बाढीको क्षति भोगेको काठमाडौंलाई नागमती बाँधको दु:स्वप्न
वर्षाको पानी संकलन गरेर हिउँदमा नदीलाई जीवन्त बनाउने नागमती बाँधको योजना सोचे झैं सरल छैन, बरु काठमाडौं उपत्यकाका लागि निकै जोखिमयुक्त छ।
आकाश कालो-नीलो भएको छ; वेलावेला कसैले क्यामेराको फ्लास चलाए झैं बिजुली चम्किरहेको छ। कसैले धारा बन्द गर्न बिर्सेको हो कि भन्ने भान हुने गरी पानी परेकोपर्यै छ।
छेउको शान्त नदी उर्लिएको छ। मानौं ऊ समुद्रसँगको मिलनका लागि यति व्यग्र छ कि आफ्नो बाटोमा आउने जोकोहीलाई पनि निल्न तयार छ। खेतको कुलोले कीराफट्यांग्रा बगाए झैं मै हुँ भन्ने बलियाबांगादेखि बालबच्चा र बूढाबूढीलाई नदीले बगाइरहेको छ।
नदीको किनारमा उभिएर हेर्नेहरूको भाव कारुणिक छ। गुहार गुहार भनेर सुनिएको आवाजलाई एकै छिनमा नदीको भेलले शान्त बनाइदिएको छ। तर पनि नदी रोकिन्न। ब्रेक फेल भएको बुलेट ट्रेन हिंडे जसरी अगाडि बढिरहन्छ।
यो वर्णन सुनेपछि शायद कसैलाई हलिउडको कुनै ‘डिस्टोपियन’ चलचित्रको याद आउला त कसैका आँखाका पर्दामा असोज दोस्रो साता काठमाडौंका नदीमा आएको बाढीका तस्वीर नाच्लान्। नख्खु, हनुमन्ते, कर्मनासा, धोबीखोला, विष्णुमती, बागमती अनि अलि पर मकवानपुरको कुलेखानी।
धेरैलाई लाग्दो हो, बागमती र यसका सहायक नदीमा आएको बाढी र मकवानपुरको कुलेखानीमा आएको बाढीको तुलना हुन सक्दैन। धेरैको बुझाइमा बागमती बगरको अतिक्रमण भएका कारण घर घर पसेकी हुन् भने कुलेखानीको बाढी जलाशय भरिएर त्यसको ढोका खोलिंदा आएको हो।
यो बुझाइमा कतिको सत्यता छ भन्ने त विज्ञहरूलाई नै थाहा होला, तर नेपाल सरकारले तयार पारेको योजना अनुसार काम हुने हो भने निकट भविष्यमा बागमतीमा पनि कुलेखानीको जस्तै बाढी आउन सक्ने आशंका उब्जिएको छ।
बागमतीको भविष्य लामो समयदेखि सार्वजनिक चिन्ताको विषय रहिआएको छ। अत्यधिक फोहोर र प्रदूषणका कारण ‘मृत नदी’ को उपाधि पाएकी बागमती सुक्खा याममा बग्न पनि नसक्ने गरी थला पर्छिन् भने वर्षा याममा शहरै बगाउने हो कि जसरी उर्लिन्छिन्।
यसको समाधान सरल देखिन्छ: बागमतीको उद्गम थलो नजीकै ड्याम बनाउने, मनसुनको समयमा पानी संकलन गर्ने र सुक्खा याममा बिस्तारै छोड्ने, नदीको फोहोर पखाल्ने र नदीलाई जीवन्त राख्ने। नेपाल सरकार र सम्मानित सर्वोच्च अदालतको समेत सोच पनि यस्तै देखिएको छ।
सरकारले रु.२५ अर्बको अनुमानित लागतमा नागमती बाँध परियोजनाको परिकल्पना गरेको छ। एशियाली विकास ब्यांक (एडीबी)को ऋण सहयोगमा शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जभित्र निर्माण गरिने बाँध ९४.५ मिटर अग्लो हुनेछ र यसमा करीब ९४.८४ लाख घनमिटर पानी संकलन गर्न सकिनेछ।
परियोजनाको विस्तृत वातावरण प्रभाव मूल्यांकनले नै बाँध फुटेमा वा बाँध भरिएर ढोका खोल्नुपर्ने अवस्था आएमा पानी बागमतीमा जाने र काठमाडौंको सिनामंगल क्षेत्रमा १,१३० घनमिटर प्रतिसेकेन्डको दरले पानी बहन सक्ने देखाएको छ।
