झ्याप्ले खोलामा पनि सिमलतालकै चूक
दुइटा बसमा सवार ६२ जना बगाउने सिमलताल घटनामा झैं झ्याप्ले खोलामा पनि राज्य संयन्त्र चुक्दा तीन वटा गाडीमा सवार ३५ जनाको ज्यान गएको देखिएको छ।
काठमाडौंको थानकोटबाट करीब पाँच किलोमिटर पश्चिमतिर हुइँकिएपछि पुगिन्छ, झ्याप्ले खोला। सधैं चहलपहल भइरहने काठमाडौं र धादिङको सिमानास्थित झ्याप्ले खोला एक सातादेखि भने सुनसान छ। काठमाडौं उपत्यका बाहिरिने र भित्रिने सवारीसाधन ओहोरदोहोर त गरिरहेका छन्, तर रोकिंदैनन्।
पृथ्वी राजमार्गमा चौबीसै घन्टा चल्ने झ्याप्ले खोलाका क्षेत्रका होटल र किराना पसल पनि बन्द छन्। दशैंमा घर जानेको ताँती लागेको छ। व्यापार व्यवसाय चल्ने वेला यही हो, तैपनि झ्याप्ले खोलामा भने चहलपहल छैन। स्थानीय व्यवसायी कृष्ण तामाङ भन्छन्, “एकछिन आएर बसेका हौं, अब केही बेरमा घर जान्छौं।”
धादिङको धुनिबेसी नगरपालिका-९ स्थित झ्याप्ले खोलामा तामाङले केही वर्षदेखि पसल चलाइरहेका छन्। एक किलोमिटर तल गाउँमा घर छ। त्रसित मुद्रामा देखिएका तामाङ भन्छन्, “आजभोलि त घाम नडुब्दै घर जान्छौं।”
पहिले भने अबेर रातिसम्म बस्थे। कहिलेकाहीं त गाडीको चहलपहलले मध्यरात कटेको पत्तै पाउँदैनथे। तर असोज ११ गतेदेखि उनको दैनिकी बदलिएको छ। “कुन दिन पसलका सबै सामान पुर्ने हो भन्ने डर छ,” उनी भन्छन्।
उनी जस्तै झ्याप्ले खोला क्षेत्रका व्यवसायी तथा स्थानीय बासिन्दा असोज ११ गते रातिको घटनापछि डराइरहेका छन्। लगातार तीन दिन परेको झरीले त्यो रात पहिरो खस्यो। झ्याप्ले खोलामा रोकिएका तीन वडा गाडी पहिरोमा पुरिए। गाडीभित्रै ३५ जनाको ज्यान गयो।
लगातारको झरीले बाटो अवरुद्ध हुँदा गाडी रोकिएका थिए। बुटवलबाट आउँदै गरेको लु १ ज ४५७८ को माइक्रोबस, चितवनबाट आउँदै गरेको बा ३ ज १३४५ को माइक्रोबस र गोरखाबाट आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस झ्याप्ले खोलामा पुरिए।
“मोइक्रोको सानो भाग मात्रै देखिएको थियो। चारतिरै पहिरो नै पहिरो थियो,” स्थानीय अर्चना कोइराला भन्छिन्, “साना नानीहरूलाई च्याप्दै ज्यान जोगाउन भागें।”
आठ वर्षदेखि झ्याप्ले खोलामा किराना पसल थापिरहेकी कोइराला त्यो दिनभर पसलमै थिइन्। झरीले यताउता जान पाएकी थिइनन्। पहिरो खसेपछि मान्छेको आवाज सुनेको बताउँदै उनी भन्छिन्, “पानीले स्पष्ट आवाज त सुनिएको थिएन। मान्छे कराइरहेका थिए, हारगुहार गरिरहेका थिए।”
त्यही होहल्लाबीच पसलबाट बाहिर निस्किंदा केही मान्छे दौडिरहेको देखेको उनी सुनाउँछिन्। “दुई वटा बसबाट मान्छे निस्किंदै भागिरहेका थिए, केही मान्छेको शरीरमा रगतैरगत थियो,” कोइराला भन्छिन्।
त्यो रात ससाना नानीहरू सहित भागेकी उनी असोज १८ मा भने पसलमा फर्किएकी थिइन्। उनी जस्तै त्यो रात भागेका कतिपय मानिस झ्याप्ले खोला फर्किएका छन्। कतिपयका पसलमा ताला लागेको छ। उनीहरू घरतिर गएका छन्।
झ्याप्ले खोला फर्किएका स्थानीय पसलमा छिरेको गेग्रान पन्छाउँदै थिए। कोही पसलका सरसामान मिलाउँदै थिए।
त्यस्तै, एक हुन् श्यामकुमार लामा। सडकछेउमा किराना पसल र होटल चलाइरहेका उनी पनि असोज ११ गते पसलमै थिए। उनका अनुसार दिनभर सडक जाम थियो। पहिरो खसेर हिलो थुप्रिएको थियो। डोजरले सक्दो पन्छाइरहेको थिए।
दिनभरको पानी र पहिरोले गर्दा त्यो राति उनलाई निद्रा परेको थिएन। अबेर राति आँखा लाग्ने वेला ठूलो आवाज आएको उनी सुनाउँछन्। “बिहान ३ बजेतिर हो, पहिरो खसेको ठूलो आवाज आयो,” लामा भन्छन्, “सुतिरहेका बच्चा सहित परिवार उठाएर पिपलमोडतिर भागें।”
उनको पसलको मुखैमा एक माइक्रोबस पुरिएको थियो। गाडी पुरिएको खबर उनैले फैलाएका थिए।
लामाका अनुसार असोज ११ गते राति नै नागढुंगामा पहिरो गएको थियो। जसले गर्दा सवारीसाधन जहाँको तहीं रोकिएका थिए। त्यही राति पहिरोले झ्याप्ले खोलाको काठमाडौं आउनेतिरको मोडमा ठूलो रूख ढल्यो। पूरै सडक बन्द भयो। सबै सवारीसाधन लस्करै थिए।
पानी दर्केकाले डोजरले पनि रातिको समयमा माटो पन्छाउन नसकेको उनी बताउँछन्। जसले गर्दा गाडी काठमाडौंतिर आउन सकेनन्, झ्याप्ले खोलामै रोकिए। “गाडी जान पाएको भए यति ठूलो घटना हुने थिएन,” उनी भन्छन्।
अर्का स्थानीय कृष्ण तामाङ पनि त्यो रात डाँडामा गएर ज्यान जोगाएको सुनाउँछन्। दिनभर दर्केको पानीले निद्रा राम्रोसँग परेको थिएन। “गाडीको सिसा फुटे जस्तो आवाज आयो। के भयो भनेर हेर्न जाँदा एक बस पुरिएको देखें,” तामाङ सम्झिन्छन्, “मान्छे नदेखेपछि खोल्सो तरेर पारिपट्टि लागें।”
फेरि भेलबाढी आयो। बस भएको ठाउँमा आउन सक्ने अवस्था थिएन। “दुई घण्टा डाँडामा गएर बस्यौं,” उनी भन्छन्, “हामी सबै आफ्नै ज्यान जोगाउन डाँडातिर लाग्यौं, तल के भयो, हेर्न सकेनौं।”
बस पुरिएकै छेउमा पसल रहेकी स्थानीय अजिता तामाङ पनि राति नै भागेको सुनाउँछिन्। उनकी आमा पसलमा बस्थिन्। “पसलको छेउबाट पहिरो आएको देखेर जंगलतिर भाग्यौं,” उनी भन्छिन्, “हाम्रो नै भागाभाग भयो, बाँकी तल बस पुरिएको ठाउँ हेर्न पनि सकेनौं।” बससँगै उनको पसल पनि पहिरोमा पुरिएको थियो।
स्थानीयका अनुसार पहिरो जाँदा सबैको भागाभाग भएकाले गाडीमा रहेका यात्रुको उद्धार गर्न सकिएन। गाडीमा सुस्ताइरहेका यात्रु पहिरो आएको चालै नपाएर पुरिएको हुन सक्ने उनीहरूको भनाइ छ।
जथाभावी सडक खन्दा भेलबाढी
नारायणगढ-मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा गत असार २८ गते बिहान साढे ३ बजे दुई वटा यात्रुवाहक बसलाई पहिरोले बगाएको थियो। पहिरोमा बगेका दुवै बस त्रिशूली नदीमा खसेका थिए।
दुवै बसमा सवार ६५ जनामध्ये तीन जना पौडी खेलर जोगिएका थिए भने ६२ यात्रु बससँगै हराएका थिए। दुवै बसमा सवार २७ जना त्रिशूली नदीमा मृत भेटिएका थिए भने अझै पनि ३५ जना र बसको अत्तोपत्तो छैन।
त्यसको छानबिनका लागि सरकारले गठन गरेको समितिले दिएको अध्ययन प्रतिवेदनमा राजमार्गको माथि अर्को ग्रामीण सडक खनिएको र त्यसको गेग्रान व्यवस्थापन नगरेकाले भेलबाढी आएको निष्कर्ष छ। झ्याप्ले खोलामा पनि त्यस्तै अवस्था देखिन्छ।
स्थानीय बासिन्दाका अनुसार झ्याप्ले खोलाको माथि पर्ने काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित थलीमा ग्रामीण सडक खनिएको छ। सडक विभागले सडक विस्तार गरिरहेको थियो। भर्खरै पर्खालको काम सकिएको थियो भने जताततै माटो खनेर थुप्रिएको थियो।
त्यही सडक विस्तारका कारण भेलबाढी आउँदा पहिरो गएको स्थानीयको भनाइ छ। “पुरानो माटो थुप्रिएको थियो, नयाँ माटो आएर सडक किनार भरियो। अनि भेलबाढीले बगाएर ल्याउँदा पहिरो आयो,” स्थानीय श्यामकुमार लामा भन्छन्। २७ वर्षदेखि झ्याप्ले खोलामा पसल चलाइरहेका लामा जथाभावी बाटो खन्दा पहिरो गएको बताउँदै भन्छन्, “सडक विभाग र निर्माण व्यवसायीका कारण पहिरो गएको हो। भीर काटेको छ, त्यसै छोडेको छ।”
सडक मात्रै खन्ने र पानी बग्ने ठाउँ नबनाउने प्रवृत्तिले गर्दा यो घटना भएको उनको भनाइ छ। यसमा सडक विभाग, जनप्रतिनिधि र निर्माण व्यवसायीले लापरवाही गरेको उनी बताउँछन्। “बाटो फराकिलो बनाउँदा खनेको माटोको व्यवस्थापन गरेको भए, कल्भर्ट खोलेको भए, नाली खोलेको भए, यस्तो घटना नै हुने थिएन,” लामा भन्छन्।
नागढुंगाको मोडदेखि आएको भेलबाढीले पहिरो जाँदा झ्याप्ले खोलामा रहेका गाडी पुरिएका थिए। नागढुंगामा बाटो खन्दा ढलमा भरिएको माटोको व्यवस्थापन नगरिएको उनी बताउँछन्।
त्यस्तै, यो सडकखण्डमा समयमा पर्खाल नलगाउँदा पनि समस्या भएको उनको भनाइ छ। “सडक भत्काउने, भित्ता कोपर्ने गरिराख्छन्,” उनी भन्छन्, “अनि एक बित्ताको पर्खाल लगाउँछन्, त्यसले कसरी रोकिन्छ?”
