दशैंपछिको पहिलो दिनको कारोबारमा शेयर बजार बढ्यो
दशैंपछि शेयर बजारमा कारोबार खुलेको पहिलो दिन बजार परिसूचक ३१.४८ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक २ हजार ७ सय अंकको हाराहारीमा पुगेको छ।
मंगलबार शेयर बजारमा कारोबार भएकामध्ये बहुसंख्यक कम्पनीको शेयर मूल्य बढ्यो। २०५ कम्पनीको शेयर मूल्य बढे पनि ३२ वटाको भने मूल्य घटेर किनबेच भयो।
जानकी फाइनान्स, मिथिला लघुवित्त र मल्टिपर्पोस फाइनान्सको शेयरको मूल्य १० प्रतिशतले बढ्यो। अन्य फाइनान्स कम्पनीका लगानीकर्ताले पनि मंगलबारको कारोबारबाट कमाए। फाइनान्स उपसमूहको सूचक ४.६१ अंकले बढेको छ। ब्यांक, विकास ब्यांक, लगानी र व्यापार उपसमूहका सूचक पनि बढेका छन्। तर मध्य सोलु जलविद्युत् आयोजनाको शेयर मूल्य १० प्रतिशतले घट्यो।
दशैंको प्रभाव नसकिएकाले हुन सक्छ, मंगलबार बजारमा धेरै रकमको कारोबार भने भएन। दिनभरिमा रु. तीन अर्ब ६ करोडको शेयर मात्रै किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बजार तीव्र चलायमान भएका वेला कारोबार रकम रु. २० अर्बभन्दा बढी हुने गरेको थियो।
मंगलबारको कारोबारसँगै शेयर बजारको पूँजीकरण अर्थात् सूचीकृत शेयरको कुल मूल्य रु. ४२ खर्ब ९२ अर्ब नाघेको छ।