कहाँ छ सत्यमोहनले ‘अपहरण’ गरेको विष्णुविक्रान्त मूर्तिको जलहरी ?
साढे ६ दशकअघि लाजिम्पाटबाट वीर पुस्तकालय हुँदै छाउनीस्थित राष्ट्रिय संग्रहालय पुर्याइएको विष्णुविक्रान्त मूर्तिको जलहरी हराएको हरायै छ।
गत भदौमा पशुपति, तिलगंगामा गरिएको उत्खननमा विष्णुविक्रान्त मूर्तिको जलहरी भेटिए पनि साढे पाँच दशकदेखि छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिंदै आएको विष्णुविक्रान्तकै अर्को मूर्तिको जलहरी अझै भेटिएको छैन।
लिच्छवि राजा मानदेवले शक संवत् ३८९ मा लाजिम्पाटको धोबीचौर र तिलगंगामा विष्णुविक्रान्तका दुई मूर्ति स्थापना गर्न लगाएका थिए। जलहरीमा लेखिएको विवरणकै कारण तिलगंगाको मूर्ति विस्तृत अभिलेखका निम्ति नेपालकै पहिलोमा दर्ज भएको छ।
लाजिम्पाटमा अलपत्र मूर्ति भने संस्कृतिविद् सत्यमोहन जोशीले विसं २०१६ मा तत्कालीन वीर पुस्तकालय पुर्याएका थिए। त्यो मूर्ति जलहरी सहितको रहेको उनले बताउँदै र लेख्दै आएका थिए।
पुस्तकालयबाट पछि संग्रहालय लगिएको मूर्तिमा भने जलहरी देखिंदैन। पशुपति विकास कोषका पुरातत्त्व अधिकृत सुशीलकुमार गौतम लाजिम्पाटको मूर्तिमा जलहरी रहे/नरहेको बारे खोजी नभएको बताउँछन्। “अहिले तिलगंगामा जलहरी भेटिएपछि त्यहाँको मूर्तिमा पनि जलहरी हुनुपर्ने भनी खोजी थालिएको हो,” उनी भन्छन्।
एक महीनाअघि कोषले विष्णुविक्रान्तको मूर्ति रहेको स्थानमा मन्दिर बनाउनुपूर्व उत्खनन गर्दा लिच्छविकालीन इँटासँगै जलहरी फेला परेको थियो।
रातारात ठाउँ सारी
संस्कृतिविद् जोशीले २०७८ साउन १६ मा हिमालखबरसँगको कुराकानीमा आफू पुरातत्त्व तथा संस्कृति विभागको निर्देशक हुँदा लाजिम्पाटको मूर्ति अपहरणशैलीमा रातारात वीर पुस्तकालय पुर्याएको बताएका थिए। अलपत्र मूर्ति चोरी नहोस् भनेर यसरी उठाएको उनको भनाइ थियो-
“त्यस वेला चोरीको जगजगी यत्ति विघ्न थियो कि थामिनै नसकिने गरी। अझ राजपरिवारको खलक पनि यसमा लागेका थिए भन्थे। सबैतिर मूर्ति चोरी मात्र भइरहेको थियो। पर्यटकहरू पनि धेरै आइरहेका थिए। कसैलाई केही वास्ता नै थिएन। फेरि विष्णुविक्रान्तको मूर्ति ऐतिहासिक भएकाले बचाउनै पर्छ भन्ने लाग्यो। त्यसैले लाजिम्पाटबाट मूर्ति वीरमा लगेँ। त्यो मैले चोरेरै ल्याएको हो। त्यसरी चोरेर नल्याएको भए नेपालको इतिहास खत्तम हुन्थ्यो। त्यसरी नउठाएको भए अहिले यो मूर्ति बेलायत वा अमेरिकाको कुनै म्युजियममा हुन्थ्यो होला।”
यही कुरा २०७८ सालमा प्रकाशित आत्मकथा सत्यमोहनमा पनि उल्लेख गरिएको छ। ‘विष्णु विक्रान्तको मूर्ति अपहरण’ उपशीर्षकमा उनले खुलाएका छन्-
“मूर्तिमात्र नभएर त्यससँग जोडिएको जलहरी पनि ठूलै थियो। चार पाँच जनै लगाएर बोक्नुपर्ने। यस्तो अवस्थामा योजनाबद्ध तबरले रातिको वेला पारेर उठाउन लगाएको थिएँ।”
जोशीले २०६४ सालको जगदम्बा-श्री तथा मदन पुरस्कार वितरण समारोहमा दिएको विद्वत् प्रवचनमा समेत उक्त ऐतिहासिक मूर्ति लापरवाह स्थितिमा देखेपछि आँखा रसाएको सम्झँदै भनेका थिए, “त्यो प्रस्तर मूर्ति एउटा प्राचीन विशाल मन्दिरको भग्नावशेषमा खुला रूपमा जलहरी सहित ठड्याइएको एउटा अद्वितीय मूर्ति थियो, त्यसमा ताम्रलेपको चहकिलोपना अझै बाँकी रहेछ।”
उनले २०७७ चैत २८ मा शिलापत्र अनलाइनमा छापिएको लेखमा आँखै अगाडि जलहरी सहित विष्णुविक्रान्तको मूर्ति देखेको बताएका छन्।
धोबीचौरमा २०२२ सालमा पुरातत्त्व विभागले उत्खनन गरेको थियो। त्यति वेला कुनै थप ऐतिहासिक सामग्री फेला नपरेको विभाग प्रमुख सौभाग्य प्रधानांग बताउँछिन्। यसबाट जोशीले भने जसरी जलहरी त्यसअघि नै पुस्तकालय पुगेको कुरालाई बल मिल्छ। तर उक्त मूर्ति २०२४ सालमा छाउनी संग्रहालय पठाउँदा जलहरी नरहेको प्रधानांग प्रस्ट्याउँछिन्। “अब हामी खोजी गर्नेछौं,” उनी भन्छिन्, “वीर पुस्तकालय अहिलेको घण्टाघरबाट २०१८/२०१९ सालतिर सिंहदरबार सरेको थियो। २०२४ सालमा अहिलेको पुरातत्त्व भवन बनेपछि मात्र यहाँ मूर्ति र अभिलेख ल्याइएका थिए। त्यसैले भेट्न सजिलो भने छैन।”
छाउनीस्थित राष्ट्रिय संग्रहालयका प्रमुख जयराम श्रेष्ठका अनुसार उक्त मूर्ति २०२४ भदौ ६ मा त्यहाँ लगिएको हो। “पुरातत्त्व विभागले पठाउँदा नै यसको जलहरी थिएन। हामीले त राखेका मात्र हौं,” उनी भन्छन्।
कोषका पुरातत्त्व अधिकृत गौतम भारतमा भन्दा २०० वर्षअघि नै विष्णुविक्रान्तको परम्परा चलेको देखाउने मूर्तिको जलहरी सम्पदा संरक्षणका दृष्टिले अर्थपूर्ण हुने भन्दै यसको खोजी गरिनुपर्नेमा जोड दिन्छन्। “छाउनी संग्रहालयमा प्रदर्शनमा राखिएका धेरै प्राचीन मूर्तिको जलहरी देखिंदैन। तिनको पनि खोजी गरिनुपर्छ,” उनी भन्छन्।
प्राध्यापक विमलकुमार शर्मा विष्णुविक्रान्तको मूर्ति घण्टाघर पुर्याइएपछि जलहरीमा गोलमाल भएको अनुमान गर्छन्। २०३६ देखि २०७२ सालसम्म त्रिचन्द्र क्याम्पसमा इतिहास विषय पढाएका उनी भन्छन्, “त्यस वेलाको आधुनिक भवन भएर होला, मूर्ति र हस्तलिखित ग्रन्थ त्यहीं राखिन्थे। पछि तिनलाई पुरातत्त्व विभाग र अभिलेखालयतिर लगियो। यहीबीच गोलमाल भए जस्तो छ।”
जलहरीको महत्ता
मूर्ति र जलहरी विषयमा खोज-अनुसन्धान गर्दै आएकी प्राध्यापक सन्ध्या पराजुलीका अनुसार ऐतिहासिक तथा पुरातात्त्विक अध्ययनमा मूर्ति र जलहरीलाई छुट्याएर हेर्न मिल्दैन। जलहरीले पनि इतिहास संरक्षणमा उत्तिकै भूमिका खेलेको हुन्छ। मूर्ति भुइँमा सोझै राख्न नहुने र त्यसकै लागि जलहरी बनाइने धर्मसिद्धान्त छ। जलहरीमा प्रयोग हुने माटो, चुन, ढुंगाबाट पनि काल पत्ता लगाउन सकिन्छ। “नेपाली इतिहासमा विस्तृत अभिलेख सहितको सबैभन्दा पुरानो मूर्ति भएकाले विष्णुविक्रान्तको हकमा त जलहरीको झन् महत्त्व छ,” त्रिविको संस्कृति विभागकी प्राध्यापक उनी भन्छिन्।
नेपाली मूर्तिकला र चित्रकला पुस्तककी लेखक तथा संस्कृतिविद् वीणा पौड्यालका अनुसार जलहरी मूर्ति अड्याउने र मूर्तिमा पर्ने पानीलाई निकास दिने साधन हो। यसको बीच भागमा प्वाल खोपेर त्यसैमा मूर्ति अड्याइन्छ। जलहरी बलियो बनाउन सुर्खी (इँटाको धूलो) र चुना हाल्ने गरिएको पाइन्छ। “प्रयोग भएका तिनै सामग्रीका आधारमा जलहरीको उमेर र काल पत्ता लगाउने हो। कति जलहरीमा त अभिलेख नै हुन्छ,” पौड्याल भन्छिन्।
वास्तुविद् सुदर्शनराज तिवारी गोलो, चारकुने र आठकुने गरी तीन आकारका जलहरी हुने बताउँछन्। यद्यपि अहिलेसम्म नेपालमा आठकुने जलहरी भेटिएको छैन। शिवको मूर्तिमा गोलाकार र विष्णुको मूर्तिमा चतुर्भुज जलहरी भेटिने गरेका छन्। मूर्तिलाई विना जलहरी नराख्ने परम्परा रहे पनि छाउनीमा विष्णुविक्रान्तको मूर्ति जलहरीविहीन रहेकामा दुःख व्यक्त गर्दै तिवारी कम्तीमा प्रतिकृति बनाउन सुझाव दिन्छन्। “पुरानै जलहरी भेटिए त झनै राम्रो भइहाल्यो,” उनी भन्छन्, “धेरै नेपाली मूर्ति जलहरी विना नै संग्रहालयमा छन्। तिनको पनि जलहरी खोजिनुपर्छ। नभएर रेप्लिका (प्रतिकृृति) बनाइनुपर्छ।”
जोशीले विष्णुविक्रान्तको मूर्ति जलहरी सहित वीर पुस्तकालयमा पुर्याएको भनिसकेकाले अब यसबारे पुरातत्त्व विभागले जवाफ दिनुपर्ने ऐतिहासिक महेशराज पन्त बताउँछन्। पहिला मूर्ति भएकै स्थानमा उत्खनन गर्दा पनि र जोशीले राखिएको भनेको पुस्तकालयमा पनि नभेटिएपछि बाँकी खोजी विभागले उति वेलै गर्नुपर्ने उनको भनाइ छ। “जलहरी जोशीले भने जस्तै वीर पुस्तकालयमा ल्याएर राखेका हुन् वा होइनन्? हुन् भने अहिले कहाँ छ? होइनन् भने पनि पुरातत्त्व विभागले यति ऐतिहासिक मूर्तिको जलहरी आजसम्म किन खोजी गरेन ?” पन्त प्रश्न गर्छन्।