जीवन र मृत्युको दूरी
जीवन र मृत्यु सधैंभरि सँगै हिंडिरहेका हुन्छन्। जबसम्म जीवन रहन्छ, मान्छेलाई मृत्युसँगको साक्षात्कारको भय र रहस्यले पछ्याइरहन्छ।
जीवन र मृत्यु दुई विपरीत ध्रुव। दुई फरक दिशाका सहयात्री। तर यी दुईबीचको दूरी रहस्यमय छ। त्यसलाई हामीले न मापन गर्न सक्छौं, न त पूर्ण रूपमा बुझ्न नै। जीवनको यात्रा सधैं मृत्युको छायामुनि चलिरहेको हुन्छ। तर यो छाया कहिल्यै स्पष्ट हुँदैन। हामी जीवनभर मृत्युबाट भाग्न खोज्छौं। तर परिणाममा सधैंभरि मृत्युतिरै उन्मुख हुन्छौं।
आखिर जीवन के हो? मृत्यु के हो? यी दुईको दूरी कहाँसम्म फैलिएको छ?
जीवन एउटा आश्चर्यजनक यात्रा जस्तो लाग्छ। जुन अनगिन्ती आरोह-अवरोह, सजीव रङ र गहिरा अनुभूतिले भरिएको छ। हामी जीवनलाई केवल उज्यालै उज्यालोका रूपमा देख्न चाहन्छौं। तर त्यसलाई सधैं मृत्युको छायाले घेरिरहेको हुन्छ। जीवनका प्रत्येक सुख-दुःख, प्रेम र सफलतामा मृत्यु गाँसिएरै बसेको हुन्छ।
जीवनको एउटा अकाट्य सत्य भन्नु नै यसको खुशी अनन्त नहुनु हो। यसको यात्रा शाश्वत नहुनु हो।
बाल्यकालमा हामी जीवनलाई एकदमै सतही रूपमा बाँचिरहेका हुन्छौं। हाम्रा आँखामा हरदम सपनाको रंगीन संसार घुमिरहेको हुन्छ। मृत्युबारे सामान्य अन्दाज भए पनि त्यसले हामीलाई खासै स्पर्श गर्दैन। किशोरावस्थासम्म आइपुगेपछि बल्ल जीवनको गम्भीरता र जटिलता महसूस हुन थाल्छ। प्रेम, बिछोड, सपनाहरूको विफलताले जीवनको यथार्थ र अर्थबोध गराउन थाल्छन्। जसले क्रमशः मृत्युको वास्तविकता गहिरो गरी अनुभूत गराउँछ। अनि क्रमशः मान्छे मृत्युसँग डराउन थाल्छ। यो पनि जीवनकै अनिवार्य अंश हो भन्ने बोध भएसँगै हरेक मान्छेको मनमा मृत्यु स्थायी बासिन्दा बनेर बस्छ।
अरू मान्छे जस्तै म पनि कैयौं पटक मृत्युको सन्निकट पुगेको छु। ती क्षणमा लाग्थ्यो, अब जीवन यति नै रहेछ। ती घटना, दुर्घटना, रोगले थलिएर अस्पतालको बेडमा शिथिल भएका समयमा मृत्युले पक्कै मलाई छुन आइपुग्यो भन्ने महसूस हुन्थ्यो। तर मृत्युले कहिल्यै मलाई समाएन। किन होला? शायद जीवनलाई अझै गहिरो गरी बुझ्न बाँकी थियो होला। त्यही भएर मृत्युले मलाई फेरि जीवनको पाठ सिकाउन फिर्ता पठायो होला। मृत्यु नजीकै पुगेर फर्केपछि महसूस हुन्थ्यो, यो त केवल मृत्युको संकेत रहेछ। मृत्यु त जीवनको थप गहिराइ बुझ्न प्रेरित गर्ने अदृश्य शक्ति पो रहेछ।
जीवन के हो? यो अझै पनि अनन्त रहस्यको खोज हो। अनुभवहरूको शृंखला हो। खुशी, दुःख, प्रेम, बिछोड, सफलता, विफलता- जीवन यिनै विभिन्न रङबाट बनेको सप्तरंगी क्यानभास हो। तर जीवन के होइन भने, यो शाश्वत हुँदैन। अनिश्चितता नै यसको वास्तविकता हो। अनिश्चितताले नै जीवनलाई अनमोल बनाउँछ। किनकि मृत्युको सासले जीवनका हरेक पललाई विशेष र अझै गहिरो बनाउँछ।
मृत्यु के हो? हामीलाई मृत्यु अन्त्य जस्तो लाग्छ। तर यो नयाँ यात्रा पनि हुन सक्छ। मृत्यु जीवनको निषेध होइन, जीवनकै परिपूर्णता हो। मृत्युले जीवनको अधूरोपनलाई पूरा गर्छ। मृत्यु जीवनको अन्त्य होइन, यसको अर्को अध्यायको शुरूआत हो। मृत्युका बारेमा हामीले कुरा बुझ्नै बाँकी हुन्छ, तर जानेर वा नजानेर मान्छे यसबारे सम्पूर्ण बुझेको भ्रम पालेर बाँचिरहेका छन्।
हामी जीवनभरि मृत्युलाई किन सम्झिरहन्छौं? किन मृत्यु हरेक खुशीको छायामा हुन्छ? किन मृत्यु हरेक सफलता, उन्नति, प्रेमको किनारामा उभिन्छ? शायद मृत्युले जीवनलाई मूल्यवान् बनाउँछ। किनकि मृत्युको सम्झना मात्रले पनि जीवनलाई सजीव, सार्थक र अनमोल बनाउँछ। मृत्यु नहुँदो हो त शायद मान्छेले जीवनलाई यति गम्भीरताका साथ महसूस गर्न सक्दैनथ्यो कि!
