अझै भेटिएनन् १८ जना, विपद्मा ज्यान गुमाउनेको संख्या २४६ पुग्यो
गत साता आएको बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २४६ पुगेको छ भने १८ जना अझै भेटिएका छैनन्।
नेपाल प्रहरीका अनुसार हराइरहेकामध्ये केहीको शव फेला परेको हो। जसले गर्दा असोज २१ गतेसम्म मृत्यु हुनेको संख्या २४६ पुगेको छ।
बाढीपहिरोमा १८ जना हराइरहेका छन्। उनीहरूको खोजी जारी छ। विपद्मा १७८ जना घाइते भएका थिए भने १७ हजार १७४ जनाको उद्धार गरिएको थियो।
बाढीपहिरोबाट सबैभन्दा बढी बागमती प्रदेशमा २०९ जनाको मृत्यु भएको छ। जसमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लाका ७० जना छन्। उपत्यकामा ३७ जना घाइते भएका थिए भने सात जना हराइरहेका छन्।
त्यस्तै, बागमती प्रदेशको उपत्यका बाहिरका जिल्लामा १३९ जनाको मृत्यु भएको थियो। सात जना अझै भेटिएका छैनन्। विपद्मा ११५ जना घाइते भएका थिए भने १३ हजार ६९४ जनाको उद्धार गरिएको थियो।
बागमतीपछि कोशी प्रदेशमा धेरै क्षति भएको छ। कोशीमा २० जनाको ज्यान गएको छ भने चार जना हराइरहेका छन्। त्यस्तै, १४ जना घाइते भएका थिए भने २९० जनाको उद्धार गरिएको थियो।
मधेश प्रदेशमा विपद्मा परी नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, नौ जना घाइते भएका थिए भने ३५ जनाको उद्धार गरिएको थियो।
यो विपद्मा लुम्बिनी प्रदेशमा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। गण्डकी प्रदेशमा मानवीय क्षति नभए पनि भौतिक संरचनामा क्षति पुगेको थियो। यो प्रदेशमा ९९७ जनाको उद्धार गरिएको थियो।
यो विपद्बाट कर्णाली र सुदूरपश्चिम भने जोगिएका थिए। केही दिन झरी परे पनि बाढीपहिरो झेल्नुपरेको थिएन।
यो पनि पढ्नुहोस् :