रोशीले रुवाएका बस्ती
दुईदिने झरीपछि रोशी खोलामा आएको बाढी र पहिरोले तहसनहस पनौती नगरपालिका र रोशी गाउँपालिकाका कैयौं बस्ती मसानघाट जस्तै बनेका छन्, जहाँ स्थानीय बासिन्दा बस्न पनि डराइरहेका छन्।
नाम नयाँ गाउँ भए पनि गाउँभरि कुनै चिज नयाँ छैन। घर भत्किएका छन्। खेत पुरिएका छन्। कतै ढुंगाको थुप्रो छ त कतै खुट्टा भासिने लेदो। कतै भाँडाकुँडा छरपस्ट छन् त कतै लत्ताकपडा।
हत्केलामा टाउको अड्याएर टोलाइरहेका वृद्ध गणेशप्रसाद दाहाल घरी घरतिर हेर्छन् त घरी माटो छरपस्ट पारिएको खाल्डोतिर। घरछेउमा बनेको त्यो उही खाल्डो हो, जहाँबाट अढाई महीनाकी नातिनी प्रिन्सा र बुहारी गोपिनी दाहाललाई निकालिएको थियो, मृत अवस्थामा।
टोलाइरहेका गणेशलाई बहिनीज्वाइँ सुदीप तिमिल्सिना सान्त्वना दिइरहेका छन्। उनी धेरै बेर टोलाए भने सुदीप आएर कुराकानी गर्न खोज्छन्। उनी सम्झाउन खोज्दै भन्छन्, “जे नहुनु भयो। अब आफूलाई सम्हाल्नुपर्छ।”
अर्कातिर, गणेशकी पत्नी पनि सम्हालिन सकेकी छैनन्। माला लगाइएको बुहारीको तस्वीर हेर्दै टोलाउँछिन्। नातिनीको कुरा निकाल्दा आँसु झरेको पत्तै पाउँदिनन्।
कसैसँग बोलचाल गर्न सकेकी छैनन्। गणेशले पनि कुराकानी गर्न सकेका छैनन्। एक्लै टोलाएर बस्छन्। केही बेर सबै चूप रहेपछि गणेश बोले, “एकैछिनमा १० वटा ज्यान गयो।”
त्यसपछि उनको गला अवरुद्ध भयो। सुदीप उनलाई थमथम्याउन थाले।
गणेशले १० ज्यान भनेका बुहारी, नातिनी र आठ वटा बाख्रा हुन्। उनलाई बाख्रा पनि परिवारका सदस्य जस्तै लागेका छन्। असोज १२ गते आएको पहिरोमा उनले घरसँगै बुहारी, नातिनी र बाख्रा गुमाएका थिए।
उनकी छोरी पूजा बजगाईं केही दिनअघि मात्रै नातिनी लिएर नयाँ गाउँ आएकी थिइन्। सुत्केरी भएकाले केही समय माइतमै बस्ने योजना थियो। तर पहिरोमा छोरी गुमाउनुपरेपछि फर्किएकी छन्। अर्को दिन नै परिवारजनले पूजालाई घर लगेका छन्, त्यहीं बस्दा छोरीको याद आउला भनेर।
गणेशले त बिर्सिनै सकेका छैनन्। त्यो असोज १२ गते साढे ८ बजेतिरको कुरा हो। दुई दिनदेखिको झरी त्यो बिहान पनि निरन्तर थियो। उनी काभ्रेपलान्चोकको पनौती नगरपालिका-२, नयाँ गाउँस्थित घरमै थिए। केही दिनअघि मात्रै अर्को गाउँ सुनथान ओमडाँडाबाट अढाई महीनाकी सुत्केरी छोरी आएकी थिइन्।
छोरीलाई दूध तताउन पनि त्यो बिहानै बिउँझेका थिए, उनी। बस्तुभाउलाई दानापानी दिए। त्यसपछि भैंसी दुहेर सकेका मात्रै थिए, घरमाथिबाट माटो खस्न थाल्यो। एकैछिनमा भागदौड मच्चियो।
घरमा सुरक्षित हुँदैन भनेर उनले सबै परिवारजनलाई माथिल्लो डाँडामा पठाउन थाले। जेठी बुहारी गोपिनीले सुत्केरी नन्द पूजालाई छिटो भाग्न लगाइन्। अढाई महीनाकी भान्जीलाई आफूले बोकिन्। “भान्जी बोकेर भाग्न खोज्दै थिइन्, तर माथिबाट आएको पहिरोले दुवैलाई हान्यो,” गणेश भन्छन्, “सबैलाई अघि लगाएँ, म पछाडि पछाडि थिएँ, हेर्दाहेर्दै बुहारी र नातिनीलाई पहिरोले पुर्यो।”
केही बेरमै घर पनि गयो। २०७२ सालको भूकम्पले क्षति भएपछि नयाँ घर बनाएका थिए। गोठबाट बाख्रा निकाल्नै भ्याएनन्। केही दिनअघि छोराले दिएको पैसाले दुई तोला सुन किनेका थिए, त्यो पनि घरसँगै पुरिएको उनी सुनाउँछन्।
त्यो खबर पाउने बित्तिकै उनका दुवै छोरा आइपुगे। एक छोरा बनेपामा गाडी सर्भिसिङको काम गर्थे भने अर्का पढ्थे। उनका बहिनी ज्वाइँ सुदीप पनि आए। गाउँले थपिए। सबैले मिलेर पहिरो पन्छाउनतिर लागे। “भोलिपल्ट साढे १० बजे मात्रै शव निकालियो,” सुदीप भन्छन्, “त्यति वेलासम्म उद्धार गर्न न प्रहरी आए न त जनप्रतिनिधि।”
गणेशको घरमा मात्रै होइन, एक साता बित्दासम्म पनि नयाँ गाउँमा कोही आएका छैनन्। अहिलेसम्म उनीहरूले कुनै राहत पाएका छैनन्। अर्काको घरमा बसिरहेको उनको परिवार अब नयाँ गाउँमा नबस्ने निष्कर्षमा पुगेको छ। तर तत्काल निस्कन सकेका पनि छैनन्।
“मान्छे त जसोतसो निस्किन सकिएला, तर बस्तुभाउ लग्ने बाटो छैन,” गणेश भन्छन्, “बस्तुभाउको पनि माया लाग्छ। तिनलाई छोडेर जान पनि सकिंदैन, लिएर जान पनि।”
पहाडी गाउँका घर निकै टाढा टाढा छन्। केही पर्दा झट्ट पुग्न गाह्रो हुने गाउँमा अहिले पहिरोले बाटो नै भत्किएपछि आउनजान कठिन छ। न कोही सघाउन आएका छन् न त उनीहरू घरबाट निस्किन सकेका छन्।
यस्तै, सकसमा भेटिए, पनौती-२ कै जोरघट्ट गाउँका गुमान सिंह। उनी पहिरोले पुरेको घर र बाँकी रहेका सामान नियालेर बसिरहेका थिए। मरमसला, नुनतेल, बेसारका बट्टा असरल्ल थिए। भत्किएको घरमा सरसामान खोजिरहेका उनी बोले, “केही बाँकी रहेन, सबै गयो।”
पहिरो आउन थालेपछि घरपरिवारका सदस्य भागेका थिए। उनीहरूको ज्यान जोगियो, तर धनसम्पत्ति सबै पहिरोले लग्यो। पनौती-२ मा मात्रै बाढीपहिरोले ४७ वटा घर नष्ट भएका छन्। धेरैजसो रोशी खोला किनारका घर छन्।
रोशीको बाढीले यो वडाभन्दा तलको पनौती-१२ को अवस्था पनि भताभुंग बनाएको छ। स्थानीय बासिन्दा सम्हालिन सकेका छैनन्। “म त बेहोश जस्तै भाछु। के गर्दै छु भन्ने थाहा पाउँदिनँ,” नम्रता नगरकोटी भन्छिन्।
पनौती-१२, भालेश्वरकी ५७ वर्षीय नम्रता त्यो रात मस्त निद्रामा थिइन्। राति १२ बजेतिर हो, एक्कासि ‘बाढी आयो, भागौं! भागौं!’ भनेको आवाज आयो। नम्रता दम्पती भीर चढेर पल्लो गाउँ गए। उनीहरू त बाँच्न सफल भए, तर घर बग्यो। अहिले घरको नामोनिशान छैन। घर भएको स्थानतिर इशारा गर्दै उनी भन्छिन्, “ब्लड प्रेसरको औषधि पनि झिक्न पाइनँ।”
अहिले उनीहरू छिमेकीको घरमा आश्रय लिइरहेका छन्। धनसम्पत्ति सबै बाढीले लगेको बताउँदै उनी खानपिन गर्न पनि समस्या भएको बताउँछिन्। “धान काटेर राखेकी थिएँ। मकै भाँचेकी थिएँ। घरमा ३०-४० हजार पैसा पनि थियो,” उनी निराश हुँदै भन्छिन्, “सबै गयो, लगाएका लुगा बाहेक केही रहेन।”
भालेश्वरका अधिकांश बासिन्दाको अवस्था नम्रताको जस्तै छ। रोशी खोलाको बाढीले बस्ती नै बगाएको छ। कहींकतै त घरका अवशेष पनि बाँकी छैनन्। क्षतविक्षत घरहरू डरलाग्दा बनेका छन्।
भालेश्वरकै कुमार गुरुङको त भर्खरै किनेको घर नै डरलाग्दो भएको छ। कतारमा रहेका उनका जेठा छोरा दिनेशले ३० लाख रुपैयाँ जोडेका थिए। त्यही पैसाले नयाँ घर किनेका थिए। “छोराले दुःख गरेर कमाएको पैसाले घर किनेका थियौं,” कुमार भन्छन्, “किनेको दुई दिनमै ३० लाखको घर रोशीले बगायो।”
उनी घरभित्रको लेदो फालिरहेका थिए। रुघाखोकीले च्यापेको थियो। तैपनि सकीनसकी लेदो पन्छाइरहेका थिए।
कुमारकै घरछेउमा तिलकबहादुर तामाङको घर थियो। तिलकको घरलाई पनि रोशीको बाढीले डरलाग्दो ओढार बनाइदिएको छ। उनको घरभित्रबाट रोशी बगिरहेको छ।
अर्कोपट्टिको घरको हालत पनि उस्तै छ। घर अगाडिको एलबीटी खाजाघर लेदोले भरिएको छ। परिवारका सबै सदस्य लेदो फालिरहेका थिए। “न ओढ्ने-ओछ्याउने झिक्न पायौं न त खाने भाँडाकुँडा झिक्न पायौं, खाना बनाउने भाँडा नभएर झन् बिजोग भयो,” तिलक पीडा पोख्छन्।
उनका नाति सचिन तामाङ झन् मलिन मुहार लगाइरहेका थिए। आफूले लगाएको टिसर्ट र हाफ पाइन्ट देखाउँदै उनी भन्छन्, “यही लगाएको लुगा मात्र बाँकी छ, किताब पनि बगायो।”
उनी पनौतीस्थित काभ्रे इङ्लिश सेकेन्डरी स्कूलमा कक्षा ९ मा अध्ययनरत छन्। तर अब पढाइ कसरी अघि बढाउने चिन्ता थपिएको उनी सुनाउँछन्। “पसल भत्केर हाम्रो परिवारको आयस्रोत बन्द भयो,” सचिन भन्छन्।
यो वडामा बाढीपहिरोमा परी पाँच जनाको ज्यान गएको छ। अधिकांश घर बगेका छन्। ढुंगा र गिट्टीले बस्ती भरिएको छ।
अर्को, महभीर टोल पहिरोले क्षतिविक्षत छ। धान, मकै फलिरहेका खेतमा अहिले रोशी खोला बगिरहेको छ।
दिलकुमारी राउत ६ रोपनी खेत बगेको बताउँछिन्। रोशीको भेल र पहिरो खस्दाखस्दै बस्तुभाउ जोगाएको उनी सुनाउँछिन्। “भगवान्को कृपाले ज्यान जोगियो,” दिलकुमारी भन्छिन्।
उनी जस्तै घर छोडेर भागेका कतिपय त जोगिए, तर १९ जनाको ज्यान गएको छ। नगरपालिकाको अभिलेख अनुसार पनौती-११ का पाँच जना, वडा नं. १२ का पाँच जना, वडा नंं. १ का तीन जना, वडा नं. २ का तीन जना, वडा नंं. ४ का दुई जना र वडा नंं. ३ का एक जनाको मृत्यु भएको छ। बाढीमा बगेर एक जना हराइरहेका छन्।
राहतको पर्खाइ
पनौती-२, जोरघट्ट गाउँबाट असोज १८ गते बिहान ८ बजे निस्केको एक हुल बाढीपीडित साँझ ६ बजे घर फर्किंदै थियो। चामल, नुन, तेलका पोकाछेउमा राखेर बीच बाटोमै थकाइ मेटिरहेका उनीहरू निराश थिए। दिनभरको बाटो हिंडेर उनीहरू राहतका लागि भालेश्वर गाउँ पुगेका थिए।
नगरपालिकाले प्रतिपरिवार ३५ किलो चामल, दुई किलो दाल, एक पोका नुन, एक प्याकेट मस्यौरा र एक लिटर तेल बाँडेको छ। यही पनि पूरै नपाएको उनीहरूले गुनासो गरे। राहत लिन दिनभर हिंडेका उनीहरू १०-१५ किलो पनि नपाएको बताउँछन्।
जनप्रतिनिधिले दिने राहत पनि वडा कार्यालय र बाटोछेउका बासिन्दाले मात्रै पाइरहेको पनौती-१२ का दिनेश गुरुङ गुनासो गर्छन्। “राज्यबाट कुनै सहयोग पाएका छैनौं, जेजति आएको छ, त्यो सबै तलतिर मात्रै भयो,” दिनेश भन्छन्, “बाटो नभएकाले जुन ठाउँमा राहत पुग्नुपर्ने हो, त्यो ठाउँमा पुगेको छैन।”
स्थानीय जनप्रतिनिधिले बाटो सहज भएको ठाउँसम्म राहत पुर्याइरहेका छन्। त्यसपछि पीडितहरूले नै बोकेर लग्नुपर्छ। तर बाढीपहिरोले बाटो भताभुंग भएकाले कतिपय राहत पाइने ठाउँसम्म पुग्न सकेका छैनन्। जोरघट्ट गाउँका गुमान सिंहले भन्छन्, “आङ छोप्न र छाक टार्न पनि मुश्किल छ। अहिलेसम्म राहत पाएका छैन।”
नयाँ गाउँका इन्द्रबहादुर तामाङ पनि राहत नपुगेको बताउँछन्। बाढीले घरखेत बगाएपछि पनौती बजार आएर बसिरहेका उनी सरकारले बेवास्ता गरेको गुनासो गर्छन्। “दशैं आइसक्यो, एक किलो चामल पनि पनौतीबाट बोकेर ल्याउनुपर्ने स्थिति छ। पानी छैन, बत्ती छैन, बस्नलायक कुनै घर छैन,” उनी भन्छन्।
सरकारले राहत दिने भने पनि सबै पीडितले नपाएको उनी सुनाउँछन्। राहतका लागि गए पनि नपाएको बताउँदै उनी भन्छन्, “अहिलेसम्म हामी रित्तो हात छौं। भोलिका दिन पनि पाइने/नपाइने टुंगो छैन।”
नयाँ गाउँकै गणेश दाहालको घरमा पनि राहत पुगेको छैन। नयाँ गाउँका अन्य बाढीपीडितले पनि सरकारी सहयोग पाएका छैनन्। “हामीलाई यहाँबाट निस्कने व्यवस्था मिलाउन कोही आउलान् कि भनेर पर्खिरहेका छौं,” गणेश भन्छन्।
उनलाई जतिसक्दो चाँडो गाउँ छोड्न पाए हुन्थ्यो भन्ने लागेको छ। किनकि बाढी आएको दिनदेखि बाटो छैन, बत्ती छैन, खानेकुरा छैन, पानी छैन। पहिरोले बाटो भत्किएकाले चार-पाँच किलोमिटर तलको मुहानबाट पानी ल्याउन सकिएको छैन। “हामी बाँचेका मान्छे पनि पानी खान नपाएर मर्ने पो हौं कि!” उनी भन्छन्, “बस्तुभाउको पनि उही अवस्था छ।”
सूचना नै पुगेन
बाढीपहिरो आएपछि सरकारले दिने राहत मात्रै होइन, यी गाउँसम्म त झरी पर्ने सूचना पनि पुगेको थिएन। जल तथा मौसम विज्ञान विभागले एक साताअघि नै देशका विभिन्न ठाउँमा अत्यधिक वर्षा हुने प्रक्षेपण गरिसकेको थियो। कतिपय ठाउँमा पूर्व तयारी गरिएको थियो।
पनौती र रोशी गाउँपालिकाको उपल्लो भेगमा भने पानी पर्दै छ भन्ने सूचना पनि नपुगेको स्थानीय बताउँछन्। “यस्तो विपद् आउने गरी ठूलो पानी पर्छ भन्ने थाहै थिएन,” पनौती-४ का टंक बञ्जारा भन्छन्।
उनी यस वडाको विपद् व्यवस्थापन समितिका सदस्य पनि हुन्। स्थानीय सरकारले पनि पूर्व तयारी गरेको थिएन। “पानी सधैं आइरहेका थियो। हामी तयारीमा बसेका थिएनौं,” उनी भन्छन्, “यस्तो भयंकर बाढी आउने थाहा भए त पहिल्यै सुरक्षित ठाउँमा जान सकिन्थ्यो।”
नयाँ गाउँका गणेशलाई पनि यस्तो विपद् आउँछ भन्ने थाहा पाएको भए सुरक्षित ठाउँमा जान्थे भन्ने लागेको छ। ६० वर्षीय वृद्धलाई अहिलेसम्म यस्तो बाढी आएको थाहा छैन। “२०३८ सालमा एक पटक बाढी आएको थियो, त्यो पनि यस्तो क्षति गर्ने किसिमको थिएन,” उनी भन्छन्।
यस पटकको विपत्तिले भने पनौतीवासीको होशहवास उडाएको छ। यो विपत्तिमा कतिले परिवारका सदस्य गुमाएका छन् भने कति बेघर भएका छन्। गाउँबस्ती नै ढुंगा, लेदोले भरिएको छ। खेतबारी बगर बनेको छ। “गाउँ त मसानघाट जस्तो भएको छ,” गणेश बिस्तारै बोल्छन्, “यस्तो ठाउँमा कसरी बाँच्नु?”