मनको मोदक
(छन्दः उपजाति)
भन्छन् उदाए अब चाडपर्व,
मनाउँला साथ मिली सगर्व !
भएर जम्मा अनि चार पुस्ता,
गुणा गरौंला सुखले सुबिस्ता!
धेरै भयो यो मनले गुनेको,
तरंगिंदै यी सपना बुनेको,
ब्युँझेर हेर्दा अलिनो बिहानी,
एक्लै छ एक्लै रसिलो सिरानी!
एक्लै म खै कोसित बात मारूँ ?
खेलेर एक्लै म जितूँ कि हारूँ ?
म के गरूँ व्यञ्जन यी पकाई ?
कोही कहाँ छन्, अब खानलाई?
मीठो हुँदा कोसित सोध्नु मैले ?
मिठास पर्देश हिँड्यो क्रमैले !
यो गाँस निल्ने पनि छैन आँट,
के काम होलान् अब खै मबाट?
छन् अक्षता सोह्र–सिँगार पारी,
थाली सँगैमा जमरा सिँगारी,
आशीष छन्, मन्त्रहरू तयार,
पर्देशमा छन् कलिला निधार!
को थाप्छ टीका मुखचन्द्र माथि ?
दगुर्छ को खाम ठुलो समाती ?
मच्चाउने को पिङ आँगनीमा ?
को गाउँ डुल्ने, नव चाँदनीमा?
फिका–फिका छन् सब चाडबाड,
गल्दै गए झैं छ नि वृद्ध हाड !
खत्रक्क भै देह ढल्यो भने यो ?
झसंग सम्झन्छु उठाउने को?
आँखा अझै मार्गतिरै छँदै छन्,
मेरा छुटेका मुटु फर्किंदै छन् !
आशा छँदै छन् गुलिया, सुनौला,
यो देशको चित्र नयाँ बुनौंला!
हिमाल दशैं साहित्यका थप सामग्री: