दशैंमा अस्पतालको शय्यामा रोइरहेका छन् पहिरोमा बगेकाहरू
असोज १२ को बाढीपहिरोमा परेर काभ्रेको रोशी गाउँपालिका र पनौती नगरपालिकामा मात्र ३२ जनाको मृत्यु भएको थियो। त्यति वेला ८६७ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको थियो। ८० जनालाई अस्पताल भर्ना गरिएको थियो। तीमध्ये चार जना घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। हिमालखबरले असोज २४ मा अस्पताल पुगेर ती घाइते र तिनका परिवारसँग कुराकानी गरेको छ।
काभ्रे, धुलिखेल अस्पतालको हाडजोर्नी वार्डको कोठा नम्बर पाँचको बेड नम्बर ५ बी मा छन्, तेमाल गाउँपालिका-२, तिर्खर ढँडेलका ५० वर्षीय माइला लामा। घरी टोलाउँछन्, घरी उताउति हेर्छन्। टाउकोमा गहिरो घाउ छ। कपाल काटेर सिलाएको प्रस्ट देखिन्छ। शरीरभरि घाउ नै घाउ छन्। २३ गते बुधबार बिहान बेडमा बेसहारा जस्तै बसेका लामा समक्ष पुग्दा उनी राम्ररी बोल्न समेत सकेनन्। अस्पतालको बेडमा छटपटाइरहेका माइलालाई आफ्नो शरीरको घाउभन्दा परिवारका आठ जना गुमाउनुपरेको पीडाले धेरै आहत बनाएको थियो।
असोज १२ गतेको घनघोर वर्षाका कारण घरमाथिबाट आएको पहिरोले उनका भाइको घर पुरियो। शुरूमा उनका आमाबुबा र कान्छो भाइ बसेको घर हेर्दाहेर्दै बगायो। भाइको घर बगाएको देखेपछि लामा ज्यान जोगाउन भागे। त्यति वेला उनका घरमा आमाबुबा पिंढीमा र श्रीमती आँगनमा थिए। आँखै अगाडि ती सबैलाई पहिरोले बगाएर लग्यो। माइलाका अरु सबै सदस्य भेलबाढीमा पुरिए।
माइला पनि भाग्दाभाग्दै माथिबाट बगेर आएको रूखले थिचेर गम्भीर घाइते भए। बिहान पहिरोमा परेका उनी दिउँसो ३ बजे मात्रै अचेत अवस्थामा फेला परेका थिए। उनलाई स्थानीयको सहयोगमा सेनाले उद्धार गरेको थियो। होशमा आउँदा परिवारका आठ जना सदस्यको एकै चिहान भएको थाहा पाए। आमाबुबा, श्रीमती, भाइ, बुहारी र तिनका दुई छोरी र एक छोरा सबैको पहिरोमा परी ज्यान गयो।
पहिरोले उनको अडिने सबै ठाउँ बगाइदियो। दु:खजिलो गरेर पालेका पशुचौपाया माटोमा बिलाए। निराश मुद्रामा लामा भन्छन्, “मेरो केही बाँकी रहेन। एक सरो लुगा बाहेक केही छैन। कमाइ खाने खेतबारी बगायो। पशुचौपाया पहिरोमा पुरिए।
अझै दुई जनाको शव पहिरोमा पुरिएको छ। निकाल्न सकिएको छैन। काजकिरिया गर्ने मान्छे पनि छैनन्। कसले किरिया गर्यो कि? त्यो पनि उनलाई थाहा छैन्। बिहे भइसकेकी छोरी र एक छोरा भक्तपुरमा बस्छन्। छोराछोरी पालो पालो उनलाई कुर्न आउँछन्। उनी गाउँमै मिस्त्री काम गरेर जीविकोपार्जन गर्थे। एकाएक यो विपद्ले उनलाई बेवारिसे जस्तै बनाइदिएको छ। निको भएर घर गए पनि टेक्ने ठाउँ छैन।
माइला जस्तै अस्पतालमा छटपटाइरहेका रोशी गाउँपालिका-४ नारायणटारका ६५ वर्षीय नरबहादुर सुनार दुई दिनसम्म पहिरोमा पुरिए। दुई दिनपछि गाउँपालिकाको सहयोगमा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार भई अस्पताल भर्ना भएका उनको खुट्टामा चोट लागेको छ। छेउमै बसेकी श्रीमती ठूली कान्छीले उनको स्याहार गरिरहेकी छन्। सुनार आफूले चाहिं पुनर्जीवन पाएको बताउँछन्।
