लेकका च्यांग्रा शहर झरे
दशैंको मुखमा सबै थोक महंगिंदै गएको वेला लेकका च्यांग्रा भने सस्तिएर शहर झरेका छन्।
दशैं आएसँगै पोखराको छिनडाँडाका खिलानिधि पाण्डे छोरालाई लिएर च्यांग्रा किन्न पोखरा याम्दी पुगे। सबैतिर महँगी बढेको वेला राम्रो च्यांग्रा ल्याउन सकिने हो कि होइन भन्ने संशयमा थिए। छोरालाई सँगै लगेका थिए, रित्तो हात पनि फर्किनु भएन।
याम्दी पुगेपछि भने उनको मुहारमा खुशी झल्कियो। त्यसको एउटै कारण थियो, च्यांग्राको मूल्य घटेको थियो। “पोहोरभन्दा अहिले घटेको रहेछ,” पाण्डे खुशी हुँदै सुनाउँछन्।
अघिल्लो वर्षको तुलनामा यो वर्ष च्यांग्राको मूल्य घटेको छ। पोहोर साल बिक्री नभएकाले पनि च्यांग्रापालकले नै मोल घटाएका छन्।
सयौं च्यांग्राको भीडमा एउटा रोज्नु कठिन थियो। तैपनि उनले कालो रङको च्यांग्रा रोजे। तत्कालै किन्ने निधो गरिहाले।
केही क्षण व्यापारीसँग मोलमोलाइ गरे। ४५ हजार रुपैयाँबाट शुरू भएको दररेट ४२ हजार रुपैयाँमा पुगेर मिल्यो। “च्यांग्रा सधैं पाइराख्ने होइन, दशैंमा हो खाने,” पाण्डे भन्छन्, “दाजुभाइ मिलेरै किन्यौं।”
हरेक दशैंमा च्यांग्रा किन्न नछुटाउने गरेको उनी सुनाउँछन्। कहिलेकाहीं दशैं भएन भने अर्कै कुरा। नत्र दाइभाइ मिलेर घरमै एउटा च्यांग्रा ढाल्ने गरेका छन्, देशैंको मौकामा।
पहिले पहिले उनी च्यांग्रा किन्न नगद वा ब्यांंकको चेक ल्याउँथे। यस पटक भने फरक अन्दाजमा देखिए। “च्यांग्रा व्यापारीसँग पनि अनलाइनको व्यवस्था रहेछ, मैले पनि अनलाइनबाटै भुक्तानी गरें,” उनी भन्छन्।
च्यांग्रा लिने बित्तिकै उनको छेउछेउमा ससाना बाबुनानी प्लास्टिकका डोरी लिएर आइपुगे। चिनजानका भने होइनन्। च्यांग्रा बाँध्न चाहिने डोरीलाई उनीहरूले ५० देखि १०० रुपैयाँसम्म बिक्री गर्दा रहेछन्। पाण्डेले तत्कालै बाबुनानीबाट डोरी पनि किनिहाले।
स्कूटरमा आएका पाण्डे र उनका छोरालाई च्यांग्रा कसरी लैजाने भन्ने अलमल भयो। छोराले सुझाए, गाडी।
छेउछाउमै पिकअप भ्यान थिए, यस्तै च्यांग्रा किन्नेलाई पर्खिरहेका। चालकसँग केही बेर कुराकानी गरे। हजार रुपैयाँ भाडामा कुरा मिल्यो। पिकअप भ्यानमा च्यांग्रा चढाएर उनी स्कूटरमा अघि अघि घरतिर हुइँकिए।
दशैं शुरू भएसँगै पोखरा, याम्दीमा यस्तै लेनदेन प्रक्रिया चलिरहेको छ। यो कारोबारको एकातिर व्यापारी छन् भने अर्कातिर उपभोक्ता। यसैमा दशैं खर्च जोहो गर्न बालबालिकादेखि तन्नेरीसम्म खटिएकै छन्।
लेकका च्यांग्रा बेसी झर्ने क्रममा नै छन्। पोखरा झारेर याम्दी क्षेत्रमा बर्सेनि भेडाच्यांग्रा बिक्री गरिन्छ। यस वर्षका लागि पनि घटस्थापनाको दिनदेखि च्यांग्राको शहर यात्रा शुरू भएको हो।
