काठमाडौंसँगै देशका धेरै भूभागबाट बाहिरियो मनसुन
यस वर्षको मनसुनी वायुको प्रभाव देशको आधाभन्दा बढी स्थानबाट हटेको छ।
जल तथा मौसम विज्ञान विभागले मंगलबार मनसुन बहिर्गमन सम्बन्धी बुलेटिन जारी गर्दै देशको पूर्वी क्षेत्रमा मात्र मनसुनको प्रभाव रहेको र अन्यत्र हटेको जनाएको छ। विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भूभागबाट मनसुन पूर्ण रूपमा बाहिरिएको छ।
त्यसैगरी, काठमाडौं उपत्यका सहित बागमती प्रदेशको पश्चिमी भूभाग र मधेश प्रदेशको पश्चिमी भूभागबाट पनि मनसुन बाहिरिएको छ। कोशी प्रदेशमा भने मनसुनी वायुको प्रभाव कायम छ।
विभागले मनसुनी वायुको प्रभाव कमजोर हुँदै गएकाले देशको बाँकी भूभागबाट पनि केही दिनमा मनसुनको प्रभाव हराउने आकलन गरेको छ।
यसअघि विभागले आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको जनाएको थियो।
मनसुनी वायुको प्रभाव कमजोर भएकाले दशैंमा देशको मध्य र पश्चिमी भागमा वर्षाको सम्भावना थोरै छ। तर पूर्वी भागबाट मनसुन बाहिरिन बाँकी रहेकाले वर्षा हुन सक्ने सम्भावना छ।