के नेपालीले प्रदूषित पानी र हावा पचाएकै हुन्?
पानीको थोपा निरन्तर ढुंगामा खस्दा बिस्तारै ढुंगा पनि खिइन्छ। त्यसैगरी, मानव जीवनलाई पनि प्रदूषणले निरन्तर असर पुर्याइरहेको हुन्छ।
नेपाल जस्तो प्राकृतिक सौन्दर्यले भरिपूर्ण देशमा वायु र पानी प्रदूषण गम्भीर चुनौतीका रूपमा उभिएका छन्। द्रुत शहरीकरण, उद्योगीकरण र अव्यवस्थित विकासका कारण प्रदूषणका यी दुवै रूपले नेपालीको स्वास्थ्य, जीवनशैली र प्राकृतिक स्रोतमा गहिरो प्रभाव पारिरहेका छन्।
प्रदूषणको असर हाम्रो दैनिकीमा यति गहिरो छ कि कतिपय अवस्थामा यसलाई सामान्य रूपमा लिने गरेको पाइन्छ। वायु र पानी प्रदूषणसँग सम्बन्धित एउटा भनाइ निकै प्रचलित छ। त्यो हो- ‘नेपालीलाई पचेकै छ’। यो भनाइ सत्य हो वा होइन भन्नेबारे केलाउन गहिरो विश्लेषण आवश्यक छ।
वायु प्रदूषण
नेपालमा वायु प्रदूषण विशेषतः काठमाडौं उपत्यका जस्ता ठूला शहरमा गम्भीर समस्याका रूपमा देखा परेको छ। यहाँको वायु प्रदूषणका मुख्य स्रोतमा सवारीसाधनबाट निस्कने धूलो र धूवाँ, इँटाभट्टा उद्योगको उत्सर्जन र निर्माण सामग्रीको धूलो आदि पर्छन्। जाडो याम आउँदै छ। यस याममा काठमाडौं जस्ता नेपालका ठूला शहरमा वायु प्रदूषण उच्च बिन्दुमा पुग्ने गरेको देखिन्छ।
अझ काठमाडौंले पटक पटक विश्वकै प्रदूषित शहरका रूपमा आफ्नो नाम लेखाइसकेको छ। वायु प्रदूषण खतराको बिन्दुमा पुगेको वा पार गरेको दैनिकजसो सूचना जारी गर्ने क्रम जाडो यामसँगै शुरू हुनेछ। के नेपालीले साँच्चै यस्ता प्रदूषण पचाएका हुन्? यो यक्ष प्रश्न हो, जसको उत्तर प्रत्येक नेपालीले बुझ्नुपर्ने हुन्छ।
पानी प्रदूषण
पानी प्रदूषण पनि अत्यन्तै चिन्ताजनक छ। नेपाल जस्तो हिमाली देशमा पानी प्रदूषण ठूलो समस्या बनेको छ। अत्यधिक जनघनत्व भएका क्षेत्रमा दूषित खानेपानी तथा फोहोर व्यवस्थापनको अक्षमता प्रमुख चुनौती हो। शहरमा अवस्थित नदी जस्तै- बागमती, विष्णुमती र अन्य साना नदीनाला फोहोर फाल्ने स्थान बनेका छन्। औद्योगिक फोहोर, घरेलु मलमूत्र र प्लास्टिकजन्य फोहोरले यी नदीनालालाई अत्यन्त प्रदूषित पारेको छ।
प्रदूषित पानी नेपालीले दैनिक प्रयोग गर्ने गरेको विषय नौलो लाग्दैन। वर्षा याम सकिंदै छ, तर नेपालीले प्रदूषित पानी पिउने समय कहिले सकिने हो भन्ने थाहा छैन। नेपालको ८५ प्रतिशत घरायसी खानेपानीमा रोग निम्त्याउने जीवाणु ‘इकोली’ रहेको सरकारी तथ्यांक छ, जुन गम्भीर विषय हो।
