रास्वपाको प्रस्टीकरण : न्यायालयमाथि हस्तक्षेप गर्न खोजेको छैन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पक्राउ विरुद्ध प्रदर्शन गरिरहेको भए पनि न्यायालयमाथि हस्तक्षेप गर्न नखोजेको प्रस्टीकरण दिएको छ।
पोखरामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा रास्वपा उपसभापति स्वर्णिम वाग्लेले न्यायपालिकाप्रति नभई कार्यपालिकामाथि प्रश्न गरिरहेको बताए। न्यायालयमाथि हस्तक्षेप तथा अनुसन्धानमा प्रभाव पार्ने कार्य नगरेको वाग्लेको भनाइ थियो।
“न्यायालयको ओज, विधिको शासनमाथि हाम्रो सम्मान छ, त्यसलाई प्रभाव पार्ने काम गरेका छैनौं,” उनले भने, “हामी रास्वपा नेता कसैले यसका विरुद्ध बोलेका छैनौं, हामीले कार्यपालिकामाथि प्रश्न गरेका हौं।”
प्रतिनिधि सभा सदस्य समेत रहेका वाग्लेले रास्वपा सभापति लामिछाने विरुद्ध राजनीतिक प्रतिशोध साधिएको आरोप लगाए। “पोखरामा हिजो साँझको घटनाले राजनीतिक प्रतिशोध साधिएको झन् पुष्टि भएको छ। सभापति लामिछानेलाई हिजोसम्म १२५ घन्टा हिरासतमा राखिएको छ, तर जम्मा चार–पाँच घन्टाको मात्र बयान लिइएको छ,” वाग्लेले प्रश्न गरे, “लामिछानेलाई पोखरा दालभात खुवाउन ल्याइएको हो? तयारी थिएन?”
सहकारीपीडितलाई धम्की दिइएको भन्ने आरोप मात्रै भएको रास्वपा प्रवक्ता मनीष झाले प्रस्टीकरण दिए। सहकारीपीडितका नेताहरूसँग बैठक बसेर यो विषयमा प्रश्न गर्दा कसले धम्की दियो भन्ने बताउन नसकेको झाको भनाइ थियो। “कसले धम्की दियो, कुन नम्बरबाट फोन आयो, यो दिनुस् म आफैं मुद्दा चलाउँछु भन्दा उहाँहरू बोल्न सक्नुभएन। यो त आरोप मात्र हो,” झाले भने।
रास्वपा नेताहरूले आफ्नो आन्दोलनमा राजनीतिक घुसपैठ भइरहेको आरोप लगाएका छन्। नेपाली कांग्रेस र नेकपा (एमाले)ले आन्दोलनमा घुसपैठ गर्न नै सर्कुलर गरिरहेको सन्देश आफूहरूसँग रहेको उनीहरूको दाबी थियो।
त्यस्तै, रास्वपाले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने जनाएको छ। अहिलेसम्म पोखरामा प्रदर्शन गर्दै आएको थियो।
कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई कास्की जिल्ला अदालतले दिएको ६ दिनको म्याद सकिएको छ। आज म्याद थप्न लागिएको छ। सहकारी ठगी, कीर्ते र संगठित अपराधको अभियोगमा पूर्व गृहमन्त्री लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो।
रवि लामिछाने पक्राउ प्रकरणबारे थप सामग्री :