बिन्ती छ टुट्न नदेऊ!
मायाको बाँध हुँ म बिन्ती छ फुट्न नदेऊ
नजरको साँध हुँ म बिन्ती छ लुट्न नदेऊ!
छामे हुन्छु ढुकढुकीमा, नखोज्नू है दायाँ-बायाँ
म त हुँ नि जुनी जुनी बनिरहने तिम्रै छाया
दिलको त्यो माझ हुँ म सकेसम्म उठ्न नदेऊ
विश्वासको काँध हुँ म बिन्ती छ टुट्न नदेऊ!
तिमीलाई नै दिऊँ लाग्छ हिमालको हाँसो चोरी
झरना झैं बगूँ लाग्छ पहराको छाती फोरी!
तलाउ यो जिन्दगीको बिन्ती छ सुक्न नदेऊ
विश्वासको काँध हुँ म बिन्ती छ टुट्न नदेऊ!
तिम्रो यादमा भुल्दाभुल्दै कतै म हराएँ कि
बिछोडको कल्पनाले कतै म डराएँ कि
खुशी यी परेलीका आँसुलाई लुट्न नदेऊ
विश्वासको काँध हुँ म बिन्ती छ टुट्न नदेऊ!
चुम्ने मन छ नीलो आकाश चंगा अनि धागो बनी
सुन्दर याम जिन्दगीको पर्खेको छु गनी गनी
उदाउँदो बिहानीलाई बादलले लुट्न नदेऊ
विश्वासको काँध हुँ म बिन्ती छ टुट्न नदेऊ!
हिमाल दशैं साहित्यका थप सामग्री: