रेलको ‘रोमान्टिसिज्म’
इस्ट इन्डिया कम्पनीको सेनामा भर्ती भएका र बिदामा नेपाल आउने सैनिक तथा तीर्थयात्रा गर्न एवं शिक्षा वा अन्य प्रयोजनका लागि भारत गई रेल चढेर आउने नेपालीले रेलका विविध प्रसंगका कथा ल्याउँथे।
नेपाली भूमिमा रेल नचले पनि यसको ‘रोमान्टिसिज्म’ ले नेपालका गाउँ, शहर र कुनाकन्दरा ओतप्रोत भएको इतिहास रोमाञ्चक छ। आधुनिक समयमा रेलको त्यस्तो रोमान्टिसिज्म हाम्रो वरिपरि नपाइए पनि यसले प्रेम, युद्ध, धर्म र छापाको रोचक र गहकिलो इतिहास बोकेको छ। यति मात्र होइन, यसै पनि अन्धविश्वासले ग्रस्त उन्नाइसौं शताब्दीको हाम्रो समाजमा छिमेकी मुलुकमा आएको रेलले थप अर्को पनि अन्धविश्वास थपिदिएको इतिहास पनि कम चाखलाग्दो छैन।
कोही नांगै खुट्टा, कोही जुत्ता लगाएर (त्यो पनि अहिलेको जस्तो सजिला जुत्ता होइन) कोसौं-कोस भारी बोकेर हिंड्ने नेपालीहरूलाई एउटा लामो रेलले मान्छेदेखि सरसामान छोटो समयमै एक ठाउँबाट अर्को ठाउँमा पुर्याएको देख्दा अचम्म लाग्नु स्वाभाविकै थियो। नेपालमा समुद्र पनि छैनन् न त ठूला नदी नै छन्। त्यसमाथि समुद्र तरे पाप लाग्छ भन्ने अन्धविश्वासको अर्को गह्रुँगो भारी बोकाइएको थियो। नुनिलो समुद्र तरेमा जातिच्युत हुने डर! त्यही पनि कसरी जान पाउनु! पछि प्रथम विश्वयुद्ध ताका विशेषतः सैनिकहरूका लागि समुद्रपार गए पनि त्यहाँ नियममा बसेमा फर्केपछि चोखिन सकिने ‘पानीपतिया’ भनिने धार्मिक प्रायश्चित्तको नियम बसालियो।
त्यसैले त्यति वेलासम्म नेपालीहरूले भारत गए पनि ठूल्ठूला पानीजहाजमा यात्राको अनुभव गरेका थिएनन्। आफूले चढ्न पाएको यातायातको पहिलो साधन रेल उनीहरूका लागि नयाँ कुरा भयो। रेल देखेर उनीहरू छक्क परे। रेलले मानिस वा सामान द्रुत गतिमा गन्तव्यमा पुर्याएको देखे र आफैंले यात्राको अनुभव पनि गरे। त्यो देखेसँगै नेपालमा नयाँ अन्धविश्वास जन्मियो (पाँडे २०७५ ख: १०६)।
त्यस समयको कष्टकर प्रसूति व्यथा! कति गर्भवती बच्चा जन्माउन नसकेर मर्थे। त्यो मरणान्त व्यथालाई छोट्याउन कसैले तर्क निकाल्यो- ‘जसरी रेलको टिकट लिएर यात्रा गर्दा छिटै गन्तव्य पुगिन्छ, त्यसरी नै लामो बेथाले च्यापेका गर्भवतीलाई रेलको टिकट बाँधिदिएमा शिशु छिटै जन्मन्छ!” त्यसै गरियो पनि र संयोगवश भने जस्तै भयो पनि। अनि त के थियो! गर्भवती महिलालाई सजिलो प्रसूति बेथाको आशामा धमाधम रेलको टिकटको जन्तर वा बुटी बनाएर लगाइदिन थालियो। भारत यात्राबाट फर्कंदा त्यहाँ किनेको रेलको टिकट बडो जतनसाथ राखेर गाउँ गाउँमा ल्याइयो। एउटाको काम सकेपछि अर्कोले सापट लग्यो। तीर्थबाट फर्कंदा रेलको टिकट ठूलो कोसेली भयो। कठै त्यस वेलाको हाम्रो अशिक्षित समाज!
घर छोडेर टाढा कमाउन जाने नेपाली परम्परा धेरै पुरानो हो। इस्ट इन्डिया कम्पनीले भारतमा रेलको सञ्जाल बिछ्याएदेखि नै नेपाली युवा त्यसका प्रत्यक्षदर्शी र उपभोक्ता भए। हिंडेर केही दिन लाग्ने दूरीको बाटो रेलले केही घण्टामै कटाइदिन्थ्यो। त्यसमाथि किसिम किसिमका मानिससँग रमाइला कुराकानी र अनुभव गर्दै यात्रा गर्न पाइने अवसर नेपालीका लागि रोमाञ्चकारी हुने नै भयो। ती रोमाञ्चक अनुभव नेपाली मनमा सँगालिएर जस्ताको तस्तै नेपाल भित्रिए। रेलका कति गीत नेपालका रोदी र जंगलमा घन्किए भने कति गीत कापीका पानामा लेखिए। रेल चढेको अनुभव सँगालेर रामविनोद न्यौपानेले (नेपाल: २०२५) एउटा फुटकर कविता लेखे:
सवा सय वर्षदेखि छोडि अश्व हाती।
धनी हुन् कि गरीब हुन् चल्थे रेलै माथि।।
जहाँ जान मन हुन्थ्यो टिकट् लिई लिई।
चल्थे यात्री आनन्दका सुधा पिई-पिई।।
नानादेश देशान्तरका यात्रीहरू साथ।
हाँस्तै खेल्दै गर्दै सुन्दै मिठा मिठा बात।।
इस्ट इन्डिया कम्पनीको सेनामा भर्ती भएका र बिदामा भारतबाट नेपाल आउने सैनिकहरू र तीर्थयात्रा गर्न एवं शिक्षा वा अन्य प्रयोजनका लागि भारत गई रेल चढेर आउने नेपालीहरूले रेलका मीठा र अद्भुत प्रसंगका कथा लिएर आए। चिठीपत्र वा सामान ओसार्ने डाक गाडी सबैभन्दा द्रुत गतिको रेल थियो, जसले एक घण्टामा बीस कोस अर्थात् ६४.४ किलोमिटर दूरी छिचोल्थ्यो। वि.सं. १९५८ मा शिखरनाथ सुवेदीले रेलले तय गर्ने दूरीबारे यसरी लेखेका छन् (सुवेदी २०७९):
पंजाब् बम्बै मेल मुख्य दुइटा, डाक् गाडि जान्नू अवल्।
एक् घण्टाँ विश कोश जान्छ सहजै, रेल् रेलमाको डबल्।।
पैसिञ्जर्हरू बाह्र कोश हिंडछन्, माल् गाडि सात् आठ कोश्।
प्रथम विश्वयुद्धको समयमा चन्द्रशमशेरले देशको ढुकुटी र मन दुवै खोलेर बेलायतलाई सहयोग गरे। सैनिक, पैसा, कम्बल, चिया, हतियार हरेक प्रकारका सहयोग भारत पठाइए। रेलको लिकका लागि दुई लाख वटा सालका ब्रड-गेज स्लीपर र सिसौका २२० वटा रूख सीमापारि लगिए।
त्यस समय काशीमा लहरी साहित्यको लहर चलेको थियो। रेल सम्बन्धी घटनाले पनि लहरी साहित्यमा स्थान बनायो। प्रसादसिंह राईले आफ्नो रचना प्रीति लहरी (सन् १९१९)मा नेपालको मधेशको काठ रेलको स्लीपर बनाउन आराले गिंडेको, बिदामा घर आएको सैनिकले गाउँघरमा बिदा मनाएर फेरि काममा फर्केको, रेलमा विविध खेल खेल्दै यात्रा गरेको र रेलको टिकट महँगो हुने प्रसंग जोडेका छन्:
कोसैले खेल्छ, तिरि र पासा, कोइ खेल्छ नकस
रेलैको भाडा, को कटला सारा, मो परे सकस
मदेशै ज्यानको चीड* को स्लीपर आराले गिंडेको
दुइ चारै मैन्हा हांस खेलै गरी माघैमा हिंडेको।
(* चीड - गोब्रेसल्लो)
काशीमा छापिएका लहरी साहित्य सैनिकहरूले पनि किनेर पढे, तिनैले गाए र तिनैका कुरा लेखिए। नेपाली समाजमा तिनैले भित्र्याएका रेलका विविध प्रसंगले गीत र कवितामा पनि प्रवेश पाए। सुब्बा होमनाथ केदारनाथले (सन् १९२८) काशीमा छापेको माया लहरी प्रेमलताका लहरी गीतमा पनि रेलका कुरा छन्:
सिग्रेट चाँडै किनेर ल्यौ ल्यौ म खान्छु बालेर।
रेलैमा औँछु रेलैमा जान्छु के गर्छौं हेरेर।।
रेल चढाउने रमाइलो सपना देखाएर कति रिकुटेहरूले तरुनीहरूको मन जिते भने कतिले रेलको कथा सुनेर जिब्रो टोके। रेल चढेको कथा सुनाएर समाजमा तिनको अर्कै शान भयो। बेलायती साम्राज्यमा फूलको बास्ना भएको अत्तरले मगमगाएकी बेलायती मेम साहबहरूलाई भेटेको, कोही आउन चाहेमा आफू अझै अविवाहित भएको जस्ता कुरा पनि रेलको प्रसंगसँग जोडिएर लहरी साहित्यमा लेखिए। माया लहरीबाट अर्को उदाहरण:
सिल् गडि देखिन माल गाडि आयो भारीको सासन्ले।
गोरीलाई मैले बाटैमा भेटे फुलैको बासन्ले।।
सिल् गडि बाट माल् गाडि आयो पिछाडि टालो छ।
पीरती माथी माञा र भये मेरो घर खाली छ।।
प्रथम विश्वयुद्धमा नेपालले सघाए बापत बेलायतले दिएको एकमुष्ट एक्काइस लाख रुपैयाँको आर्थिक सहयोगबाट रक्सौलदेखि अमलेखगन्जसम्म रेलको बाटो बनाउने कुरा खरीको रूखबाट चन्द्रशमशेरले घोषणा गर्ने योजना बनाइयो (पाँडे २०७५ क: २८७)। तदनुरूप विसं १९८४ मा नेपाली बाटोमा रेल गुड्यो। अमलेखगन्जबाट भीमफेदीसम्म मोटरबाटो र धुर्सिङ्देखि मातातीर्थसम्म रोपवे बनेपछि त रक्सौलबाट १२-१५ दिन लगाएर काठमाडौं आउने सामान एकै दिनमा आउने भयो।
राहुल सांकृत्यायनले पनि विसं १९७९ मा गरेको पहिलो नेपाल यात्राको संस्मरणमा भीमफेदीमा बिजुलीका पोलहरू गाडिंदै गरेको र मोटरमा चढेर रक्सौल गएको चर्चा गरेका छन्। पछि उनैले १९८६ को दोस्रो नेपाल यात्रामा रेल चढेको प्रसंग उल्लेख गरे (सांकृत्यायन सन् १९५० : २८-२९):
रक्सौल पहुँचने पर देखा, कि अब यहाँसे एक छोटी रेल वीरगंज नहीं और आगे अमलेखगंजतक गई है। और यहाँसे भी भीमफेरीतक लॉरी जाती है। ...] अमलेखगंजले लिए ट्रेन पकड़ी और यहाँसे माल ढोनेवाली खुली लॉरी मिली फिर पैदल सीसागढी (चीसापानी) और चन्दागढीके पहाड़ोंको पार किया और नेपाल पहुँच गया।
चन्द्रशमशेरका पालामा भएको यो विकास त्यस बखतका लागि क्रान्तिकारी संयोजन थियो (पाँडे २०७५ ख: २६८)। तर ब्रिटिश इन्डियालाई रेलका लिक बनाउन नेपाली लकडीको आवश्यकता भएर बहुमूल्य काठ र नेपालमा बढी उत्पादन हुने खाद्यान्न लैजान उक्त विकासका काम भएको हुन सक्ने तर्क पनि छँदै छन्। जे होस्, रेलको रोमान्टिसिज्म चन्द्रशमशेरको शासनकालमा अलि धेरै व्याप्त थियो। उनैको दरबारमा गाउने र पछि भारतमा जीवन बिताएकी गायिका मेलवादेवीले रेल बनेकै वर्ष १९८४ मा नेपाली गायनकै पहिलो रेकर्डिङ कलकत्तामा गरिन् र रेलकै रोमान्टिसिज्मलाई निरन्तरता दिएर गाइन्:
झन् पर जान्छु लै लै झन् माया लाग्छ बरी लै
मोहनी लायौ कि
सवारी मेरो रेलैमा।
राणाकालीन रेलको यो रोमान्टिसिज्म पञ्चायतकालमा पनि अलि अलि रह्यो। सिन्धुपाल्चोकबाट रोजगारीको खोजीमा दिल्ली पुगेका गायक लालबहादुर खातीले त्यहाँ पहलमानी गरेर नाम कमाए। त्यसपछि राजदरबारको निमन्त्रणामा नेपाल फर्केर प्रहरीमा जागीर खाए। भारतबाट आउँदा रेलको रोमान्टिसिज्म पनि सँगै आयो र खातीले २०२२/२३ सालतिर रेडियो नेपालको लोकगीत प्रतियोगितामा आफ्नो पहिलो कालजयी गीत गाए:
अरू कालो रेलको धुँवाले
म त कालो छाता हजुर ओढ्दै नओढ्नाले
नेपालको एक मात्र रेलको अब कुनै अस्तित्व रहेन र नेपाली गीत-संगीतबाट पनि रेलको रोमान्टिसिज्म बिस्तारै सेलाउँदै छ। नेपाली गीतहरूमा रेल अझै पनि फाट्टफुट्ट झुलुक्क देखा पर्छ। उदाहरणका लागि अहिले बजारमा चलेको बाबुकृष्ण परियारको गीत छ:
कश्मिरे पछ्यौरी दार्जीलिङको रेल
लाम साइँली पिरती दुई दिन बाँचुन्जेल।
अबको तीन वर्षमा नेपाली भूमिमा रेल कुदेको १०० वर्ष पुग्छ। बितेको १०० वर्षमा रेलको सञ्जाल विस्तारमा कुनै पहल हुन सकेन र नेपाली रेल सन् २००१ मा बाटोको पुल भत्केर आंशिक रूपमा र सन् २०१४ देखि पूर्णतया बन्द छ। तर रेलको रोमान्टिसिज्म रेल विनाको देश नेपालको सामाजिक र सांगीतिक इतिहासमा सदाका अमर रहनेछ।
सन्दर्भ सूची:
अज्ञात (सन् १९२८) माया लहरी, काशी: सुब्बा होमनाथ केदारनाथ।
नेपाल, ज्ञानमणि (सम्पा.) (२०२५) वनका फूल, भोजपुर: महेन्द्र बहादुर कार्की।
पाँडे, सरदार भीमबहादुर (२०७५) त्यस बखतको नेपाल भाग १, काठमाडौं: फिनिक्स बुक्स। (२०७५ख) त्यस बखतको नेपाल भाग २, काठमाडौं: फिनिक्स बुक्स।
राई, प्रसादसिंह (सन् १९१९) प्रीति लहर, काशी: बाबू माधव प्रसाद।
सांकृत्यायन, राहुल (सन् १९५०) मेरी जीवन यात्रा २, इलाहबाद: किताब महल।
सुवेदी, शिखरनाथ (२०७९) शिखरनाथ भाष्य, वाराणसी: बाबू माधवप्रसाद शर्मा।
हिमाल दशैं साहित्यका थप सामग्री: