पोखरामा रविको पक्ष र विपक्षमा प्रदर्शन (भिडिओ)
सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थन र विरोधमा पोखरामा प्रदर्शन भएको छ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराउने क्रममा उनका समर्थक तथा सहकारीपीडितले छुट्टाछुट्टै प्रदर्शन गरेका हुन्। जिल्ला अदालत परिसरमा बोल्दै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले यो सरकारको विरोधमा उत्रिन आग्रह गरे।
कास्की जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका क्रममा पक्राउ परेका लामिछानेलाई शुक्रबारदेखि लागु हुने गरी ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
सूर्यदर्शन लगायत सहकारीमा सर्वसाधारणले जम्मा गरेको ६५ करोड ५४ लाखभन्दा बढी रकम दुरुपयोग गरेको गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष अध्यक्ष जीबी राई, कुमार रम्तेल, रवि लामिछाने र छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको भन्दै संसदीय छानबिन समितिले कारबाहीको सिफारिश गरेको थियो। जोशी यसअघि नै पक्राउ परिसकेका छन्।