नेपाली हुन संघर्ष गरिरहेका जापानमा जन्मिएका नेपाली बालबालिका
जापानमा कार्यरत नेपालीहरू त्यहाँ जन्मिएका सन्तानलाई पढाउन र स्वदेश चिनाउन नेपाल फर्काउँदै छन्।
आयान डल्लाकोटी जापानको प्रवासी नेपाली परिवारमा जन्मिए। हुर्कंदै गर्दा उनले देखेको भूमि, सिकेको भाषा, घुलमिल गरेको समाज-संगति र भिजेको संस्कृति केवल जापानी थियो। त्यसैले आफूलाई जापानी नै ठान्थे। तर परिवारमै यस्ता केही संस्कार बाँकी थिए, जसले उनलाई बिस्तारै आमजापानीभन्दा फरक रहेको अनुभूति गराए। बुबाआमा घरमा नेपाली भाषामा कुराकानी गर्थे। वेलाबखत उनलाई पनि नेपाल लैजान्थे।
पछिल्लो चोटि आयान ८ वर्षको छँदा नेपाल आए। यसपालिको बसाइ पहिले जस्तो छोटो थिएन। साथमा थिए, आमा प्रतिभा र भाइ आभान। बुबा अञ्जय रोजगारका लागि जापानमै रहे। दम्पतीको सल्लाहमा आमा प्रतिभा छोराहरूलाई नेपालकै शिक्षा पढाउने भनी यतै फर्किइन्।
आयान नेपाली भाषासँग त धेरथोर परिचित थिए, तर यहाँको समाज र शिक्षा प्रणालीसँग अभ्यस्त थिएनन्। त्यसैले घुलमिल हुन मुश्किल पर्यो। उनी जुन विद्यालयमा भर्ना भए, त्यहीं जापानबाट आएका अर्का साथी पनि थिए। “ऊ हुन्जेल अलि सहज मान्थ्यो, तर साथी छुट्टै विद्यालयमा गएपछि उसलाई झन् अप्ठ्यारो पर्यो,” प्रतिभा सम्झन्छिन्।
बुबा अञ्जय धेरै अघि विद्यार्थी भिसामा जापान गएका थिए। पछि त्यसलाई कामदार भिसामा बदलेर बसाइ लम्ब्याए। केही वर्षपछि पत्नी प्रतिभालाई लगे। यहीबीच आयान र आभान जन्मिए। १२ वर्ष जापान बसेपछि प्रतिभा सन् २०२० मा छोरा सहित नेपाल फर्किइन्।
लामो समयदेखि जापान बस्दै आएका नेपालीले छोराछोरीलाई नेपालमै पढाउन चाहनुमा मुख्य तीन कारण छन्। पहिलो, उनीहरूले नेपाली पहिचान र संस्कृति भुल्ने चिन्ता। दोस्रो, जापानमा अंग्रेजी माध्यममा पढाइ नहुनु र त्यसकै कारण सन्तानले अवसर गुमाउने डर। तेस्रो, स्थायी बसोबासको अनुमति नपाएर बीचमै फर्किनुपरे सन्तानको पढाइ अधकल्चो हुने जोखिम।
“अंग्रेजी माध्यमका विद्यालयमा पढ्दा बालबालिकालाई भविष्यमा नेपालमै काम गर्न वा अन्य देश जान सहज हुन्छ भन्ने लाग्छ,” सपना खरेल भन्छिन्। उनी पनि आफ्ना दुई सन्तानलाई पढाउनकै लागि नेपाल फर्किएकी हुन्।
जापानमा स्थायी बसोबास नभएका परिवारलाई छोराछोरीलाई त्यहाँ पढाउने कि नपढाउने भन्ने चिन्ता अझ बढी हुन्छ। यद्यपि हिमालखबरसँग कुराकानी गरेकाहरूमध्ये छोराछोरीको पढाइका लागि फर्किनेमा जापानको स्थायी बसोबास पाइसकेकाहरू नै बढी छन्। यसको कारण हो– जापानको शिक्षा प्रणाली उत्कृष्ट भए पनि त्यहाँका बालबालिका एकलकाटे हुने र परिवारसँग घुलमिल नगर्ने भन्ने नेपाली अभिभावकको बुझाइ। “हाम्रा छोराछोरी पनि त्यस्तै भइदेलान् भनेर नेपाल ल्याई आफ्नो संस्कृतिसँग परिचित गराउने निर्णय गर्यौं,” बालिका ओडारी भन्छिन्।
बालिकाले १० वर्षीया छोरी आहानालाई एक वर्षअघि नेपाल ल्याएकी छन्। जापानमा कक्षा ३ उत्तीर्ण आहानाले यहाँ तेस्रो कक्षा दोहोर्याउनुपर्यो। “भाषाको समस्याले गर्दा शुरूका केही महीना ऊ बोल्दै बोलिन,” बालिका सम्झन्छिन्, “यहाँको तौरतरीकामा ढाल्न झन्डै एक वर्ष लाग्यो।”
जापानबाटै आएकी अर्की बालिका शिविकाले पनि यहाँ आएर कक्षा १ दोहोर्याएर पढ्न पर्यो। छोरीको पढाइका लागि उनका बुबाआमा नै फर्किएका छन्। नेपाली पाठ्यक्रममा छोरीको जग बलियो बनाउन कक्षा दोहोर्याइएको आमा नीतु विष्ट सुवेदी बताउँछिन्। शिविका अहिले कक्षा ९ मा पुगिसकिन्। “तर उसलाई जापानमा सँगै पढेका साथीहरू आफूभन्दा माथिल्लो कक्षामा पुगिसके भन्ने गुनासो छ,” नीतु भन्छिन्, “उसलाई त्यहाँका साथीहरू, लवाइखवाइ याद आइरहन्छ।”
१४ वर्षीया स्नेहा खत्री सानै उमेरदेखि जापान जाउजाउ गरिरहेकी छन्। जापानमा जन्मिएकी उनी ६ वर्षको हुँदा नेपाल पहिलो पटक आएकी थिइन्। स्नेहाले कक्षा ३ सम्म यता पढिन्। त्यसपछि टोकियोको एभरेस्ट इन्टरन्याशनल स्कूल भर्ना भइन्। निजी तहमा खोलिएको यो स्कूलले नेपाली पाठ्यक्रम अनुसार पढाउने गरेको छ। पढाइ उतै भए पनि निश्चित परीक्षा दिन नेपाल आइरहन पर्छ। महीना दिनअघि कक्षा ८ को आधारभूत तहको परीक्षा दिन आएकी छन्।
कक्षा ७ मा पढ्ने आयान पनि अर्को वर्षको आधारभूत तहको परीक्षालाई लिएर चिन्तित छन्। उनी भन्छन्, “सामाजिक अध्ययन (जुन नेपाली भाषामा पढाइन्छ) सबैभन्दा गाह्रो लाग्छ। अर्को गाह्रो चाहिं नेपालीे विषय हो।” परिवार र साथीभाइसँग बोल्न उति गाह्रो नभए पनि नेपाली भाषामा पढ्न अप्ठ्यारो परेको धेरैजसो बालबालिकाको अनुभव छ।
यद्यपि उताबाट आएका सबै बालबालिकालाई नेपाली भाषा र समाजमा भिज्न अप्ठेरो परेको होइन। “अहिले मैले मातृभाषा सिक्नुको महत्त्व बुझेको छु। त्यसैले मेरो पाठ्यक्रममा अनिवार्य नेपाली विषय नभए पनि आफैं नेपाली कक्षाहरू लिइरहेको छु,” १७ वर्षीया शौर्या खरेल भन्छिन्। जापानमै जन्मिएकी उनलाई आमाले ६ वर्षकी छँदा पढाउन भनी नेपाल ल्याएकी थिइन्। केही समयपछि टोकियोकै एभरेस्ट स्कूलमा पढेकी उनी १२ वर्षकी छँदा आधारभूत तहको परीक्षा दिन फर्किइन्। त्यसयता भने यतै बसेर पढिरहेकी छन्।
मनोवैज्ञानिक जोखिम
यसरी सानै उमेरमा एकबाट अर्को परिवेशमा ल्याइँदा बालबच्चाको मनोसामाजिक विकासमा बाधा पुग्ने जोखिम पनि रहन्छ। बच्चाको स्वस्थ विकासका लागि अभिभावक र परिवेश स्थिर हुन आवश्यक रहेको ह्याप्पी माइन्ड्सकी क्लिनिकल मनोवैज्ञानिक सिर्जना अधिकारी बताउँछिन्। “सानो उमेरका बालबालिका दुई वा दुईभन्दा धेरै भाषा सिक्न सिपालु हुन्छन्, तर ती भाषाका सीमित शब्दावली मात्र थाहा हुने भएकाले उनीहरूलाई भावना व्यक्त गर्न समस्या पर्न सक्छ,” उनी भन्छिन्, “यसले उनीहरूमा मनोरोगको जोखिम बढाउन सक्छ।”
टोकियोस्थित सोफिया विश्वविद्यालयकी प्राध्यापक मासाको तानका जापानमा रहेका आप्रवासी नेपाली बालबालिका दुई देशको पहिचानबीच फसिरहेको ठान्छिन्। उनले जापानमा रहेका नेपाली समुदाय र तिनका बालबालिकाको शिक्षाबारे अध्ययन गर्दै आएकी छन्। “आप्रवासी बालबालिकाको हितमा कसले सोच्ने? तिनीहरूका लागि को जिम्मेवार हुने,” तानका भन्छिन्।
जापानका आप्रवासी नेपाली बालबालिकाका लागि नेपाली भाषा शिक्षा सम्बन्धी कार्यशालामा सहभागी हुन उनी हालै काठमाडौं उत्रिएकी थिइन्। विदेशमा रहेका बालबालिकालाई उतै मातृभाषामा शिक्षा दिने व्यवस्था गरिए नेपालमा पुनःस्थापित हुन सहज हुने निष्कर्ष तानकाले कार्यशालामा सुनाइन्। “नेपाल सरकारले अनलाइन वा घरमा पढ्ने पाठ्यक्रमको विकास गरेर, विदेशमा रहेका शिक्षकहरूलाई भाषिक तालीम दिएर र बालबालिकाको भाषा सुधार्ने कार्यक्रम आयोजना गरेर प्रोत्साहन गर्न सक्छ,” उनले हिमालखबरसँग भनिन्, “म्यानमार, थाइल्यान्ड, भियतनाम र ब्राजिल जस्ता देशले जापानमा रहेका आफ्ना आप्रवासी बालबालिकाका लागि यस्तै गरिरहेछन्।”
जापान नेपालीहरूको रोजगार गन्तव्य बनेको धेरै भइसक्यो। अहिले त्यहाँ नेपालीको संख्या एक लाख ८० हजार जति पुगिसक्यो। नेपालस्थित जापानी दूतावासका अनुसार गत वर्ष मात्र ५२ हजार ७३ नेपालीले भिसा लिएकोमा ४० हजार जति जापान पुगेका छन्। भिसा लिनेमध्ये २३ हजार १२४ जना विद्यार्थी, आठ हजार ५६६ जना कामदार र सात हजार ८४९ जना आश्रित बनेर गएका छन्। तानकाका अनुसार जापानमा रहेको नेपाली समुदायमा झन्डै २० हजार जना १८ वर्षमुनिका बालबालिका छन्।
जापानमा रहेका पुरानो पुस्ताका अधिकांश नेपाली ‘दक्ष श्रम’ भिसामा गएका भान्से हुन्। नयाँ चाहिं बढीजसो विद्यार्थी भिसाका छन्। जुन भिसाबाट लगे पनि जापान सरकारका लागि यस्तो आप्रवासन सेवा क्षेत्रमा श्रमशक्ति अभाव हुन नदिन बनाइएको योजनाबद्ध प्रणाली हो। त्यसैले विद्यार्थी र कामदारले परिवार पनि सँगै लैजान सक्छन्।
जापानमा नेपाली पढाइ
गत असारमा एसईईको परिणाम प्रकाशन हुँदा उत्तीर्ण हुनेमा जाम्बियाका नागरिक रहेका विद्यार्थी पनि थिए। उनले एभरेस्ट इन्टरन्याशनल स्कूल जापान (ईआईएसजे) बाट पढेर परीक्षा दिएका हुन्। खासगरी जापानमा रहेका नेपाली मूलका बालबालिकालाई लक्ष्य गरी यो स्कूलले नेपाल सरकारको पाठ्यक्रम अनुरूप अंग्रेजी माध्यममा पनि शिक्षा दिंदै आएको छ। जापानका अन्य विद्यालयमा जापानी भाषामै पढाइने भएकाले यो विद्यालयले नेपालीसँगै अन्य देशका विद्यार्थीलाई पनि अंग्रेजी माध्यममा पढ्ने सुविधा दिएको छ। यद्यपि परीक्षा नेपाली पाठ्यक्रम अन्तर्गत नै दिनुपर्छ।
सन् २०१३ मा नेपाली समुदायले स्थापना गरेको यो विद्यालयलाई सन् २०१५ मा नेपालको शिक्षा मन्त्रालयले हेर्न थाल्यो। ईआईएसजे नेपालको शिक्षा प्रणाली अन्तर्गत माध्यमिक शिक्षा परीक्षा लिने एक मात्र विद्यालय हो। जापानमा नेपालीको संख्या बढेसँगै नेपाली पाठ्यक्रम पढाउने विद्यालय एकपछि अर्को खुल्दै छन्। तर शिक्षा मन्त्रालयबाट सञ्चालन अनुमति पाउनेमा नागोयास्थित टोकाइबाटिका इन्टरनेशनल स्कूल र टोकियोस्थित एभरेस्ट इन्टरन्याशनल स्कूल मात्र छन्। यी दुवैले कक्षा १० भन्दा तल मात्र पढाउन पाउँछन्।
“हालसम्म नेपाल बाहिर नेपाली पाठ्यक्रम पालना गरी पढाउने विद्यालय भएको देश जापान मात्र हो,” शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा समीक्षा कार्यालयका निर्देशक परशुराम तिवारी भन्छन्।
निजी तहमा सञ्चालित यी विद्यालयका विद्यार्थीले जापानका आमसरकारी विद्यालयका विद्यार्थीले जस्तो सुविधा भने पाउँदैनन्। पहिलो त यी विद्यालय निःशुल्क छैनन्। अर्कातिर जापान सरकारबाट प्रमाणित नभएकाले यहाँका विद्यार्थी यातायातमा छूट सहितका सुविधाबाट पनि वञ्चित हुन्छन्। “ईआईएसजेका विद्यार्थीले पछि स्वतन्त्र रूपमा जापानको बसाइ लम्ब्याउन भिसा पाउँदैनन्। जापानी विद्यालयबाट शिक्षा लिएका आप्रवासी विद्यार्थीलाई भने त्यो सुविधा दिइएको छ,” प्राध्यापक तानका भन्छिन्।
जापानमा अरू देशका आप्रवासीलाई पनि सोही देशको पाठ्यक्रम अनुरूप पढाउने अन्तर्राष्ट्रिय विद्यालयहरू छन्। जस्तो- केकेएसले कोरियाका प्रवासी बालबालिकालाई पढाउँछ। “यो विद्यालय जापान र कोरिया दुवै सरकारको मापदण्डले प्रमाणित छ,” तानका भन्छिन्, “ईआईएसजे पनि जापान सरकारबाट प्रमाणित हुन सके त्यहाँ अध्ययनरत बालबच्चालाई सहज हुन्छ।”
टोकियोबाट टाढा बसाइ र रोजगारमा रहेका नेपालीलाई भने यी विद्यालय पायक नपर्ने भएकाले कि जापानी स्कूलमै पढाउनु कि त छोराछोरी च्यापेर नेपाल आउनुको विकल्प रहँदैन।