तेह्रथुमकी निरुले किन गराइन् हङकङमा ‘लिम्बू क्याटवाक’?
लिम्बू भाषामा ‘थाक’ भनेको हाते तान हो। हाते तानबाट बुनिएको कपडालाई ‘थाका’ भनिएको र त्यो कालान्तरमा अपभ्रंश हुँदै ‘ढाका’ भएको हुन सक्ने विश्वास गरिन्छ।
लिम्बू पोशाक र ‘क्याटवाक’ सुन्दा दुई विपरीत ध्रुव झैं लाग्न सक्छन्, तर हङकङमा ५ अक्टोबर साँझ ब्लू ओसियन रेस्टुरेन्टको हलमा भव्य कार्यक्रममाझ लिम्बू गरगहना सहित तेह्रथुमे ढाका पहिरनमा सजिएका युवायुवतीदेखि वृद्धासम्मले र्याम्पमा क्याटवाक गरेर दर्शकलाई भिन्न परिवेशमा डुबाए। कार्यक्रमस्थलमा लिम्बू खानपानका विभिन्न परिकार दुना र टपरीमा सजाइएका मात्र थिएनन्, आमन्त्रितलाई ती परिकार पस्किएको पनि थियो। तेह्रथुमे ढाका विभिन्न प्रकारका धागाको तान लगाई हातले बुनिने बुट्टेदार कपडा हो, जसबाट महिलाका लागि पछ्यौरी, कुर्ता, सारी, चोली र झोला, जुत्ता जस्ता परिधान बनाइन्छ भने पुरुषका लागि टोपी, कोट, मफलर, टाई, वालेट र इस्टकोटहरू बनाउने प्रचलन छ।
केही दशकअघिसम्म कपासलाई धागो बनाएर हातले बुनेको खाडीको कपडाबाट निर्मित दौरासुरुवाल र त्यसैलाई रंग्याएर सारी लगाउने चलन थियो। त्यस बखत ढाका कपडाबाट टोपी बुन्ने गरिन्थ्यो, तर आजभोलि लिम्बू समुदायमा ढाकाका कपडा फेशनको नयाँ संस्करणका रूपमा प्रचलनमा छन्। ढाकासँग लिम्बूको ऐतिहासिक सम्बन्ध रहेको ठानिन्छ। योसँग लिम्बू समुदायको जीवनपद्धति, पहिरन संस्कृति र इतिहास समेत जोडिएर आएको छ। लिम्बू भाषामा ‘थाक’ भनेको हाते तान हो। हाते तानबाट बुनिएको कपडालाई ‘थाका’ भनिएको र त्यो कालान्तरमा अपभ्रंश हुँदै ‘ढाका’ भएको हुन सक्ने विश्वास गरिन्छ। यस्तो मान्यताका कारणले पनि लिम्बूका निम्ति ढाका उसको पहिचानका रूपमा स्थापित हुँदै गएको छ।
पहिचानप्रति सचेत अग्रज लिम्बूले ढाकालाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै लैजान त्यसलाई फेशनसँग जोडिदिएपछि त्यसले बिस्तारै युवा पुस्तालाई पनि आकर्षित गर्दै लगेको देखिन्छ। हङकङमा ‘सेकमुरी युन्छो’ नाम दिइएको फेशन शो त्यही उपक्रम थियो। सेकमुरीको अर्थ लेकतिर पाइने बास्नादार गाजर जस्तो जरा र सोंफ जस्तो पात भएको सेतो मसिनो फूल हो जसमा औषधीय गुण रहेको हुन्छ। याक्थुङ मुन्धुम (लिम्बू उत्पत्ति सम्बन्धी मौखिक रूपमा पुस्तान्तरण हुँदै आएको कथा)मा यो फूललाई मानव जीवनको प्रतीकका रूपमा लिइन्छ र मुन्धुम आख्यानमा धेरै चर्चा गरिएको पाइन्छ। त्यसैले यसलाई पवित्र ठानिन्छ। युन्छोको अर्थ चाहिं साँझ हो।
ताप्लेजुङ–काठमाडौं–हङकङ
