अर्थतन्त्रमा सामान्य सुधार, वैशाख–असारमा २.१ प्रतिशतको आर्थिक वृद्धि
अर्थतन्त्र मन्दीमा रहेको चर्चा लामो समयदेखि चल्दै आएको छ। व्यवसायीहरूले बजारमा माग नबढेको र बजार अभूतपूर्व रूपमा शिथिल रहेको बताउने गरेका छन्।
तर अर्थतन्त्रको स्थिति नाप्ने मुख्य मापदण्डका रूपमा रहेको आर्थिक वृद्धिदरको तथ्यांकले भने अर्थतन्त्र मन्दीमा नरहेको देखाएको छ। यद्यपि अर्थतन्त्रको वृद्धिदर सामान्य मात्रै छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिकको तथ्यांकले वैशाख–असारमा नेपालको अर्थतन्त्र २.१ प्रतिशतले बढेको देखाएको छ। यो अघिल्लो आर्थिक वर्षसँग गरिएको तुलना हो।
लगातार दुई त्रैमासको वृद्धिदर ऋणात्मक भएमा अर्थतन्त्रमा मन्दी आएको मानिने अर्थशास्त्रीय मान्यता छ। आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा अर्थतन्त्र १.१ प्रतिशतले ऋणात्मक भएको थियो। त्यसयता अर्थतन्त्रको वृद्धिदर ऋणात्मक अवस्थामा पुगेको छैन।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्र ४.५ प्रतिशतले, दोस्रो त्रैमासमा ४.६ प्रतिशतले र तेस्रो त्रैमासमा ३.१ प्रतिशतले बढेको थियो। गत आर्थिक वर्षको सबै त्रैमासलाई औसत मान्दा अर्थतन्त्र ३.५ प्रतिशतको हाराहारीमा वृद्धि भएको देखिन्छ। केन्द्रीय तथ्यांक कार्यालयले गत आर्थिक वर्ष कति प्रतिशतले आर्थिक वृद्धि भएको भनी अहिलेसम्म तथ्यांक सार्वजनिक गरेको छैन। आगामी चैत्र–वैशाखमा मात्रै यस सम्बन्धी तथ्यांक सार्वजनिक हुनेछ।
यद्यपि विश्व ब्यांक र एशियाली विकास ब्यांक जस्ता अन्तर्राष्ट्रिय संस्थाले गत वर्ष ३.९ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि भएको आकलन सार्वजनिक गरेका छन्। यो विगतको सरदरको तुलनाकै हाराहारीको हो। नेपालले विगत दुई दशकमा सरदरमा ४ प्रतिशत जतिको वार्षिक आर्थिक वृद्धिदर गरेको छ।
गत आर्थिक वर्षको चौथो त्रैमासमा कृषि उत्पादनमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिले होटल क्षेत्रमा भएको सुधारले आर्थिक वृद्धिदर बढाउन भूमिका खेलेको कार्यालयले जनाएको छ। गत वर्षको चौथो त्रैमासमा अर्थतन्त्रका १८ वटा औद्योगिक वर्गीकरणमध्ये १५ वटामा सुधार आएको थियो भने तीन वटा ऋणात्मक हुन पुगेका थिए।
सबैभन्दा धेरै आवास र भोजन समूह १२.३ प्रतिशतले बढेको थियो। त्यसैगरी, यातायात र गोदाम १०.९ प्रतिशतले, प्रशासन र रक्षा १०.८ प्रतिशतले तथा वित्तीय र बीमा ६.२ प्रतिशतले बढेका थिए। यद्यपि अर्थतन्त्रलाई गतिशील बनाउने निर्माण क्षेत्र यो त्रैमासमा १३.४ प्रतिशतले ऋणात्मक भयो। विद्युत् तथा ग्यास र सूचना प्रविधि क्षेत्र पनि ऋणात्मक रहेको कार्यालयले जनाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक क्रियाकलापको तथ्यांक, उत्पादन, लगानी, उपभोग र बचत केलाउने अन्तर्राष्ट्रिय मापदण्ड र सिद्धान्तमा आधारित रहेर कुल गार्हस्थ्य उत्पादनको तथ्यांक सार्वजनिक गर्दै आएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गर्ने तथ्यांकलाई नै देशको अर्थतन्त्रको आधिकारिक तथ्यांक मानिन्छ।
तथ्यांक कार्यालयले मौसमी प्रभाव समावेश गरिएको कुल गार्हस्थ्य उत्पादनको तथ्यांक पनि प्रकाशित गर्छ। अर्थतन्त्रमा मौसम अनुसार उत्पादन र कारोबार फरक फरक पर्ने भएकाले त्यसलाई समेत मापन गरिन्छ। उदाहरणका लागि प्रमुख कृषि बाली धान आर्थिक वर्षको दोस्रो त्रैमासमा फल्छ। यसलाई चार वटै त्रैमासमा समायोजन गर्दा आँकडाले अर्को स्थिति देखाउँछ।
यस अनुसार गत आर्थिक वर्षको चौथो त्रैमास (वैशाख–असार)मा तेस्रो त्रैमास (माघ–चैत)का तुलनामा अर्थतन्त्र १ प्रतिशतले बढेको छ। खासगरी, खानी, विद्युत् जस्ता क्षेत्रको उत्पादन चौथो त्रैमासमा बढेको छ।