आगामी तीन महीनामा पूर्वी क्षेत्रमा औसतभन्दा बढी पानी पर्ने, तापक्रम पनि बढी हुने
आगामी तीन महीनामा देशको पूर्वी भागमा औसतभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले आकलन गरेको छ।
विभागले तीन महीना (मध्य असोजदेखि मध्य पुससम्म)को मौसम पूर्वानुमान सार्वजनिक गर्दै लुम्बिनी प्रदेशभन्दा पूर्वमा सरदरभन्दा बढी पानी पर्ने बताएको छ। कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा कम वर्षा हुने आकलन छ।
विभागले कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका दक्षिण-पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ। यी क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म छ।
कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ।
तापक्रमको हकमा, देशका अधिकांश स्थानमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना छ। विशेषगरी, बागमती, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ।
त्यसैगरी, आगामी तीन महीनामा न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना छ। सुदूरपश्चिम, कर्णाली प्रदेशका पश्चिमी भूभाग र लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशितसम्म छ।
अधिकतम र न्यूनतम तापक्रम बढी हुँदा दिउँसो र राति न्यानो अनुभूति हुनेछ।
गत वर्षा याममा पनि अधिकतम र न्यूनतम तापक्रम विगत वर्षहरूको औसतभन्दा बढी रेकर्ड भएको थियो। यस वर्षको वर्षा याममा पानी समेत विगतको औसतको तुलनामा बढी परेको थियो।
विभागका अनुसार यो पूर्वानुमान विश्व मौसम संगठनको विश्वव्यापी तथा क्षेत्रीय स्तरको जलवायु सूचना, जल तथा मौसम विज्ञान विभागको हावापानी आकलन गर्ने प्रविधि र दक्षिणएशियाली जलवायु दृष्टिकोण मञ्चको आकलनका आधारमा तयार गरिएको हो।