शासकहरूको निद्रा बिगार्ने कविता
सहिष्णुता र मानवताको पैरवी गर्ने सिर्जनाको बलमा कवि सुरज रानाले भीडबीच आफ्नो अलग उपस्थिति देखाएका छन्।
समाजलाई गतिमान बनाउने अपरिहार्य अस्त्र हो, विद्रोह। सुरज रानाको कविताकृति जब कविता निस्कन्छ जुलुसमाका अधिकांश कविताले विद्रोही भावमा सामाजिक रूपान्तरणको आह्वान गरेका छन्।
संग्रहको शीर्षकमै विद्रोहको लय छ। राजनीतिक सचेतता मनग्गे भएका सुरजका कवितामा वैचारिकता र विद्रोही स्वर तिक्खर भेटिन्छ। ‘प्रहरी चौकीमा सोल्टा’, ‘बन्दूकले कविता लेख्न थाल्छ’, ‘अक्षरहरू’, ‘सास फेर्ने मूर्ति’ यस्तै विद्रोही कविता हुन्। दशक लामो माओवादी विद्रोहका असर र आघातका अनेक आयाम छन्। कविले यो पाटोलाई गम्भीरतासाथ केलाएका छन्। ‘समय एक म्याराथन', ‘बन्दूक’, ‘सपना जुत्ता’ आदि कविताले शान्ति प्रक्रियापछि सत्तासीन बनेका तत्कालीन विद्रोहीका विद्रूप चालाप्रति प्रहार गरेका छन्।
कविता मार्फत सुरजले उठाएका सवाल तीखा छन्। केही कविताले पहिचानको पैरवी गर्छन्। गैरलिम्बू भएर पनि उनले लिम्बू मिथक राम्ररी समातेका छन्। ‘याक्थुम्बा बाजेको जीवनगीत’, ‘हात माग्न आउँदाआउँदै’, ‘थेचम्बु’ यही धारका कविता हुन् जहाँ लिम्बू संस्कृति, मिथक र स्थानीयताको अर्गानिक सम्मिश्रण छ। संग्रहमा ‘मित्च्विक’ शीर्षकको एक कविता छ। मित्च्विक ताप्लेजुङको थेचम्बु छेउको एउटा ठूलो ढुंगालाई भनिँदो रहेछ। यो कवितालाई सुन्दर ढंगले टुंग्याएका छन्।
घरीघरी यस मुलुकमा
शासकहरूको निद्रा बिग्रिरहन्छ
जब जब उनीहरूलाई महसूस हुन्छ
कि यहाँ मित्च्विक बाहेक अरू पनि बस्ने गर्छन्।
यसरी मिथक र अन्य सांस्कृतिक विम्बबाट पनि जनमतलाई जुलुसका लागि जुरुकजुरुक पार्छन् उनी।
यस संग्रहको अर्को पक्ष हो, प्रेमभाव। ‘हजुर जानुभयो’, ‘दोषी’, ‘याद’, ‘अनुभूति’, ‘तिमीलाई सम्झिरहेको हुनेछु’ आदि कविताले प्रेमरथमा सवार युवाहृदयको वेग बढाइदिने सामर्थ्य राख्छन्। मीठो प्रेम निवेदन गरिएको ‘हजुर मुस्कुराउनोस्’ भित्रको एक अंशः
हजुर मुस्कुराउनोस्
ता कि प्रेमको मैनबत्ती जलिरहोस् त्यो अनुहारमा
हजुरलाई देखेर
मेरो जिन्दगीको छातीनेर
सधैं धड्किरहोस्– एउटा गुलाब।
केही कवितामा विज्ञानको केस्रा भेटिन्छ। निहारिका, धूमकेतु, ब्रह्माण्ड, धमनी, शिरा आदि शब्दको लाक्षणिक प्रयोग सार्थक लाग्छ। स्वतन्त्रताको आह्वान गरिएको ‘निहारिकाको आत्मप्रण’ कविताको अंश हेरौंः
जा निहारिका,
बन्द कोठाबाट पिंजडा लिएर बरन्डामा
उडाइदे आफूलाई आकाशमा।
मस्तिष्क आकारको चित्रमा बुनिएको कविता ‘करोडौं ब्रह्माण्ड रोटेपिङ खेल्छन् मस्तिष्कमा’ वैज्ञानिक कसीमा लेखिएको छ। यहाँनेर म पान्थरे मित्र सगुन सुसाराको चित्रमय कवितासंग्रह माङ्गफुङ्गको कायाकल्प सम्झन्छु। सुसाराले झन्डै दुई दशकअघि लिम्बू मिथक र संस्कृतिलाई सचित्र प्रस्तुत गरेका थिए। सुरजका कवितामा पनि बहुसांस्कृतिकवादको सोही आह्वान भेटिन्छ।
विविधताको पैरवी गरिएको संग्रहमा सशक्त कविता हो, ‘देश’। जसको अन्त्यमा छ–
म खोजिरहेछु
किताबका प्रत्येक पन्नामा
खै सिङ्गो देश?
सहअस्तित्वको खोजले नै देश र समाजमा समावेशिता बढाउने हो। अर्को कविता ‘ओ बाहुनी’ मा समावेशी र सहिष्णु समाजको पैरवी गरिएको छ।
इः हेर त !
हाम्रो प्रणय कस्तरी मिलेको !
... ... ...
ओ बाहुनी !
तेरो र मेरो संसर्गबाट जन्माइदिऊँ
एउटा समुन्नत समाज!
सुरजका कविताले नारी संवेदना र जातीय, धार्मिक, लैंगिक अल्पसंख्यक समुदायप्रति पनि समभाव प्रकट गर्छन्। लैंगिक अल्पसंख्यकको विषयमा संवेदनशील देखिन्छन् उनी। समलिंगी सम्बन्धप्रति हार्दिक प्रेम देखिन्छ उनको। धर्म, लिंग, जात, क्षेत्र, वर्ग, तह, रङ, देशभन्दा माथि उठ्ने आह्वानको अनुगुन्जन पाइन्छ अरू केही कवितामा। यी कविता पढिरहँदा भारतीय कवि/गजलकार निदा फाजली सम्झनामा आउँछन्, जसले लेखेका छन्–
कोही हिन्दू, कोही मुस्लिम, कोही इसाई
सबने इन्सान ना बन्नेकी कसम खाई।
दुःखको आकाश जस्ता दार्शनिक र जीवनवादी कविता पनि समावेश छन् सुरजको संग्रहमा। उनको वैश्विक चेत राम्रो छ। अन्तर्राष्ट्रिय घटना र मार्क्स, च्वे ग्वेभारा, गान्धी, जिसस लगायत व्यक्तिहरू कवितामा विम्बका रूपमा छाएका छन्।
कवितामा उनको स्वर देशको साँघुरो सीमामा कैद छैन, राष्ट्रवादको खोक्रो आडम्बरको पछाडि कुदेको छैन। अन्तर्राष्ट्रियवाद कविको अभीष्ट देखिन्छ।
समान हुनेछ सबै धर्म, जात र वर्ण
... ... ... ...
मेटिनेछ सिमाना देश महादेशबीच
र हुनेछ पृथ्वी साझा।
यो कविता पढ्दै गर्दा नेपथ्यमा कतै गुन्जिए झैं लाग्छ, जोन लेननको गीत ‘इम्याजिन देयर इज नो कन्ट्रिज्’। उसरी नै पार्श्वबाट कसैले वाचन गरे झैं लाग्छ, विजय मल्लको कविता ‘छोरीलाई मानचित्र पढाउँदा’। अनि याद आउँछ, शिल्पी थिएटरमा जलेर गान ब्यान्डका बाङ्लादेशी गायनमण्डलीले गाएको गीत– ‘एमोन जोदि होतो, आमी पाखीर मतो। उडे उडे वेडाई साराखन’ (यदि यस्तो हुन्थ्यो, म चरा भएको भए हरक्षण उडीउडी संसार डुल्थें)। सीमाहीन विश्वको कल्पनामा मुक्त गायन गर्नेहरूलाई पढ्दा/सुन्दा सामूहिकता, सहअस्तित्व र अन्तर्राष्ट्रियवादको संसार सम्भव भए झैं लाग्छ।
शैलीगत विवेचना
सुरजको कविताकृतिमा केही नयाँ विम्ब र उपमा छन्। केही गजब दृष्टान्त हुन्- गुच्चाभन्दा कमसल, तीजमा छोरी माइत आए जस्तो, शृंगारिएर आउँदैन परिवर्तन, प्रश्नको मार्तोलले/सुमसुम्याउनै पर्छ निदाएको इतिहासलाई, छिमेकीको निद्राको सबै हाँगा लुछिदिएकै हुँ। अतीत स्मृति (नोस्टाल्जिया) र विगत पीडा (मेलान्कोलिया)ले उनलाई पछ्याएको देखिन्छ। ‘हात माग्न आउँदाआउँदै’ कविताको अंश ‘बाटो त बाटो मात्र नभएर/अटोग्राफ रहेछ धर्तीमा पुर्खाका पैतालाहरूको’ मा विगत विचरण बाक्लो छ। पढ्दै जाँदा पाठक कतै विरेचित हुन्छन् त कतै अनिद्रित। सोल्टिनीलाई प्रेम निवेदनको छनक दिएर थालिएको यो कविता पुर्खाको विरासत केलाउने खरो कविता लाग्छ।
पेचिला प्रश्नहरू लेखनको सामर्थ्य हो। ‘सपनाको स्थगन भए के हुन्छ?’– अमेरिकी कवि ल्यांगस्टेन ह्यूजले कविता ‘ड्रिम डिफर्ड’ मा अमेरिकी गोरा शासनसत्तालाई शक्तिशाली प्रश्न गरेका छन्। थुप्रै सम्भावनातर्फ संकेत गर्दै उनले अन्तिम प्रश्न गरेका छन्– ‘अथवा यो विस्फोटन हुन्छ?’ यसैगरी सुरजले केही कवितामा प्रश्नलाई नै हतियार बनाएका छन्। शासक, समाज, पहरेदारहरूलाई उनका प्रश्नले बेस्सरी घोच्छन्।
शब्द चयनमा उनको आफ्नोपन पोखिएको छ ठाउँ ठाउँमा। सिल्लड छायाँ, सेवन्ती समय, सम्झनाको डल्लब आदिको प्रयोग अलग र आकर्षक लाग्छ। उनमा कुशल व्यंग्य चेत पनि रहेछ। निकै बिझाउने कुरा पनि घुमाएर व्यक्त गर्न सक्छन् उनी। ‘साँढेहरूको कन्सर्ट’, ‘परिवर्तन’, ’इतिहासको बृहत् सभा’ मा यो पक्ष देखिन्छ। ‘माछाको शिकार’ कविताको यो अंशले सचेत पाठकलाई रन्थन्याउँछः
माछाको शिकार गर्न त्यति नै सजिलो हुन्छ
जति सजिलो हुन्छ
चुनावका वेला सोझा मान्छेहरूलाई
सपनाको मखमली सुइरोमा रोप्न।
केही विरोधाभास
पाठकीय नजरमा प्रायजसो संग्रहका कविता अब्बल, मध्यम र सामान्य लाग्छन् नै। सुरजका कवितामा पनि शतकौंअघि प्रयोगमा आएका ‘आकाशको तारा झारिदिन्छु’ शैलीका अतिरञ्जना पाइन्छ। अतिशय भावुकता र प्रशंसाका फूलझडीले शेक्सपियर, मिल्टन, लेखनाथ पौड्यालका पराभौतिक हरफ सम्झनामा ल्याउँछन्। ‘ओ बाहुनी’ र ‘लेस्बियन छायाँ’ विषयमा बलिया छन्, तर कविताको क्राफ्टमा चुकेका छन्। ‘स्वप्निल स्मृतिको प्रेमपत्र’ ले उतिसारो मुटु पल्टाउन सकेन। अरू पनि केही सपाट कविता छन्। किटेरै भन्दा ‘म ब्रह्माण्ड’ त्यति दार्शनिक लागेन, न त काव्यिक नै। अति मानवीयता र समावेशिताका जोखिम पनि छन्। सबैको हुने र सबैलाई रिझाउनेतिर लाग्दा आफ्नो पहिचान नरहनेतर्फ कवि सजग हुनुपर्छ।
सुरज बहुवचन शब्द धेरै खेलाउने कवि रहेछन्। केही शीर्षक र सन्दर्भमा त्यसो नगर्दा मीठो सुनिने थियो।
केही कविताले युद्धको धङधङी बोकेका छन्। ‘बिंडी फुकेर मुस्कुराइरहन्छ निरंकुशता/तब बन्दूकले कविता लेख्न थाल्छ’– कतै यसरी कुर्लिन्छन्। फेरि ‘समय एक म्याराथन’ भित्र उनी वितृष्णा ओकल्छन्– ‘मेरो टाउकोमा/युद्धको भद्दा वजन बोकाइयो’।
अन्य केही कवितामा पनि यस्ता विपर्यय स्वरको अनुगुन्जन पाइन्छ। पुर्खाको इतिहासका सन्दर्भ वर्णन गर्दा परम्पराको भँगालोमा हेलिन्छन् कविता। आधुनिकता र परम्पराबीच द्वन्द्व सिर्जना हुन्छ। जस्तैः
कुनै जोखना नहेरीकन
आफ्नै आत्माको आवाज लेख्छु
(‘कविताका मालिकहरूलाई’)
कहाँ छ हाम्रो आस्थाको फूल चढाउने देउराली?
फूल जस्तो मुन्धुमको सुवास कहाँ छ?
(‘किताबमा देश’)
उच्चताको दाबी र क्लिसेबाट सुरज भरसक जोगिएका छन्। कवि हावी छैन, कविता आफैं वाचाल छन्। दर्शन, राजनीति, आदिवासी पहिचान र सौन्दर्य, वैश्विक चेतना, लैंगिक समभाव, विविधता, बहुसांंस्कृतिकवाद जस्ता विषयको मीठो पकवान हो यो संग्रह। अध्ययन, अवलोकन र अनुभूतिबाट निःसृत इतिहासदेखि वर्तमान र कतै भविष्यको मार्गचित्र सहितको चौडा राजमार्ग पनि हो यो। त्यसैले रुचि अनुरूपका खुराक चाख्न सक्छन् पाठकले। लिम्बू मिथक, पहिचान र संस्कृतिलाई समाउने धेरै कवि, लेखक, नाटककार, सिनेमेकर छन्। तर सहिष्णुता र मानवता बोकेको सिर्जनाको बलमा भीडबीच अलग उपस्थिति देखाएका छन् सुरजले।