विदेशिएका पुराना कलाकार उतै रमाए, नयाँ पुस्ताले स्वदेश फर्किएर ऐश्वर्य कमाए
एकपछि अर्को कलाकार, निर्देशक र प्राविधिक विदेशिंदा नेपाली सिने क्षेत्रमा बनेको खाडल डायस्पोराबाटै आएका कलाकर्मीले क्रमशः पुर्दै छन्।
नेपाली कलाकारहरू विदेश पलायन हुने क्रम अहिले पनि जारी छ। धेरै पुराना कलाकार अब गैरआवासीय नेपाली बनिसके। विदेशिने यो भीडमा राम्रा भनिएका निर्देशक र प्राविधिक समेत छन्।
२०३५ सालदेखि नेपाली कलाक्षेत्रमा सक्रिय अभिनेता तथा निर्देशक मोहन निरौलाका अनुसार उनका धेरै सहकर्मी नेपालमा छैनन्। यसको खास कारण हो, २०५० को दशकले निम्त्याएको द्वन्द्व, राजनीतिक अस्थिरता, बेरोजगारी र कलाकर्मीको अन्योलग्रस्त भविष्य।
नेपाली भाषाको पहिलो चलचित्र आमाकी अभिनेत्री वसुन्धरा भुसाल पनि आफूसँग काम गरेका कलाकारमध्ये विदेश नजाने औंलामा गन्न सकिने जति मात्र रहेको बताउँछिन्। उनका अनुसार कोरोना संकटपछि विदेशिने सिलसिला अझ बढ्यो।
यो पलायनसँगै चलचित्र क्षेत्रले राम्रा कलाकार, निर्देशक र प्राविधिक पनि गुमायो। तर पछिल्लो समय विदेशमै जन्मे-हुर्केका नेपालीले यो ‘ग्याप’ पुर्दै गएका छन्। चलचित्रले नै उनीहरूलाई पुर्ख्यौली थलोसँग जोडिरहेको छ।
“अहिले एनआरएनहरू कलाकारिता क्षेत्रमा आउने क्रम बढेको छ। उनीहरू कलाकार, निर्माता र निर्देशक भएर काम गर्दै छन्,” नेपाल कलाकार संघका अध्यक्ष समेत रहेका निरौला भन्छन्।
भुसाल पनि विदेशमा जन्मे–हुर्केर नेपाल आई चलचित्रमा अभिनय, निर्देशन र लगानी गर्नेहरू बढेको र थुप्रै जना यसमा भिजिसकेको बताउँछिन्। “कतिले त धेरै चलचित्रमा काम गर्नेमा पहिल्यैदेखि नेपालमा रहेका अभिनेता–अभिनेत्रीलाई उछिनिरहेका छन्,” उनी भन्छिन्।
यसरी विदेशबाट आएर नेपाली सिने क्षेत्रमा सक्रिय कलाकारको अग्रपंक्तिमा मिरुना मगर, धीरज मगर, जसिता गुरुङ, प्राप्ति घिमिरे, सृष्टि श्रेष्ठ, आशिका तामाङ, सुचित्रम आचार्य आदि छन्। त्यस्तै, निर्देशकमा सुयोग गुरुङ, मिलन चान्स, सूर्य बोहोरा, फिडेल देवकोटा आदि पर्छन्।
एनआरएन कलाकारहरूले सकेसम्म आफ्नो विदेशी पहिचान खुलाउन नचाहने भए पनि उनीहरूले नेपालमा सीप र लगानी भित्र्याइरहेको चलचित्र निर्माता संघका अध्यक्ष नबल खड्का बताउँछन्। उनका अनुसार यसरी आउनेमा कम्तीमा १५-२० वर्ष विदेशमा बिताइसकेकाहरू छन् र यसले नेपाली चलचित्रको विश्वव्यापीकरणमा सघाउ पुगेको छ।
यिनमा पहिले नेपाली चलचित्रमा काम गरी विदेशिएका र अहिले एनआरएनको हैसियतमा फर्किएकाहरू पनि छन्। खड्काको बुझाइमा विदेशी भूमिमा बसे पनि मनभित्र जिउँदै रहेको नेपाली कलाकारिताले उनीहरूलाई फर्काएको हो। “एनआरएन भए पनि उनीहरूले मौलिक कला-कौशल र लगानी भित्र्याउँदा सिने क्षेत्रलाई फाइदा नै भएको छ,” उनी भन्छन्, “पुराना कलाकारलाई धन्यवाद अनि नयाँलाई स्वागत छ।”
विदेशिनेको कथा
कुनै वेला चलचित्रमा लोभलाग्दो सफलता पाएर पनि विदेशिनेको अग्रपंक्तिमा आउने कलाकार हुन्, सरोज खनाल। २०४४ सालदेखि चलचित्र क्षेत्रमा सक्रिय रही जन्मजन्म, दुश्मन, चुनौती, परिभाषा, पुकार, सान्नानी, सारंगी, प्रेमपिण्ड, मनकामना लगायत दर्जनभन्दा बढी चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका उनी २०५४ सालमा अमेरिका गए। सफलताका हिसाबले उति वेला राजेश हमाल र भुवन केसी जस्ता अभिनेताका प्रतिस्पर्धी रहेका उनको यो निर्णयले धेरैलाई चकित पारेको थियो। यसमा उनको प्रस्टीकरण थियो, “युद्धका कारण देशमा परिस्थिति निकै खराब थियो। म चाहन्थेंं, मेरा बच्चा यस्तो वातावरणमा हुर्किन नपरोस्। आम्दानी पनि अरूले सोचे जस्तो थिएन।” केही वर्षयता भने खनाल नेपाल फर्किएर चलचित्रमा काम गरिरहेका छन्।
खनालभन्दा पछिल्लो छिमलका सफल अभिनेता तथा निर्देशकहरू सुधांशु जोशी, रमेश उप्रेती, दिलीप रायमाझी, जीवन लुइँटेल, राजवल्लभ कोइराला, सुवास थापा, प्रसन्न पौडेल, नीरज बराल, मुकेश ढकाल, विक्रान्त बस्नेत, सुरेशदर्पण पोखरेल, शंकर घिमिरे, श्याम भट्टराई आदिले पनि उनकै बाटो पहिल्याए।
यही पंक्तिमा कृष्टि केसी, सारंगा श्रेष्ठ, पूजा चन्द, विपना थापा, जल शाह, ऋचा घिमिरे, युना उप्रेती, सौजन्य सुब्बा, अरुणिमा लम्साल, नन्दिता केसी, रञ्जना शर्मा लगायत अभिनेत्री पनि छन्।
विदेशी भूमिमा उनीहरू कलाकारितामा सक्रिय छैनन्, फरक खालका व्यवसाय गर्छन्। तर नेपाली चलचित्र क्षेत्रलाई भुल्न नसकेको उनीहरूका अभिव्यक्तिबाट बुझिन्छ। केही समयअघि नेपाल आउँदा अभिनेत्री जल शाहले अनलाइन टिभी कार्यक्रम रजतपटमा भनेकी थिइन्, “हिजो जेजस्तो परिस्थितिले बाहिरिए पनि आफूलाई सुहाउने भूमिका पाए गर्ने थिएँ। मलाई आउने भनेकै अभिनय हो।”
शाहभन्दा अघिल्लो छिमलकी अभिनेत्री हुन्, कृष्टि मैनाली। २०४२ मा के घर के डेराबाट ‘डेब्यू’ गरेर तिलहरी, चिनो, युगदेखि युगसम्म, राधाकृष्ण आदि चलचित्र खेलेकी उनले यो उद्योगमा झन्डै दशक बिताइन्। त्यसपछि अमेरिकातिर लागेकी उनी अहिले न्यू योर्क बस्छिन्।
गम्भीर प्रकृतिको अभिनयका लागि नाम कमाएकी अभिनेत्री हुन्, गरिमा पन्त। झोला, तीनघुम्ती जस्ता चलचित्रबाट प्रशंसा बटुलेकी उनी अहिले बेल्जियम बस्छिन्।
अभिनेता रमेश उप्रेती केही वर्षअघि अमेरिकाबाट आएर चलचित्रमा आफ्नो पुरानो साख फर्काउने प्रयत्नमा छन्। यसबीच उनले ब्रासलेट र ऐश्वर्य आदि चलचित्रमा अभिनय गरेका छन्। अभिनेत्री करिश्मा मानन्धर पनि लामै समय अमेरिकामा बिताएर फर्किएकी हुन्।
अभिनेत्री भुसालका अनुसार विदेशिएका कलाकारहरू धेरैजसो अमेरिकाको बाल्टीमोरमा छन्। “त्यहाँ हिरो-हिरोइन मात्र होइन, ३० देखि ३५ जना निर्देशक समेत भेटिन्छन्,” उनी भन्छिन्, “अहिले यीमध्ये धेरै एनआरएन भइसके, उतै लगानी र व्यवसाय गर्छन्।”
उनीहरूमध्ये केही वेलाबखत नेपाल आई चलचित्रमा काम गर्छन्। तर पहिले जस्तो सफलता पाउँदैनन्।
कलाकार संघका अध्यक्ष निरौलाका अनुसार नेपाल फर्किएका धेरैजसो कलाकार सकेसम्म आफूलाई एनआरएनका रूपमा चिनाउन चाहँदैनन्। “तापनि विदेश भासिइसकेका कलाकार फिर्ता हुनु राम्रो हो,” उनी भन्छन्।
भुसाल कलाकारले यसरी पहिचान खुलाउन नचाहनुमा उनीहरूमा पछि नेपाल नै फर्कनुपर्छ भन्ने भावनाले काम गरेको हुन सक्ने ठान्छिन्। उनी भन्छिन्, “आर्थिक रूपमा सहज भएपछि कति कलाकार फर्किने सोचमा छन्।”
पुर्ख्यौली थलो पछ्याउनेहरू
विदेशमा हुर्केर नेपालमा कलाकारिता गर्न आउनेमा पछिल्लो पुस्ताका धीरज मगर अहिले चर्चामा छन्। दुई वर्षको उमेरमा बेलायत पुगेका मगर ६ वर्षअघि इन्टु मिन्टु लन्डनमाबाट नेपाली सिने क्षेत्रमा प्रवेश गरेका थिए। बेलायतको किङस्टन विश्वविद्यालयबाट स्नातक तह पूरा गरेका उनले त्यसयता एक भागवत र एक गीता, ज्याकी आइएम २१, बाबरी र खुस्मा चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन्। एनआरएन भए पनि अभिनय क्षमताले नै आफू यहाँसम्म आइपुगेको उनलाई लाग्छ। उनी भन्छन्, “अभिनय मेरो सोख र क्षमता दुवै हो, त्यसैले नेपालमै बसेर काम गर्न चाहन्छु।”
पछिल्लो समय चर्चामा रहेकी जसिता गुरुङ पनि बेलायतबाट नेपाली आएकी हुन्। ९ वर्षको उमेरमा बेलायत गएकी उनले २०८० वैशाख १५ गते सञ्चारकर्मी विश्व लिम्बूसँगको पोडकास्टमा नेपाल आफ्नो दोस्रो घर भएको बताएकी छन्। सन् २०१७ मा आयोजित यूके डान्स प्रतियोगितामा विजेता भएकी उनले लगत्तै अर्को वर्ष लिलिबिली चलचित्रबाट डेब्यू गरिन्। त्यसयता श्रुति, लभ स्टेशन, ज्याकी आइएम २१, रानी, रुवि, सायरा र फर्कीफर्कीमा अभिनय गरिसकेकी छन्।
ब्रिटिश आर्मी बुबाकी एक मात्र सन्तान जसिताले हेनरी ब्यूफोर्ट स्कूलमा विद्यालय तह र पिटर साइमन्स कलेजमा स्नातक तह अध्ययन गरेकी हुन्। परिवारका सदस्य अहिले पनि बेलायतमै छन्। उनी चाहिं नेपाली चलचित्र क्षेत्रमै रमाइरहेकी छन्। सञ्जय सिलवालको पोडकास्टमा उनले भनेकी छन्, “बाल्यकालबाटै नाच्न, गाउन, अभिनय गर्न मन पर्थ्यो। बल्ल आफ्नो खुशी, रुचि र क्षमताको काम पाएकी छु।”
हङकङमा जन्मिएर बेलायतमा हुर्केकी कलाकार हुन्, मिरुना मगर। ६ वर्षयता आफ्नो अभिनय कौशलले दर्शकको मन जित्दै आएकी उनले १० वटा चलचित्र खेलिसकिन्। नांगो गाउँ, मनसरा, कबड्डी ४, जारी, घरज्वाइँ आदि चलचित्रले उनलाई स्थापित बनाइदिएका छन्। “म नेपालमै काम गर्न भनेर आएकी हुँ। आफ्नो अभिनय निखार्दै फरक काम गर्न मन छ। यहीं सधैं काम गर्ने मेरो उद्देश्य हो,” मिरुनाले सञ्जय सिलवालको पोडकास्टमा भनेकी छन्।
हङकङमा जन्मिएर बेलायतमा हुर्केकी दिया पुन आठ वर्षयता नेपाली चलचित्रमा काम गरिरहेकी छन्। वीर विक्रमबाट डेब्यू गरेकी उनी कुशल मोडलका रूपमा पनि चिनिन्छिन्। विदेशमा हुर्किए पनि मौलिक शैलीमा अभिनय गर्ने उनलाई दयारानी चलचित्रबाट दर्शकले निकै मन पराए।
प्रवासबाट आएर चलचित्र निर्देशन र निर्माण मार्फत लगानी भित्र्याउनेहरू पनि छन्। कुनै समय ठूली, कान्छा जस्ता चलचित्र बनाएका निर्माता सूर्य बोहोरा २० वर्ष अमेरिका बसेर फर्किएका हुन्। यहाँ आएपछि पनि उनले श्री, हेलो जिन्दगी, भैरे आदि चलचित्र बनाए। निर्माता संघका अध्यक्ष खड्का भन्छन्, “उहाँहरू विदेशमा लामो जिन्दगी बिताएर फेरि नेपाली चलचित्रमा फर्कनु ठूलो कुरा हो।”
सुयोग गुरुङ र मिलन चान्स प्रवासबाट आएर एकपछि अर्को चलचित्र निर्देशन गरिरहेका छन्। गुरुङको पछिल्लो चलचित्र हो, फर्कीफर्की। बेलायत बस्दै आएका चान्सले पनि लगातारजसो चलचित्र निर्देशन गरिरहेकै छन्। तिनमा वीरविक्रम, लिलिबिलि, बोबी, गोर्खा वारियर आदि पर्छन्। “उनले यी फिल्म विश्वभरि पनि पुर्याए। यसरी नेपाली फिल्म अरू देश पुग्नु राम्रो पक्ष हो,” निर्माता संघका अध्यक्ष खड्का भन्छन्।
भविष्य कति सुरक्षित?
अभिनेत्री भुसालका अनुसार नेपाली चलचित्रमा टिक्न यसमा फेरबदल भइरहने मौसमसँग अभ्यस्त हुन सक्नुपर्छ। किनकि चलिरहेको राम्रो कलाकारले पनि एउटा चलचित्र फ्लप भएपछि अर्कोमा काम पाउन मुश्किल भइदिन्छ। यो स्थितिमा जो धैर्यपूर्वक बसिरहन सक्छ, निराश हुँदैन र फेरि उठ्ने क्षमता राख्छ, ऊ नै टिक्ने हो। “पाँच वर्ष मात्र काम गरेर हुँदैन। कम्तीमा दुई दशक समर्पित भएर लागेपछि मात्र उसले सिने क्षेत्रलाई केही दिएको मान्नुपर्छ,” उनी भन्छिन्, “नयाँ कलाकारले त्यही मनस्थितिले काम गरे राम्रो हुन्छ।”
अर्की कलाकार ऋचा शर्मा कलाकारहरूका लागि नेपाली सिने क्षेत्र आर्थिक रूपमा सुरक्षित हुन नसक्दा पलायन हुने दर बढेको बताउँछिन्। तर पछिल्ला दिन नेपाली फिल्म विश्वव्यापी भइरहँदा विदेशमा हुर्के-बढेकाहरूलाई पनि यसले आकृष्ट बनाइरहेको र तिनमा राम्रो सम्भावना पनि देखिएको उनको बुझाइ छ। “अर्कातिर यस्ता कलाकार पैसाका लागि भन्दा पहिचानका लागि आइरहेका छन्, उनीहरू एकखाले सीप पनि लिएर आएका छन्,” उनी भन्छिन्, “त्यसैले उनीहरूलाई टिक्न सहज हुन्छ। धैर्य चाहिं राख्नुपर्यो।”
कोरियोग्राफी हुँदै चलचित्र निर्देशनमा लागेकी रेनेशा राईका अनुसार विदेशबाट आएका कलाकार मिहिनेती पनि निकै छन्। “विदेशमा बसे पनि उनीहरू पढेर, विभिन्न हन्डर खाएर नै आएका हुन्छन्,” उनी भन्छिन्, “उनीहरूले त्यहाँ गरेको भन्दा आधा मिहिनेत गर्दा पनि नेपालमा धेरै अवसर मिल्छ। यहीं केही गर्न सकिन्छ भन्ने बुझेरै आएका हुन्।”
धीरज मगरलाई इन्टु मिन्टु लन्डनमा मार्फत पहिलो पल्ट चलचित्रको पर्दामा ल्याउने राई नै हुन्। विदेशबाट ल्याउँदा पनि ‘अडिशन’ गराएरै छानेको बताउने उनी बाहिरबाट आएका कलाकारलाई चलचित्रमा टिक्न तुलनात्मक रूपमा केही सहज हुने धारणा राख्छिन्। “किनकि उनीहरू आर्थिक रूपले सुरक्षित नै हुन्छन्। त्यसैले धेरै कमाउने भन्दा पनि फिल्ममा केही गरौं र पहिचान बनाऔं भनेर आएका हुन्छन्,” राई भन्छिन्।
एनआरएनहरू आउँदा चलचित्र क्षेत्रमा प्रतिस्पर्धा पनि बढेको छ। यसले थप राम्रा कलाकार जन्मने सम्भावना पनि बढाएको छ। निर्माणमा उनीहरूको प्रवेशले सिर्जना र रोजगारी थपिंदै छ। आफूसँगै विदेशमा प्रचलित आधुनिक प्रविधि समेत ल्याइरहेका छन्।
अमेरिका बस्दै आएका द रेड सुटकेशका निर्देशक फिडेल देवकोटा अहिले आफ्नो धेरै काम नेपालमै हुने गरेको बताउँछन्। बर्लिनमा चलचित्र विषय अध्ययन गरेका उनी विदेशमा रहेका युवा कलाकारितामा आउनुले नेपाली चलचित्रलाई एक तह माथि लैजाने आशा गर्छन्। “यी कलाकार फर्किएको देख्दा मानिस आखिर एक दिन घरै फर्किन्छ भन्ने कुरा याद आउँछ,” उनी भन्छन्, “यसले नेपाली सिने क्षेत्रलाई फराकिलो र थप प्रतिस्पर्धी बनाउनेमा ढुक्क छु।”
हिमालको 'ग्लोबल नेपाली विशेष' अन्तर्गतका थप सामग्री: