मातृभूमिका लागि बच्चा पस्किदिने फलस्तीनी आमाहरू
युद्ध मडारिएको फलस्तीनका कविहरूको कविता अनुवाद गरिरहँदा त्यहाँको विध्वंस, उत्पीडन र पीडाका तस्वीरले मुटु निचोरिरह्यो।
फलस्तीनको रमल्लाह शहर। ६ डिसेम्बर २०२३ को दिन पनि अन्य दिन झैं शुरू भयो। एकाबिहानै मस्जिदको गुम्बज हुँदै नमाजका लागि बोलावट सुनियो। मानिसहरू नमाजका लागि घर घरबाट निस्किए। मस्जिदको ठूलो आँगनमा समूहमा नमाज अदा गरेर फेरि आआफ्ना घर फर्किए।
रमल्लाहको आकाशमा सदाकै समयमा घाम उदायो। दिन आफ्नै गतिमा बगिरहँदा अचानक यसको लय बिथोलिन्छ। इजरायली सेनाले मध्य गाजामा रहेको नुसेइरत शरणार्थी शिविरमा हवाई हमला गरेको खबर फैलिन्छ। हमलामा ६ जनाको मृत्यु र केही घाइते भएका थिए। मृतकमध्ये रेफात अलारिर पनि एक थिए। ४४ वर्षका अलारिर गाजामा रहेको इस्लामिक विश्वविद्यालयमा पढाउँथे। उनी कविता लेख्थे र सामाजिक क्रियाकलापमा पनि संलग्न थिए। अलारिरको मृत्युपछि उनको ‘मैले मर्नुपरे’ शीर्षककोे कविता भाइरल भएको थियो। कविताको अन्त्यले भन्छ–
यदि मैले मर्नुपरे
त्यसले एउटा आशा लिएर आओस्
यो एउटा कथा बनोस्।
कवि अलारिर हरेक फलस्तीनीको मृत्यु एउटा कथा बनोस् भन्ने चाहन्थे। यस्तो कथा, जसले आउने युगलाई फलस्तीनीमाथि भइरहेको अत्याचार र ज्यादतीको कथा सुनाउन सकियोस्।
अलारिरको यो कविता पढेपछि मलाई निकै तरंगित बनायो। हुन त मैले कुनै फलस्तीनी कविको कविता पढेको यो पहिलो पटक थिएन। यसअघि ताहा मुहम्मद अली, महमुद दर्विश, नजवान दर्विश र खालिद जुमाका कविता पढिसकेको थिएँ।
२०५० को दशकमा नेपाल गृहयुद्धको चपेटामा थियो। मुठभेडका समाचारले भरिएका हुन्थे पत्रपत्रिका। एकातिर हिंसाले आक्रान्त माहोल, अर्कातिर नेपालबन्द, चक्काजाम र हडतालले जनजीवन थिलथिलो पारेको थियो। म यी समस्याबाट दिक्क भएको थिएँ। यसबाट उम्किने चक्करमा कैयौं युवा झैं रोजगारीका लागि साउदी अरब पुगेको थिएँ।
त्यहाँको भूगोल र वातावरण बेग्लै थियो। दिनभरिको कामपछि कोठा फर्किंदा घरपरिवारको सम्झनाले पिरोल्थ्यो। यस्तो भावनात्मक गाँठो फुकाउने उपाय बन्यो, कविता लेखन। कवितामा मन पोख्न पाउँदा हल्का महसूस हुन्थ्यो।
कविता लेख्दै जाँदा विभिन्न देशका कविता पनि पढ्न थालें, विशेष गरेर अरबी र अफ्रिकी कविताहरू। ती कविता पढ्दा मनमा विचार आउँथ्यो, विदेशी भाषाका राम्रा कविता नेपालीमा अनुवाद गर्न पाए त अन्य कविताप्रेमी पनि लाभान्वित हुने थिए।
त्यसपछि कविता लेखनसँगै अनुवादको सोच पनि दिमागमा सलबलाउन थाल्यो। अनि शुरू भयो, विदेशी कवितालाई नेपाली भाषामा अनुवाद गर्ने काम।
युद्ध, राजनीतिक अन्योल र अन्य कारणले मध्यपूर्वी देशका थुप्रै कवि, लेखक हामी नेपाली झैं संसारैभरि छरिएका रहेछन्। फलस्तीन र इजरायलबीचको द्वन्द्वले सय साल नाघिसकेको थियो। इरान र इराकबीच मिसाइल आक्रमण जारी थियो। येमेन, लिबिया, इजिप्ट, सिरिया लगायत देश पालैसित गृहयुद्धको दलदलमा फसिरहेका थिए।
इराक र कुवेतको तनाव, बहराइनमा सिया र सुन्नीको लफडा, इराकमा सद्दाम हुसैन र लिबियामा मुअम्मर गद्दाफीको पतन अनि यी देशमा विदेशी शक्तिको चलखेलबारे केही बुझ्न थालेको थिएँ। तब थाहा पाएँ, यी देशका कविहरूको कवितामा देश यति धेरै किन दुख्छ? यी कविता मातृभूमिको अगाध माया र देश-जनतामाथि भइरहेको दमन, उत्पीडनको विरोधमा भएका संघर्ष र बलिदानको ऐना रहेछन्। यी कवितामा उनीहरूको आक्रोश, पीडा, आशा र सपना छताछुल्ल भएका रहेछन्।
म सोचिरहेकी छु कि के मेरो वाला सिपाहीले
उसलाई पनि गोली हानेको थियो
त्यो सिपाहीले यस्ता साना बच्चीहरू खोजिरहन्छ
जसले उसको आँखामा आँखा जुधाएर हेर्छन्।
(करीब चार वर्षकी बच्चीको डायरीबाट, हनान मिखइल अशरावी)
अझै पनि पत्रपत्रिकाले मध्यपूर्वका धेरै देश युद्धग्रस्त रहेको खबर पहिलो पृष्ठमै छापिरहेछन्। टेलिभिजन र भिडिओ क्लिपहरूले पनि यस्तै हाल देखाइरहन्छन्। इराकको बगदाददेखि सिरियाको दमास्कससम्म द्वन्द्व र पीडाको एकै कथाव्यथा छ।
फलस्तीनीहरूले आफ्नै देशको भूगोल टेक्न पनि धेरै ठाउँमा इजरायलको सीमा टेक्दै हिंड्नुपर्छ। उनीहरूले चौबीसै घण्टा दुश्मनको बन्दूकको निगरानीमा बाँच्नुपर्ने अवस्था छ। बाटो र चोकतिर विदेशी टयांकहरूले उनीहरूको दैनिकी नियालिरहेका हुन्छन्। जसका कारण उनीहरू हरदम दिमागभरि हवाई आक्रमण, बमबारी र रकेट प्रहारको त्रास बोकेर बाँचिरहेछन्।
फलस्तीनमा सिर्जित कविताहरूमा १०० वर्षभन्दा लामो फलस्तीनी संघर्षको पीडा भेटिन्छ। यी कविताले उनीहरूले बाँचेको कठिन जीवनको बयान गर्छन्। कवितामा प्रतिरोधी चेतना मात्र छैन, आशा र सपना पनि छन्। कविताहरूले बताउँछन्, युद्धले निम्त्याएको विध्वंस र आतंकमाझ कसरी उनीहरू सुन्दर भविष्यको आशमा दिनहरू बिताइरहेछन्?
यहाँ बच्चाहरूको दैनिकी इजरायलका सैन्य ट्यांकमाथि ढुंगा प्रहार गरेर बितिरहेको छ। युवाहरू गुलेली र मट्यांग्राको भरमा ती ट्यांकलाई चुनौती दिइरहेका हुन्छन्। कवि तमिम अल–बरघौतीको एउटा कवितामा लेखिए झैं हरेक बिहान फलस्तीनी बालबालिका विद्यालय त पुग्छन्, तर उनीहरूको मनमा बाहिर सडकमा गएर शत्रुको ट्यांकमाथि ढुंगा प्रहार गर्ने इच्छा सलबलाइरहेको हुन्छ।
इजरायलको बलमिच्याइँ र बर्बर नरसंहारले पिल्सिएका फलस्तीनीहरूमा प्रतिरोधी भावना उर्लिएको छ। कर्फ्यू र बन्दहडतालले पनि उनीहरूलाई आफ्ना घरभित्र थुन्न सक्दैनन्। हुल बाँधेर सडकमा आउँछन् र प्रतिरोधका हात उठाउँछन्। सफा पानी, औषधि र जाडोमा सिरकको अभावले पनि उनीहरूलाई छुँदैन। शरणार्थी शिविरमा रासनपानीका लागि लाइनमा उभिनुपर्दाको कष्ट बिर्सेर ढुंगा बोकेर शत्रुको बन्दूक अगाडि उभिन पुग्छन्। विद्रोह, आक्रोश र समर्पणका यी यथार्थ अनेकौं कविताले बयान गर्छन्। जस्तै–
गाजाका आमा अरू आमा जस्ता हुन्नन्
उनी आफ्नो आँसुको ताजा नुनले
आँटा मुछेर रोटी पकाउँछिन्
र आफ्ना बच्चाहरू पस्किदिन्छिन्
मातृभूमिलाई।
(गाजामा आमा निदाउँदिनन्, नीमा हसन)
हृदय हल्लाउने र निचोर्ने, एउटा भूगोलको तस्वीर देखाउने यस्ता सशक्त कविता पढ्न थालेपछि हामीले फलस्तीनी कविता पढ्नै पर्छ भन्ने लाग्यो। जीवन भोगाइले पाकेका यी कविता धेरैभन्दा धेरै नेपाली पाठकसम्म लैजान मन लाग्यो। त्यसका लागि यी कविताको अनुवाद आवश्यक थियो। अनुवाद सजिलो काम होइन। त्यसमा पनि कविताको अनुवाद निकै कठिन हुन्छ।
