छाउगोठमा महीनावारी बस्दा १७ वर्षमा १६ जनाको गयो ज्यान
सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउगोठ किशोरी तथा महिलाका लागि मृत्युघर बनेको छ।
गत असार ४ गते अछामको छाउगोठमा एक किशोरीमाथि बलात्कार भयो। महीनावारी भएको तेस्रो रात सुतेको वेला गाउँकै मामा नाता पर्ने किशोरले बलात्कार गरेका थिए। घटना भएको २० दिनपछि असार २३ गते मात्र जाहेरी दर्ता भएको उनको मुद्दा जिल्ला अदालत, अछाममा विचाराधीन छ। बलात्कार गर्ने किशोर पुर्पक्षका लागि थुनामा छन्।
पाँच वर्षकी हुँदा आमा गुमाएकी किशोरी मामाघर बस्दै आएकी थिइन्। बुबाले अर्काे विवाह गरेपछि हजुरआमाले उनका भाइ र उनलाई मामाघर ल्याएर पालनपोषण गरिन्। मामामाइजू भारतमा रहेकाले घर यी दिदीभाइको जिम्मामा थियो। खेतीपाती र बस्तुभाउ हेर्दै उनीहरू गाउँकै विद्यालयमा पढ्थे। किशोरी कक्षा ९ मा अध्ययनरत छिन्।
उनका बुबा रोजगारीको सिलसिलामा भारतमा छन्। यता मामाघरमा पनि दुई वर्षअघि हजुरआमा बितिसकेकी छन्। हजुरआमा बितेपछि किशोरी र उनका भाइ बिचल्लीमा छन्। मामामाइजू पनि भारतमै बस्छन्। कोही नभएको मौका छोप्दै किशोरले पटक पटक बलात्कार गरेको बताइन्।
बलात्कार मुद्दा प्रहरीसम्म पुगेपछि भने उनका तर्फका कोही पनि साक्षी छैनन्। किशोरीले आफूमाथि बलात्कार भएको बताएपछि उनका बुबा भारतबाट आएर भाइ लिएर भारत नै फर्किसकेका छन्। यस विषयमा बुबा पनि केही नबोलेको बताइन्। उनी विभिन्न संघसंस्थाको सहारामा छिन्। किशोरीको गाउँ पुग्दा सबैले दोष जति किशोरीलाई लगाइरहेका छन्। सानैदेखि पालनपोषण गरे पनि अहिले आएर किशोरीले झूटा मुद्दा लगाएको उनीहरूको दाबी छ।
यता मुद्दाको किनारा लागेको छैन। सरकारी वकील कार्यालयका अनुसार तिहारपछि मात्रै मुद्दाको अन्तिम टुंगो लाग्नेछ। चार महीनादेखि उनको पढाइ रोकिएको छ। मुद्दाको किनारापछि पनि कता जाने अन्योल छ। बसिरहेको घरमा फेरि बस्न नसक्ने ती किशाेरीले बताएकी छन्। “म त्यहाँ बस्न सक्ने अवस्था छैन, यसपछि कहाँ जाने थाहा छैन, बुबा पनि भाइलाई लिएर इन्डिया गइसक्नुभयो,” उनले भनिन्। गाउँबाट विस्थापित उनी आश्रयको खोजीमा छन्।
छाउगोठले १६ जनाको ज्यान लियो
महिला र किशोरीमाथि यौनहिंसा हुने ठाउँका रूपमा छ, छाउगोठ। याे महिला र किशोरीको मृत्युको कारण पनि बन्ने गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार गएको १७ वर्षमा पाँच महिलाको ज्यान छाउगोठमा गएको छ। विभिन्न समाचारका अनुसार भने यस अवधिमा सुदूरपश्चिम र कर्णाली प्रदेशका छाउगोठमा १६ महिलाको ज्यान गएको छ। जसमा १४ जना अछाम र बाँकी अरू बाजुरा र दैलेखका हुन्।
२०७३ पुस ५ गते अछामको साविक तिमल्सेन गाविस-७ की ४५ वर्षीया डम्मरा उपाध्यायको छाउगोठमा निस्सासिएर निधन भयो। सोही दिन अछामकै गाजरा गाविस-६ की १५ वर्षीया रोशनी तिरुवाको पनि छाउगोठमा निस्सासिएर ज्यान गयो।
अछामकै तुर्माखाँद गाउँपालिका-३ की २१ वर्षीया गौरी बुढाको २०७४ पुस २७ गते छोउगोठमै निस्सासिएर ज्यान गयो। सोही पालिकामा २०७५ जेठ २७ गते २२ वर्षीया पार्वती बुढाको छाउगोठमा सर्पले डसेर मृत्यु भयो। त्यस्तै, २०७५ असार ४ मा बाजुरा बुढीनन्दा नगरपालिका-१ की ३५ वर्षीया अम्बा बोहराको छाउगोठमा आगलागी भएर ज्यान गएको थियो। अम्बासँगै १२ र ९ वर्षका छोराहरू सुरेश र रमित बोहराको पनि ज्यान गयो।
२०७६ मंसीर १५ मा साँफेबगर नगरपालिका-३, अछाम डिग्रेनीकी २२ वर्षीया पार्वती राउतको छाउगोठमा सर्पले डसेर ज्यान गयो। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार यो तथ्यांक प्रहरीसम्म आइपुगेका घटनाको मात्रै हो। प्रहरीसम्म कति घटना पुग्दैनन्। छाउगोठमा हुने मृत्युलाई सामान्यीकरण गर्ने भएर कुनै पनि निकायमा पुग्दैनन्।
एक घर, एक छाउगोठ
डोटी र अछाम जिल्लाको सीमामा छ, चौखुट्टे बजार। दिपायल, साँफेबगर सडकले छोएको चौखुट्टेबाट करीब डेढ घन्टा ओरालो झर्दा चौरपाटी गाउँपालिका-६, सेलपाखा पुगिन्छ। यस गाउँमा करीब १०० घरधुरी छन्। यहाँकी ४० वर्षीया तुली साउद, उनका दुई छोरी र दुई बुहारी महीनावारीको अवधिभर छाउगोठमा बस्छन्। आँगनमै रहेको कुचुक्क परेको सानो छाउगोठमा झ्याल जत्रो एउटा ढोका मात्र छ। बस्दा पनि टाउको ठोक्किने छाउगोठको भुइँ बर्खा भएकाले भिजेको छ।
२०७६ मंसीरमा साँफेबगर-३, डिग्रेनीको छाउगोठमा सर्पले डसेर पार्वती राउतको मृत्यु भएपछि अछाम जिल्लाभर छाउगोठ भत्काउने अभियान नै चल्यो। त्यस वेला सेलपाखाकी तुली साउदले पनि छाउगोठ भत्काइन्। तर छाउगोठ भत्काएपछि उनलाई झन् समस्या भयो। उनी भन्छिन्, “गोठ नहुँदा पाल हालीकन बस्या।”
नछुने हुँदा छाउगोठमा बस्नु उनको बाध्यता हो। गाउँमा सबै घरभित्र बसे आफू पनि घरभित्रै बस्ने उनी बताउँछिन्। कसैले घरभित्र राखे गाउँमा पुरुषहरूले पानी नखाने, घरमै नआउने चलन रहेको उनले बताइन्। तुलीले पुसको कठ्यांग्रिंदो चिसोमा प्लास्टिकको पालमा बस्नै नसकेपछि फेरि छाउगोठ बनाइन्।
सेलपाखाकै ४० वर्षीया देउसरी आउजी पनि पालमा सुत्दा चिसोले मरणासन्न भइन्। चार छोरी र एक छोराकी आमा उनले काम गर्न भारत गएका श्रीमान् गत वर्ष घर आउँदा सिंढीसँग जोडेर छाउगोठ बनाउन लगाइन्। देउसरीको सानो छाउगोठमा बस्दा पनि छानामा टाउको ठोकिन्छ। खुट्टा तन्काएर सुत्न पनि सकिन्न, जहाँ उनले हरेक महीनाको चार दिन बिताउनुपर्छ। “निदानु क्या छियो, मर्या लाशकाजन पण्दा छौं,” उनले भनिन् ।
महीनावारी हुँदा कतै छुन पनि मिल्दैन। अलग बाटो हिंड्नुपर्छ, सामूहिक काममा सहभागी हुन पनि वर्जित गरिन्छ। चार दिनपछि सुन भए सुनपानी, त्यो नभए गहुँतपानी खाएर चोखिनुपर्छ। सुत्केरी हुँदा पनि महिलाहरू छाउगोठमै बस्नुपर्छ।
पाँच छोराछोरीकी आमा देउसरी आउजीले चार पटक २१ दिन र पछिल्लो पटक ११ दिन छाउगोठमा बिताएको पीडा सुनाइन्। यस भेगका महिलाले खास गरेर सुत्केरी अवधिमा कल्पनीय सकस बेहोरिरहेका छन्। महीनावारी र सुत्केरी हुँदा घरमा बस्दैनन्। ‘कुल देवी-देवता रिसाउँछन्’ भन्ने रूढिले समाजलाई गाँजेको छ। “हाम्रो चलन नै यसै छ, अरूले भनिकन क्या हुँदो हो!” देउसरी भन्छिन्, “हाम्रा देवता मान्दाइन।” अझ उनको त घर नजीकै कालिकामाईको थान छ। त्यसैले अभियानमा भत्काइएको सिंढीमा जोडिएको छाउगोठ फेरि त्यहीं बनाएको उनले बताइन्।
सेलपाखाकै रामबहादुर साउदले छाउगोठ बनाएको तीन महीना भयो। आफ्नै छाउगोठ नहुँदा श्रीमती जौकला कहिले अर्काको छाउगोठमा जानुपर्ने त कहिले पाल हालेर सुत्नुपर्ने भएपछि नयाँ बनाएको उनले बताउँछन्। अभियानमा छाउगोठ भत्काएर नछुने हुँदा श्रीमतीलाई घरभित्रै राख्न थाल्दा गाउँ-समाजले अप्ठ्यारोमा पारेकाले फेरि नयाँ छाउगोठ बनाएको उनको भनाइ छ। “देवीदेवता मान्ने समाजको परम्परा नै हो,” रामबहादुर भन्छन्, “समाजमा बसेपछि चलेको परम्परा मान्नै पर्यो, के गर्ने?”
सेलपाखा गाउँका सबै घरमा अहिले छाउगोठ छन्। नछुने वा सुत्केरी हुँदा कसैले महिला वा किशोरीलाई घरभित्रै राखे समाज भाँडेको आरोप लाग्ने रामबहादुर बताउँछन्।
जनप्रतिनिधि र छात्रा पनि छाउगोठमा
कमलबजार नगरपालिका- १, मुलीकी निशा नेपाली (१४) कक्षा ७ मा पढ्छिन्। महीनावारीको समयमा घर बाहिर सुत्दा असुरक्षित भइन्छ भनेर उनलाई पढाइएको छ। विद्यालयमा उनले प्रजनन स्वास्थ्यका अन्य कुरा पनि पढेकी छन्। तिनै निशा महीनावारी हुँदा छाउगोठमा बस्छिन्। महीनावारीमा उनको पढाइ पनि रोकिन्छ। गोठमा बत्ती नहुने हुँदा गृहकार्य गर्न नसकिने भएकाले विद्यालय नै नजाने निशा बताउँछिन्। मुलीका हरेक घरमा छाउगोठ छन्। महीनावारीको वेला गाउँका सबै छात्रा निशा झैं पढाइबाट वञ्चित हुन्छन्।
कमलबजार नगरपालिका-८, ढाँकुको शक्ति आधारभूत विद्यालयमा अंग्रेजी शिक्षक सिर्जना ढकाल कुँवर यताका गाउँमा देवीदेवता धेरै मान्ने भएकाले महिला छाउगोठमा बस्न बाध्य भएको बताउँछिन्। यस भेगका छात्रा मात्र नभई जनप्रतिनिधि महिला समेत हरेक महीना चार-पाँच दिन छाउगोठमा बस्छन्। चौरपाटी गापा-६, सेलपाखाकी वडा सदस्य बसन्ती साउद महीनावारी सम्बन्धी विभिन्न तालीममा सहभागी भएकी छन्।
छाउगोठ भत्काउने अभियानमा पनि अगाडि थिइन्। तर तिनै बसन्ती महीनाको पाँच दिन छाउगोठमै बस्छिन्। परम्परा मान्नै पर्ने बाध्यता रहेको बताउँछिन्। “पहिला त कति टाढा गोठ हुँदो थिया,” उनी भन्छिन्, “अहिले धेरैले घर नजीकै नयाँ लगाएका छन्। देवताले नमान्ने हुँदा महीनावारीमा सबै छाउगोठमा बस्छन्।”
देवताको डर
अछाम जिल्ला सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिका-४, कैलाशखोलाका खड्ग केसी देउता चढेका ‘धामी’ हुन्। उनलाई बुहारीहरू छाउ हुँदा गोठमै बसेको ठीक लाग्छ। छाउगोठ भत्काउने अभियान चलाउनेहरूसँग रुष्ट उनी भन्छन्, “हाम्रा देवता मान्दाइन, अरूले भनीकन हुँदो छ?”
मध्यपहाडी राजमार्गछेउमै घर भएका खड्ग महीनावारी भएकी महिला घरमा पसे वा कसैलाई छोए नराम्रो हुने बताउँछन्। आफैं बिरामीले थलिएका उनी आफूलाई छाउ लागेको बताउँछन्। अस्पतालको औषधि नखाने उनले उहिलेदेखि चलेको परम्परा हटाउन खोजेको भन्दै आक्रोश व्यक्त गर्दै भने, “म छाउगोठै राख्न्या हुँ, जनले ज्या भन्यापन।”
उनका बुहारीहरू धनकला र रूपा केसी महीनावारी हुँदा देवता नरिसाऊन् भनेर घर बाहिर बस्ने गरेको बताउँछन्। अभियानमा छाउगोठ भत्काएपछि उनीहरू पालमा बसे। अहिले आँगनछेउमा शौचालयसँग जोडेर नयाँ छाउगोठ बनाएका छन्। जबकि उनीहरू छाउगोठमुक्त मंगलसेन नगरपालिकाका बासिन्दा हुन्। अछामका मंगलसेन, साँफेबगर नगरपालिका, पञ्चदेवल नगरपालिका, कमलबजार नगरपालिका, चौरपाटी गाउँपालिका जताततै छाउगोठ छन्। यी पालिकामा कति छाउगोठ छन्, यकीन तथ्यांक छैन। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार २०७६/७७ मा चलेको अभियानमा पाँच हजार ८१३ छाउगोठ भत्काइएका थिए, जुन अभियान अहिले रोकिएको छ।
छाउगोठ भत्काउने अभियान
२०७६ मंसीर १६ मा साँफेबगर नगरपालिका-३ की २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भयो। उनलाई त्यहाँ बस्न बाध्य पारेका भनेर जेठाजु छत्र रावतमाथि प्रहरीले मुद्दा चलाउन खोज्दा जाहेरी दिने कोही भएन। पक्राउ परेका उनी ४५ दिनमा छुटे।
त्यस घटनापछि २०७६ माघ ८ मा सरकारले सुदूरपश्चिम र कर्णाली प्रदेशका १९ जिल्लामा छाउगोठ भत्काउन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दियो। त्यसपछि यी दुई प्रदेशका १९ मध्ये १० जिल्लामा करीब १० हजार छाउगोठ भत्काइए। कर्णालीमा दुई हजार २३५ र सुदूरपश्चिममा सात हजार ५४५ छाउगोठ भत्काएर करीब १०० स्थानीय तहलाई ‘छाउगोठमुक्त’ घोषणा गरियो।
अभियानको वेला अछाममा सबैभन्दा बढी पाँच हजार ८१३ वटा छाउगोठ भत्काइएको तथ्यांक छ। कोभिड-१९ महामारी शुरू भएसँगै अभियान रोकिएको छ। अभियान रोकिएसँगै भटाभट छाउगोठ बन्न थालेका छन्। छाउगोठ भत्काउने सरकारको अभियान विफल भएको छ।
कानूनले रोक्न नसकेको छाउपडी
सर्वोच्च अदालतले २०६२ सालमै छाउपडी प्रथालाई कुप्रथा घोषित गर्दै उन्मूलनका लागि आवश्यक व्यवस्था गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो। त्यसपछि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले कुरीतिजन्य प्रथा उन्मूलनका लागि छाउपडी उन्मूलन निर्देशिका, २०६४ जारी गर्यो।
मुलुकी अपराध संहिता, २०७४ को दफा १६८ को उपदफा ३ मा महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भनी उल्लेख छ। यस्तो कसूर गर्ने व्यक्तिलाई तीन महीनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ।
अछामका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवप्रसाद लम्साल भने छाउपडीलाई उन्मूलनभन्दा पनि व्यवस्थापन गरिनुपर्ने बताउँछन्। “लामो अभ्यासबाट आएको कुरा रोक्न केही अभियानले मात्र पुग्दैन,” उनी भन्छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख ईश्वरीप्रसाद भण्डारी छाउगोठ भत्काउने अभियानमा स्थानीय तहको साथ चाहिने बताउँछन्। “नत्र त हामी भत्काउँछौं, उनीहरू फेरि बनाउँछन्,” उनी भन्छन्, “सबै निकायको प्रभावकारी अभियानबाट मात्र सफलता मिल्ला।” तर प्रहरी एक्लैको प्रयासले यो अभियान सफल नहुने उनको भनाइ छ। स्थानीय अगुवा र जनप्रतिनिधिको साथ विना प्रहरीलाई विभिन्न समयमा आक्रमण हुने गरेको बताउँछन्।
हामी रिपोर्टिङ गर्न जाँदा पनि स्थानीय रिसले चूर थिए। बाढीपहिरोको रिपोर्टिङको बहानामा छाउगोठबारे कुराकानी गर्न सफल भइएको हो।
मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा गत असार ४ गते छाउगोठमा बलात्कार भएको घटनापछि अर्को अभियान चलाउन कार्यसमिति बनेको बताउँछन्। अबको अभियानमा सबै पालिकाको वडा वडामा गएर छाउगोठ भत्काइने उनको भनाइ छ। तर त्यो कार्यसमितिको बैठक बस्न सकेको छैन। अब छाउपडी सम्बन्धमा स्थानीय सरकारले कठोर नीति अवलम्बनको प्रतिज्ञा गरेको उनी जनाउँछन्। “छाउगोठ हुनेहरूलाई सरकारी सेवासुविधाबाट वञ्चित गरिने नीति अवलम्बन गरिनेछ,” उनी भन्छन्।
मर्यादित महीनावारी अभियन्ता राधा पौडेल कानून बनेको दुई दशक पुग्न लाग्दा पनि नियन्त्रण हुन नसकेको छाउपडी प्रथालाई महिलाको आत्मसम्मानसँग जोडिएको लैंगिक विभेदका रूपमा अर्थ्याउँछिन्। “कानून छ, कार्यान्वयन छैन,” उनी भन्छिन्, “महीनावारीलाई व्यवस्थापनसँग जोडेर सरकारले प्याड बाँड्दैमा यो विभेद हट्दैन।”
पोषणविद् अरुणा उप्रेती महीनावारी हुँदा छाउगोठमा राख्ने चलनले महिला तथा किशोरीले पढाइमा असरसँगै कुपोषणको समस्या झेलिरहेको बताउँछिन्। उनका अनुसार यस्तो वेला झन् बढी पोषिलो खानेकुरा र आराम चाहिनेमा परम्पराको नाममा अस्वस्थकर ठाउँमा कोचेर राखिन्छ। सुत्केरी हुँदा पनि गोठमा राख्ने कुप्रथाले महिलालाई आत्मसम्मानका साथ बाँच्न नदिएको उनको धारणा छ। “हामीले सन् २००० मा अछाम र डोटीमा महिला स्वास्थ्यको अध्ययन गर्दा २५ प्रतिशतमा पाठेघरको समस्या पाएका थियौं,” डा. उप्रेती भन्छिन्, “यसको एउटा कारण छाउगोठ हो।”