सामाजिक सञ्जालमा छद्म औषधि व्यापार : उपभोक्ता ठगी, भावनात्मक शोषण र स्वास्थ्यमा घातक असर
खाद्य पूरक र आयुर्वेदिक औषधिका नाममा चलिरहेको डिजिटल धन्दाले सर्वसाधारणलाई आर्थिक ठगी गर्नुका साथै स्वास्थ्यमा घातक असर पुर्याइरहेको छ।
काठमाडौं, जोरपाटीका कुमार लामाले पछिल्लो एक महीनामा जे भोगे, त्यसलाई उनी हदै डरलाग्दो भन्छन्। धरापमा परिसकेको स्वास्थ्य चिकित्सकको निगरानीमा बिस्तारै तंग्रिंदै छ। पूर्ण रूपमा निको हुन उनले अझै कुर्नुपर्नेछ।
यो विपद् शुरू भएको थियो फेसबूक स्क्रोलबाट। जहाँ थियो, मधुमेहबाट सधैंलाई छूटकारा दिलाउने दाबी गरिएको आकर्षक विज्ञापन। ‘गिम्नेमा’ नाममा चामत्कारिक आयुर्वेदिक औषधि भन्दै देखाइएको बट्टाले सात वर्षदेखि मधुमेह झेल्दै आएका लामालाई नयाँ आश दिलायो। तत्काल मगाएर त्यसैमा लेखिए बमोजिम चक्की खान शुरू गरिहाले। केही दिन काम गरे जस्तो पनि लाग्यो। दुई साता जति पछि भने खाना नपच्ने जस्ता पेटको समस्या शुरू भयो।
तब उनी पेटरोग विशेषज्ञको शरणमा पुगे। शुरूको परीक्षणमा खास कारण निदान हुन सकेन। तर रगत परीक्षणले हेमोग्लोबिनको तह निकै थोरै देखाएपछि चिकित्सकले खानपिनबारे खोतल्न थाले। जब उनले ‘गिम्नेमा’ बारे बताए, चिकित्सकले तुरुन्त रगतमा लिड (सिसा) जाँच्न सुझाए।
रिपोर्ट यस्तो आयो कि चिकित्सक नै झस्किए- लिडको मात्रा तोकिएको सुरक्षित सीमाभन्दा १३ गुणा बढी अर्थात् डरलाग्दो तहमा पुगिसकेको रहेछ। अहिले उनी रगतमा लिडको मात्रा घटाउने औषधि खाँदै छन्। “धन्न वेलैमा थाहा भयो, नत्र मिर्गौला, मस्तिष्क सहितका अंगमा ठूलो क्षति पुग्ने रहेछ,” लामा भन्छन्।
कपुरधाराकी ३६ वर्षीया शारदा लामाले पनि गत जेठ अन्तिमतिर फेसबूके विज्ञापनकै पछि लागेर मगाइन्- गार्सिनिया कम्बोजिया। यसले व्यायाम नगरीकन र खानेकुरा नघटाईकन तौल घटाउने दाबी गरिएको थियो। यो पदार्थ खान थालेपछि उनलाई पेटमा दुखाइ र कब्जियतले सताउन थाल्यो। १० दिन पाटन अस्पताल बसिन्, रोग निदान भएन।
त्यसपछि मेडिसिटी अस्पताल पुगिन्, त्यहाँ चिकित्सकले आयुर्वेदिक औषधि खाए/नखाएको सोधे। तब रगत जाँच्दा ‘लिड पोइजनिङ’ भएको फेला पर्यो। रगतमा लिडको मात्रा ६५ माइक्रोग्राम डेसिलिटरभन्दा धेरै थियो। जबकि मान्छे स्वस्थ हुन रगतमा लिडको मात्रा पाँच माइक्रोग्राम डेसिलिटरभन्दा कम हुनुपर्ने मापदण्ड छ।
सामाजिक सञ्जालको नेपाली बजारमा अहिले तौल घटाउने, मधुमेह नियन्त्रण गर्ने औषधि, कपाल पलाउने तेल, ग्यास्ट्रिक निको पार्ने चिया आदि भनिएका अनेक छद्म उत्पादनको बिगबिगी छ। यिनको उपभोगबाट स्वास्थ्य र सम्पत्ति नाश गर्नेको संख्या दिनहुँ बढ्दो छ।
नेपाल मेडिसिटी अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिस्ट एवं कलेजोरोग विशेषज्ञ डा. नीरज जोशीका अनुसार लिड विषाक्तता अहिले महामारी सरह फैलिइसकेको छ र यसको साझा स्रोत देखिएको छ- गार्सिनिया कम्बोजिया। “चिन्ताको कुरा छ कि अहिले यो तौल घटाउने नाममा नेपालमा व्यापक रूपमा बिक्री भइरहेको औषधि हो,” उनी भन्छन्।
मधुमेहको अचूक औषधि भनी प्रचार भइरहेको गिम्नेमा लगायत वस्तुमा पनि लिडको मात्रा उच्च रहेको र धेरैलाई बिरामी पारिरहेको जानकारहरू बताउँछन्। शहीद गंगालाल अस्पतालका मुटुरोग विशेषज्ञ डा. कुञ्जङ्ग शेर्पा भन्छन्, ‘‘मधुमेह, तौल नियन्त्रण आदि नाममा सामाजिक सञ्जाल र अनलाइनबाट किनिने अप्रमाणित औषधिले धेरैलाई अस्पताल पुर्याइरहेको छ।”
सामाजिक सञ्जालको दुष्प्रचार
इन्टरनेट विस्तारपछि सामाजिक सञ्जालका प्रयोगकर्ता बढेसँगै वस्तु र सेवाका उत्पादक र विक्रेतालाई ठूलो संख्याका उपभोक्तामाझ एकै चोटि पुग्न सहज भएको छ। तर यस्ता उत्पादक र विक्रेताका सामाजिक सञ्जालका खाताको भीडमा उपभोक्तालाई झुक्याएर तथा भावनात्मक शोषण गरेर सामान बेच्नेहरू थुप्रै छन्। हिमालखबरले फेसबूकमा गरेको विश्लेषणले दर्जनौं पेज र खातामा खाद्य पूरक (फूड सप्लिमेन्ट) तथा आयुर्वेदिक औषधि भनिएका वस्तुको विज्ञापन भइरहेको देखाएको छ।
गार्सिनिया कम्बोजिया तौल घटाउने चामत्कारिक खाद्य पूरक रहेको भ्रम छर्न फेसबूकमा कम्तीमा २८ वटा पेज सक्रिय भएको मेटा लाइब्रेरीले देखाएको छ। नेपाली भाषामा पनि थप १० पेजबाट गार्सिनिया कम्बोजिया तथा यसको चिया बेच्न प्रचार भइरहेको छ। त्यस्तै गिम्नेमाले तीन वटा पेजबाट मधुमेह नियन्त्रण गर्ने प्रचार गरिरहेछ। सुगर कन्ट्रोलर लगायत नाममा पनि यस्ता पेज सक्रिय छन्।
गार्सिनिया कम्बोजियालाई भर्खरै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिक्रीमा रोक लगाएको छ। विभागका प्रवक्ता मोहनकृष्ण महर्जन जीटीएम हर्बल प्रालिले बिक्री गरिरहेको यो सामग्रीको आयात भदौ दोस्रो सातादेखि रोकिएको र बजारमा रहेका उत्पादन फिर्ता लैजान निर्देशन दिइएको बताउँछन्। “यो खाद्य पूरकको उपयोगबाट मानिसहरू बिरामी परेको गुनासो आएपछि बिक्रीमा रोक लगाइएको हो,” महर्जन भन्छन्।
विभागले यो उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई अपील समेत गरेको थियो। तैपनि बजारमा गार्सिनिया कम्बोजिया नामका कैयौं वस्तुको बिक्रीवितरण चलिरहेकै छ, सामाजिक सञ्जालमा प्रचार कायम छ। फेसबूक र टिकटकमा यसको प्रचार गर्न ‘सोसल मिडिया इन्फ्लुएन्सर’ले सघाइरहेका छन्। उनीहरूले भिडिओमा यसको सेवन गरेर तौल घटाएको बताएपछि आमसर्वसाधारण सहजै पत्याइरहेछन्। उदाहरणका लागि टिकटकमा २२.६ हजार फलोअर्स भएको गार्सिनिया कम्बोजिया नेपाल नामको पेजमा थुप्रै ‘सोसल मिडिया इन्फ्लुएन्सर’ ले त्यसको प्रवर्द्धन गरेका छन्।
चिकित्सकहरू पछिल्ला महीना ‘लिड पोइजनिङ’ भएर उपचारमा आउनेको संख्या बढिरहेको बताउँछन्। अल्का अस्पतालका हेपाटोलोजिस्ट तथा इन्डोस्कोपिस्ट डा. अनन्त श्रेष्ठ भन्छन्, “विगतमा लिड पोइजनिङका केस वर्षमा एक-दुईवटा मात्र आउँथे, अहिले त मकहाँ दुई-तीन महीनामै आठ जना आइसके। ती सबैले गार्सिनिया कम्बोजिया खाएको पाइएको छ।” खासगरी बेस्सरी पेट दुख्ने, रक्तअल्पता तथा कलेजोमा समस्या जस्ता साझा लक्षण देखिएका यस्ता बिरामीमा कति त गम्भीर स्थितिमै पुगिसकेका थिए।
बदलिंदो जीवनशैली र खानपानले शहरी क्षेत्रमा मोटोपन बढ्दै जाँदा मानिसमा स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले तौल घटाउने चाहना बढ्दो छ। यस्तोमा सामाजिक सञ्जालमा तौल घटाउने भनी प्रचार गरिने सामग्रीले तिनलाई लोभ्याइहाल्छ। “तर यी सामग्रीको केही फाइदा नै छैन। स्वास्थ्य जोखिममा नपार्न मेरो सुझाव छ,” डा. श्रेष्ठ भन्छन्।
यस्तो समस्या काठमाडौं बाहिर पनि देखिएको छ। वीरगन्जस्थित ग्यास्ट्रो एन्ड लिभर क्लिनिक, इन्डोस्कोपी सेन्टरका ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. राकेशकुमार झाका अनुसार उनले तौल घटाउने भनिएको वस्तु खाएका चार युवतीको हालै उपचार गरेका छन्। तिनको रगतमा पनि लिडको मात्रा उच्च पाइएको थियो। काठमाडौं मल्टिपल कलेजमा फार्मास्यूटिकल्स विज्ञान विषयका उपप्राध्यापक कबिन मलेकू नेपालमा लिडको प्रतिरोधक औषधिको अभाव रहेको बताउँछन्। “रगतमा लिडको विषाक्तता धेरैजसो आयुर्वेदिक औषधि नाम दिइएका वस्तुले बढाइरहेका छन्, तर यसको प्रभाव निस्तेज पार्ने औषधि (एन्टिडोट्स) नेपालमा भन्न बित्तिकै भेटिंदैन,” मलेकू भन्छन्।
संयुक्त राज्य अमेरिकाको ‘फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)’ ले सन् २०१७ मै गार्सिनिया कम्बोजियालाई असुरक्षित सूचीमा राखी उपभोक्तालाई उपयोग नगर्न आग्रह गरेको थियो। एफडीएले यसमा रहेका तत्त्वले प्रयोगकर्ताको रक्तचाप बढाउने र मुटुमा थप समस्या ल्याउन सक्ने भन्दै सचेत गराएको थियो।
यही वस्तु नेपालमा अनेक कम्पनीले निस्फिक्री रूपमा उत्पादन र बिक्री गरिरहेका छन्। तीमध्ये धेरैले यो उत्पादन कुनै आधिकारिक निकायमा दर्ता गरेका छैनन्। यसले गर्दा तिनको नियमन र निगरानी गर्न मुश्किल परेको छ। केही कम्पनीले यही वस्तुलाई खाद्य पूरक भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता त गरेका छन्, तर उनीहरू प्रचार चाहिं औषधिका रूपमा गरिरहेछन्। कानून अनुसार यसो गर्न मिल्दैन।