फलस्तीनी कविको नाम नेपालीमा ल्याउनै ठूलो समस्या रहेछ– महमुद दर्विश कि महमुद दरवेश? फेडी जौदा कि फेडी जुडा? मोरिद बरघौती कि मोरिद बरगौती? अरबी नामलाई नेपाली भाषामा ल्याउँदा यस्ता समस्या आउने रहेछन्। खोज्दै जाँदा कुनै कुनै कविताको अंग्रेजी र हिन्दी अनुवाद थुप्रै भेटिए। इब्तिसाम बरकतको ‘फलस्तीन’ कविताका अनेक अनुवाद रहेछन्। कुनलाई आधार मानेर वा मूल कविता मानेर अनुवाद गर्ने भन्ने समस्या भयो।
कुनै कविताको शीर्षक नै फरक फरक भेटिने। कवि मरवान मखौलको एउटा छोटो कवितामा यस्तै अप्ठ्यारो आइपर्यो। उक्त कविताका दुई–तीन वटा अनुवाद भेटें, तर हरेकको शीर्षक बेग्लै रहेछ। कुनै कविता त आधाअधुरो मात्रै हुने। मलाई मन परेको र अनुवाद गर्न चाहेको फलस्तीनी राष्ट्रिय कवि महुमद दर्विश र मोइन बेसिस्सोका कविता आधा मात्रै पाएँ। शुरूमा पढ्दै कविता अधुरो लागिरहेको थियो। किनभने कविताले खासै अर्थ दिइरहेको थिएन। त्यो कविता पूरा छैन भन्ने लागेपछि धुइँपाताल खोजें। नभन्दै कविता त लामो रहेछ। कवि सइद अबु हिजलेहको ‘मेरो साइकल दौड’ शीर्षकको कवितामा वर्णन गरिएको सवारीसाधन साइकल कि बाइक हो भनेर जान्न कविलाई नै मेसेज गर्नुपरेको थियो।
कुनै सिर्जनालाई अनुवाद गरेर अर्को भाषामा लैजानु नयाँ सिर्जना नै हो। असाध्यै गाह्रो काम हो यो। तर अनुवाद नगरी कविताको एउटा भाषादेखि अर्को भाषासम्मको यात्रा सम्भव छैन। अनुवाद नभएको भए हामीले विश्वप्रसिद्ध कविहरू पाब्लो नेरुदा, जोन किट्स, टी.एस. इलियट, ल्यांगस्टन ह्यूज, एज्रा पाउन्ड, विलियम वर्डस्वर्थ, अस्कर वाइल्ड आदिका सर्वकालीन कविता आफूले बुझ्ने भाषामा पढ्न पाउने थिएनौं।
अनुवादको अभावमा रुमीका पर्सियन सुफी कविता, जापानी हाइकू तथा अन्य विदेशी कविता हाम्रा लागि ‘कालो अक्षर भैंसी बराबर’ हुने थिए। अहिले थुप्रै स्पेनिश, ग्रीक, फ्रान्सेली, जर्मनी, इटालियन, चिनियाँ, रसियन साहित्य अनुवाद भएर नेपाली भाषामा उपलब्ध छन्। जुन हामीले सहजै पढ्न पाएका छौं। मेरो अनुवादमा ३९ जना फलस्तीनी कविका लगभग ८० वटा कविताको संग्रह जहाँ आमाहरू कहिल्यै निदाउँदैनन् यसै वर्ष प्रकाशनमा आएको छ।
इजरायलको आक्रमण अझै थामिएको छैन। पछिल्लो समय इजरायली सेनाले हेजबुल्लाह समूहलाई लक्ष्य गर्दै लेबननमाथि आक्रमण गर्न थालेको छ। शंकाको एउटा चिप्लेकीरा दिमागभरि घिस्रिन थाल्छ– अब इजरायली सेनाका ट्यांक लेबननको राजधानी बेरुतका सडकमाथि गुड्ने भए। थुप्रै अग्ला र सुन्दर भवनहरू भग्नावशेषमा परिणत हुने भए। लेबननको आकाशभरि युद्धक विमान उड्ने भए।
फेरि लेबननको भूमिबाट युद्धले चिथोरेका पीडा र संकटका नयाँ कविता लेखिने भए। थुप्रै लेबननी बेघर बन्ने भए। उनीहरूले गाँस-वासको खोजीमा कता कता शरणार्थी शिविरतिर पुग्नुपर्ने होला? कुन गोलीले कताबाट आएर कुन चाहिं जीवनको प्राण लिने हो? कति निर्दोष मानिसको चोला उठ्ने हो? सम्झँदा पनि मन भतभती पोल्छ। उत्तरी गोरखाको एउटा दुर्गम गाउँमा मनासलु हिमाललाई छोएर आएको चिसो हावाले पनि मेरो मन शीतल पार्न सकिरहेको छैन।
जाँदाजाँदै, फलस्तीनी राष्ट्रिय कविका रूपमा चिनिएका महमुद दर्विशको एक कविता–
उसले भनी–
‘हामी कहिले भेट्नेछौं?’
मैले भनें–
‘युद्ध समाप्त भएको
एक वर्षपछि।’
उसले सोधी–
‘युद्ध कहिले समाप्त हुन्छ?’
मैले भनें–
‘जब हामी भेट्नेछौं।’
हिमाल दशैं साहित्यका थप सामग्री: