दशैंमा घुम्ने १० थलो
तपाईं घुमघामप्रेमी हुनुहुन्छ र दशैंकै वेला कतै जाने योजना बनाउनु हुँदै छ भने हामी १० गन्तव्य सिफारिश गर्दै छौं।
दशैं शुरू भइसकेको छ। दशैं पारिवारिक मिलन र भ्रमणको पर्व पनि हो। यस वर्ष बाढीको विपत्तिले गर्दा उत्सवको रौनक फिक्का छ, र केही सडकमार्ग अझै अवरुद्ध छन्। तर तपाईं घुमघामप्रेमी हुनुहुन्छ र दशैंकै वेला कतै जाने योजना बनाउनु हुँदै छ भने हामीले केही गन्तव्य सिफारिश गरेका छौं। यो समयमा छोटा र रमाइला यात्रा गर्न चाहनुहुन्छ भने सामान्य पर्यटकीय मार्गभन्दा फरक १० उत्कृष्ट थुम्कोबारे यहाँ चर्चा गरिंदै छ।
यी थुम्कोको यात्रा धेरै कठिन छैन। यिनले तपाईंलाई भीडभाडबाट टाढा लैजान्छन्।
१. कोरी
धेरैजसो पर्यटक सिक्लेस हुँदै नेपालको सबैभन्दा कम उचाइमा अवस्थित हिमताल कपुचेतिर जान्छन्। तर तपाईं अझ सुन्दर दृश्य हेर्न चाहनुहुन्छ भने एक स्थानीय गाइड लिएर मादी खोला पार गरी कोरीसम्म जानुहोस्। यो डाँडाको टुप्पोमा रहेको ग्रीष्मकालीन चरन हो। यो गन्तव्यमा तपाईंले निकै कम पर्यटक भेट्नुहुनेछ। त्यहाँबाट लमजुङ हिमालको प्रत्यक्ष दृश्य देख्न सकिन्छ। तपाईंसँग समय छ भने मनाङको पुरानो व्यापारिक मार्ग नामुन लातिर समेत जान सक्नुहुन्छ।
२. पञ्चासे डाँडा
यो लामो डाँडाको यात्रालाई आफ्नो इच्छा अनुसार लम्ब्याउन सकिन्छ। पोखरामाथिको शान्ति स्तूपबाट प्रारम्भ गरी फेवा तालमाथि फैलिएको वनजंगलको डाँडामा हिंड्दा धौलागिरिदेखि हिमाचुलीसम्मको १२० डिग्रीको चित्ताकर्षक दृश्य देख्न सकिन्छ। बाटोमा पर्यटनले नछोएका गाउँहरू भेटिन्छन्। पञ्चासे डाँडाको सर्वोच्च बिन्दु मात्र २,५०० मिटरमा छ। यस यात्रामा चरा अवलोकनका लागि दूरबीन चाहिं नबिर्सनुहोला।
३. खुमाई डाँडा
पोखराको सीधै उत्तरमा रहेको यो ३,२४५ मिटर अग्लो शिखर पछिल्लो समय लोकप्रिय बन्दै गएको छ। आजकल हेम्जासम्मको नयाँ सडकले यो यात्रा झन् छोट्याएको छ। दुई दिनको उकालो र एक दिनको ओरालोमा यो यात्रा सकिन्छ। शिखरमा पुगेपछि माछापुच्छ्रेको दक्षिणी भागको नजीकैबाट दर्शन पाइन्छ। यस मार्गमा हिमालयको मनमोहक सूर्योदय हेर्न कोर्चन डाँडासम्म पुग्न सकिन्छ।
४. मुल्दे ट्रेक
पुन हिलको अनुभव लिइसक्नुभएको छ भने मुल्दे अझ उच्च, प्राकृतिक र शान्त विकल्प हुन सक्छ। घान्द्रुक-घोडेपानी मार्गको ताडापानीबाट यो बाटो छुट्टिन्छ र सुनगाभाले ढाकिएको घना जंगल हुँदै ठाडो उकालो चढ्छ। रातको वासका लागि फेदीमा एउटा लज छ। भोलिपल्ट एक घण्टा हिंडेर शिखरमा पुग्न सकिन्छ, जहाँबाट अन्नपूर्ण शृंखला, माछापुच्छ्रे र धौलागिरिमाथि उदाउने सूर्यको अप्रतिम दृश्य देख्न सकिन्छ। थप रमाइलोका लागि खोप्रा लेकतिर जान सक्नुहुन्छ।
५. पिके डाँडा
सोलुखुम्बुमा घुम्नै पर्ने स्थान हो- पिके डाँडा। एडमन्ड हिलरीले यसलाई हिमालयकै सर्वोत्तम दृश्यावलोकन स्थल मानेका थिए। यो चुचुरोबाट आकाश सफा भएको दिन, आठ हजारभन्दा बढी उचाइका आठ हिमशृंखला एकैसाथ देख्न सकिन्छ। पूर्वदेखि पश्चिमतिर कञ्चनजंघा, मकालु, ल्होत्से, सगरमाथा, चो-ओयु, शिशापाङ्मा, मनास्लु र अन्नपूर्ण। अहिलेसम्म फाप्लुको सडक बनेको छैन। हवाईजहाजबाट फाप्लुसम्म पुग्न सकिन्छ। त्यहाँबाट तीन दिन दुई रातमा पिके पुगेर फर्कन सकिन्छ।
६. पाथीभरा
नेपालका मनोरम शिखरमा थुप्रै मन्दिर छन्। तीर्थ र ट्रेकिङको मिश्रित अनुभव चाहनेहरू ताप्लेजुङसम्म गाडी वा विमान चढेर पाथीभराको यात्रा शुरू गर्न सक्छन्। पाथीभराबाट देखिने कञ्चनजंघा, जान्नु, मकालु र ल्होत्से-सगरमाथाको दृश्यले गैरधार्मिकलाई समेत दिव्य अनुभूति दिलाउँछ। यस यात्रामा एक दिनमा माथि पुगिन्छ, आधा दिनमा तल झरिन्छ। केबलकार निर्माण हुनुअघि नै पाथीभरा भ्रमण गर्नु रमाइलो अनुभव हुन सक्छ।
७. गोक्यो री
सगरमाथा आधारशिविरबाट हिमाल देखिंदैन। बरु खुम्जुङबाट गोक्यो उपत्यकातिर लाग्नुहोस्। नेपालको सबैभन्दा लामो हिमनदी ङोजुम्बा हुँदै विश्वकै उच्च स्थायी बस्तीसम्म पुग्नुहोस्। दुई/तीन घण्टाको चढाइपछि गोक्यो री पुगिन्छ। त्यहाँबाट सगरमाथा, ल्होत्से, मकालु, कञ्चनजंघा र चो-ओयुमाथि सूर्यास्तको रमणीय दृश्य देख्न सकिन्छ। चाहनुहुन्छ भने रेन्जो ला हुँदै थामे, वा चो ला हुँदै सगरमाथा आधारशिविरसम्म यात्रा लम्ब्याउन सक्नुहुन्छ।
८. शैलुङ
जिरी राजमार्गको मुडेबाट दाहिने मोडिएर कच्ची बाटो हुँदै लाम्चे आहाल पुगेपछि भोलिपल्ट शैलुङ पुगिन्छ। दक्षिणी दोलखाको यो उच्च स्थानबाट मनास्लुदेखि नुम्बुरसम्म, २०० किलोमिटर लामो क्षितिजको आकर्षक दृश्य देखिन्छ। गौरीशंकर (चोमो त्सेरिङमा)को भव्यता यहाँको मुख्य आकर्षण हो। हालैका दिनमा नेपाली आन्तरिक पर्यटक यूट्यूब सामग्री बनाउन शैलुङ जान थालेका छन्।
९. पाँचपोखरी
काठमाडौंबाट नजीकै र सजिलै पुग्न सकिने यो पदयात्रा चौतारा हुँदै ओखरेनीसम्म पाँच घण्टाको सवारी यात्रापछि शुरू हुन्छ। यस क्षेत्रमा पवित्र पाँच ताल छन्, जहाँबाट जुगल हिमाल शृंखलाका दोर्जे लाक्पा र फुर्बी घ्याचुको पूर्ण दृश्य देखिन्छ। बाटोमा गुराँसको जंगल र विविध चराचुरुंगी भेटिन्छन्।
१०. क्यान्जिन
काठमाडौं नजीकैको प्राकृतिक स्वर्ग हो लाङटाङ राष्ट्रिय निकुञ्ज, जहाँ संस्कृति र रोमाञ्चको संगम छ। धुन्चेबाट हिंडाइ शुरू गरी एक रात बिताएपछि लाङटाङ उपत्यका पुगिन्छ। क्यान्जिन गोम्पालाई ‘पहाडको ठमेल’ समेत भनिन्छ। यहाँबाट उपत्यका अन्वेषण र क्यान्जिन री आरोहण गर्न सजिलो छ। शिखरबाट लाङटाङ लिरुङको दृश्य देख्न सकिन्छ।
नेपाली टाइम्समा प्रकाशित सामग्रीबाट अन्शु खनालले गरेको अनुवाद।