बजारको मूल्यवृद्धि थप घटेको राष्ट्र ब्यांकको तथ्यांक
नेपाल राष्ट्र ब्यांकले बजारमा उपभोक्ता मूल्यवृद्धि दर घटेको तथ्यांक सार्वजनिक गरेको छ। केन्द्रीय ब्यांकका अनुसार भदौमा औसत मूल्यवृद्धि दर ३.८५ प्रतिशतमा ओर्लिएको छ।
यसको अर्थ एक वर्षअघि उपभोक्ताले रु. एक सयमा जति सामान किन्न सक्थे अहिले त्यति सामान किन्न एक सय तीन रुपैयाँ ८५ पैसा तिर्नुपर्छ।
सामान्यतया यो दरको मूल्यवृद्धिलाई न्यून मानिन्छ। किनभने नेपालले बितेका दुई दशकमा हरेक वर्ष सरदरमा सात प्रतिशत जतिको मूल्यवृद्धि दरको सामना गरेको छ। त्यसको तुलनामा अहिलेको मूल्यवृद्धि दर थोरै हो।
गत वर्षको भदौमा पनि मूल्यवृद्धि दर ८.१९ प्रतिशत थियो।
बजारको औसत मूल्यवृद्धि दरले उपभोक्ताले खरीद गर्ने सबै वस्तु र सेवाको मूल्यलाई प्रतिबिम्बित भने गर्दैन। केन्द्रीय ब्यांकले सयौं वस्तुको मूल्यलाई हेरेर औसतमा मूल्यवृद्धि दर निकाल्छ। त्यसैले कुनै वस्तुको मूल्यवृद्धि अचाक्ली भएको हुन सक्छ भने केही वस्तुको घटेको पनि हुन सक्छ। ती मूल्य थपघट भएका वस्तुको औसत मूल्यवृद्धिलाई गणना गरेर यस्तो वृद्धिदर निकालिन्छ।
केन्द्रीय ब्यांकका अनुसार भदौमा खाद्य तथा पेयपदार्थ समूहको मूल्य ५.०३ प्रतिशतले बढेको छ भने गैरखाद्य र सेवा समूहको मूल्य ३.१९ प्रतिशतले बढेको छ। यसले सेवा समूहको भन्दा खानेकुराको मूल्य धेरैले बढेको देखाउँछ।
खाद्य समूह अन्तर्गत पनि दाल र गेडागुडीको मूल्य १०.८ प्रतिशतले, तरकारीको मूल्य ९.८४ प्रतिशतले, खाद्यान्नको मूल्य ९.३४ प्रतिशतले बढेको छ। तर मरमसलाको मूल्य २.६९ प्रतिशतले घटेको छ।
भदौमा मदिराको मूल्य ६.७६ प्रतिशतले, कपडा र जुत्ताचप्पलको मूल्य ६ प्रतिशतले तथा घरायसी उपकरणको मूल्य ४.८८ प्रतिशतले बढेको छ।
भदौमा सबैभन्दा धेरै सुदूरपश्चिममा ५.९ प्रतिशतले मूल्यवृद्धि भएको छ भने सबैभन्दा थोरै बागमती प्रदेशको मूल्यवृद्धि ३.२९ प्रतिशत छ।
केन्द्रीय ब्यांकले भदौको बजार मूल्यको तथ्यांक सार्वजनिक गरे पनि दशैंको आसपास असोजमा भएको मूल्यवृद्धिको तथ्यांक भने सार्वजनिक गरिसकेको छैन। यस्तो तथ्यांक संकलन र प्रशोधनको काम भइरहेकाले त्यस्तो तथ्यांकबारे थाहा पाउन थप एक महीना कुर्नुपर्नेछ।