जीवन र मृत्युको अन्तर्सम्बन्ध थाहा पाउन सर्वप्रथम जीवनको गति र लय खोतल्नुपर्छ। जन्ती र मलामीको मनोविज्ञान बुझ्नुपर्छ। अर्थात् जीवन र मृत्युको प्रतिरूप। जन्तीमा खुशीको लहर चल्छ। एउटा नयाँ जीवनको आगमनको स्वागतमा उत्सव हुन्छ। उज्यालो भविष्यको कल्पना गर्छ। तर मलामीमा मृत्युको शून्यता, मौनता र कठोरता गाँसिएको हुन्छ। मलाम जाँदा मान्छेहरू चूपचाप हुन्छन्। मृत्युको सत्यसामु उनीहरू निःशब्द देखिन्छन्। जन्तीमा जीवनको शुरूआतको खुशी झल्किन्छ, तर मलामीमा जीवनको अन्त्यको गहिरो दुःख भेटिन्छ।
आखिर जीवनमा किन यति फरक अनुभूति हुन्छ? शायद यो द्वन्द्व र विरोधाभास नै जीवनको सार हो। मान्छेले जीवनलाई सहर्ष अँगाल्छ, तर अन्त्यको सामना गर्न चाहँदैन। जीवनलाई पूर्ण रूपमा बुझ्ने हो भने त्यसको अन्त्यलाई पनि स्वीकार गर्न सक्नुपर्छ। मृत्यु जीवनकै एक हिस्सा हो भन्ने यथार्थ बुझ्दाबुझ्दै मान्छेले यसलाई नजीकबाट देखेर पनि स्विकार्न गाह्रो मानिरहेको हुन्छ।
जीवन र मृत्युको दूरी कति छ? शायद जीवन र मृत्युको दूरी मान्छेले कल्पना गरेभन्दा पनि नजीक छ। अथवा यो दूरी केवल हाम्रो सोचाइ जति पनि हुन सक्छ। यथार्थमा जीवन र मृत्यु सधैंभरि सँगै हिंडिरहेका हुन्छन्। जबसम्म जीवन रहन्छ, मान्छेलाई मृत्युसँगको साक्षात्कारको भय र रहस्यले पछ्याइरहन्छ। तर यो यात्रा कहिल्यै पूरा हुँदैन। शायद जीवन र मृत्यु एउटै धागोका दुई छेउ हुन्। मान्छेलाई यी दुवैको बोध जीवनको अन्त्यमा मात्र हुन्छ। त्यसो हुँदा धागोको दुई छेउ भेटिनु जीवनको अन्त्य र मृत्युको शुरूआत दुवै हो।
जीवन र मृत्युको यो यात्रा अन्तहीन रहस्यको शृंखला हो। जब मृत्यु अँगाल्न आउँछ, मान्छेले अन्तिम विश्राम लिन पुग्छ। तर जबसम्म यो विश्रामको घडी सम्मुख आउँदैन, मान्छेलाई जीवन बाँचिरहने उत्साहले बँचाइराख्छ। अतः जीवन र मृत्युको दूरी केवल त्यति नै छ, जति पल मान्छेले बाँच्न सक्छ। सपना जस्तो एउटा यात्रा जसको गन्तव्य अनन्त अज्ञात शून्यतामा विलीन हुन्छ। त्यति वेला मान्छेसँग जीवन रोज्ने विकल्प हुँदैन। बाँकी रहन्छ त केवल जीवनको शून्यता।
जीवन र मृत्युको दूरी थाहा पाएको शून्य अनुभूति। जीवनको सबैभन्दा प्यारो शरीर त्यागेको निष्प्राण आत्मको बोध। शून्यबाट शुरू भएर शून्यमै पुगेर टुंगिने रहस्यमय यात्राको यथार्थ। जीवनमा सबैभन्दा बढी भागेको र तड्पिएको मृत्युको अनन्त अँगालोमा बेरिएको एउटा अनुपम अनुभूति! जीवन र मृत्युको संगमस्थलमा भेटिने आत्माको रहस्यमय अप्रतिम सौन्दर्य!
हिमाल दशैं साहित्यका थप सामग्री: