क्षितिजले ल्याए ‘एउटा मायी नगरमा’
साहित्यकार रमेश क्षितिजको कथाकृति ‘एउटा मायी नगरमा’ सार्वजनिक भएको छ।
शुक्रबार नेपाल प्रज्ञा-प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा क्षितिजका बुवा पवित्रराज न्यौपानेले पुस्तक लोकार्पण गरे।
कवि र गीतकारका रूपमा ख्याति कमाइसकेका क्षितिजको यो पहिलो आख्यान हो। संग्रहमा १७ वटा कथा समावेश छन्।
लोकार्पण समारोहमा बोल्दै क्षितिजले आफूले तीन दशकअघिदेखि कथा लेख्न थाले पनि पाठक र प्रकाशकको हुटहुटी पाएर बल्ल कथासंग्रह निकालेको बताए।
संग्रहका कथापिच्छे फरक प्रयोग गरेका कारण आफ्नो कथा लेखनको यही नै शैली भनेर खुट्याउन नसकिने उनले बताए। “संग्रहमा क्षितिजको शैली यस्तो रहेछ भन्न सकिँदैन, किनकि यसमा खास शैलीका कथा छैनन्। फरक फरक शैलीका छन्,” उनले भने।
आफ्ना लागि लेखन अक्सिजन तथा ध्यान जस्तो रहेको र यसै कारण कोभिड महामारी जस्ता विपद्को वेला ठूलो सहारा बनेको समेत उनले बताए।
कृतिबारे बोल्दै साहित्यकार कुमार नगरकोटीले ‘एउटा मायी नगरमा’ नेपाली कथा साहित्यको अनुपम उपलब्धि भएको टिप्पणी गरे। "किनकि, अहिलेसम्म पढ्दै आएका नेपाली कथाहरूमध्ये यो बेग्लै शिल्पमा लेखिएको छ," उनले भने।
दर्शन र अध्यात्मको मिठासयुक्त कविता चाखेर आफूले प्रेम गरेको कविको कथा आउँदा पहिलेको छवि भत्किने हो कि भन्ने डर र चिन्ता लागेको तर प्रयोगधर्मी कथाहरू पढेपछि डरमुक्त बनेको नगरकोटीले सुनाए। "आख्यान लेखनमा मैले प्रयोगमा जोड दिंदै आएको छु, त्यस्तो प्रयोग आख्यानमा एउटा कविबाट आउँदा सुखद आश्चर्य लागेको छ," उनले भने।
बुक-हिल पब्लिकेशनले प्रकाशन गरेको संग्रहको मूल्य हार्ड कभरको ७५० रुपैयाँ छ।
क्षितिजका यसअघि अर्को साँझ पर्खेर साँझमा (कविता संग्रह, २०५७), आफैं आफ्नो साथी भएँ (गीत संग्रह, २०६३), घर फर्किरहेको मानिस (कविता संग्रह, २०६९) र पर्वत पर्वतमा बटुवा घाम (कविता संग्रह, २०७९) प्रकाशित छन्।