पोलिथिनको मान्छे
मान्छे
जब जान्दैन रत्तीभर
मान्छेलाई प्रेम गर्न
मान्छे
जब ठान्दैन जरूरी
मान्छेलाई प्रेम गर्न
छैन उसलाई
कुनै हक
चन्द्रमालाई प्रेम गर्ने
अनि इन्द्रेनीलाई
अनि पुतलीलाई
अनि जलपरीको प्रेमकथालाई
प्रेम गर्ने
हुन्न उसलाई
कुनै हक
फूल हेर्छ उसलाई
हत्यारालाई झैं
जो भर्खर साबुनले घोटी घोटी
जोर हात धोएर
ग्लानिमुक्त भएको छ
जून उसलाई
देख्ने बित्तिकै
जान्छ अन्धकारलाई
छाँद हाल्न
र, कुना पसेर
एक बाल्टी बान्ता गर्छ
मान्छे
जब चुक्छ क्रूरतापूर्वक
मान्छेलाई प्रेम गर्न
ऊ
फेरिन्छ
पोलिथिनको मान्छेमा
जसको घृणा नष्ट हुन
पाँच सयदेखि
सात सय वर्षसम्म
लाग्न सक्छ
तत्पश्चात्
के रहन्छ बाँकी
रहन्छ के बाँकी
बाँकी रहन्छ के?
बस् पोलिथिनको मान्छे एउटा
अनि पोलिथिनका मान्छेहरू
केवल पोलिथिनका मान्छेहरू
र, रहन्छ बाँकी
प्रदूषित पृथ्वी एउटा
घृणाको बोझले
घिच्रो भाँचिएको
पृथ्वी एउटा
तसर्थ पोलिथिनले
राज गरिरहेको यस घडीमा
प्रेम पहिलो अपरिहार्यता हो
किनभने
प्रेमले मान्छेलाई
पोलिथिन बन्नबाट
जोगाउँछ
किनभने
प्रेमले मात्रै मान्छेलाई
पोलिथिन बन्नबाट
जोगाउँछ।
हिमाल दशैं साहित्यका थप सामग्री: