म त चाँडै फर्कनु छ
कुशासनका भँगालाले हिर्काइरहने
स्वाभिमानी पहराहरूको विश्वासमा
छोडी आएको थिएँ तुइनमा झुन्डिरहेको देश
छोडी आएको थिएँ आदिम खडेरीमा
वसन्त पर्खिरहेका कोपिला पहाडहरू
छोडी आएको थिएँ
खुशीको वर्षात पर्खिरहेका काकाकुल बस्तीहरू
छोडी आएको थिएँ बूढो मध्यरातमा
बिहान पर्खिरहेका तन्नेरी हिमालहरू
छोडी आएको थिएँ अन्धताको बन्जर बगरमा
चेतनाका मसिना बिरुवाहरू
अहो! म त फर्कनु छ
म त चाँडै फर्कनु छ
र सामेल हुनु छ
कहिल्यै फुल्न नपाएका भुइँफूलहरूको मोर्चामा
र गर्नु छ अन्तिम क्रान्ति साझा फूलबारीमा
फुल्नका लागि
सिकाउनु छ कोपिला पहाडहरूलाई
विधाता विरुद्धको विद्रोह
उभिनु छ रुग्ण विचारहरूका भँगालोमा
युगीन चेतनाको हात समाएर दह्रो गरी
खोज्नु छ काकाकुल बस्तीहरूका लागि
खुशीको मुहानसम्म पुग्ने अपहरित बाटो
उठाउनु छ अँगालोमा
फूटपाथमा लडिरहेको घाइते युगलाई
र तार्नु छ हजारौं जँघार मेरो देशलाई
अहो! घाम डुब्नै लागेछ
म त चाँडै फर्कनु थियो
अबेर हुनै लागेछ
मेरो जीवनको साँझ नढल्दै
पुग्नु छ मेरो देशमा
र भोलिको पहिलो झुल्के घाममा
रमाउनु छ तन्नेरी हिमालहरूसँगै
तपाईंहरू पनि आउँदै गर्नुस् है
म त चाँडै फर्कनु छ।
- (कुमामोतो, जापान)
हिमाल दशैं साहित्यका थप सामग्री: