बाँचे भोलि देखिन्छ
“आयो जस्तो छ!” यस पल्ट चाहिं काका अलि सतर्क भए। बित्थामा समातिने भयो भन्ने लाग्यो। समातेर लगे त बरु केही बेर बाँचिन्थ्यो होला, गोली छुट्यो भने?
केटाकेटीहरू स्कूलबाट फर्केदेखि खबर गाउँभरि भुसको आगो झैं फैलियो। आज राति पुलिस गाउँ छिर्दै छ, केटाहरू सबलाई समातेर लैजान्छ भन्ने हल्ला फैलिएको थियो। यसले गाउँको सातो लगेको थियो।
पुलिस आयो भने गोलीले उडाउला कि बाटोमा घिसार्दै लैजाला? कस कसलाई सिध्याउला? पूरै गाउँ नै सखाप हुने हो कि?
चट्याङ परेपछिको जस्तो सन्नाटा छायो गाउँमा। हल्ला चले जस्तो राति केही भइहाल्यो भने के गर्ने भनेर गाउँले कसैको समझमा आएन।
“छाँट हेर्दा घरमा बस्न सकिन्छ जस्तो छैन आज,” काका हडबडाए।
“कसो गर्ने होला त?” राजु अनिश्चित भयो।
“रात नपर्दै गाउँ छोड्नुपर्छ।”
“घर छोडेर जाँदा बाटैमा फेला पार्यो भने? जंगलतिर हिंडेको देख्यो भने झन् शंका हुन्छ,” राजु ढुक्क हुन सकिरहेको थिएन।
“अँध्यारोले भुइँ नछुँदै घर छोड्नुपर्छ। ज्ञानु, रविन, राजन, माइलो सबै सँगै जाने।” घर छोडे बाँचिन्छ भन्ने थियो काकालाई।
हप्ता, दश दिन मात्र अघि होला, बेथान पुलिस चौकीमा आक्रमण भयो भनेर रेडियोमा समाचार आएको थियो। त्यसपछि गाउँमा अनौठा घटना हुन थाले। अघिल्लो दिनसम्म सिनित्त परेको चौतारोको चिप्लेटी, पँधेरोको ढुंगा, गाविस भवनको भित्ता सबैतिर रातो इनामेलले के के जिन्दावाद र मूर्दावाद लेखिएका नारा एक्कासि देखिए। कांग्रेस पार्टीमा लागेका किस्नेको वर्षे धानको ब्याड रातारात सखाप भयो। ‘दिलबहादुर रम्तेल जनयुद्धको पहिलो शहीद भए’ भनेर स्कूलमा सर-मिसहरूले कुरा गरेका थिए।
फागुनको महीना थियो। गहुँ भित्र्याउने वेला हुँदै थियो। चैनपुर डाँडामा लुक्ने तयारीमा थियो घाम। पूर्णिमा आउन केही दिन बाँकी भएकाले होला, घाम नअस्ताउँदै जून आकाशको शिरमा थियो।
साँझ नपर्दै केटाहरू काभ्राको बोटमुनि जम्मा भए। भीडमा विवेक, सुजन पनि थपिए। शिवलाल जेठा दिनभरि जोतेर हलगोरुको पछि पछि फर्किंदै थियो। केटाहरू भलिबल खेल्न छोडेर आज के गर्दै छन् भनेर यसो मुन्टो तन्कायो। दिनभरिको कामले थाकेको गोरु जस्तै कति वेला घर पुगुँला भएको जेठालाई यतातिर धेरै ध्यान दिन मन लागेन।
‘एक कान दुई कान मैदान’ जस्तो कुरा फैलिंदै जाँदा काभ्राको बोटमुनि केटाहरूको ठूलै हुल जम्मा भयो।
“सबै जना एकैतिर गयौं भने पुलिसले सजिलै भेट्ला,” राजु अझै सशंकित थियो।
“फुटेर हिंडे त कमजोर भइएला। चारतिर छरिनुभन्दा त… ,” राजन अड्कियो।
