अब जलवायु अनुकूलन खेती
मौसमले जस्तो रूप देखाउँछ त्यस्तै खेती प्रणाली विकास गर्नु आजको आवश्यकता हो।
अधिक हरितगृह ग्यास उत्सर्जनका कारण ओजोन तहमा क्षति बढेको चर्चासँगै अहिले पृथ्वीको तापमान वृद्धि भएर त्यसका असर देखिन थालेको चिन्ता व्याप्त हुँदै गएको छ। चिन्ता मात्र होइन, त्यसको घातक परिणामको भुक्तभोगी हामी नेपाली नै हुनुपरेको छ।
हामीले २०८१ असोज ३ देखि ७ गतेसम्म समुद्री सतहबाट २५ सय मिटर उचाइमा पनि कहिल्यै नभएको गर्मी महसूस गर्यौं। त्यस लगत्तै आरीघोप्टे वर्षाबाट अकल्पनीय जनधनको क्षति बेहोर्नुपरेको छ।
लगातार तीन दिन परेको झरीसँगै शुरू भएको बाढीपहिरोमा २०० जनाभन्दा बढीको ज्यान गएको छ। घर, विद्यालय, सडक, पुलपुलेसा लगायत भौतिक पूर्वाधार र खेतीपातीमा भएको क्षतिको खर्बौंमा हिसाब भइरहेको छ।
वर्षा थामिएर आकाश खुलेकै दिन फेरि तापक्रम बढेर गर्मी महसूस भएको छ। यो वेला धनकुटा जिल्ला सदरमुकाम धनकुटा बजार र त्यसभन्दा माथिको भागमा हल्का जाडोले स्पर्श गरिसक्नुपर्थ्यो। यसको अर्थ- बौलाहा झरी अझै बाँकी छ कि?
नेपालमा पछिल्लो समय असार-साउनमा झरी नपरेर असोज-कात्तिकमा हुने पछौटे वर्षाका कारणले धान र तरकारी बाली लगायतमा बढी क्षति पुग्ने गरेको छ। यस्तो समयमा मौसम विज्ञान विभाग त अपरिहार्य भएकै छ, कृषि अनुसन्धान र कृषि प्रसारबीच सहकार्यको महत्त्व अझ बढेको छ।
मौसम विभागले धेरै वर्षा हुने र सुक्खा लाग्ने समय विश्लेषण गरेर जानकारी दिने तथा किसानहरूले सोही मुताबिक खेती गर्नुपर्ने भएको छ।
चैत-वैशाखमा लामो खडेरीले मकै बाली सुक्ने, असोज-कात्तिकमा फुलेको वा पाक्न लागेको धान भारी वर्षाले डुबाउने क्रम एक दशकयताको नियमित परिघटना बन्न गएको छ।
कृषि वैज्ञानिक डा. कृष्ण घिमिरेका अनुसार नेपालमा सुक्खा वा डुबान सहन सक्ने बालीको विकास भइसकेको छ। यसैगरी, धानबाली वैज्ञानिक डा. रामवरण यादवका अनुसार सुक्खा १ देखि सुक्खा ६ सम्मका सुक्खा तथा खडेरी सहन सक्ने जातको विकास भएको छ। डुबान सहन सक्ने स्वर्णसावन, स्वर्णसावन मन्सुली, सामा मन्सुली जस्ता धानको पनि विकास भएको छ।
यस हिसाबले हामीसँग प्राकृतिक प्रकोपबाट जोगिने खेतीका धेरै उपाय छन्। यसको व्यावहारिक कार्यान्वयन मात्र बाँकी छ।
मुलुक संघीयतामा गएपछि कृषि प्रसार एकप्रकारले मृतप्रायः बनेको छ। स्थानीय सरकार मातहत आएका कृषि शाखा कृषि प्रसारमा आफैं समस्याग्रस्त देखिन्छन्।
स्थानीय सरकारका कृषि शाखाले कृषिका विज्ञ वा वैज्ञानिक पाएनन्। ती शाखा फाइल बढुवा भएका अधिकृतले चलाउने प्रशासनिक अड्डाका रूपमा परिणत भएका छन्।
कृषि ज्ञान केन्द्रको अवस्था पनि उस्तै छ। प्रदेश सरकार मातहतका ती केन्द्रमा कृषिका विज्ञ वा वैज्ञानिक भेटिंदैनन्। स्थानीय सरकारका कृषि शाखा हुन् वा प्रदेश सरकार मातहतका कृषि ज्ञान केन्द्र, कृषकसम्म सेवा पुर्याउने प्रक्रिया समाप्त भएको छ।
कृषिविज्ञ इन्द्रराज पाण्डेका अनुसार कृषिमा निरन्तर भइरहेको अनुसन्धानबाट विभिन्न बालीका जात सिफारिश भए पनि कृषि प्रसारमा समस्या छ। यही कारण पछिल्लो समय कृषि उत्पादनमा समस्या निम्तिएको छ।
कृषि प्रसार राम्रो भए अनुसन्धानबाट सिफारिश जातलाई कृषकसम्म पुर्याएर खेती गर्ने पद्धति विकास हुन्थ्यो। यस्तो पद्धति विकास नहुँदा थोरै प्राकृतिक प्रतिकूलतामा पनि कृषिमा धेरै क्षति भएको देखिन्छ। यसलाई कम गर्न कृषि प्रसारलाई बलियो बनाउनै पर्छ।
समाधानका उपाय
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिश गरेका बालीलाई कृषकको खेतबारीमा फलाउन/झुलाउन नसक्दा आजको समस्या निम्तिएको हो। निरन्तर अध्ययन-अनुसन्धान गर्दै खाद्यान्नका नयाँ नयाँ जातको विकास गर्नु पनि आजको आवश्यकता हो।
समयलाई छलेर खेती गरिनुपर्ने आवश्यकता पनि देखिएको छ। परम्परागत मकै खेतीको समय चैत-वैशाखमा बेसी र खोचमा चर्को सुक्खा लाग्ने समस्या बढ्दै छ। हिउँदमा भने भारी वर्षा हुन थालेको कारण मकै खेतीका लागि समय छल्दा राम्रो हुने देखिन्छ। परिवर्तित वातावरण सहने क्षमता भएको कोदो उत्पादनलाई हामीले प्राथमिकता दिनुपर्ने देखिन्छ।
अलि उच्च पहाडमा हुने धानमा राम्रैगरी फूल खेले पनि बियाँमा चामल नलाग्ने समस्या छ। त्यस्ता क्षेत्रमा अलि चिसो सहन सक्ने खालका धानका जात विकास गरेर जलवायु अनुकूलको खेती गरिनु आवश्यक छ। यो बिल्कुलै सम्भव रहेको कृषि वैज्ञानिक डा. कृष्ण घिमिरे बताउँछन्।
सुक्खा र डुबान सहन सक्ने जातको धान विकासले त फड्को नै मारेको छ। अब समय हेरफेर गरेर खेती गरिनुपर्ने देखिएको छ। जस्तो- असोज दोस्रो सातादेखि कात्तिकको दोस्रो सातासम्म अधिक वर्षा हुन थालेकाले अब यति वेला पसाउने धानको साटो अरू जात रोप्नुपर्ने भएको छ।
पछिल्लो समय मकैभन्दा धानमा बढी मौसमी क्षति भएको देखिन्छ। कृषि वैज्ञानिकले मौसमी प्रतिकूलता सहने धानको विकास गरिसकेको अवस्थामा पुरानै पद्धतिबाट खेती गर्नु मूर्खता हुन्छ। मौसमले जस्तो रूप देखाउँछ त्यस्तै खेती गर्नु जलवायु अनुकूलन खेती हो।
पहिला हर साल मंसीर, पुस र माघमा हिउँदे झरी पर्थ्यो, तर पछिल्ला वर्षमा त्यसो हुन छाडेको छ। यसलाई समेत मध्यनजर गरेर खेती पद्धति सुधार्नु आवश्यक छ।
पहिले जस्तै अहिले पनि बेसी क्षेत्रमा फागुन-चैतमा मकै छर्ने गरिएको छ। सिंचाइ सुविधा नभएका ठाउँमा यो वेलाको मकै सुकेर उत्पादन नहुने समस्या बढेको छ। गर्मी हुने क्षेत्रमा कात्तिकमा पाक्ने मकै खेती गर्न सकिन्छ।
सिप्रेड नामक संस्थाले जलवायु अनुकूल खेतीबारे लामो अध्ययन-अनुसन्धान गरेर निकै उपयोगी प्रतिवेदन तयार पारेको छ। यो प्रतिवेदनलाई उपयोग गर्न सरकारले चासो दिनुपर्छ। यो किन पनि भने कुनै कालखण्डमा गरिएको एउटा अध्ययन सधैंका लागि उपयोगी हुँदैन।
यो पनि पढ्नुहोस् :