फेरि खस्कियो घरजग्गाको कारोबार
घरजग्गाको बजार चलायमान बनाउन सरकारले अनेकौं प्रयास गरे पनि कारोबार थप शिथिल हुन पुगेको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत असोजमा देशभरिमा ३० हजार ५२७ वटा घरजग्गाको किनबेच भयो। यो गत वर्षको असोजको तुलनामा करीब २४ प्रतिशत कम हो।
असोजको घरजग्गाको कारोबार यस वर्षकै कम पनि हो। गत जेठमा देशभरिमा ६१ हजार १६१ वटा घरजग्गा किनबेच भएसँगै शिथिल बजार चलायमान हुन थालेको अनुमान गरिएको थियो। तर जेठपछि हरेक महीना घरजग्गाको किनबेच शिथिल हुँदै गएको छ।
असारमा ४६ हजारमा ओर्लिएको घरजग्गा कारोबार साउनमा थप घटेर ४३ हजार ८०० मा ओर्लिएको थियो। भदौमा घरजग्गाको कारोबार ३२ हजार ७९८ मा झरेको थियो। असोजमा कारोबार थप खस्किएको हो।
दशैं चाड परेकाले असोजमा घरजग्गाको किनबेच केही घटेको भए पनि बजारको शिथिलता भने कायमै रहेको तथ्यांकले देखाउँछ।
सरकारले घरजग्गाको कारोबार बढाउन गत वर्षदेखि नै नीतिगत लचकताको नीति अगाडि सार्दै आएको छ। तर पछिल्ला तीन वर्षदेखि घरजग्गाको शिथिलता तोडिन सकेको छैन। खासगरी, घरजग्गाको बढी किनबेच हुने काठमाडौं सहितका शहरी क्षेत्रमा मूल्य असाधारण तरीकाले चुलिइसकेको र माग पनि घटेकाले घरजग्गाको किनबेच कमजोर भएको अनुमान गरिएको छ।
पछिल्ला वर्षमा स्थायी बसोबासका लागि विदेश जाने र जान खोज्ने प्रवृत्ति बढेसँगै शहरी क्षेत्रमा घरजग्गाको माग कमजोर भएको छ।
यस आर्थिक वर्षको पहिलो तीन महीनामा एक लाख ७ हजार १६० वटा घरजग्गाको किनबेच भएको छ। यो पछिल्लो चार वर्षकै न्यून कारोबार हो।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा एक लाख १४ हजार ७४२ वटा घरजग्गाको किनबेच भएको थियो।
घरजग्गाको कारोबार तीव्र भएको वेलाको तुलनामा अहिलेको कारोबार आधा जति मात्रै हो। घरजग्गा बजार चम्किएको वेला आव २०७८/७९ को पहिलो त्रैमासमा देशभरिमा दुई लाख सात हजारभन्दा धेरै घरजग्गाको किनबेच भएको थियो। यसले बजारमा लामो शिथिलता कायम रहेको संकेत गर्छ।
घरजग्गा कारोबारको केन्द्र काठमाडौं उपत्यकामै कारोबारमा सुधार आउन सकेको छैन। गत असोजमा काठमाडौं उपत्यकाका नौ वटा मालपोत कार्यालयबाट तीन हजार १९४ वटा मात्रै घरजग्गाको किनबेच भयो। जबकि गत वर्षको असोजमा काठमाडौं उपत्यकामा चार हजार २८४ वटा घरजग्गाको कारोबार भएको थियो।