च्यांग्रा बेच्ने व्यापारी, डोरी बेच्न बसेका स्कूले बालबालिका, भेडाच्यांग्रा ओसार्न बसेका गाडी र किन्नेदेखि हेर्न आउनेसम्मको भीड छ, याम्दीमा। सबै आआफ्नै धुनमा देखिन्छन्। यसबीचमा भेडाच्यांग्रा भने जसले जता डोर्यायो, त्यतै गइरहेका छन्।
मुस्ताङ, डोल्पा, जुम्ला, बझाङ, बाजुरादेखि हिमालको बाटो हुँदै भेडाच्यांग्रा पोखरा ल्याइन्छ। जडीबुटी खाएर हुर्किएका लेकका च्यांग्रा स्वस्थकर, पोषिलो मानिने भएकाले शहरका मान्छेले मन पराउने गरेको व्यापारी जसवीर बोहरा सुनाउँछन्।
बझाङको साइपाल गाउँपालिकाका बोहरा १२० वटा च्यांग्रा लिएर पोखरा आइपुगेका हुन्। दशैंलाई लक्षित गरेर उनले भेडाच्यांग्रा पोखरा ल्याउन लागेको १० वर्ष भइसक्यो। “दशैंमा राम्रै कमाइ हुन्छ,” उनी थोरै बोल्छन्।
लेकबाट दशैंमा भेडाच्यांग्रा पोखरामा झार्ने चलन पहिलेदेखिकै हो। पछिल्लो समय भने यसले झन् गति पाएको छ। दशैंमा राम्रो मोल पाइने भएकाले अन्य सयममा खासै बेचबिखन नगर्ने गरेको उनी सुनाउँछन्।
बझाङका बोहरा जस्तै हिमाली क्षेत्रबाट थुप्रै व्यापारी भेडाच्यांग्रा लिएर पोखरा आइपुगेका छन्। फाट्टफुट्ट बाटोमा बिक्री भए पनि पोखरा झरेपछि मात्रै कारोबार शुरू हुन्छ। उनीहरू भेडाच्यांग्रा बिक्री गर्दै काठमाडौंसम्म पुग्छन्।
उनी झैं व्यक्तिगत रूपमा भेडाच्यांग्रा ल्याउने व्यापारी त भए नै, नेपाल सरकारले पनि दशैंका लागि भेडाच्यांग्रा, खसीबोका काठमाडौं भित्र्याउँछ। सरकार मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशका विभिन्न भागबाट खरीद गर्छ।
यस पटक ३०० भेडाच्यांग्रा र एक हजार ५०० खसीबोका खरीद गरेर काठमाडौं ल्याउन लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदी बताउँछिन्। कम्पनीले हेटौंडा, नवलपुर, तुलसीपुर लगायत तराई क्षेत्रबाट खसीबोका ल्याउने गरेको छ। त्यस्तै, च्यांग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ।
कम्पनीले गत वर्षभन्दा यो वर्ष केही घटाएर खसीबोका तथा च्यांग्रा ल्याइरहेको सुवेदी बताउँछिन्। “पोहोर साल पछिसम्म पनि बिक्री भएन, त्यसैले यो वर्ष घटाएका छौं,” उनी भन्छन्। गत वर्ष कम्पनीले एक हजार ६६९ खसीबोका र ५४२ च्यांग्रा ल्याएको थियो।
उपभोक्तालाई सहज रूपमा बिक्री गर्न खसीबोका र च्यांग्रा ल्याउने गरिएको उनको भनाइ छ। “खसीबोका र च्यांग्रा काठमाडौं पुग्न थालिसकेका छन्,” सुवेदी भन्छिन्, “हामीले त बजारमा उपस्थिति देखाउन थोरै मात्रै ल्याउने गरेका छौं, निजी क्षेत्रले धेरै ल्याउँछ।”
निजी क्षेत्रको संस्था नेपाल चौपाया बजार तथा वधशाला व्यवस्थापन प्रालिले दशैंका लागि खसीबोका, भेडाच्यांग्रा काठमाडौं भित्र्याउने गरेको छ। प्रालिका बजार व्यवस्थापक जीवन खतिवडा पनि यस पटक पोहोर सालभन्दा कम ल्याउन लागिएको बताउँछन्। प्रालिले भेडाच्यांग्रा चार हजार र खसीबोका २५ हजार ल्याउँदै छ।
बजार व्यवस्थापक खतिवडाका अनुसार तराईका जिल्लाबाट खसीबोका आउने गरेका छन्। मुस्ताङ लगायत हिमाली जिल्लाबाट च्यांग्रा आउँछन्। “हामीले त मनाङ, मुस्ताङबाट ल्याउने गरेका छौं, केही च्यांग्रा तिब्बती पठारबाट पनि आउने गरेका छन्,” खतिवडा भन्छन्।
खसीबोका र भेडाच्यांग्रा धेरै बिक्री हुने समय दशैं नै हो। यो वर्ष काठमाडौंमा ५५ हजारको हाराहारीमा खसीबोका र भेडाच्यांग्रा आउने अनुमान रहेको खतिवडा बताउँछन्। “सरकार र हामीले त नियमित बाटोबाटै ल्याउँछौं, अरू व्यापारीले पनि लुकिछिपी ल्याउँछन्,” उनी भन्छन्।
दुई वर्षअघि पशु सेवा विभागले दशैंमा काठमाडौं खपत हुने खसीबोका र भेडाच्यांग्राबारे सर्वेक्षण गरेको थियो। त्यति वेला दशैंमा ५० हजार खसीबोका तथा भेडाच्यांग्रा बिक्री हुने गरेको पाइएको थियो। काठमाडौं उपत्यका बाहेक देशका अन्य शहरमा पनि दशैंको वेला खसीबोका र भेडाच्यांग्राको अत्यधिक खपत हुने गरेका छ।
प्रायः दशैंको वेला च्यांग्राको चर्चा हुन्छ। उपभोक्ताले पनि वर्षमा एक पटक भए पनि च्यांग्राको मासु खोज्ने गरेको व्यापारी सुनाउँछन्। किन धेरैको रोजाइमा च्यांग्रा पर्छ? नेपाल चौपाया बजार तथा वधशाला व्यवस्थापन प्रालिका बजार व्यवस्थापक खतिवडा भन्छन्, “हिमालका जडीबुटी खाएर हुर्केको हुन्छ। आयुर्वेदिक जडीबुटीको केही हिस्सा मासुमा पनि हुन्छ होला भन्ने ठानेर उपभोक्ता दशैंमा च्यांग्राको मासु खान खोज्छन्।”
हुन पनि अरू वेला लेकका च्यांग्रा शहर झर्दैनन्। हिमालबाट एउटा-दुइटा ल्याएर बिक्री गर्न पनि सहज हुँदैन, महंगो हुन्छन्। यति वेला भने च्यांग्राको मोल पनि घटेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिउँदै खसीबोकाको प्रतिकिलो ६७० रुपैयाँ र च्यांग्राको एक हजार २३० रुपैयाँ मूल्य तोकेको छ। यसमा प्रतिकिलो १० रुपैयाँ छूटको व्यवस्था गरिएको कम्पनीकी सूचना अधिकारी सुवेदी बताउँछिन्।
त्यस्तै, नेपाल चौपाया बजार तथा वधशाला व्यवस्थापन प्रालिले पनि पोहोर सालभन्दा केही कम मूल्य तोकेको छ। यस वर्ष जिउँदै खसीबोकाको प्रतिकिलो ६५० देखि ७३० रुपैयाँ र च्यांग्रा एक हजार ३०० रुपैयाँ तय गरिएको प्रालिका बजार व्यवस्थापक खतिवडा बताउँछन्।
बझाङबाट हिमाली बाटो हुँदै पोखरा पुगेका बोहरा पनि यस वर्ष च्यांग्राको मोल घटाएर बिक्री गरिरहेका छन्। गत वर्ष ५५ हजार रुपैयाँसम्ममा बिक्री गरेको च्यांग्रा यसपालि ४० हजारसम्म छ। व्यापारीका लागि यो दर अझै सस्तो हुने उनी सुनाउँछन्। पोहोर साल खासै बिक्री नभएपछि यसपालि मोल घटाएको उनी बताउँछन्।
बोहराले हेर्दाहेर्दै एक घन्टामा १० च्यांग्रा बिक्री गरे। यही गतिमा बिक्री भए छिटै घर फर्किन सकिने उनको विश्वास छ। अरूको दशैं सपार्न च्यांग्रा लिएर लेकबाट शहर झरेका व्यापारीको दशैं के हुन्छ? उनी भन्छन्, “यो सबै बेचेर दशैं मनाउन त गाउँ नै पुग्ने हो।”