रवि लामिछाने पक्राउ प्रकरण : आइतबार पोखरामा जे देखियो
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदा एकातिर सहकारीपीडित र अर्कातिर समर्थकले प्रदर्शन चर्काएका थिए।
सहकारी ठग विदेशमा चिल्ला गाडीमा सरर
हामी पीडित यहाँ भोक, रोग र प्यासले हरर!
माथिका नारा लेखिएको प्लाकार्ड बोकेर पोखरा मालेपाटनकी बालकुमारी गुरुङ आइतबार राष्ट्र ब्यांक चोकमा भेटिइन्। एक वर्षयता गुरुङ सहकारीपीडितको प्रत्येक आन्दोलनमा यसैगरी सामेल हुँदै आएकी छिन्। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीमा रहेको १५ लाख रुपैयाँ बचत फिर्ता नभएपछि उनी सहकारी आन्दोलनमा हिंड्न थालेकी छन्। उच्च रक्तचाप र मधुमेहबाट पीडित ५९ वर्षीया गुरुङ भन्छिन्, “बुढेसकालमा काम लाग्ला भनेर राखेको पैसा खाइदियो, आराम गर्नुपर्ने वेला यसरी आन्दोलनमा हिंड्नुपरेको छ।”
उनी जस्तै सहकारीपीडित आइतबार राष्ट्र ब्यांक चोकमा चर्को नारा लगाइरहेका थिए। उक्त चोकबाट अगाडि जान प्रहरीले छेकिरहँदा सहकारीपीडित झनै चर्को नारा लगाउँथे– ‘सहकारी ठग होशियार’!
सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आइतबार जिल्ला अदालत, कास्कीमा उपस्थित गराइँदै थियो। रवि पक्राउको विरोधमा रास्वपाका कार्यकर्ता एवम् समर्थक बिहानैदेखि प्रदर्शन गरिरहेका थिए। शान्तिपूर्ण रूपमै भेला भएर दबाब दिन बसेका सहकारीपीडित रास्वपाका कार्यकर्ताले निषेधाज्ञा क्षेत्र तोडेर शहीद चोकमा सभा गरेपछि भने रुष्ट बनेका थिए। उनीहरूले रास्वपा कार्यकर्तालाई त्यहाँबाट हटाउन प्रहरी-प्रशासनसँग माग गरेका थिए।
शहीद चोकमा रास्वपा कार्यकर्ताको प्रदर्शन र राष्ट्र ब्यांक चोकमा सहकारीपीडितको प्रदर्शन हुन थालेसँगै झडपको स्थिति हुँदा बिहान ११ः४५ मा जिल्ला प्रशासन कार्यालय कास्कीले शहीद चोक र गैह्रापाटन आसपासका क्षेत्रमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको थियो। कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार निषेधाज्ञामा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलूस प्रदर्शन तथा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।
निषेधाज्ञा तोड्दै रास्वपाका कार्यकर्ताले सभा गरेपछि प्रहरीले रोक्न खोज्दा भीड अनियन्त्रित भएको थियो। प्रदर्शनकारी र प्रहरीबीच केही समय धकेलाधकेल भएको थियो। भीडलाई नियन्त्रण गर्न प्रहरीले पानीका फोहोरासँगै अश्रुग्यास प्रहार गरेको थियो।
सूर्यदर्शन सहकारीपीडित पोखरा काँहुखोलाका दिलकुमार महर्जनले रास्वपाका कार्यकर्तालाई निषेधित क्षेत्रमा कार्यक्रम गर्न दिएको तर आफूहरूलाई जान रोक लगाइएको बताए। सहकारीपीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले भने, “निषेधाज्ञा क्षेत्रमा कुनै पनि कार्यक्रम गर्न नदिने भनेर सीडीओले वचन दिए पनि रास्वपा कार्यकर्तालाई सभा गर्न दिदा सहकारीपीडितलाई झन् पीडा थप्ने काम भएको छ।”
रवि समर्थकले तोडेका थिए निषेधाज्ञा
रास्वपाका कार्यकर्ताले जिल्ला अदालत नजीकैको शहीद चोकमा ‘रवि दाइलाई न्याय दे’ भन्दै नाराबाजी गरिरहेका थिए। लामिछानेको समर्थनमा चितवनको भरतपुरदेखि शनिबार नै आइपुगेकी दीपा गिरीले भनिन्, “निर्दोष रविलाई समातियो, उनका लागि पोखरा आएका हौं।”
लामिछानेलाई झूटा मुद्दामा फसाइएको भन्दै लामिछाने समर्थक आइतबार पोखरामा आक्रोशित देखिएका थिए। लामिछानेको बचाउमा सयौंको संख्यामा उत्रेका रास्वपा कार्यकर्ताले निषेधाज्ञा क्षेत्र तोडेका थिए।
६ दिन हिरासतमा राख्न अनुमति
सहकारी ठगी आरोपमा पक्राउ परेका रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ। आइतबार जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा भएको बहसले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो।
इजलासमा लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, यज्ञमणि न्यौपाने, नारायण घिमिरे, हेमराज पोखरेल उपाध्याय, कमल पोखरेल र लेखनाथ सापकोटाले बहस गरेका थिए।
पोखराको सूर्यदर्शन सहकारीबाट गोरखा मिडिया नेटवर्कको नाममा ऋण प्रवाह हुँदा सोको अपचलनमा लामिछानेको संलग्नता रहेको भन्दै उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा पूरक जाहेरी परेको थियो। सोको अनुसन्धानका लागि शुक्रबार पक्राउ परेका लामिछानेलाई पोखरा ल्याइएको थियो।
‘केपी ओलीको शासन रहेसम्म यो देश बन्दैन’: लामिछाने
जिल्ला अदालत परिसरमा उपस्थित भएका लामिछानेले केपी शर्मा ओलीको शासनसत्ता रहुन्जेल देश कहिल्यै नबन्ने बताएका छन्। उनले अहिलेको सरकार नढलेसम्म झूटा मुद्दामा मान्छेलाई फसाउने हर्कत गरिरहने बताए। लामिछानेले सारा सहकारीपीडक आफ्नो पार्टीभित्र पालेर अपराधीलाई संरक्षण गरिरहेको आरोप पनि लगाए। उनले भने, “यो सरकार रहुन्जेल यस्तै हर्कत भइरहन्छ, झूटा मुद्दामा मान्छेलाई फसाउने गर्छन्। यो सरकार नढलेसम्म, केपी ओलीको शासनसत्ता रहेसम्म यो देश कहिल्यै बन्दैन।”
लामिछानेले भ्रष्टाचारको जगमा उभिएको मानिस प्रधानमन्त्री हुनु दुर्भाग्य रहेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरे। “मलाई जस्तै डेढ वर्ष लगाएर छानबिन केपी ओलीलाई गर्ने हो भने सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मान्छे केपी ओली हो। यस्तो प्रधानमन्त्री हुनु दुर्भाग्य हो।”
लामिछानेले अदालतको न्यायिक प्रक्रियालाई सहयोग गर्न आफू आएको बताए।
हेर्नुहोस् भिडिओ