विपद् प्रतिरोधमा खर्च गर्न नेपालले विश्व ब्यांकसँग २० अर्ब रुपैयाँ ऋण लिने
वाशिङ्टन डीसीस्थित बहुपक्षीय ऋणदाता संस्था विश्व ब्यांकले नेपाललाई विपद् प्रतिरोध तथा यस सम्बन्धी क्षमता विकास गर्न १५ करोड अमेरिकी डलर (करीब २० अर्ब रुपैयाँ) ऋण दिने भएको छ।
ब्यांकको कार्यकारी निर्देशक बोर्डले नेपाल सरकारलाई प्राकृतिक वा जलवायुजन्य विपद् तथा आपत्कालको अवस्थामा उपयोग गर्न यो वित्तीय सहयोग स्वीकृत गरेको हो। नेपाल विपद् प्रतिरोधात्मक विकास नीति ऋण नामक यस कार्यक्रमले विपद् प्रतिरोधात्मक क्षमता बढाउन नीतिगत सुधारलाई सहयोग गर्ने र प्रभावकारी आपत्कालीन प्रतिकार्यका लागि संस्थागत संयन्त्रलाई सुदृढ बनाउने उद्देश्य राखेको छ।
यस सहयोगले पूर्व सूचना प्रणालीलाई सुधार गर्ने, जोखिम न्यूनीकरणका लागि नीति, संस्था र नियामक संरचना निर्माण गर्ने र सार्वजनिक स्वास्थ्य आपत्कालीन तयारीलाई थप मजबूत पार्न मद्दत गर्ने जनाइएको छ। साथै, यस सहयोगले विपद्पश्चात् तत्काल वित्तीय साधन उपलब्ध गराएर नेपाललाई विपद् प्रतिकार्य र पुनःस्थापना कार्यमा सहयोग पुर्याउनेछ ।
विश्व ब्यांकका माल्दिभ्स, नेपाल र श्रीलंकाका क्षेत्रीय निर्देशक डेविड सिस्लेनले हालैका बाढीले देखाए जस्तै, नेपालले जलवायुजन्य विपद् र स्वास्थ्य आपत्कालको बहुआयामिक संकटको सामना गरिरहेको बताए। यसले नेपाललाई गम्भीर वित्तीय झट्काको जोखिममा राखेको भन्दै विश्व ब्यांकको यस कार्यक्रमले यी जोखिमको सामना गर्न नेपाल सरकारका सुधारलाई सहयोग गर्ने र विपद् वा सार्वजनिक स्वास्थ्य आपत्कालपछि तत्काल वित्तीय सहयोग उपलब्ध हुने उनले बताए।
विश्व ब्यांकको यस वित्तीय साधनले सरकारलाई आपत्कालीन अवस्थामा चाँडो काम अघि बढाउन सहयोग गर्नेछ। यसले अन्य विकास कार्यक्रमबाट रकम कटौती गनुपर्ने बाध्यता पनि हटाउँछ।
सरकारका राष्ट्रिय विपद् व्यवस्थापन कोष र प्रधानमन्त्री राहत कोष जस्ता मौजूदा प्रतिकार्य संयन्त्रको पूरक साधनका रूपमा समेत काम गर्नेछ। हालैको बाढीपहिरोले देशमा अर्बौं रुपैयाँको क्षति पुर्याएको थियो।