रवि पक्राउबारे सरकारका प्रवक्ता भन्छन्– यो शुरूआत मात्रै हो
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेको बताएका छन्।
लामिछानेको पक्राउ सहकारी प्रकरण अनुसन्धानको शुरूआत मात्रै भएको मन्त्री गुरुङको भनाइ छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा संघीय सरकारका प्रवक्ता समेत रहेका गुरुङले अमुक व्यक्तिको नाम लिएर भ्रम सिर्जना गर्नु आवश्यक नभएको धारणा राखे।
“सर्वाधिकार सम्पन्न सर्वदलीय संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनको मन्त्रिपरिषद्ले स्वामित्व लिएर गरेर कार्यान्वयनका क्रममा छौं। प्रतिवेदनले औंल्याएका व्यक्तिहरूलाई अनुसन्धानका क्रममा लिने शुरूआत मात्रै भएको हो,” गुरुङले भने, “अमुक अमुक व्यक्तिको नाम लिएर भ्रम सिर्जना गर्नु जरूरी छैन।”
संसदीय समितिले सहकारीको ६५ करोडभन्दा बढी रकम दुरुपयोग गरेको गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष अध्यक्ष जीबी राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाही गर्न सिफारिश गरेको थियो।