लिम्बू पहिचान निर्मित यो आस्थालाई डिजाइनर निरु लिम्बूले अवसरमा रूपान्तरित गरेको कथा लामो हुन सक्छ, यहाँ त्यसमाथि चर्चा गर्न खोजिएको होइन। तर निरुले आफ्ना पूर्वजले प्रयोग गर्दै आएको परम्परागत वस्त्रकलालाई आधुनिक डिजाइनसँग ‘फ्यूजन’ गरेर नौलो रूप दिएकी छन्। उनै निरुले तेह्रथुमे ढाकालाई काठमाडौं हुँदै विश्वबजारमा फैलाइरहेकी छन्। निरुले नै हङकङका लिम्बू कलाकारको संस्था याक्थुङ आर्टिस्ट सोसाइटीसँग सहकार्य गरी सेकमुरी युन्छो आयोजना गरेकी थिइन्।
निरुले नेपालबाटै लाखौं मूल्यका ढाका कपडा, लिम्बू गरगहना र क्याटवाकका सरसामान बोकेर आएकी थिइन्। साथमा, युवा पुस्ताकी चर्चित गायिका अनु चौधरी र गायक विकास लिम्बूलाई पनि हङकङ उतारिएको थियो। र्याम्पमा चाहिं हङकङकै नेपाली मोडलहरूले ‘क्याटवाक’ गरेका थिए। बाँकी चाँजोपाँजो स्थानीय लिम्बू कलाकारले मिलाएका थिए। यसका निम्ति सोसाइटीका कलाकार हेमराज लिम्बू (कार्यक्रम संयोजन), युगल पोमो (कोरियोग्राफी), व्यवसायी श्याम इङनाम, कलाकार वरघोज ओख्राबु र मौसम इम्बुङहरू खटिएका देखिन्थे।
शुरूमा चाडबाडमा आफ्नो गृहजिल्ला ताप्लेजुङ पुग्दा त्यहाँबाट ढाका किनेर लगाउने निरुले पछि बिस्तारै त्यसलाई काठमाडौं शहरमा फेशन परिधानका रूपमा कसरी बेच्न सकिन्छ भन्दै सानो उद्यम प्रारम्भ गरी ढाकालाई आकर्षक स्वरूप दिई नयाँ पुस्तालाई लोभ्याउन थालिन्। त्यसले काम गर्यो। राजधानीमा आयोजना हुने मिस लिम्बू र भोइस अफ नेपाल जस्ता कार्यक्रमबाट लिम्बू परिधानको चर्चा चुलिएपछि त्यसले निरुको सपनालाई आकार दिन थप सहयोग पुर्यायो। अहिले निरुले ललितपुरस्थित आफ्नै बुटिकबाट विश्वभर ताप्लेजुङे ढाका निर्यात गरिरहेकी छन्। निरुकै कारण सयौं ढाका उद्यमीको रोजीरोटी चलेको छ।
तेह्रथुमे ढाका कपडा उद्योग अर्थतन्त्रसँग मात्र जोडिएको छैन, यसले नेपालको महत्त्वपूर्ण सांस्कृतिक सम्पदालाई नेपाली डायस्पोरामा पनि मजाले फैलाइरहेको छ, जसको प्रवर्द्धन र विकासमा धेरै व्यक्तिको योगदान छ। नेपाली अर्थतन्त्र शिथिल भएको अहिलेको अवस्थामा पनि तेह्रथुमका हजारौं हातबाट निर्मित ढाकाका उत्पादन विश्वभर छरिएका नेपालीमाझ पुगिरहेकाले यसले देशको अर्थतन्त्रलाई पनि भरथेग गरिरहेको मान्न सकिन्छ। साथै, यो चेतले गाउँका स्थानीय मानिसलाई रोजगारीको अवसर समेत सिर्जना गरेको छ। यो अवसरले तेह्रथुमे ढाका कपडाको व्यापार मात्र नभई नेपाली संस्कृति, परम्परागत सीप र ज्ञानलाई विश्वभर प्रचार पनि गरेको छ। हङकङस्थित नेपाली महावाणिज्यदूत उदयबहादुर राना सहित नेपाली समुदायका मान्यजनले सेकमुरी युन्छो मार्फत हङकङेली समाजले नयाँ स्वाद पाएको भन्दै प्रशंसा गरेको देख्दा मैले यो कार्यक्रम भव्य सफल भएको ठानेको छु।
(वनेम कानून व्यवसायी हुन्।)
तस्वीरहरू: मज्जाको फोटो, हङकङ