एनसेल फाउन्डेशनद्वारा गोदावरीका बाढीपहिरोपीडितलाई राहत प्रदान
एनसेल फाउन्डेशनले ललितपुरको गोदावरी नगरपालिकाका बाढीपहिरोपीडित परिवारलाई राहत वितरण गरेको छ।
बाढीपहिरोले धेरै क्षति पुर्याएका गोदावरी नगरपालिकाका वडा नं. ४, ७, ८, १० र १३ का करीब २०० परिवारलाई आवश्यक राहत सामग्री प्रदान गरेको हो। राहत सामग्रीमा खाद्यान्न, भान्सामा प्रयोग हुने भाँडाकुँडा, हाईजिन किट, ब्ल्यांकेट र म्याट लगायत सामग्री छन्।
संकटको समयमा समुदायलाई साथ दिनु कर्तव्य ठानेर सहयोग गरिएको एनसेलकी कर्पोरेट कम्युनिकेशन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले बताइन्।
विपद्को यो कठिन घडीमा एनसेल फाउन्डेशनबाट आएको राहतले एकदमै ठूलो सहयोग पुगेको गोदावरीका मेयर गजेन्द्र महर्जनले बताए। यसका लागि एनसेलप्रति आभार प्रकट गर्दै अब पुनःस्थापनामा सघाउन आग्रह गरे।