विनाशकारी बाढी : आशा र निराशाको द्वन्द्व
विगतका झै यस पटक पनि विपद्बाट उम्काउन देश तथा विदेशमा रहेका नेपालीजनले व्यक्तिगत र सामुदायिक रुपमा एक-अर्कालाई सहयोग गर्ने नै छन्।
मेरो किशोरावस्थामा, २०७२ सालको महाभूकम्पपछि खुम्बुको फाकदिङ गाउँमा बस्दा, पहिलो पटक जलवायु संकटको वास्तविक प्रभाव अनुभव गरें। त्यहाँका स्थानीय बासिन्दा इम्जा त्सो हिमतालको सम्भावित विस्फोटनको त्रासले हरेक रात डाँडामाथि सुरक्षित स्थानमा जान्थे। बिहान भएपछि तिनै मानिस खुम्बु क्षेत्रमा रहेका स्वयंसेवक र पर्यटकलाई सेवा दिन आफ्ना लजहरूमा फर्कन्थे।
यो अनुभवले मलाई जलवायु संकट र जनजीविकाबीचको गहिरो अन्तर्सम्बन्ध बुझ्न सहयोग गर्यो। एक दशकअघिको यस घटनाले जलवायु संकटले गरीबी कसरी बढाउँछ भन्ने कुरा प्रत्यक्ष देखायो। यसैले मैले जलवायु वित्त क्षेत्रमा आफ्नो ‘करिअर’ बनाउने निर्णय गरें, ताकि यस्ता समस्याको समाधानमा योगदान दिन सकूँ।
मैले जलवायु परिवर्तनको विषयमा गहन अध्ययन गरें र कमजोर समुदायलाई सहयोग पुर्याउने उद्देश्यले ठूलो मात्रामा रकम जुटाउने परियोजनामा संलग्न भएँ। तर गत हप्ताको बाढीले देखायो कि हाम्रो वास्तविक जीवनमा कुनै परिवर्तन आएको छैन। जलवायु परिवर्तनको जोखिममा रहेका व्यक्ति झन् बढी खतरामा छन्। अझै योभन्दा नराम्रो अवस्था आउन सक्ने कुरा निश्चित छ।
जलवायु वित्त क्षेत्रमा काम गर्नेहरू कमजोर देश र समुदायलाई सहयोग गर्ने भनी दाबी गर्ने संस्थाका खोक्रा शब्द र कार्यमा अलमलिएका छन्। वास्तविकताको ज्ञान नभएका व्यक्तिले तयार गरेका महत्त्वाकांक्षी जलवायु लक्ष्य र आशावादी भाषण मात्र छन्। केही युवाले आफ्नो सामाजिक छवि सुधार्न गरीबको दुर्दशालाई प्रयोग गरिरहेका छन्।
असोज दोस्रो साता बाढीपहिरोको प्रकोपमा स्थानीय समुदाय र युवा नै उद्धार कार्यमा अग्रपंक्तिमा देखिए। तर ‘विपद् जोखिम न्यूनीकरण’ मा काम गर्ने भनिएका संस्थाबाट भने वक्तव्य र भाषण मात्र सुनिए।
भविष्यका चुनौतीको सामना गर्न हाम्रो सामूहिक क्षमतामा सामाजिक विश्वास गुम्दै छ।
नेपालमा जलवायु परिवर्तनको गम्भीर असर देखिन थालेको छ र प्राकृतिक प्रकोप नियमित घटना जस्तै बन्दै छन्। यस परिस्थितिले समाजमा रहेको वर्गीय विभेद र असमानतालाई झन् उजागर गरेको छ। हालैको बाढीले देखायो कि धनी र शक्तिशाली व्यक्ति सुरक्षित रहे, तर नदी किनारमा बस्न बाध्य धेरै गरीब परिवार असुरक्षित थिए।
जो मानिस आफूलाई सुरक्षित राख्न खोजिरहेका छन्, तिनीहरू नै वातावरण विनाशमा अप्रत्यक्ष रूपमा सहभागी हुन सक्छन्। रोशी र नख्खु खोलामा भएको विनाशको मुख्य कारण अनियन्त्रित बालुवा र ढुंगा उत्खनन हो, जुन ‘विकास’ को नाममा भइरहेको छ।
मैले एक किसानसँग कुरा गरें जसको घर र पशु बाढीले बगायो। उनको दुःख सुन्दा म पनि भावुक भएँ। यस्ता घटनाले हामीलाई जलवायु परिवर्तनको वास्तविक र मानवीय प्रभाव देखाउँछन्।
नदी किनारमा बस्ने एक सिकर्मी अब यो परिस्थितिबाट वाक्क भएर आफ्नो गाउँ फर्कन लागेका छन्। अर्को एक व्यक्ति त ढल सुधारका लागि ल्याइएका पाइपमा नै बस्न बाध्य छन्। यस्ता घटनाले गरीब र सीमान्तीकृत समुदायमाथि जलवायु संकटको असमान प्रभाव देखाउँछन्।
जलवायु परिवर्तनमा लामो समय काम गरेको भए पनि यस्तो संकटसँग कसरी जुध्ने भन्नेबारे म अझै अन्योलमा छु। यो बाढी जलवायु परिवर्तनको परिणाम हो, तर यसको विनाशकारी प्रभाव भ्रष्टाचार र सरकारी लापरवाहीले बढाएको छ। यस प्रकोपबाट उत्पन्न असंख्य दुःखद कथाहरू कसैले सुन्नेछैनन्।
म र मेरा साथीहरू राहत र उद्धार कार्यमा सक्रिय छौं, तर हामीलाई संस्थागत समर्थन छैन। यस्तो परिस्थितिमा सहयोग गर्न सक्ने अवस्थामा हुनु पनि एक प्रकारको विशेषाधिकार हो, जसले मलाई अपराधबोध महसूस गराउँछ। यस्तो अवस्थामा आशावादी रहन र अगाडि बढ्न कठिन भएको छ।
यद्यपि संकटकाे वेला समुदाय एकजुट हुनाले आशाको किरण देखाएको छ। हामी सबै मिलेर बाढीपीडितलाई सहयोग गर्न अगाडि आएका छौं। यसले के देखाउँछ भने, सरकार वा ठूला संस्थाको भन्दा समुदायको उद्धार बढी प्रभावकारी हुन्छ।
यस्तो परिस्थितिमा हामीले आफैं पहल लिनुपर्छ। जलवायु परिवर्तनका प्रभावबारे सचेत हुँदै हामीले जोखिममा रहेका समुदायको संकटबाट बच्ने सामर्थ्य बढाउन काम गर्नुपर्छ। यो संकटले हामी सबैलाई प्रत्यक्ष प्रभाव पारेको छ र यसैले यसको समाधानमा सक्रिय हुन प्रेरित गर्नुपर्छ।
अब एउटा प्रश्नले मलाई सताइरहेको छ- हामी यस स्थितिलाई सुधार्न के गर्न सक्छौं?
जबकि म यो लेखिरहेको छु, बाहिर फेरि भारी वर्षा भइरहेको छ, जसले हाम्रो कामको सान्दर्भिकता र महत्त्वलाई झन् बढाउँछ।
(लेखक भण्डारी हिमालयन वाटर प्रोजेक्टका सहसंस्थापक र फेलो हुन्, जहाँ उनले हिमालयका लागि जलवायु वित्त अवसरहरूमा अनुसन्धान नेतृत्व गर्छन्। नेपाली टाइम्सबाट अन्शु खनालले गरेको अनुवाद।अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)
सघाउने हातहरू : नागरिक समाजको कार्यले राहत र पुनर्वासमा रहेका खाडलहरू भरिरहेको छ।
- सामाजिक समुदायहरू: ९८५८००००००
- सुदन गुरुङ, हामी नेपाल
- सौरभ रिमाल, कर्मयोग फाउन्डेशन: ९८५११३९४१२
यो पनि पढ्नुहोस् :