सुरज रानाको ‘जब कविता निस्कन्छ जुलुसमा’
कवि सुरज रानाको कवितासंग्रह ‘जब कविता निस्कन्छ जुलुसमा’ सार्वजनिक भएको छ।
शनिबार बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा उक्त कृतिको लोकार्पण गरिएको हो। यो सुरजको पहिलो कविताकृति हो।
सम्भव समूहद्वारा आयोजित कार्यक्रममा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले सुरजका कवितामा प्रतिरोधी चेत पाइने बताइन्। उनले भनिन्, “आफ्नो समाजमा विद्यमान विभेद अन्त्य गर्न विश्वभरका सीमान्तीकृत समुदाय लडिरहेका छन्। सुरजले पनि आफ्ना कविता मार्फत युवा प्रतिरोधका लागि आह्वान गरेका छन्।”
कवि श्रवण मुकारुङले सुरजका कवितामा वैचारिक स्पष्टता रहेको र तिनले पाठकसँग सीधा संवाद गर्ने बताए। “काव्यचेत सहित वैचारिक रूपमा चोटिलो प्रहार गर्न सक्नु सुरजको सबल पक्ष हो। उनका कवितामा प्रशस्तै राजनीतिक व्यंग्यचेत प्रयोग भएको छ,” उनले भने।
मुकारुङले सुरजका कवितामा आफ्नो परिवेशको रैथाने सुगन्ध पाइनुका साथै फरक समुदायबारे समानुभूतिप्रधान कविता लेख्नसक्नु उनको अर्को सबल पक्ष भएको टिप्पणी गरे।
कवि तथा समालोचक डा. बिन्दु शर्माले सुरजका कवितामा पछिल्लो समय भएका राजनीतिक परिवर्तनले स्थापित गरेका मुद्दाको निरन्तरता पाइने बताइन्। “पहिचान, बहुभाषिक संवेदना, समावेशीकरण, सांस्कृतिक जागरण जस्ता पक्षमा उनले काव्यिक विम्बहरूको निर्माण गरेका छन्,” उनले भनिन्।
अध्येता गणेश खनियाँले सुरजले कवितामा मौलिकता, प्रांगारिकता र स्थानिकतामा जोड दिंदै नयाँ विम्बको प्रयोग गरेको बताए।
सम्भव समूहद्वारा आयोजित कार्यक्रममा अन्शु खनाल, इँगिहोपो कोंइच सुनुवार, भूमिका थारू, राधिका परियार, रिमा केसी र वेदनिधि पौडेलले संग्रहबाट कविता वाचन गरेका थिए।
४४ थान कविता समेटिएको पुस्तक शांग्रिला बूक्सले प्रकाशन गरेको हो।