६० वर्षअघिको नेपाल
पाटन संग्रहालयमा प्रदर्शनीमा राखिएका फ्रान्सेली मानवशास्त्रीका तस्वीरले ६० वर्षअघिको नेपालसँग परिचित गराउँछन्।
असोज दोस्रो साताको अविरल वर्षाले ल्याएको बाढीले काठमाडौं उपत्यकाको दक्षिण क्षेत्र ललितपुर बढी प्रभावित भयो। मनोहरा नदीको बाढीले ललितपुरका विभिन्न भागमध्ये इमाडोलमा वरपरका बस्ती तहसनहस बनाएका तस्वीर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिए।
पाँच दशकअघि बर्खा याममै खिचिएका तस्वीरले अवलोकनकर्ता मस्तिष्कमा इमाडोलको बेग्लै छाप छोड्छन्। फ्रान्सेली मानवशास्त्री कोर्नेल जेस्टले खिचेको इमाडोलको तस्वीरमा आकाशे रङको मनोहरा नदी देखिन्छ। नदी वारिपारिका खेतबारी हरिया-पहेंला धान र हरिया मकैका बोटले लहलह देखिएका छन्। खेतको बीचमा दुई किसान खर्पन बोकेर डिलैडिल हिंडिरहेका छन्।
यस रंगीन तस्वीरलाई हेर्दा मन त्यसै आनन्दित हुन्छ। हेर्दाहेर्दै केही बेरमै अहिलेको इमाडोल सम्झेर मन चुकचुक हुन्छ। बाढीले विध्वंस नमच्चाएको भए पनि उहिलेको इमाडोलको अवशेष केही बाँकी नरहेको देखेर मन झन् खिन्न हुन्छ। मनोहरा किनारमा देखिने ती खेतसम्म अहिले सिमेन्टका ठूलठूला घर ठडिइसकेका छन्।
त्यस्तै, विगत सम्झेर चुकचुक बनाउने अर्को तस्वीर छ, ललिता निवासको। बालुवाटारको सरकारी जग्गा खण्डीकरण हुँदै विभिन्न व्यक्तिका नाममा कैयौं पटक किनबेच गरियो। सरकारी जग्गा व्यक्तिको नाममा लग्ने प्रकरणमा व्यवसायी, नेता र मन्त्री सहित ६० जना दोषी ठहर भएका छन्।
६० वर्षअघिको बालुवाटार र बालुवाटारस्थित सुवर्णशमशेर राणाको मूल दरबार कस्तो थियो भन्ने कमैलाई याद होला। सन् १९६३ मा समाजशास्त्री जेस्टले खिचेको तस्वीरले ललिता निवासको जग्गाको क्षेत्रफल कति थियो भने अनुमान गर्न सघाउँछ।
आजको बालुवाटारमा न खेत नै देख्न सकिन्छ न ललिता निवासको त्यत्रो खाली जग्गा। ललिता निवासको मूल दरबारमा अहिले नेपाल राष्ट्र ब्यांकको कार्यालय छ।
सन् १९६० र १९८० को दशकमा जेस्टले कैद गरेको नेपालको विगतलाई पाटन संग्रहालयमा भइरहेको तस्वीर प्रदर्शनीमा अवलोकन गर्न सकिन्छ। काठमाडौं र विशेषगरी डोल्पोको ताराप उपत्यकामा अनुसन्धानका क्रममा खिचिएका यी तस्वीरले नेपालमा के र कति परिवर्तन भएका छन् भन्ने देखाउँछन्।
यस प्रदर्शनीले पुरानो नेपालको चित्रलाई मनमा सजाउने मौका दिन्छ। सन् १९६० देखि हरेक वर्ष नेपाल आवतजावत गर्ने क्रममा जेस्टले खिचेका यी तस्वीरले घरी नेपालीको सरल जीवन र जीवनपद्धतिप्रति उल्लास त घरी छुटिसकेको समयको विलापमिश्रित भावनामा पुर्याउँछन्।
यस प्रदर्शनीको आयोजक फ्रान्सेली संस्था ‘मेमोर्स डे एल हिमालय’ हो, जसले अन्तरदेशीय हिमालय क्षेत्रमा भएका कार्यको जगेर्ना गर्दै आएको छ। जेस्टका ४५ हजार तस्वीरका नेगेटिभमध्ये सय वटा तस्वीर कालो र सेतो रङमा र एकाध रंगीन प्रिन्टमा पाटन संग्रहालयमा प्रदर्शनीका लागि राखिएका छन्।
क्युरेटर रेमी चाइक्स स्थानीय समुदायलाई उपयोगी होस् भनेर प्रदर्शनी आयोजना गरिएको बताउँछन्। “स्थानीय समुदायको ज्ञानार्जनबाट तयार पारिएको अनुसन्धान ती समुदायका निम्ति भने कमै उपभोगमा आएका हुन्छन्। त्यसैले यहाँका स्थानीय समुदायलाई जेजति सक्छौं, दिऔं भन्ने जेस्ट लगायत हाम्रो संस्थाको पनि विचार भएकाले यो प्रदर्शनी नेपालमा गरिएको हो,” उनी भन्छन्।
‘मेमोर्स डे एल’ हिमालयका चाइक्स तीन क्युरेटरमध्ये एक हुन्। उनी थप्छन्, “अझ हेर्न चाहने व्यक्तिका लागि जेस्टले अनुसन्धानका क्रममा टिपोट गरेका नोट पनि उपलब्ध छन्।”
