामा एकरूपता छैन र आफूखुशी पाठ्यक्रम पढाउने मदरसाको प्रमाणपत्रले सरकारी मान्यता नपाउने समस्या छ। यद्यपि यस्ता मदरसाले धार्मिक अनुष्ठान गर्ने जनशक्ति उत्पादन गर्नुका साथै मानव जीवनका लागि आवश्यक आध्यात्मिक ज्ञानको विकासमा टेवा पुर्याएका छन्।
बालबालिकालाई धार्मिक आचार, अनुशासन र नैतिकताको बाटोमा हिंडाउन मदरसाको महत्त्वपूर्ण भूमिका छ। तर मदरसा शिक्षाले बालबालिकाको सोच, बुझाइ तथा संसार र आफैंलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउँछ कि ल्याउँदैन? यो महत्त्वपूर्ण सवालमा विमर्श आवश्यक छ।
इस्लाम धर्मले शिक्षा आर्जन गर्दा व्यापक विषयमा फैलिनुपर्छ भनेको छ। तर नेपालको मदरसा शिक्षा खासगरी धर्म, संस्कार र नैतिक आचरणमा सीमित देखिन्छ। धेरैजसो मदरसाले विज्ञान, गणित, प्रविधि र आधुनिक विषयहरूमा पर्याप्त ध्यान नदिंदा बालबालिकाको समग्र शैक्षिक विकास प्रभावित भइरहेको छ। यसले उनीहरूलाई आजको प्रतिस्पर्धी समयमा पेशागत अवसर र रोजगारीमा पछाडि पारिरहेको हुन सक्छ। त्यसैले मदरसा शिक्षालाई नैतिक आचरण र धार्मिक संस्कारमा मात्र सीमित नराखी बालबालिकाको सर्वांगीण विकास हुने गरी जीवनोपयोगी र व्यावहारिक सिकाइ दिन अत्यावश्यक छ।
जसरी शिक्षा, ज्ञान-विज्ञान र दर्शनको क्षेत्रमा आठौंदेखि तेह्रौं शताब्दीसम्म मुस्लिम समुदाय अगाडि थियो, त्यस्तै फड्को मार्ने गरी आजका मदरसालाई रूपान्तरण गरिनुपर्छ। अब्बासिद खलीफा हारुन अल-रशीद (सन् ७८६–८०९) ले बग्दादमा ‘ज्ञानको घर’ स्थापना गरी धार्मिक ज्ञानको अनुवादलाई प्रवर्द्धन गरे झैं आधुनिक मदरसाहरूले विविध ज्ञान क्षेत्र अँगाल्नुपर्छ।
मुस्लिमहरूले शैक्षिक, सामाजिक र आर्थिक रूपमा फड्को मारेको समयका विद्वान्हरूले आधुनिक संसारलाई प्रभाव पार्ने आविष्कार र खोजहरू गरे। उक्त युगका प्रमुख योगदानमा मुहम्मद इब्न मुसा अल-ख्वारिज्मीले बीजगणितको विकास, इब्न अल-हैथमले गरेको प्रकाशको अध्ययन र अल-बट्टानी तथा अल-फरघानीले खगोल विज्ञानमा गरेका प्रगति पर्छन्। यस्तै, अल-राजीले बालचिकित्सा र नेत्रविज्ञानमा उत्कृष्टता देखाए भने इब्न सिनाको क्यानन अफ मेडिसिन चिकित्सा शिक्षामा महत्त्वपूर्ण उपलब्धि हो।
इस्लामको करुणा, न्याय र सहिष्णुता जस्ता मूल्यमान्यता पाठ्यक्रमका कथामा सीमित नराखी बालबालिकाको दैनिक जीवनमा व्यवहार गर्न प्रोत्साहित गर्नुपर्छ। जसले बालबालिकालाई पारस्परिक सम्मान, सामाजिक जिम्मेवारी र सहिष्णुता सिकाएर विविध संस्कृतिसँग घुलमिल हुन सघाउँछ।