दशैंमा जताततै चाडको रौनक छ। तर धुलिखेल अस्पताल परिसरमा बाढीपहिरोले घाइते भएकाहरू र तिनका आफन्तमाझ भने रुवाबासी अझै थामिएको छैन। सर्वस्व गुमाएका तिनलाई दशैं होइन, दशा लागेको छ। अस्पताल परिसरमा तिनको कथा त्यस्तै थियो। असोज १२ गते रातभर पानी आयो। गाउँमा होहल्ला भएपछि सीता सुनार २ वर्षको बच्चा च्यापेर बिहान ३ बजे छिमेकीको घर गइन्। बिहान ६ बजेतिरको कुरा हो। सीताका बुबा नरबहादुर भैंसीलाई कुँडो खुवाउन गोठमा गए। आमा ठूलीकान्छी घरभित्रै भान्साको काम गर्दै थिइन्। एक्कासि घरमाथिको ढिस्को सहितको रूख उनको घरमा बजारियो। ठूलीकान्छी र नरबहादुर पहिरोको भेलसँगै बगे। ठूलीकान्छी निस्किइन्, तर नरबहादुर तल कान्लामा अड्किए। बिहान ६ बजे भेलबाढीसँगै बगेका उनी बेलुका चार बजे मात्रै बाहिर निस्के। ठूलीकान्छी भन्छिन्, “आँखै अगाडि सबै बगायो। एक सरो लगाउने लुगा बाहेक केही छैन।” घरभित्रको सरसामान केही पनि ओसार्न नसकेको उनी बताउँछिन्।
दशैं मनाउन माइत आएकी नरबहादुरकी छोरी सीताको तीन तोला सुन र चाँदी हराएको छ। एकातिर बुबा अस्पतालको बेडमा छन्। अर्कातिर माइत आएका वेला गरगहना पहिरोमा परेर हराए। दशैं मनाएर घर फर्किने तर्खरमा थिइन्। उनी भन्छिन्, “दशैं मनाएपछि घर फर्किने भनेर वैशाखदेखि नै माइतमा थिएँ। गरगहना सबै बगेको छ। रित्तो हात लिएर अस्पतालमा कुरुवा बस्नुपरेको छ।” बाढीपहिरोले सुनार परिवारको खेतबारी सबै खण्डहर बनाइदिएको छ।
धुलिखेल नगरपालिका-११, डाँडागाउँका सबिन गौतम १२ गतेको पहिरोमा परेर घाइते भएका छन्। उनी लट्ठीको सहारामा हिंडिरहेका छन्। शरीरभरि चोट लागेको छ। उनी बुटवलमा गाडीमा काम गर्थे। दशैं मनाउन उनी घर आएका थिए। बुटवलबाट आएको नौ दिनमा सबिन भेलबाढीमा परेर गम्भीर घाइते भए। उनलाई दशैं होइन, दशा लागे जस्तै भएको छ। उनीसँगै पहिरोमा परेका काकाको भने ज्यान गयो। उनका काका बितेको १३ दिन भएको छ। सबिन बाँच्न सफल त भए, तर शरीरभरि घाउ बोकेका उनी अझै अस्पताल धाइरहेका छन्। सर्वस्व बगेपछि उनी गर्भवती श्रीमती सहित धुलिखेल अस्पताल नजीकै कोठा भाडामा लिई बसेका छन्। आफन्तले सहयोग गरेर परिवार पालिरहेका छन्। उनी भन्छन्, “केटाकेटीहरू दशैं आयो भन्छन्, मनभरि चिन्ता लाग्छ, के गरी दशैं मनाउनु?”
अस्पतालमै भेटिएका बेथानचोक गाउँपालिका-६, सिरुडाँडाका बलबहादुर ओझा १२ गतेको भेलबाढीले खेतबारी बगाएको सुनाउन थाले। जताततै पहिरो गएकाले धारामा पानी आएको थिएन। घटना १९ गते बिहानको हो। उनी धारामा पानी लगाउन भनी घरमाथिको डाँडामा गए। तत्कालै माथिबाट सुक्खा पहिरो खस्यो। उनी त्यहीं पुरिए। उनका दुवै खुट्टामा लागेको गहिरो घाउ अझै निको भएको छैन। ओझा परिवारलाई यसपालि पनि दशैं खल्लो भएर आएको छ। जेठा छोरा केशव भन्छन्, “गएको वर्ष पनि थिएन, यसपालि पनि नहुने भो दशैं।”
अस्पतालका ट्रमा को-अर्डिनेटर सृजेश पराजुली बाढीपहिरोबाट घाइते भएकाहरू १२ गतेदेखि बिरामी आउन थालेको बताउँछन्। “१२ दिनदेखि हामीले नि:शुल्क उपचार र कुरुवालाई समेत नि:शुल्क खाना उपलब्ध गराउँदै आएका छौं,” उनी भन्छन्। सहाराविहीनलाई धुलिखेल नगरपालिकाको सहकार्यमा धुलिखेल तालीम केन्द्रमा राखिएको उनी बताउँछन्। उनको भनाइमा बाढीपहिरोबाट घाइते भएकाहरू धेरैले परिवार गुमाएका थिए।धुलिखेल अस्पतालका अनुसार अस्पताल र स्थानीय तह मिलेर बाढीपहिरोमा परेका ८६७ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको थियो। ८० जनालाई अस्पताल भर्ना गरिएको थियो। हाल चार जना घाइतेको उपचार भइरहेको छ। चार वटा शवको पोस्टमार्टम भइसकेको छ।