गार्सिनिया कम्बोजिया बिक्री गरिरहेका लुजिता ट्रेडर्सका सञ्चालकमध्येका एक विकास खड्का यो उत्पादन अमेरिकाबाट मगाएकाले सुरक्षित रहेको दाबी गर्छन्। खड्का भन्छन्, ‘‘कतिपयले चाहिं असुरक्षित खालको उत्पादन बिक्री गरिरहेको साँचो हो, हाम्रो उत्पादनमा समस्या छैन।” लुजिता ट्रेडर्सले पनि आफ्नो फेसबूक पेजमा गार्सिनिया कम्बोजियालाई भुँडीको बोसो गायब पार्ने अचूक उपाय भनी प्रस्तुत गरेको छ।
औषधि भए त्यो औषधि व्यवस्था विभागमा दर्ता भएको हुनुपर्छ। खाने प्रयोजनका अन्य वस्तु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता गरिनुपर्छ। तर विभागले विना दर्ता बेचिंदै आएकालाई कडाइ गर्नु त परै जाओस्, दर्ता भएकालाई पनि प्रभावकारी रूपमा निगरानी गर्न सकेको छैन। विभागमा दर्ता नभई आफूखुशी बिक्रीवितरण गरिंदै आएका वस्तु निकै छन्। उदाहरण हो, सामाजिक सञ्जालमा व्यापक प्रचारमा रहेको फेन क्यु नामक खाद्य आहार। विभिन्न फेसबूक पेजमा यसले १० किलोसम्म तौल घटाउने दाबी गरिएको छ। तर विभागले सार्वजनिक गरेको खाद्य पूरकको सूचीमा यो देखिंदैन। सूचीकृत भए नै यस्ता वस्तुको निगरानी गर्न र हानि देखिए तुरुन्त बिक्री रोक्न सहज हुने हो।
अर्कातिर, हामीकहाँ खाद्य पूरक वा चूर्णका नाममा बिक्री भइरहेका वस्तुले स्वास्थ्यमा पार्ने हानिनोक्सानीबारे गहिरो परीक्षण भएको छैन। काठमाडौं मल्टिपल कलेजमा फार्मास्यूटिकल्स विज्ञान विषयका उपप्राध्यापक मलेखू भन्छन्, “अनलाइन र सामाजिक सञ्जालबाट आयुर्वेदिक औषधि, खाद्य पूरक आदि नाममा जथाभाबी तरीकाले वस्तुहरू किनेर खानु स्वास्थ्यलाई जोखिममा हाल्नु हो, किनभने त्यस्ता वस्तुको मसिनो तरीकाले निगरानी र परीक्षण नै भएको हुँदैन।”
भावनात्मक दोहन
कलंकीकी सरिता पौडेललाई एक वर्षअघि फेसबूकमा एउटा विज्ञापनले यसरी रिझायो कि उनलाई त्यो आफ्नो असाध्य पीडा अन्त्य गर्नकै लागि आए जस्तो लाग्यो। वर्षौंदेखिको ग्यास्ट्रिक भगाउन थाहा पाएसम्मका उपाय लगाएर थाकिसकेकी उनलाई ‘ग्यास्ट्रिक निर्मूल हर्बल चिया’ ले त्यसबाट सधैंलाई छुटकारा दिलाउने वाचा गरिरहेको थियो। विभिन्न जडीबुटी मिसाइएको र शरीर शुद्ध पार्ने भनिएको चिया दुई हजार रुपैयाँ तिरेर तत्काल मगाइहालिन्। उनी भन्छिन्, “विज्ञापन यति विश्वसनीय थियो कि मलाई कुनै शंका समेत भएन।”
चिया केही दिन खाँदा पनि ग्यास्ट्रिक बीसको उन्नाइस भएकै थिएन। तापनि उनी ढुक्क थिइन्- प्राकृतिक उपचारले केही दिनपछि नै काम गर्ने हो! तर त्यो दिन कहिल्यै आएन। चिया सकिंदासम्म निको नभएपछि बल्ल उनले ठगिएको महसूस गरिन्। “तर कहाँ उजुरी गर्ने भन्ने थाहा नभएकाले म चूप बसें,” उनी भन्छिन्, “आखिर उजुरी गरे पनि पैसा फिर्ता आउने होइन क्यारे!”