मदरसा शिक्षाका विशेषता र चुनौती
मदरसा शिक्षाको एउटा पाटो हो, धार्मिक नीतिनियम रटेर कण्ठस्थ पार्नु। बालबालिकाले इस्लामी इतिहास, संस्कार र धार्मिक पुस्तक हूबहू सम्झन सक्छन् र कथा प्रवचनमा कुशलता देखाउन सक्छन्। तर यस्तो घोकन्ते शिक्षाले उनीहरूमा आलोचनात्मक सोच र समस्याहरूको विश्लेषण गर्ने क्षमता विकास गरेको छ कि छैन भन्ने प्रश्न उठ्छ।
दोस्रो, बालबालिकामा व्यावहारिक क्षमता विकास गर्न मदरसा शिक्षा चुकिरहेको छ। इस्लामको नैतिक र धार्मिक पक्षमा केन्द्रित यो शिक्षाले बालबालिकालाई संयम र अनुशासन त सिकाउँछ। तर बहुसांस्कृतिक समाजमा व्यवहार गर्न र प्रतिस्पर्धी विश्वमा अगाडि बढ्न आवश्यक जीवन-कौशल र क्षमता विकासमा यो प्रभावी देखिंदैन।
तेस्रो, मदरसामा पढ्ने बालबालिकाले समग्र ज्ञान लिन पाएका छैनन्। नेपालका धेरैजसो मदरसाले विज्ञान, गणित, प्रविधि र आधुनिक विषयलाई पर्याप्त प्राथमिकता दिएका छैनन्। यसले बालबालिकालाई आधुनिक पेशागत अवसर र प्रतिस्पर्धामा पछाडि पार्न सक्छ।
यसका साथै मदरसामा पढाउने शिक्षकका लागि तालीमको व्यवस्था छैन। जसका कारण शिक्षकहरूले परम्परागत शिक्षण विधि नै प्रयोग गरिरहेका छन्।
मदरसाका भौतिक पूर्वाधार पनि कमजोर छन्। अधिकांश मदरसामा पर्याप्त कक्षाकोठा र खेलमैदान छैनन्। पुस्तकालय र प्रयोगशाला नगण्य मात्रामा छन्। यी मदरसा मुख्यतः चन्दा र अनुदानमा निर्भर छन्। स्थानीय समुदायका घर घरबाट संकलन गरिने आर्थिक सहयोगबाट मदरसा जेनतेन चलेका कारण विद्यार्थीले आवश्यक शैक्षिक वातावरण पाएका छैनन्। केही मदरसाले स्थानीय क्षेत्र बाहिरका शहर र गाउँहरूमा चन्दा संकलन गरी आर्थिक सहयोग जुटाइरहेको पाइन्छ।
‘स्वर्गको फूल’ को स्याहार
शिक्षा चेतना विकास र सामाजिक परिवर्तनको महत्त्वपूर्ण साधन हो। यसले मानिसको परम्परागत सोच रूपान्तरण गरी न्यायपूर्ण दृष्टिकोण विकास गर्न सघाउँछ। मुस्लिमहरू आफ्ना सन्तान इस्लामिक जीवनशैली र संस्कार सिकेर सोही अनुरूप जीवन व्यतीत गरून् तथा असल व्यक्ति बनून् भन्ने चाहन्छन्।
हामी आफ्नो शिक्षालय र समाजमा फर्केर सोचौं र आफैंलाई सोधौं- के हाम्रा सन्तान हाम्रो अपेक्षा अनुसार रूपान्तरित हुँदै छन् त? के उनीहरू परिवर्तनको सत्मार्गमा छन्? सबैभन्दा महत्त्वपूर्ण कुरा, उनीहरू इस्लामको सही शिक्षा र मूल्यमान्यता अनुकरण गरिरहेका छन्?
बालबालिकाको शिक्षा र पालनपोषण व्यक्तिगत भविष्य निर्माणसँग मात्र जोडिएको छैन, यसले सिंगो समाजकै भविष्य निर्धारण गर्छ। आधुनिक समाजमा विभिन्न प्रभावबीच इस्लामिक जीवनशैली र मूल्य सिकाउँदै बालबालिकामा युगसुहाउँदो सीप र क्षमता भर्नु चुनौती बनिरहेको छ। यो चुनौती चिर्ने गरी मदरसा शिक्षा प्रभावकारी हुनुपर्ने देखिएको छ।
मदरसा शिक्षा धार्मिक नियम रटानमा केन्द्रित छ। मदरसामा भावनात्मक र सामाजिक विकासलाई प्रायः बेवास्ता गरिन्छ। चित्रकला, खेलकूद जस्ता क्षेत्रमा बालबालिकाको रुचि, प्रतिभा र क्षमता पहिचान एवम् प्रोत्साहन कमै गरिएको पाइन्छ। बालबालिकालाई बाहिरको गतिविधिमा सहभागी हुन नदिंदा उनीहरूको सामाजिक विकासमा बाधा पुग्छ। बालबालिकाको समग्र विकास सुनिश्चित गर्न भावनात्मक र सामाजिक पक्षमा पनि ध्यान दिन आवश्यक छ।
इस्लाम धर्मले बालबालिकालाई ‘स्वर्गको फूल’ मान्छ। बालबालिका संवेदनशील, मूल्यवान् र कोमल हुने भएकाले यस्तो संज्ञा दिइएको हो। यस अनुसार तिनलाई प्रेम, सद्भाव र सुरक्षा आवश्यक पर्छ। मदरसाको शिक्षण विधि हेर्दा त्यहाँ पढाउने शिक्षकले विद्यार्थीलाई ‘स्वर्गको फूल’ मानेर संवेदनशील व्यवहार गरिरहेका छन् त? के उनीहरू बालबालिकामा पैगम्बर मोहम्मद जस्तै कुशल नेतृत्वको विकास गर्ने सोच राख्छन्? शिक्षण केवल पाठ्यक्रम एकसरो पढाउनमा सीमित हुनु हुँदैन। यसले त प्रेम, प्रेरणा र हौसलाबाट विद्यार्थीको नैतिक, मानसिक, बौद्धिक र सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ। नवीनतम ज्ञान-विज्ञान, प्रविधि, दर्शन, कला, अन्वेषण जस्ता पाटोमा बौद्धिक जिज्ञासा र विविध विचारको विकास गरी क्षमतावान् व्यक्ति उत्पादन गर्नुपर्छ।
शिक्षाले समावेशी विचार र दृष्टिकोणलाई आत्मसात् गर्दै आधुनिक ज्ञान र अनुसन्धानलाई प्रोत्साहन र विद्यमान जिज्ञासाको उत्तर खोजी गर्न उन्मुख हुनुपर्छ। यसले विद्यार्थीलाई विचारशील र आलोचनात्मक बनाउँछ, जसले भविष्यमा उनीहरूलाई नवीनता र प्रगतितर्फ अघि बढाउँछ। इस्लाम धर्मले ज्ञानको खोजी र सामाजिक परिवर्तनलाई प्रेरित गर्ने भएकाले मदरसा शिक्षाले धार्मिक ज्ञानसँगै आधुनिक विज्ञान र सामाजिक व्यवहारको विकासमा जोड दिनुपर्छ।
समुदायले पनि बालबालिकाको सर्वांगीण विकास हुने गरी अनुकूल वातावरण निर्माणमा सहयोग गर्नुपर्छ। प्रेम, अनुशासन र मार्गनिर्देशनको सन्तुलनले नै बालबालिकालाई धार्मिक, नैतिक र सामाजिक रूपमा सक्षम र जिम्मेवार नागरिक बनाउन सकिन्छ। साथै, बालबालिकाको सुनौलो भविष्यका लागि सबै सरोकारवाला निकायको ध्यान जानुपर्छ, ताकि मदरसाको व्यवस्थापन र शैक्षिक गुणस्तर सुधार गर्न प्रभावकारी कदम चाल्न सकियोस्।
निष्कर्षमा, मदरसामा परम्परागत धार्मिक र आधुनिक शिक्षाबीच सन्तुलन कायम गर्न सकिए बालबालिकाको भविष्य उज्ज्वल बन्छ। धार्मिक शिक्षाले विद्यार्थीमा नैतिक बल बढाएर कर्तव्यको बोध गराउँछ भने पाठ्यक्रम र सिकाइमा आधुनिक विषय र नवीनतम जानकारीको समावेशले उनीहरूलाई प्रविधिको संसारमा प्रवेश गर्न ढोका खोल्छ। अत: मदरसा शिक्षाले धार्मिक ज्ञानमा मात्र सीमित नभई विविध विषयको सिकाइ र व्यावहारिक सीपको विकासमा ध्यान दिनुपर्छ। यस सन्तुलनले बालबालिकामा समुदायको संस्कार, आचार अक्षुण्ण राख्नुका साथै भविष्यका जस्तोसुकै चुनौती सामना गर्न आत्मविश्वास र समावेशी दृष्टिकोण दिन्छ।
(शेखले मदरसामा एक दशक शिक्षण गरेका छन्।)
यो पनि पढ्नुहोस् :