यो क्रम सार्वजनिक खानेपानी आपूर्तिमा मात्र सीमित छैन। जार वा बोतलमा भरिएको पानीको गुणस्तर पनि खराब छ। हालै मात्र नाम चलेको भनिएका ब्रान्डका पानीमा इकोली भेटिएकाले गुणस्तर तथा नापतौल विभागको कारबाहीमा परेका समाचार प्रकाशन भएका छन्। तर यस्ता समाचारले पनि जनमानसमा खासै संवेदनशीलता जगाएको देखिंदैन। उसो भए के नेपालीलाई प्रदूषित पानी पचेको हो भन्ने अर्को यक्ष प्रश्नको उत्तर प्रत्येक नेपालीले मनन गर्नै पर्ने देखिन्छ।
हालै भएको भीषण वर्षाले मच्चाएको विध्वंसका कारण धनजनको ठूलो क्षति भएको छ। यस्तो अवस्थामा खासगरी बाढीग्रस्त क्षेत्रका बासिन्दा झनै प्रदूषित पानी पिउन बाध्य छन्। तत्कालै ठूलो महामारी नदेखिएकाले नेपालीले पचाएका हुन् कि भन्ने प्रश्न उठ्न सक्छ। यस प्रश्नको उत्तर पनि नेपालीले बुझ्नु उत्तम हुने देखिन्छ।
अशक्तता र अकालमा मृत्यु
विभिन्न कारणले मानिसले अर्थपूर्ण जीवन बाँच्न नपाउने गरेको देखिन्छ। उमेर पुगेर कालगतिले मृत्यु हुनु कम दु:खदायी हुन्छ भने अकालमा हुने मृत्युको पीडा अकल्पनीय हुन्छ। त्यसैगरी, स्वस्थ जीवनयापन गर्न पाउनु हर्षको विषय हुन्छ भने रोगव्याधिले अशक्त वा अपांग भएर बाँच्नु एकदम पीडादायी हुन्छ। यी पीडादायी अवस्था वा अर्थपूर्ण जीवन बाँच्न नपाएका वर्षलाई अक्षमता-समायोजित जीवन वर्ष (Disability-Adjusted Life Years, DALYs) का रूपमा लिने गरिन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार सुरक्षित खानेपानी जीवनभर उपभोग गर्दा स्वास्थ्यका लागि कुनै जोखिम हुँदैन, तर सुरक्षित खानेपानी नभएमा यसले प्रतिकूल असर पार्ने गरेको हुन्छ। मानव स्वास्थ्यमा वायु प्रदूषण र पानी प्रदूषणका अतिरिक्त ध्वनि प्रदूषण, प्रकाश प्रदूषण, खाद्यान्नमा मिसावट, जीवनशैली, आदिले समेत गहिरो असर पुर्याएका हुन्छन्।
यसै सन्दर्भमा क्याथरिन गिब्नी लगायतले गरेको अध्ययनले वायु गुणस्तर, खाद्य सुरक्षा, स्वास्थ्य हेरचाह सम्बन्धित संक्रमणहरू र शल्यचिकित्साका जटिलताले अर्थपूर्ण जीवनयापनका लागि बाधा पारेको निष्कर्ष निकालेको छ। त्यसैगरी, डार्सी एम एन्डरसन लगायतले गरेको अध्ययनले अर्थपूर्ण जीवनयापनमा प्रदूषित वायु र पानीले प्रतिकूल असर पार्ने गरेको पुष्टि गरेको छ।
प्रदूषित वायु र पानीले विभिन्न खाले रोग लाग्ने र कालान्तरमा आयु घट्ने गर्छ। सामान्य रूपमा प्रदूषण पचेको देखिए पनि वास्तवमा यसले निकै ठूलो असर गरिरहेको पाइन्छ। भनिन्छ, पानीको थोपा निरन्तर ढुंगामा खस्दा बिस्तारै ढुंगा पनि खिइन्छ। त्यसैगरी, मानव जीवनलाई पनि प्रदूषणले निरन्तर असर पुर्याइरहेको हुन्छ।
प्रदूषणका कारण महामारी फैलँदा तत्कालै यसको असर देखिन्छ र यसले कैयौं ज्यान लिने गर्छ। महामारीको रूप नलिंदा यसले मन्दविषका रूपमा मानव जीवनलाई असर गरिरहेको हुन्छ। कालान्तरमा अपेक्षित आयु बाँच्न नपाउने अवस्था आउँछ।
