सेप्टेम्बरमा उच्च तापक्रम, अत्यधिक वर्षाको नयाँ रेकर्ड
नेपालले सन् २०२४ को सेप्टेम्बरमा चार दशकयताकै ऐतिहासिक वर्षा र उच्च तापक्रमको सामना गरेको छ।
जल तथा मौसम विभागको प्रारम्भिक प्रतिवेदनले सेप्टेम्बरमा देशभर औसतका तुलनामा १७०.१ प्रतिशत वर्षा भएको देखाएको छ। सेप्टेम्बरमा सरदरमा २४२.९० मिलिटिर वर्षा हुने गरेकोमा यो वर्ष भने ४१३.१ मिलिमिटर पानी परेको थियो। यो सन् १९८१ यता सेप्टेम्बर महीनामा सबैभन्दा धेरै मापन गरिएको वर्षा हो।
यो महीना बागमतीदेखि सुदूरपश्चिमसम्मका विभिन्न भूभागमा ४०० मिलिमिटरभन्दा बढी वर्षा भयो। सबैभन्दा बढी वर्षा हेटौंडामा ७७८.७ मिलिमिटर रेकर्ड गरियो। एकै दिन उच्च वर्षाको रेकर्ड पनि यही महीना कायम भएको थियो।
सेप्टेम्बर २८ मा दामन स्टेशनमा २४ घन्टाको अवधिमा ४१० मिलिमिटर वर्षा मापन गरिएको थियो। जुन यो महीनाको सबैभन्दा ठूलो एकदिने वर्षा थियो।
मनसुनको अन्त्यतिर बाङ्लादेश र पश्चिम बंगाल नजीक गहिरो न्यूनचापीय प्रणालीले नेपालमा अत्यधिक वर्षा निम्त्याएको थियो। मनसुन सकिने वेला भएको असाधारण वर्षाले जलवायु परिवर्तनका संकेतलाई अझ स्पष्ट बनाएको छ। यो वर्षाले देशको मध्य र पूर्वी भागमा जनधनको ठूलो क्षति गराएको छ।
वर्षा मात्रै होइन, सेप्टेम्बरमा तापक्रमले पनि देशका अधिकांश भागमा नयाँ उचाइ कायम गर्यो। लहानमा २३ सेप्टेम्बरमा ३९.५ डिग्री सेल्सियसको सर्वाधिक तापक्रम मापन भयो। विभागले सेप्टेम्बर महीनामा देशका अधिकांश भूभागको औसतका तुलनामा बढी अधिकतम तापक्रम रेकर्ड भएको जनाएको छ। सेप्टेम्बरमा देशका अधिकांश स्थानमा न्यूनतम तापक्रम पनि औसतभन्दा बढी पुगेको देखायो। यसले दिउँसो र राति बढी तातो अनुभूति भयो।
यो महीनाले धेरैलाई प्रश्न उठाउन बाध्य बनाएको छ- के यो चरम वर्षा र तापक्रमको वृद्धि जलवायु परिवर्तनको दिगो प्रभावका रूपमा देखा परेको हो? देशका ग्रामीण तथा शहरी क्षेत्रमा पनि यसको प्रत्यक्ष असर देखिन थालेको छ। अत्यधिक वर्षाले धेरै ठाउँमा बाढी र पहिरो निम्त्याएको छ, जसले कृषि, पूर्वाधार र जीविकोपार्जनलाई नराम्ररी प्रभावित गरेको छ।
यस घटनाले नेपाल सरकारलाई विपद् व्यवस्थापन र जलवायु अनुकूलनमा पुनर्विचार गर्न घचघच्याएको छ। आज मात्रै विश्व ब्यांकले नेपाललाई आपत्कालीन प्रतिकार्य र विपद् प्रतिरोधात्मक क्षमतामा सुधार गर्न १५ करोड अमेरिकी डलर (करीब २० अर्ब रुपैयाँ) ऋण दिन स्वीकृति जनाएको छ।