त्यस्तै, भावनात्मक दोहनको शिकार बनिन् खुसिबुँ काठमाडौंकी गंगा पन्त। विना व्यायाम तथा खाना कटौती सातामै १३ किलो वजन घटाइदिने अचम्मको विधि पत्ता लगाइएको दाबी गरिएको ‘ग्रीन कफी’ को विज्ञापन पत्याउँदै उनले सात हजार ९८० रुपैयाँमा १०० ग्रामका तीन प्याकेट खरीद गरेकी थिइन्। त्यसले भनिए जस्तो काम नगरेपछि उनी भने चूप बसिनन्। उपभोक्ता अधिकारकर्मीको सहायतामा जिल्ला अदालत, काठमाडौंमा मुद्दा हालिन्।
अदालतले २०७९ सालमा उक्त ठगी गर्ने विरुद्ध सजाय निर्धारण गर्दै पन्त र अरू उपभोक्ताको रकम फिर्ता गर्न आदेश दियो। फैसलामा ग्रीन कफीको नियमित सेवन गरे औषधि, व्यायाम, डाइटिङ र साइड इफेक्ट विना साताको १३ किलो वजन घटाउने अचम्मको विधि पत्ता लगाइएको भन्दै विभिन्न लेख, ब्लग, फेसबूक तथा अन्य सामाजिक सञ्जालका पेजमा भ्रामक विज्ञापन गरेर महँगो मूल्यमा बेची हजारौं व्यक्तिलाई ठगी गरिएको उल्लेख छ।
पछिल्लो समय बजारमा सामान्य जडीबुटी मिसाएर विशेष खालको चिया वा विभिन्न रोगनाशक ‘मोरिंगा चूर्ण’ भनी बढी मूल्यमा बेच्ने धन्दा समेत चलिरहेको छ। कैयौं कम्पनीले चिया तथा मोरिंगा चूर्णले ग्यास्ट्रिक, मधुमेह, रक्तचाप सहितका रोग निवारण गर्ने दाबी सहित सामाजिक सञ्जालबाट बिक्री गरिरहेका छन्। तिनमा शिलाजित, यार्सागुम्बा लगायत जडीबुटीयुक्त वस्तु भनिएका उत्पादन समेत छन्।
नेपाल आयुर्वेदिक चिकित्सक संघका पूर्व अध्यक्ष डा. प्रकाश ज्ञवाली भन्छन्, “चिया, तेल, चूर्णका नाममा १०० पनि नपर्ने चिजलाई हजारौं रुपैयाँमा बेचिंदै छ, तिनले स्वास्थ्यमा हानि नगर्दा पनि बढी मूल्य लिएर उपभोक्तालाई ठगी भइरहेको छ।” ज्ञवाली आयुर्वेदिकका नाममा जस्तोसुकै चिज बिक्री गर्ने अभ्यास समेत मौलाएको देख्छन्। उनी भन्छन्, “सबै जडीबुटीका धूलो, चक्की वा तेल आयुर्वेदिक हुँदैनन्, आयुर्वेदशास्त्र वा अनुसन्धानबाट प्रमाणित हुनुपर्छ।”
उपभोक्ताको शारीरिक वा मानसिक कमजोरीलाई लक्ष्य गरी सामाजिक सञ्जालमा प्रस्तुत गरिने यस्ता विज्ञापनलाई जानकारहरू ठगी गर्ने प्रयोजनले प्रेरित ‘भावनात्मक शोषण’ मान्छन्। “उपभोक्ता आफ्नो स्वास्थ्यलाई लिएर संवेदनशील हुन्छन्, त्यसैले लामो समयदेखि समस्या भोगिरहेका उनीहरू चमत्कारी उपचारको दाबीले तुरुन्तै आकर्षित भइहाल्छन्,” उपभोक्ता संरक्षणकर्मी विष्णुप्रसाद तिमल्सिना भन्छन्।
तिमल्सिनाका अनुसार ठगी गर्नेहरूले अप्ठेरोमा परेकाहरूको आशा र भावनामा खेल्छन्। संवेदनशील शब्दहरू हाल्दै व्यक्तिलाई उक्त वस्तु उपयोग नगरे ठूलो मूल्य चुकाउनुपर्ने महसूस गराइदिन्छन्। त्यसैकारण एक पटक हेरौं न त भनेर पनि मानिसले यस्ता सामान किन्ने गर्छन्।
सामाजिक सञ्जालको अल्गोरिदमले कुनै वस्तुको विज्ञापन हेरे त्यस्तै खालका अन्य विज्ञापन पनि स्क्रोलमा निरन्तर देखाइदिन्छ। यसले ती सामग्रीप्रति व्यक्तिको ध्यान पटक पटक तानिरहन्छ। जबकि सामाजिक सञ्जालका पेज र प्रोफाइल मार्फत आउने धेरैजसो विज्ञापन र सूचना कानूनी रूपमा प्रश्नयुक्त छन्।
नियमनको अभाव
आहार पूरक र आयुर्वेदिक औषधिका नाममा घातक वस्तुको अनियन्त्रित प्रचार र बिक्रीवितरण नरोकिनुमा राज्यको चरम उदासीनता र उपभोक्ता संरक्षण सम्बन्धी कानूनी संरचनाको कमजोरी मुख्य कारण देखिन्छ। खाद्य पूरक, चूर्ण इत्यादि नाम दिइएका यस्ता वस्तुको बिक्री गर्दा स्वास्थ्य सम्बन्धी अप्रामाणिक दाबी गर्न मिल्दैन।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका प्रवक्ता तथा वरिष्ठ आयुर्वेद कन्सल्टेन्ट विज्ञ डा. मुनकर्ण थापा खाद्य पूरक वा तेल, चिया जस्ता वस्तुले स्वास्थ्य समस्या निको बनाउने भनी दाबी गर्न नपाइने, त्यस्तो विज्ञापन पनि गर्न नमिल्ने, सामान्य खाद्य वस्तु वा पेयका रूपमा मात्र बिक्री गर्न सकिने बताउँछन्। थापा उदाहरण दिंदै भन्छन्, ‘‘सागपात, फलफूल वा खाद्यान्नमा केही न केही पौष्टिक तत्त्व र औषधीय गुण हुन्छ। तिनलाई जसरी कुनै रोगको औषधि भनिंदैन, उसै गरी खाद्य पूरकलाई पनि औषधि भन्न मिल्दैन।” खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता महर्जन पनि अनुमति लिएका खाद्य पूरकले रोक निको बनाउने भनी दाबी गर्न नमिल्ने बताउँछन्।
सामाजिक सञ्जालमा विभिन्न रोग चट्टै निको पार्ने भनी खाद्य पूरक, तेल, चूर्ण आदिका विज्ञापन र सूचनाको बाढी नै रहेकोबारे आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग पनि अनजान छैन। “तर यसको नियमन सम्बन्धी कार्यविधि छैन जसले गर्दा त्यस्ता विज्ञापन र सूचना रोक्न सकिएको छैन,” विभागका प्रवक्ता थापा भन्छन्। उनका अनुसार यस्तो कार्यविधि आवश्यक रहेको पहिचान भइसकेकाले अहिले मस्यौदा बनाउन छलफल र तयारी भने चलिरहेको छ।
पछिल्लो समय श्रीकेश नामक तेलबारे कैयौं प्रश्न उठे। उत्पादक कम्पनीले यो तेलको प्रयोगबाट कपाल नझर्ने, नयाँ कपाल पलाउने आदि दाबी गरे पनि वैज्ञानिक आधार नदेखिएको थापा बताउँछन्। “यसबारे हामीले थप कारबाहीका लागि आयुर्वेद काउन्सिललाई पत्र पठाइसकेका छौं,” उनी भन्छन्। मिथ्या प्रचार गरेको तथा ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ नभएको भन्दै काठमाडौं महानगरपालिकाले भदौ दोस्रो साता श्रीकेश तेल उत्पादक सप्तऋषि ओयल एन्ड कस्मेटिक्सलाई दुई लाख रुपैयाँ जरिवाना गरेको थियो।
सामाजिक सञ्जालबाट भइरहेको ठगीले नेपालमा उपभोक्ता संरक्षण सम्बन्धी कानूनी संरचनाको कमजोरी पनि उजागर गर्छ। उपभोक्ता संरक्षण ऐन त छ, तर यसको कार्यान्वयन प्रभावकारी छैन। ठगी विरुद्ध उजुरी गर्दा झेल्नुपर्ने झन्झट र लम्बेतान प्रक्रियाले उपभोक्ता निराश हुन्छन्। डिजिटल माध्यममा देखाइने विज्ञापनको अनुगमन गर्ने निकाय नहुँदा यस्तो ठगीले फैलन पाइरहेको छ।
आयुर्वेद विभागका प्रवक्ता थापा सामाजिक सञ्जालबाट औषधीय गुणयुक्त भनी बिक्री भइरहेका वस्तुबारे उपभोक्ताको हित संरक्षण गर्ने दायित्व रहेका निकायले नियमन गर्नुपर्ने बताउँछन्। तर उपभोक्ता हित संरक्षण संघका महासचिव विष्णुप्रसाद तिमल्सिना राज्यका निकायले उपभोक्ताको हित संरक्षणलाई प्राथमिकता नदिंदा ठगी नियन्त्रण नभएको बताउँछन्। “नागरिकले ठगिएको अनुभूति गरे पनि न उजुरी दिने भरपर्दो निकाय छ, न त कारबाही हुन्छ। अदालत गए पनि न्याय पाउन वर्षौं कुर्नुपर्छ, खर्च त आफ्नो ठाउँमा छँदै छ। यो मुलुक नै ठगैठगको मुलुक बनिसक्यो,” तिमल्सिना भन्छन्।
यही कारण उपभोक्ता ठगिएको जान्दाजान्दै एकाध हजार रुपैयाँ त हो नि भनेर चूप बस्ने गरेको उनको बुझाइ छ। सामाजिक सञ्जालबाट बिक्री हुने वस्तुको नियमन गरी उपभोक्ताको अधिकार सुरक्षित बनाउन कानून र संरचनाको अभावलाई कारण औंल्याउँदै तिमल्सिना ई-कमर्श सम्बन्धी छुट्टै कानून र उपभोक्ता संरक्षण निर्देशनालय बनाउनुपर्नेमा जोड दिन्छन्।
डिजिटल बजारमा उपभोक्ता लगातार ठगिइरहेका घटनाले विज्ञापन र उत्पादनको प्रमाणीकरणमा कडाइ, उपभोक्तालाई उजुरी गर्ने सहज माध्यम र डिजिटल प्लेटफर्मको जिम्मेवारी निर्धारण जस्ता नीतिगत सुधार गर्नुपर्ने आवश्यकता देखाउँछन्। “सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या बढ्दै गएकाले यस्ता ठगी रोक्न तत्काल पहल नगरिए भविष्यमा उपभोक्ता अधिकार हननका घटना अझै बढ्न सक्छन्,” तिमल्सिना भन्छन्।
सामाजिक सञ्जालबाट भइरहेका ठगीमा पूर्ण न्याय त परको कुरा, कतिपय सन्दर्भमा नियमनकारी निकाय गैरजिम्मेवार बनिदिंदा उपभोक्ताले सामान्य सान्त्वनासम्म पाउँदैनन्। दुब्लाउने दाबी गरिएको औषधि खाएर बिरामी परेकी कुमारी लामाको अनुभवले त्यही देखाउँछ। लिड पोइजनिङको उपचारमा अढाइ लाखभन्दा बढी खर्च भएपछि उनी उक्त खाद्य पूरक बेच्ने कम्पनी विरुद्ध उजुरी गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पुगिन्। तर विभागले गम्भीरतापूर्वक सुनिदिएन। उनी भन्छिन्, ‘‘त्यहाँका अधिकारीहरूले खाद्य पूरक नै खाएर लिड पोइजनिङ भएको प्रमाण ल्याऊ भनेर उल्टै मलाई हप्कीदप्की गरे। उनीहरू पीडित उपभोक्ताको पक्षमा हो कि घातक चिज बेच्ने व्यापारीको पक्षमा हो, छुट्याउन गाह्रो भयो।”