नेपालीको जीवन प्रत्याशा अर्थात् बाँच्ने औसत आयु बढ्ने क्रम जारी छ। यसले नेपालीले प्रदूषण पचाएका हुन् कि भन्ने भ्रम हुन सक्छ। तर वास्तविकता त्यस्तो होइन। जसको पुस्ट्याइँ विभिन्न वैज्ञानिक अनुसन्धानले गरेका छन्। यसको अतिरिक्त मन्दविषका रूपमा यसले गरेको असरले अशक्त हुनु र समय समयमा मानिसले भोगेको महामारीले समेत यसको पुष्टि गर्दछन्।
वायु प्रदूषणले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउँछ। धूवाँ, धूलो र हानिकारक रासायनिक पदार्थ मिसिएको वायु श्वासप्रश्वासका समस्या, एलर्जी र अन्य गम्भीर रोगका कारक बन्न सक्छन्।
प्रदूषित पानीका कारण झाडापखाला, हैजा, टाइफाइड र अन्य पानीजन्य रोगको संक्रमणले जनस्वास्थ्यमा समस्या निम्त्याउन सक्छन्। ग्रामीण भेगमा भने जलस्रोतको उचित संरक्षण नहुँदा पानीमा हानिकारक कीटाणुको मात्रा उच्च रहने गर्छ, जसले गर्दा जनस्वास्थ्यमा जोखिम झनै बढेको छ।
वास्तवमा वायु र पानी प्रदूषणको समस्यालाई नेपाली समाजले समस्याका रूपमा नभई नियति अर्थात् ‘आफ्नो भाग्यमै लेखिएर आएको कुरा’ का रूपमा ग्रहण गरेको पाइन्छ। दैनिक जीवनमा यस्ता समस्या सामान्य जस्तै बनेका छन्। मानिस प्रदूषणको प्रभावमा बस्न बाध्य छन्, तर लामो समयसम्म प्रदूषणमा बस्दा हुने असरको गम्भीरताबारे चेतना अभाव छ। यसको मुख्य कारण सरकारी तहमा प्रदूषण नियन्त्रणका लागि स्पष्ट योजना र क्रियाकलापको कमी, कमजोर जनचेतना अभियान र जनसहभागिताको अभाव हो।
वायु प्रदूषण घटाउन प्रभावकारी उपाय अवलम्बन गर्न अब ढिलो गर्नु हुँदैन भने पानी प्रदूषणलाई पनि व्यवस्थित रूपमा व्यवस्थापन गर्नु आवश्यक छ। प्रदूषित पानीको असर जनस्वास्थ्यमा कम गर्न पानीलाई घरेलु शुद्धीकरण विधिहरू जस्तो- उमाल्ने, क्लोरिन प्रयोग गर्ने, फिल्टर गर्ने, सोलार डिसइन्फेक्शन गरेर प्रयोग गर्नु उत्तम विकल्प हुन्।
वायु र पानी प्रदूषणले नेपालीको जीवन प्रत्याशालाई क्रमशः द्रुत गतिमा बढ्नबाट रोकिराखेका छन्। सुरक्षित पानी र स्वच्छ वतावरण हुने हो भने नेपालीको औसत जीवन प्रत्याशा ७५ वर्षमाथि पुग्न कठिन नहुने देखिन्छ।
नेपालमा वायु र पानी प्रदूषणले जनजीवनमा गम्भीर असर पारेका छन्। यसलाई सम्बोधन गर्न नागरिक, सरकार र गैरसरकारी संस्थाको समन्वय आवश्यक छ। प्रदूषणले गर्दा हामीले गुमाइरहेका स्वास्थ्य, प्राकृतिक स्रोत र जीवनको गुणस्तरलाई समयमै सुधार्न जरूरी छ। नत्र प्रदूषणको असर अझै गहिरिंदै जानेछ।
(यादवले स्वच्छ सफा खानेपानी र सरसफाइमा अध्ययन-अनुसन्धान गर्दै आएका छन्।)
यो पनि पढ्नुहोस् : पानीको जार रोगको घर