“हाम्ले केही बिराएको छैन, डराउनी किन?” ज्ञानुले मुख खोले।
“ज्यानको सुरक्षाको कुरा छ नि,” काका कड्किए, “हेर केटा हो, समात्यो भने त सिद्धियो। लगेर खोरमा जाके त हुन्थ्यो, आतंककारी भनेर गोलीले भुट्दिन्छ। अनि सक्केन? लौ हिंड, जसरी पनि आजको रात बाँच्नुपर्छ। आज बाँचे न भोलि देखिने हो।”
केही बेर गलफत्ती भयो।
“नबिराउनु, नडराउनु” ज्ञानु आफ्नै अडानमा रोकियो। ऊ घरै फर्किने भयो। विवेक पनि जंगलतिर जान मानेन।
बाँकी केटाहरू काकाको पछि लागे। सिस्नेरीको गल्ली हुँदै तलतिर झरे।
साँझ ढल्किसकेको थियो। तर जूनको उज्यालोमा ओरालो झर्न गाह्रो भएन केटाहरूलाई। समी चौतारो कटेर साउने खोला तरेपछि घरहरू सकिए। खोला पारिपट्टि खेतीबारी मात्रै छ। अलि तल गंगाजी बग्छ। हिउँदमा पनि तर्न नसकिने नदीको बहाव ठूलै छ।
हिउँदे कुलोको छिपछिपे पानी नाघेपछि गहुँबारी आइपुग्यो। “पानी नकुल्चिई कुलो नाघ्नू,” राजनको उर्दी आयो, “नत्र रात हुँदो तलतिर झरेको पाइलाको डोब हेर्दै हाम्लाई भेट्टाउलान्।”
सास छउन्जेलको आश। सबै जना बाटो मुनि ओर्लिए। कान्लाको छेल पारेर गहुँबारीमा छिरे। बारीको बीचमा सास थामेर ढुंगा जस्तो जमेर बसे। मानौं त्यहाँ हावा मात्रै चलेको छ।
नयाँघरे रामचन्द्रको गहुँबारी अझै हरियै रहेछ। लहलहाउँदो गहुँ हुर्केको बारीको पल्लो छेउमा आँपको बूढो रूख उभिएको छ, ठूलो न ठूलो। हत्तपत्त चढ्न नसकिने यो रूखलाई मान्छेहरू ठूलो आँप भन्छन्। गाउँको निशानी हो ठूलो आँप।
यो बारीको पाटो पनि यति ठूलो छ कि जेठमा घैया धान छर्न पाँच हल गोरु लाग्छ। पाटोको बीचबाट गहुँको गाँज छल्दै केटाहरू अझ तलतिर झरे।
“धेरै तल गइयो भने नदी किनार पुगिन्छ। त्यता बाघको डर छ। यतै बस्नुपर्ला,” काका रोकिए।
“रूखको छेल परेर सल्लाह गरौं। बीच बाटोमा त परैबाट हामी देखिन्छौं,” राजुले सजग गरायो।
सबै जना अलि सरे रामिठ्ठोको रूखमुनि गए। हिउँदमा डाले घाँस काटेपछि पालुवा नपलाइसकेको नांगो रूखको छायाँ पातलो थियो। जूनको उज्यालो पोखिएको हाँगाको किरिमिरी धर्का भुइँमा पोतियो।
“रात यसरी नै काट्ने?” राजु आत्तियो।
“मर्न भएन। बौलाउन निको,” राजनले थपे।
“परेपछि जे‘नि गर्नुपर्छ,” काका बोले, “रूख चढ्न सक्नेहरू वरको रूखमा बस्ने, नसक्नेहरू भुइँमा।”
“निद्रामा रूखबाट लड्नुभन्दा भुइँमै सुत्छु म त,” सुजनले जाँगर चलाएन। राजु पनि भुइँमै सुत्ने भयो। काका, राजन, माइलो र अरू रूख चढ्ने भए।
राति साँच्चै पुलिस यही बाटो आयो भने चाल पाउने बित्तिकै संकेत के गर्ने भनेर सल्लाह हुँदै थियो। पर कुलोको किनारमा केही चलमलाएको राजुले देख्यो।
“काका!” राजु हडबडायो र औंलाले संकेत गर्यो।
कुलोको डिलैडिल केही हिंडेको छाया जस्तो देखियो। एकछिनमा हरायो। जूनको उज्यालोमा प्रस्ट हुन सकेन।
“स्याल होला,” काकाले ढाडस दिन खोजे।
“यति राति त किचकन्नी पनि हुन सक्छ,” राजनले शंका गर्यो। उमेर नपुगी बितेका चेलीहरू किचकन्नीका रूपमा आउँछन् भन्ने सुनेको थियो उसले। गोठाला जाँदा चौतारोमा बूढापाका यसै भन्थे- ‘रातमा निख्खर सेतो लुगामा सजिएर खित्का छाड्दै हिंड्छन्। तिनीहरूको करङमुनिको भाग खोक्रो हुन्छ, पैताला पछाडि फर्केको हुन्छ।’
“पुलिसको डर मान्नु कि किचकन्नीसँग रमाउनु!” माइलाले ठट्टा गर्यो।
जून मध्य आकाशमा चढिसकेको थियो। पूरै गोलो थिएन, त्यसैले होला जूनको टहक अलि कम थियो।
त्यो छाया फेरि चलमलाएको देखियो। यसपल्ट छाया तीन वटा बनेर केटाहरू भएतिरै बढिरहेको थियो। भित्तामा टाँसिएको हो कि जस्तो पनि देखिन्थ्यो, फेरि कुलोको डिलैडिल हिंडेको जस्तो पनि। कता कता गुनगुनाएको जस्तो पनि सुनियो।
केटाहरू सबैले कान ठाडो पारे।
“आयो जस्तो छ!” यस पल्ट चाहिं काका अलि सतर्क भए। बित्थामा समातिने भयो भन्ने लाग्यो। समातेर लगे त बरु केही बेर बाँचिन्थ्यो होला, गोली छुट्यो भने? काकाको शरीर चिसिएर भरंग भयो।
राजुले सोच्यो, घरमै बसेको भए बरु बाँचिने रहेछ। उसलाई रुन मन लाग्यो। तर मन थामेर बस्यो।
“भागम्,” माइलो साउतीमा बोल्यो।
सास छउन्जेलको आश। सबै जना बाटो मुनि ओर्लिए। कान्लाको छेल पारेर गहुँबारीमा छिरे। बारीको बीचमा सास थामेर ढुंगा जस्तो जमेर बसे। मानौं त्यहाँ हावा मात्रै चलेको छ, अरू केहीको उपस्थिति छैन!
माथि बस्तीबाट कुकुर भुकेको सुनियो। गहुँको गाँज समातेको राजु डरले डङ्ग्रङ्गै पल्टियो। गहुँका बाला एकअर्कामा ठोक्किएपछि सर्रर्र गरेको आवाज हावासँगै बहेर गयो। आकाशमा जून देख्यो उसले। राजन, माइलो र काका अलि पर थिए। रविन कता लुक्यो देखेन। गहुँका बुट्टाले बाटो छोपिंदा छाया देखिएन। पट्याक् पट्याक् केही पड्किएको आवाज सुनियो। गोली त हैन? राजुले सोच्यो।
केही बेरमै त्यो आवाजमा मान्छेको गुनगुन पनि मिसियो। गुनगुन गर्दै आउनेहरू छेवैको बाटोबाट बस्तीतिर उक्लिए। पारि बजारमा तरकारी बेचेर अबेर फर्केका मान्छे होलान् शायद। बात मार्दै चप्पल पड्काउँदै ती गाउँतिर लागे। सुराकी पक्कै नहुनुपर्छ।
पुलिस हैन भन्ने लागेपछि बल्ल राजुको होश ठेगानमा आयो। ‘तिनीहरूलाई नलाग्ने डर हाम्लाई मात्र किन?’ प्रश्नसँगै राजुको मनमा चिसो पस्यो, ‘के थाहा, सुराकी पनि यसरी नै पो गाउँ छिर्ने हुन् कि!’
माइलो घस्रेरै अलि नजिक आयो। काकाले साउतीमा भने, “बारीमा हामी सुरक्षित हुन्नौं।”
“बाँच्ने हो भने अन्तै भाग्नुपर्छ,” राजनले थप्यो।
यो मध्यरातमा कता जाने, कसैसँग पनि योजना थिएन। उनीहरू अहिलेसम्म गहुँबारीको बीचमै छन्। यसपल्ट चाहिं राजन उठ्यो, “बारीको पाटामा, बाटोमा, गाउँमा बसेर हामी जोगिन्नौं। पुलिस आयो भने यही बाटो आउने हो। पुलिस नआउने ठाउँ जानुपर्छ।”
“वनतिर?” काकाले संकेत गरे।
सबै जना उठेर बिस्तारै बारीको पल्लो कुनातिर गए। कुनै कुना गाई चराउन लगिने गल्ली भएर चमेरे पाखातिर उक्लिने सहमति भयो। उनीहरूलाई वनतिर पुलिस आउँदैन भन्ने लाग्यो। गाउँको पूर्वपट्टि अग्लो पहाड छ। पाखाको एकातिर सालघारी, अर्कोतिर पहरा। पहरामुनि ओढार छ, गाई-बाख्रा चराउन जाँदा पानी परिहाल्यो भने ओत लाग्ने ठाउँ। कहिलेकाहीं बाख्रा पनि पस्थे ओढारमा।
वनमा गाई चराउन लैजाँदा प्रयोग हुने गल्ली एकान्त खालको थियो। गाउँभन्दा पर थियो गल्ली। ‘स्कूल बिदाको दिन घाँस काट्न र गोठालो जाँदा यो बाटो कति हिंडियो कति, तर राति कहिल्यै हिंडेको थिएन। अघि भनेको किचकन्नी यतै भेटिने पो हो कि?’ राजनको मन सन्न भयो। छालामा काँडा उम्रिए।
हिंड्दा सुकेका हाँगा कुल्चिँदा पट्ट आवाज आयो। त्यही सुनेर हो या के भएर हो, एक्लेबारी खँदालको घरमा कुकुर भुक्यो। खँदालको घर गाउँभन्दा अलि एक्लै थियो; गल्लीको नजीक। पुलिस आएको हो भने त कुकुरको भुकाइ नै काफी संकेत हुन सक्थ्यो।
दोबाटोमा उनीहरू केही बेर रोकिए। अनि वनतिर जाने बाटोमा अघि बढे। वेलावेला थाकलको काँडाले पिंडुला कोर्थ्यो। यति राति निर्जन जंगलको बाटो यसअघि उनीहरूमध्ये कोही पनि हिंडेको थिएन। डरैडरमा चूपचाप हिंडिरहे सबै।
जून निकै पर पुगिसकेको थियो। जूनको उज्यालोमा जंगलमुनिको बस्ती कुहिरो ओढेको बगर जस्तो देखिन्थ्यो। काफल पाक्यो भन्दै कराउने चराको बोली बन्द भइसकेको थियो। राजुले यसो फर्केर हेर्यो गाउँतिर। कुकुर भुक्न अझै छोडेको थिएन। अघि बसेको ठूलो आँपनेरको ठूलो पाटो ठम्यायो। मधुरो उज्यालोमा घरहरू चिन्न खोज्यो। तेर्सो गल्ली, ज्यामिरे खोला, ठाडो गल्ली र त्यसको पारिपट्टि आफ्नो घरमा बलेको बत्ती उसले देख्यो। ‘आमा अझै सुतेकी रैनछिन्,’ उसले अड्कल काट्यो।
“अब रात यहीं बिताउने,” ओढार पुगेपछि काकाले फुसफुसाए।
ओढारमा छिर्ने बित्तिकै चरा भुर्र उडे जस्तो आवाज आयो। माथि ढुंगामा झुन्डिएका चमेराहरू उडे। रातको अँध्यारोले गाउँभरिका घरलाई छोपेको थियो। वेलावेला टर्चलाइटको जस्तो उज्यालो कुदेको देखिन्थ्यो।
राजु, काका, माइलो सबै जना भुइँमा थचक्क बसे। भुइँबाट नाक खिर्याउने धूलोको गन्ध आयो। तर आधा रातसम्म हिंडेको थकित ज्यानलाई धूलोको पर्वाह भएन। सबैजना भुइँमै भुसुक्कै निदाए।
ब्युँझिंदा चमेरे पाखोको छाया गाउँ हुँदै तल नदी किनारसम्मै अझै थियो। नदी किनारबाट उकालो चढेको चिसो सिरेटोमा ठोक्किएर बकैनाको पात ओढारको मुखैमा थर्थराइरहेको थियो।
हिमाल दशैं साहित्यका थप सामग्री: