कमलरी अभियन्तादेखि अन्तर्राष्ट्रिय अवार्डसम्म
साढे ११ वर्ष कमलरी जीवन बिताएकी र मुक्त भएपछि कमलरी मुक्ति अभियानमा लागेकी दाङ गढवाकी उर्मिला चौधरीले ‘ग्लोबल एन्टि–रेसिज्म च्याम्पियन्स अवार्ड’ पाएकी छिन्।
अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको सन् २०२४ को ‘ग्लोबल एन्टि–रेसिज्म च्याम्पियन्स अवार्ड’ कमलरी अभियन्ता उर्मिला चौधरीले पाएकी छिन्।
अमेरिकामा सोमबार आयोजित एक कार्यक्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले चौधरीलाई अवार्डबाट सम्मान गरे।
चौधरी सहित विभिन्न देशका ६ जना अभियन्ताले अवार्ड पाएका हुन्। अवार्ड पाउने अन्यमा घानाका दिन्ताइ सुल ताइरु, नेदरल्यान्ड्सका जोन लीरड्याम, उत्तर म्यासेडोनियाका एल्भिस शाकजिरी, मेक्सिकोकी तान्या दुआर्त र बोलिभियाकी तोमासा यार्हुइ ज्याकोम छन्।
यो अवार्ड गत वर्ष नेपालकै सरस्वती नेपालीले पाएकी थिइन्। सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षका रूपमा सीमान्तीकृत जाति, अपांगता भएका व्यक्ति र गरीबहरूको मानव अधिकारका लागि काम गरे बापत उनलाई अवार्ड दिइएको थियो।
अमेरिकी सरकारले सन् २०२३ मा स्थापना गरेको यो अवार्ड विश्वव्यापी रूपमा नागरिक समाजका व्यक्तिहरूलाई उनीहरूले गरेको उदाहरणीय र साहसिक कार्यका लागि दिइन्छ।
बाल्यकालमा आफैं कमलरी रहेकी चौधरीलाई कमलरी प्रथा उन्मूलन, जातीय समानता, न्याय र मानव अधिकारको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै यो अवार्ड दिइएको हो।
“अवार्डले मलाई विपन्न र पछाडि पारिएका समुदायका बालबालिकाका लागि काम गर्न थप हौसला दिएको छ,” अमेरिकाबाट हिमालखबरसँग कुरा गर्दै उनले भनिन्, “यो अवार्ड म सम्पूर्ण नेपाली तथा मसँगै उद्धार भएका र कमलरी प्रथा उन्मूलनमा सहयात्रा गरेका सम्पूर्ण साथीलाई समर्पण गर्छु।”
विश्वकै शक्तिशाली देशले दिने अवार्ड पाउनु गौरवको कुरा भए पनि न्याय र समानताका लागि अझै धेरै काम गर्न बाँकी नै रहेको बताइन्। “सयौं मुक्त कमलरीको पुन:स्थापना हुन सकेको छैन, उनीहरूको पुन:स्थापना, न्याय र समानताका लागि लड्नु छ,” उनले भनिन्।
काठमाडौं स्कूल अफ लमा बीए एलएलबी अध्ययनरत चौधरीले पढाइ पूरा भएपछि आफू जस्तै विपन्न परिवारका बालबालिकालाई कानूनी सहायता दिने लक्ष्य रहेको सुनाइन्। “जसरी म दुःखपीडाबाट संघर्ष गरेर यहाँसम्म आएँ, म जस्तै कष्टपूर्ण जीवन बिताइरहेका कैयौं बालिकाको साथी बनेर काम गर्न चाहन्छु,” उनले भनिन्।
कमलरी प्रथा उन्मूलनमा महत्त्वपूर्ण योगदान पुर्याए बापत चौधरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धेरै अवार्ड पाएकी छन्। ६ वर्षअघि नेदरल्यान्ड्सले उर्मिलालाई ‘लउरियट फ्रीडम फ्रम फेयर अवार्ड २०१८’ बाट सम्मानित गरेको थियो। प्रत्येक दुई वर्षमा प्रदान गरिने यो अवार्ड यसअघि पाकिस्तानकी बाल अधिकार कार्यकर्ता मलाला युसुफजाई, आङ सान सुची, हुसेन इब्राहिम सलेह अल जस्ता व्यक्तिले पाएका थिए।
अहिलेसम्म उनले ६ वटा अन्तर्राष्ट्रिय अवार्ड पाइसकेकी छन्। संयुक्त राष्ट्र संघको यूथ करेज अवार्ड फर एजुकेशन, इन्टरन्याशनल ह्युमन राइट्स अवार्ड पनि उनले पाएकी छन्।
को हुन् उर्मिला चौधरी?
दाङको गढवा गाउँपालिका–७ मानपुर निवासी फुलट चौधरी र खलसी चौधरीकी छोरी हुन्, उर्मिला। उनका तीन दाजु, एक दिदी र एक भाइ छन्।
आर्थिक अवस्था कमजोर भएका कारण उनको परिवारले जमीनदारको जग्गा अधियाँ लिएर जीविका चलाउने गर्थ्यो। अधियाँ गरे बापत साहुको घरमा बँधुवा कामदारका रूपमा कमैया र कमलरी बस्नुपर्थ्यो।
साहुको घरमा कमलरी राख्न उर्मिलालाई ६ वर्षकै उमेरमा काठमाडौं लगियो। कापी-कलम बोकेर स्कूल जाने उमेरमा उनको हातमा भाँडाकुँडा थमाइयो। उनले भाँडा माझ्ने, लुगा धुने र घरको सरसफाइ गर्नुपर्थ्यो।
घरमा आफूले खाएको भाँडा पनि माझ्न नसक्ने उनका लागि मालिकको घरको काम ठूलै बोझ बन्यो। “मेरो भाग्यमा यस्तै लेखिएको रहेछ भन्ने सोच्थें,” उर्मिला त्यो समय सम्झिन्छिन्।
त्यसको केही वर्षपछि गैरसरकारी संस्था स्वान नेपाल र एफएनसीले दाङमा कमलरी उन्मूलनको अभियान शुरू गर्यो। गाउँबाट शुरू भएको अभियान शहरमा पनि पुग्यो। पश्चिम तराईका जिल्लाबाट चलेको अभियान काठमाडौं पुग्यो। त्यही अभियानका क्रममा साढे ११ वर्षको कमलरी जीवनपछि उनले २०६३ माघ १ गते यसबाट मुक्ति पाइन्।
उद्धारपछि अभियानमा
जमीनदारको घरको दासी जीवनबाट छुटकारा पाएसँगै उनी कमलरी प्रथा उन्मूलन अभियानमा लागिन्। उनको सक्रियता देखेपछि दाङमा कमलरी उन्मूलन अभियानको अगुवा उनैलाई बनाइयो। कमलरी उन्मूलनका लागि साझा अभियानको संयोजक नै भइन्, उनी। त्यसको दुई वर्षपछि उनकै नेतृत्वमा दाङलाई कमलरी मुक्त जिल्ला घोषणा गरियो।
कमलरी प्रथा उन्मूलन अभियानमा मुक्त भएका अन्य कमलरीहरू पनि जोडिंदै गए। उनीहरूको आन्दोलनलाई विभिन्न संघसंस्था र समूहले साथ दिन थाले।
चौधरीकै नेतृत्वमा मुक्त कमलरी विकास मञ्च गठन भयो। त्यसपछि एक जिल्ला अर्को जिल्ला हुँदै उनीहरूको अभियानले सार्थकता पाउँदै गयो। विशेष गरेर दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर हुँदै कमलरी प्रथा विरुद्धको आन्दोलन देशव्यापी बन्दै गयो। उनी नेतृत्वको मञ्चकै अगुवाइमा कमलरी मुक्ति अभियानले गति पायो।
सबैतिरको दबाबस्वरूप २०७० असार १३ मा सरकारले कमलरी मुक्तिको घोषणा गर्यो। त्यसपछि हरेक वर्षको असार १३ गते कमलरी मुक्ति दिवस मनाइँदै आएको छ।
‘ती दिन सपना जस्तो लाग्छ’
कमलरीका रूपमा बितेका दिनहरू सम्झँदा उर्मिलालाई सपना जस्तो लाग्छ। “किताबका अक्षरसँग खेल्ने समयमा मेरो उमेरको १७ वर्ष मालिकका जुठा भाँडा र मैला कपडा धुनमा बित्यो,” उनी भन्छिन्।
त्यो उमेरसम्म उनले कखरा पनि सिक्न पाएकी थिइनन्। कमलरीबाट मुक्ति पाएसँगै उनले पढाइ अगाडि बढाइन्। “मलाई यहाँसम्म ल्याइपुर्याउने बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था नायफ नेपालका मानबहादुर क्षेत्री, फकला थारू र स्वानका अध्यक्ष कृष्णकुमार चौधरी अनि मेरो अभियानमा सहयोग गर्ने सबैलाई विशेष सम्झन्छु।”
अब उनको लक्ष्य सफल वकील बन्ने छ। बीए एलएलबीको पढाइ सकिएपछि विपन्न परिवारका बालबालिकाकै हकहित र उत्थानका लागि क्रियाशील रहने उनले बताइन्।
**
गत असोज पहिलो साता ‘ग्लोबल एन्टि–रेसिज्म च्याम्पियन्स अवार्ड’ मा छनोट भएको भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासबाट फोन आउँदा उर्मिला बुबाको उपचारका लागि काठमाडौंबाट कोहलपुर जाने तयारीमा थिइन्। उनका बुबा कोहलपुर मेडिकल कलेजको आईसीयूमा भर्ना भएका थिए।
अवार्ड पाएपछि दूतावासले भने अनुसार उनले काठमाडौंमै बसेर केही प्रक्रिया पूरा गर्नुपर्ने भयो। अवार्ड पाउने जानकारी पाएपछि उनले बुबालाई फोन गरेर सुनाइन्। बुबाले ‘म ठीक हुँदै छु, चिन्ता नगर, तिमी आफ्नो काम गर्दै गर’ भनेपछि उनी अवार्ड लिन जाने तयारीमा लागिन्।
अवार्ड पाएको खबर फोनबाट सुनाए पनि अवार्ड बुबालाई देखाउन पाइनन्। त्यही बीचमा बुबाको निधन भयो। “अवार्ड पाएको खुशी म बुबालाई समर्पण गर्न चाहन्थें, त्यो पूरा भएन,” उनी दुःख मान्छिन्।