फर्नान्ड मेयर, कुनसाङ नामग्याल-लामा र चाइक्सद्वारा क्युरेट गरिएको यो प्रदर्शनीका लागि पाटन संग्रहालयका दुई तला प्रयोगमा छन्। पहिलो तलामा काठमाडौं उपत्यकाका तस्वीर छन्। दोस्रो तलामा डोल्पाको विशेषगरी ताराप उपत्यकालाई समर्पित गरिएको छ, जहाँ जेस्टले अधिकांश समय बिताएका थिए।
एउटा तलामा एकै ठाउँका तस्वीर प्रदर्शन गर्ने योजनाबद्ध निर्णयले अवलोकनकर्तालाई एक पटकमा एउटा दुनियाँमा भिज्न समय दिन्छ।
काठमाडौंका तस्वीरहरू पहिलो पटक सार्वजनिक गरिएका हुन्। “जेस्टले किन हो काठमाडौंका यी फोटोहरू कहिल्यै सार्वजनिक गरेनन्,” चाइक्स थप्छन्।
यस तलामा तस्वीरका साथसाथै जेस्टले खिचेको सन् १९६८ को सेतो मत्स्येन्द्रनाथ महोत्सवको वृत्तचित्र पनि हेर्न पाइन्छ। ११ मिनेट लामो यस वृत्तचित्रमा विगतको युग देख्ने मौका मात्रै पाउँदैनौं, त्यस युगकै आवाज पनि सुन्न पाइन्छ। त्यस वेलाको आवाजले अवलोकनकर्तालाई पनि उही दुनियाँमा लग्छ।
दोस्रो तलामा राखिएका डोल्पोका तस्वीरले निर्देशक मीन भामको शाम्भाला फिल्मको याद दिलाउँछन्। फिल्ममा लगाइएको पहिरन जस्तै दृश्य तस्वीरमा देख्न सकिन्छ। “शाम्भाला फिल्मका लागि पहिरनमा वास्तविकता झल्कियोस् भनेर जेस्टका तस्वीर हेरेको शाम्भालामा संलग्न डाल्पोवासीले बताएका थिए,” चाइक्स सुनाउँछन्।
डोल्पोका केही तस्वीर जेस्टको टेल्स अफ द टर्कोइजः ए पिल्ग्रिमेज इन डोल्पो लगायत पुस्तकमा पहिल्यै प्रकाशित छन्। “जेस्टको एउटै तस्वीर दुई पटक खिच्ने बानी थियो। एउटा श्यामश्वेतमा खिच्ने गर्थे भने अर्को रंगीन क्यामेरामा,” चाइक्स बताउँछन्। चाइक्सले अन्य दुई क्युरेटरसँग प्रदर्शनीमा कुन रंगको तस्वीरले सार्थकता बढी दिन्छ भनेर छनोट गरेका थिए।
जेस्टका डोल्पोका तस्वीरले हिमाली भेगको समाज र जीवनशैलीलाई नजीकबाट हेर्ने अवसर दिन्छन्। कति नेपालीका लागि त डोल्पोसँगको सामीप्य तस्वीरमा देखेको संसारमै सीमित होला।
डोल्पोको विशेषगरी धो ताराप उपत्यकामा हिमाली जनता र त्यहाँको संस्कृतिको अनुसन्धानमा लागिपरेका जेस्टलाई डोल्पोप्रतिको विशेष लगाव थियो भन्ने उनले खिचेका तस्वीरमा प्रस्टै झल्किन्छ। “मेरा बुवालाई डोल्पावासी, उनीहरूको धर्म, संस्कृतिप्रति बढी लगाव हुनुको कारण उनीहरूको दृढता हो। हिमालमा कष्टकर जीवन हुँदाहुँदै पनि त्यस क्षेत्रलाई थेग्न सक्ने उनीहरूको जीवनशैली हो,” गुइलम जेस्ट भन्छन्। गुइलम कोर्नेलका छोरा हुन्, जो यस प्रदर्शनीको उद्घाटनमा नेपाल आएका थिए।
मानवशास्त्री भएकाले होला, जेस्टको तस्वीरमा अधिकांश मानिसले लगाउने लुगा, खानपान, बस्ने ठाउँ, जीवनपद्धति, नित्यकर्म, धार्मिक र सांस्कृतिक संस्कार देखिन्छ। त्यसैले पनि उनको कामलाई पुरानो नेपालको दस्तावेजका रूपमा पनि लिन सकिन्छ।
“कोर्नेल जेस्टका तस्वीरहरू त्यति वेला खिचिएका थिए, जब नेपाल बाहिरी दुनियाँका लागि बल्ल खुल्दै थियो। यी तस्वीरले त्यस वेलाको नेपालको दैनिक जीवन, संस्कृति र परिदृश्यमा दुर्लभ अन्तर्दृष्टि प्रदान गर्छन्,” नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभल भन्छिन्, “नेपाली संस्कृतिको गहिराइ र विविधतालाई पनि दर्शाउँछन्।”
उनी फ्रान्सेली अनुसन्धाताको स्मरण गर्दै थप्छिन्, “यी तस्वीर नेपाली सभ्यताको विविधताको अध्ययनमा कोर्नेल जेस्ट वा सिल्भाँ लेभी जस्ता अग्रगामी फ्रान्सेली अनुसन्धाताले गरेका महत्त्वपूर्ण कार्यका प्रमाण हुन्।”
यो तस्वीर प्रदर्शनी कात्तिक २ गतेसम्म पाटन संग्रहालयमा चल्नेछ।
(अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)