बाँधले विशेषगरी मनसुनको समयमा पानी संकलन गरी सुक्खा मौसममा बागमतीमा छाड्ने योजना बनाएको छ, जसले नदीको प्रवाहलाई नियमित गर्नेछ र पानीको गुणस्तर सुधार गर्नेछ। बाँध बनिसकेपछि गोकर्ण र पशुपतिनाथ जस्ता धार्मिक स्थलमा न्यूनतम प्रवाह प्रतिसेकेन्ड ०.४५ घनमिटर कायम हुने अपेक्षा गरिएको छ भने मनसुनमा बन्द गर्नुपर्ने अवस्था रहेको मेलम्ची खानेपानी आयोजनालाई ‘पैंचो’ मा पानी दिन सकिनेछ।
सम्मानित सर्वोच्च अदालतले हालै सार्वजनिक गरेको बागमतीमा थप २० मिटर ‘बफर जोन’ बनाउने आदेशको पूर्ण पाठको बुँदा नं ८८ मा समेत नागमती मात्रै नभएर उपत्यकाका विष्णुमती, हनुमन्ते, धोबीखोला र मनोहरा जस्ता नदीमा समेत बाँध बाँध्न सुझाइएको छ।
तर हालैका दिनमा काठमाडौंमा आएको बाढीले बागमतीमा बाँध बनाउनुले समस्याको समाधान गर्नुभन्दा पनि यसलाई अझै विकराल बनाउने देखाएको छ। परियोजनाको विस्तृत वातावरण प्रभाव मूल्यांकनले नै बाँध फुटेमा वा बाँध भरिएर ढोका खोल्नुपर्ने अवस्था आएमा पानी बागमतीमा जाने र काठमाडौंको सिनामंगल क्षेत्रमा १,१३० घनमिटर प्रतिसेकेन्डको दरले पानी बहन सक्ने देखाएको छ। यो पानी भनेको ओलम्पिकमा प्रयोग हुने पौडीपोखरी हरेक दुई सेकेन्डमा खाली गर्दा जतिको परिमाण हुने देखिन्छ।
बाँध फुटेमा आउने बाढीले गोकर्णेश्वर, काठमाडौं, ललितपुर र कीर्तिपुरका विभिन्न ठाउँ डुबानमा पार्नुका साथै हिन्दूको आस्थाको केन्द्र र विश्वसम्पदामा सूचीकृत पशुपतिनाथ र गुह्येश्वरी मन्दिरमा समेत असर पर्ने देखिन्छ।
परियोजनाका अधिकारीहरू ड्याम नयाँ प्रविधिमा आधारित हुने र यो भत्किने सम्भावना निकै न्यून रहेको बताउँछन्। तर नेपालको मौलिक भौगर्भिक अवस्थिति र यहाँ जलवायु परिवर्तनले पार्न सक्ने असरका कारण उनीहरूले भने जस्तो सम्भावना न्यून देखिंदैन।
नेपालमा मुख्यत: दुई मौसमी प्रणालीले पानी पार्ने गर्छन्। मनसुनको समयमा पूर्वबाट आउने बादलले पानी पार्छ। मनसुनको बहिर्गमनसँगै पश्चिमी वायुको प्रभाव शुरू हुन्छ, जसले विशेषगरी नेपालका मध्य र पश्चिमी भूभागमा जाडो महीनामा पानी र हिउँ पार्छ।
मानिसले उत्सर्जन गर्ने कार्बनका कारण पृथ्वीको तापक्रम बढ्दै जाँदा यी दुई प्रणालीमा समेत परिवर्तन देखिन थालिएको छ। मनसुनी बादल पहिलेभन्दा लामो समयसम्म नेपाली आकाशमा बस्न थालेको छ भने पश्चिमी वायु पहिलेभन्दा छिटो नेपाल छिर्ने सुरसार गर्न थालेको पाइएको छ।
मौसमविद्का अनुसार हालै देशभरको अविरल वर्षा पश्चिमी वायु र मनसुनी वायुको बीचमा भएको समिश्रणका कारण भएको थियो। पृथ्वीको तापक्रम बढ्दै जाँदा यस्तो घटनाको सम्भावना अधिक हुने वैज्ञानिकहरूले बताए पनि यो नवीन विषयमा धैरै अध्ययन हुनै बाँकी छ। उनीहरूका अनुसार जलवायु परिवर्तनले दीर्घकालको मौसम पूर्वानुमानलाई झनै जटिल बनाइदिएको छ। यसका कारण अधिक वर्षा हुन लागेको छ भनेर कम्प्युटरले जनाउ दिने समय र यसका लागि पूर्व तयारी गर्ने समयबीचको अवधि घट्दै जाने देखिन्छ।
अहिलेसम्म हामी काठमाडौंवासीले मनसुनको समयमा आउने बाढी मात्र देखेका छौं। तर पृथ्वीको औसत तापक्रम बढ्दै जाँदा पश्चिमी वायुले समेत धेरै पानी पार्न सक्ने देखिएको छ। दुई दिन लगातार पानी पर्दा त काठमाडौंको यो हालत छ, एक साता नै पर्यो भने के होला?
प्रस्तावित नागमती बाँध क्षेत्रमा भारी वर्षा हुँदै छ र बाँधका ढोका खोल्नुपर्ने हुन सक्छ भनेर कम्प्युटरले देखाइहाल्यो भने पनि यो सन्देश तल्लो तटमा रहेका मानिससम्म पुर्याउने र उनीहरूलाई सुरक्षित स्थानमा सार्ने समय पर्याप्त नहुन सक्छ। जसका कारण हजारौं मानिसको ज्यान जोखिममा पर्नेछ।
२०७२ सालको भूकम्पमा उपत्यकामै करीब एक हजार २०० मानिसको मृत्यु भएको थियो। बिदाको दिन परेको र पानी पर्ने मौसम शुरू नभइसकेको कारण थुप्रै मानिसको ज्यान बचेको थियो।
शक्तिशाली भूकम्प र अतिवृष्टि एकैसाथ हुने हो भने बाँध नहुँदा पनि ठूलो क्षति हुन सक्छ। बाँध बनिसकेको स्थितिमा भूकम्पका कारण फुट्न सक्ने र हालै आएको बाढीभन्दा कैयौं गुणा भयावह बाढी आउने सक्ने देखिन्छ।
पश्चिम नेपालमा ठूलो भूकम्प नआएको धेरै समय भएको र यस्तो भूकम्प जुनसुकै वेला जान सक्ने भूगर्भविद्को कथन छ। यस्तो भूकम्प आएमा बाँधलाई क्षति पुर्याउन सक्ने देखिन्छ। यसका कारण शहरको घना बस्ती भएर बग्ने बागमतीमा ठूलो बाढी आउन सक्ने विज्ञहरू बताउँछन्।
काठमाडौं उपत्यकामा बागमती नदीको एक मात्र प्रमुख निकास चोभारको खोच हो। हालैका दिनमा सामाजिक सञ्जाल प्रयोगकर्ताले एउटा रोचक प्रश्न उठाएका थिए- केही गरी यो निकास बन्द भए के हुन्छ होला?
नदीको निकासमा पनि विभिन्न समस्या देखिएका छन्। एकातिर ढुंगा, गिट्टी, बालुवा उत्खनन र प्रशोधनबाट निस्किएको फोहोर नदीसम्म पुग्ने गरेको छ भने अर्कातिर सडक निर्माणले गति लिइरहेको छ। यसका कारण नदीको बहाव थुनिने खतरा पनि देखिएको छ।
तसर्थ हालैका दिनमा काठमाडौंमा आएको बाढी र कुलेखानीको घटनाबाट पाठ सिकेर सरकारले देशको राजधानीको शिरमा यस्तो जोखिमयुक्त बाँध बनाउनुको विकल्प खोज्नु उपयुक्त देखिन्छ। संसारभर नै ठूला ड्याम भत्काउने लहर चलिरहेको वेला नेपाल भने उल्टो बाटोमा हिंड्नु जानाजान खाल्डोमा हाम फाल्नु सरह हुन जान्छ।
जोशी वातावरण तथा जैविक विविधताबारे चासो राख्ने पत्रकार हुन्।
यो पनि पढ्नुहोस्-