भूगर्भविद् श्रीकमल द्विवेदी पनि सडक विभागले भौगर्भिक जोखिम नहेरी बाटो विस्तारका नाममा जताततै खन्दा पहिरो जाने गरिरहेको बताउँछन्। झ्याप्ले खोलामा पनि त्यस्तै देखिएको द्विवेदीको भनाइ छ। “सानो ठाउँ छ, भीर खनेर बाटो चौडा बनाइएको छ, त्यस्तो ठाउँमा पहिरो जाने सम्भावना बढी नै हुन्छ,” उनी भन्छन्।
झ्याप्ले खोलामाथि रहेको गेग्रान पानीले खुकुलो भएको र भेलबाढी आउँदा पहिरो गएको देखिने उनी बताउँछन्। द्विवेदीका अनुसार गेग्रान बहाव तीव्र गतिमा हुँदा धेरै नोक्सानी हुन्छ।
यातायातविद् कमल पाण्डे बाटो बनाउन जति पनि लगानी गर्ने तर त्यसको अन्य वातावणीय जोखिमलाई बेवास्ता गर्ने गरेकाले झ्याप्ले खोलाका जस्ता दुर्घटना निम्तिइरहेको बताउँछन्। पहिरो नियन्त्रणमा ध्यान नदिंदा जोखिम बढेको उनको भनाइ छ। “सडक खन्न प्रतिस्पर्धा चलेको छ, जताततै भीर काटिएको छ, तर त्यसको व्यवस्थापन गरिएको छैन,” उनी भन्छन्, “पहिरो नियन्त्रणमा ध्यान नदिंदा झ्याप्ले खोलाका जस्ता घटना हुन्छन्।”
दुई दशकपछि दोहोरिएको घटना
अहिले झ्याप्ले खोलामा डोजरले माटो पन्छाइरहेको छ। त्यसयता खत्रीपौवादेखि नागढुंगासम्म ठाउँ ठाउँमा माटोका ढिस्का छन्। डोजर माटो पन्छाउँदै छ, पछि पछि सवारीसाधन धिमा गतिमा गुडिरहेका छन्।
गाडी गुड्न थाले पनि झ्याप्ले खोला क्षेत्रका बासिन्दा भने शान्त हुन सकेका छैनन्। स्थानीय अर्चना कोइराला त्यो घटनादेखि डर लाग्न थालेको सुनाउँछिन्। उनी दिउँसो पसल खोल्छिन्, साँझ बन्द गरेर माथि रहेको थली गाउँ जान्छिन्।
उनको गाउँ पुग्ने बाटो पनि पहिरोले बगाएको छ। छोराछोरीलाई गाउँमै छोडेकी छन्। “सबैतिर पहिरैपहिरो छ, वारिका वारि र पारिका पारि भएका छन्,” उनी भन्छिन्।
झ्याप्ले खोलाको माथिबाट पहाडै खसे जस्तो देखिन्छ। एक साता हुँदा पहिरो पन्छाउन सकिएको छैन। स्थानीय श्यामकुमार लामाले पनि आँगनमा खसेको पहिरो पन्छाउन सकेका छैनन्। शौचालय पहिरोमा पुरिएको छ भने पसल खोल्न सकिएको छैन। “आकाशमा बादल मडारिंदा मन आत्तिन्छ,” लामा भन्छन्, “यो ठाउँ त कहिल्यै सुरक्षित भएन, सधैं पहिरो गइरहन्छ।”
झ्याप्ले खोला क्षेत्रमा ससाना पहिरो त हरेक बर्खामा गइरहन्छन्। यस्तै भयावह दुर्घटना भने दुई दशकअघि पनि भएको थियो। २०५८ सालमा माथिबाट आएको पहिरोले गाडी पुरिएका थिए। त्यति वेला नौ जनाको ज्यान गएको थियो। त्यसपछि पनि पहिरोको जोखिम कम गर्ने उपाय नअपनाउँदा यस पटक ३५ जनाले ज्यान गुमाए।