इन्द्रेनीका यी रंग
कैयन् निराला प्राणीको विविध रंगको सप्तरंगी घोलबाट धरान जीवन्त बनेको थियो। ती रंगका छिर्का मेरो जीवनमा पनि परेको छ। त्यसैले इन्द्रेनीको त्यही रंग खोज्दै म घरीघरी पुरानो धरानमा फर्किरहन्छु स्मृतिको तरेलीमा।
निराला चाला थियो उसवेलाको धरानको। दुई जना बंगाली डाक्टर थिए आआफ्नो क्लिनिक चलाएर बसेका। उनीहरूसित जँचाउन धुइरिन्थे धरानका मानिसहरू। तैपनि उनीहरूको असली नाउँ थाहा पाइरहने लेठो गरिरहेनन्। मुखेन्जी ‘डाक्टरसाब’ भने पनि परोक्षमा उनीहरूलाई ‘खुइले’ र ‘भ्यागुते’ भनिरहे उनीहरू बाँचुन्जेल।
मानिसलाई उपनाम दिने, असली नाउँ बिगारेर वा त्यसमा केही थपेर चिनाउने वा बोलाउने चलन मानौं धरानको पेवा कर्म थियो। त्यस बाहेक उनीहरूबारे भए/नभएका उटपट्याङ किस्सा पनि जोड्ने गर्थे। उपनाम राखिमाग्नेले आफ्नो पिठ्युँ पछाडि आफूलाई अरूले के भन्छन् थाहा नहुने होइन। तर ऊ गर्न नै के सक्थ्यो र?
नेवार समुदायको बसोबास घना थियो धरान बजारको पुरानो बस्ती वा केन्द्र भागमा। गोपाल, नारायण, राम, कृष्ण हुने गर्थ्यो प्राय: त्यस समुदायका पुरुषहरूको नाउँ। अनि सबै मूल नाउँका पछाडि जोडिएको हुन्थ्यो प्रसाद र श्रेष्ठ। चार जना गोपालप्रसाद श्रेष्ठ छन्, सबै समकालीन। अब छुट्याउने कसरी? त्यस समस्याको समाधान लोकले आफ्नै तरीकाले गर्थ्यो। जस्तै: एक जना गोपालप्रसाद श्रेष्ठ ‘पाइलट गोपाल’ भनेर चिनिए। तिनी हवाईजहाज उडाउने धरानका पहिलो पाइलट थिए।
अर्का गोपाल कहलिए ‘कलकत्ते गोपाल’। किनभने व्यापारको सिलसिलामा तिनी कलकत्ता बराबर गइराख्थे र कलकत्ताबाट मालसामान ल्याएर बेच्ने गर्थे। कृष्ण वर्णका थिए तेस्रो गोपाल। तिनले सजिलै ‘काले गोपाल’ नाउँ पाए। चौथो गोपाल महेन्द्र कलेजमा लेक्चरर भए। उसवेला कलेजमा पढाउने जति सबै ‘प्रोफेसर’ कहलिन्थे। त्यसैले स्वाभाविक रूपमा तिनी ‘प्रोफेसर गोपाल’ हुन गए।
मेरो ९ र १० कक्षाको सहपाठीमा नै दुई जना गोपालप्रसाद श्रेष्ठ थिए। हाजिरी लिंदाखेरी हुने अलमललाई गोपाल श्रेष्ठ ‘ए’ र गोपाल श्रेष्ठ ‘बी’ भनेर छुट्याएका थिए हाजिरी लिने सरले।
त्यसैगरी, नारायणप्रसाद श्रेष्ठ पनि चार जना थिए, एउटै समयमा। उनीहरूलाई सजिलै चिन्ने उपाय पनि लोकले निकाल्यो। यी चारै जनाको नाउँ उनीहरूको शारीरिक चरित्रबाट रहन गएको थियो। एक जना नारायणको अनुहारमा बिफरको दाग थियो। तिनी सोझै भए ‘छ्याके नारायण’। दोस्रो नारायण होचा र पुड्का थिए। तिनी कहलिए ‘वाम नारायण’।
तेस्रो नारायण फूटबल खेलाडी थिए जो चिलले उड्दा पखेटा फिंजाए जसरी दुई हात फिंजाएर दौडन्थे। तिनले नाम पाए ‘बाँकटे नारायण’। चौथो नारायण अति दुब्लापातला थिए, करङ बाहेक जीउमा केही नभए जस्ता। तिनी चिनिए ‘करङे नारायण’ भनेर।
एक जना थिए गोकुल या यस्तै नाम गरेका शाह थरका तराई मूलका तन्नेरी। तिनको शरीरको रंग थियो पक्का युगान्डाको निवासीको जस्तो। सेतो भनेको उनका दाँत थिए। तिनलाई फेरि फूटबल खेल्न पर्ने, त्यो पनि स्ट्राइकर पोजिसनमा। अनि तिनले फूटबल लिएर अघि बढे कि “ए, ‘ह्वाइटम्यान’, हान हान!” भनेर दर्शक चिच्याउँथे। शरीरको रंगको बिल्कुल विपरीत लोकबाट ‘ह्वाइटम्यान’ को नाम पाएका थिए तिनले।
त्यस्तो तालको थियो धरानको चाल जतिखेर म स्कूलमा पढ्दै हुर्किरहेको थिएँ। आज उमेरले सात दशकको भन्ज्याङ पार गरिसक्दा जब म पछाडि फर्केर ती दिनहरूलाई हेर्छु अझै पनि धरानका केही निराला प्राणीलाई सम्झन्छु जसको सम्झना मेरो स्मृतिपटलमा नमेटिने गरी कुँदिएको छ।
तिनमध्ये केही यस्ता छन् :
एक थिए मानबहादुर शाक्य, जानेमाने प्रगतिवादी कवि। कविता लेख्नेहरूको कमी थिएन उसवेला धरानमा। कविता लेख्न लालायित देखिन्थे अलिकति पढालेखा भनाउँदा सबै जना। कविगोष्ठीहरूमा पनि कविता पढ्ने आफ्नो पालो पर्खिरहेका हुन्थे उनीहरू। निकै ठूलै जमात थियो नवोदित र स्थापित कविहरूको। तर मानबहादुर शाक्यको कवि हैसियत छुट्टै खालको थियो अरूभन्दा। अरू कतिपयको हकमा “ए त्यसले पनि कविता लेख्दो रहेछ वा त्यसले पनि गोष्ठीमा कविता सुनाएको थियो” भन्ने टिप्पणी आउन सक्थ्यो। तर मानबहादुर शाक्यको हकमा त्यो कुरा लागू हुन्नथ्यो। उनी कवि थिए र उनले कविकै पहिचान बनाएका थिए।
कवि भनेर मानेको थियो उनलाई धरानले। कथा, कविता, निबन्धहरू सँगालेर वेलाबखत निकालिने सामयिक संकलनहरूमा उनका कविता हुनु अनिवार्य थियो भने कुनै अवसर पारेर आयोजना गरिने कविगोष्ठीहरूमा उनको कविता वाचन अपेक्षित हुन्थ्यो। त्यस वेला उनको हिट खाएको कविता थियो ‘प्याट्रिस लुमुम्बालाई चिठी’। हरेक कविगोष्ठी र साहित्यिक भेलामा उनलाई त्यो कविता पढ्ने फर्माइस आउँथ्यो र उनी पनि बडो जोशखरोसका साथ वाचन गर्थे त्यो कविता श्रोताहरूको तालीका गडगडाहट निम्त्याउँदै।
प्याट्रिस लुमुम्बा अफ्रिकी महादेशको प्रजातान्त्रिक गणतन्त्र कंगोका लोकप्रिय निर्वाचित प्रधानमन्त्री थिए जसको नृशंस हत्या गरिएको थियो जनवरी १९६१ मा, राजा महेन्द्रले नेपालमा निर्वाचित संसद् र सरकार विघटन गरी शासनको बागडोर आफ्नो हातमा लिएको ठ्याक्कै तेह्र महीनापछि। कंगो बेल्जियमको औपनिवेशिक शासनको चंगुलबाट मुक्त भएपश्चात् गरिएको आमनिर्वाचनबाट लुमुम्बा प्रधानमन्त्री चुनिएका थिए। तर अमेरिकी गुप्तचर संस्था सीआईए, बेल्जियमको औपनिवेशिक पुरानो सरकार र मुलुकभित्रकै पुरातन शक्तिको मिलेमतोमा प्रजातान्त्रिक रूपमा निर्वाचित लुमुम्बाको सरकारलाई तीन महीना पनि टिक्न नदिई आन्तरिक तथा सैनिक विग्रह खडा गरेर आखिर उनको हत्या गरिएको थियो।
छोटो समयमै लुमुम्बा नवस्वाधीन र राष्ट्रिय स्वाधीनताका लागि औपनिवेशिक दासता विरुद्ध लडिरहेका अफ्रिकी मुलुकको प्रखर साझा आवाज बनेका थिए। अंग्रेजी अखबारमा त हाम्रो पहुँच थिएन। तर बनारसबाट प्रकाशित हुने हिन्दी भाषाको दैनिक अखबार आज भने हाम्रो टोलमै खुलेको लक्ष्मी वाचनालयमा नियमित तवरमा आउने गर्थ्यो र त्यसको माध्यमबाट म जस्ता स्कूले विद्यार्थीले पनि जानकारी पाएका थियौं कंगोको राजनीतिक उथलपुथल र लुमुम्बाको हत्याबारे। खुनी षड्यन्त्रकारीको मतियार भनेर हाम्रो मनमा घृणाभाव जागृत भएको थियो कंगोका राष्ट्रपति कासाभुबु र पृथक्तावादी नेता जोसेफ मोबुटुप्रति। लुमुम्बाको हत्याले संसारभरि नै तरंग उत्पन्न गरेको थियो विरोध, आक्रोश र निन्दाको।
त्यस तरंगले धरानको संचेतनालाई पनि झकझक्याएको थियो र त्यही तरंगित संचेतनालाई वाणी दिएको थियो मानबहादुर शाक्यको कविता ‘प्याट्रिस लुमुम्बालाई चिठी’ कविताले। उनको कवितामा अभिव्यक्त गरिएको थियो लुमुम्बाको हत्याप्रति आक्रोश, उनको मृत्युमा शोक, कंगोली जनताप्रति सहानुभूति, जनताका शत्रुलाई खबरदारी, अन्तर्राष्ट्रिय भाइचाराको उद्गार। उनको वाचन पनि त्यत्तिकै जोशिलो। व्यक्तिगत रूपमा मानिस पनि हँसिलो-रसिलो स्वभावका। उनको कवि प्रतिष्ठाबाट प्रभावित मानिसहरूलाई लाग्थ्यो कवि हुनु त मानबहादुर शाक्य जस्तो। प्रेरणा-पुञ्ज थिए उनी उदीयमान कविहरूका लागि। मानबहादुर शाक्यको ओज र पोजबाट प्रभावित भएर मलाई पनि कवि बन्ने काउकुती नलागेको होइन मेरा समवयका ठिटाहरूलाई जस्तै।
***
एक थिए चन्द्रशेखर श्रेष्ठ, धरानको सांस्कृतिक फाँटका पुरोधा। चैनपुरे साहु खलकका भईकन पनि पढाइलेखाइका कारणले होला वणिक् कर्ममा कहिल्यै लागेनन् उनी। बरु गाउँथे, बजाउँथे, कविता र नाटक लेख्थे। पढाए पनि उनले रात्रि हाइस्कूलको हेडमास्टर भएर। धरानमा डिजेल प्लान्ट राखेर बिजुली कम्पनी खुल्दा त्यसको जनरल मेनेजर भए। सदैव सक्रिय रहन्थे सामाजिक कार्यमा। व्यक्तिगत तवरमा मिजासिला र शिष्ट। भलाद्मी भन्ने विशेषण त उनी जस्तै व्यक्तिका लागि सिर्जित भएको हुनुपर्छ।
गीतसंगीत शायद उनको हृदयको नजीक थियो, आफू पेशेवर गवैया वा संगीतकार नभए पनि। त्यसैले सांस्कृतिक संस्थान नामक अनुष्ठान खोल्न पुगे, समान विचार र शोखका साथीहरू जुटाएर। जस्तो कि नामैले बताउँछ त्यस संस्थाको मकसद नै नृत्य, संगीतका कार्यक्रम र नाटकको आयोजन गर्नु थियो। ती मकसदलाई धेरै हदसम्म पूरा पनि गरेको थियो त्यस संस्थानले। त्यसको मूली भएर सक्रिय रहे चन्द्रशेखर निकै लामो समय धरानको सांस्कृतिक जागरणको क्षेत्रमा। अहिले काठमाडौंमा पनि ‘सांस्कृतिक संस्थान’ नामको निकाय छ संघीय सरकार अन्तर्गतको।
असलमा साबिकको राष्ट्रिय नाचघरको नाम बदलेर २०२८/२९ सालतिर गठन गरेको हो त्यो संस्थान पञ्चायती सरकारले। तर त्यस नामको सरकारी संस्थान गठन हुनुभन्दा घटीमा दस-एघार वर्षअघि नै चन्द्रशेखरहरूले खोलिसकेका थिए धरानमा त्यही नामको संस्थान। मान्नै पर्छ चन्द्रशेखर प्रभृतिको अग्रगामी दृष्टि र सोचलाई। काठमाडौंमा सरकारले समेत चन्द्रशेखरहरूले जुराएका नाम नकल गरेर टिप्न पुग्यो।
भन्न सकिन्छ, चन्द्रशेखर श्रेष्ठ नभएका भए दीप श्रेष्ठ हुने थिएन। किनभने सांस्कृतिक संस्थान खुल्ने थिएन, दीपले रामचन्द्र बनेपाली जस्ता संगीतकारको संगत पाउने थिएन, घरै छेउ खुलेको संस्थानमा गएर गाउन बजाउन सिक्न पाउने थिएन। तर धरानको सांस्कृतिक संस्थानले केवल दीपनारायण श्रेष्ठलाई दीप श्रेष्ठ बनाएन, अरू पनि कलाकारलाई प्रक्षेपण गरेको थियो। तिनमा एक जना थिए कालिकाप्रसाद शर्मा। पेशाले त ती गाडी चालक थिए, तर जन्मैले कलाकार। तिनी नाच्थे र संस्थानमा आबद्ध अरूलाई नाच्न सिकाउँथे। बाजामा मादल बजाउँथे। अनि वेलाबखत प्रहसन पनि गर्थे। हल्काफुल्का ‘क्यारिकेचर’ पनि गर्न भ्याउँथे। सांस्कृतिक संस्थानले ‘सांस्कृतिक कार्यक्रम’ गर्ने अनि कालिका शर्मा त्यसमा नहुने, त्यो सम्भव थिएन। चन्द्रशेखरकै छत्रछायामा हुर्केका कलाकार थिए कालिका शर्मा।
रामचन्द्र बनेपाली थिए सांस्कृतिक संस्थानका संगीतकार। हार्मोनियम त बजाउने भइहाले, उनको थप विशेषता थियो पियानो एकोर्डियन बजाउने दक्षता। उसवेलाको धरान जस्तो ठाउँमा उनले कहाँबाट पियानो एकोर्डियन फेला पारे, कसरी त्यो पाश्चात्य वाद्ययन्त्र बजाउन सिके त्यो आफैंमा उदेकलाग्दो छ। उनी भुइँफुट्टा संगीतकार थिए हुनन् विना गुरुका, रगतमै संगीतको धुन बोकेर आएका। उनी अरूका चाहिं गुरु जरूर भए। उनको पदचिह्न अनुसरण गर्दै उनका सहोदर भाइ बालमुकुन्द बनेपाली पनि संगीतकार नै बने।
शकुन्तला मास्के र इन्दिरा मास्के थिए दिदीबहिनी, धरानका लता मंगेस्कर र आशा भोसले। उनीहरू दुवै सांस्कृतिक संस्थानका लागि गाउँथे र दुई जनाको साथमा मिसिएर दीप श्रेष्ठ पनि गाउँथ्यो उनीहरू झैं नारी स्वरमा। किनभने दीपको पुरुष कण्ठ धेरै पछि गएर मात्र फुटेको थियो। पछि शकुन्तलाले भारतको बरोदामा गएर शास्त्रीय संगीतमा विशारद समेत गरिन् भने इन्दिरा मास्केले गोपाल योञ्जनको संगीतमा केही चर्चित गीत रेडियो नेपालमा गाइन्।
यी सबै कुराको श्रेय त प्रकारान्तरले घुमीफिरी चन्द्रशेखर श्रेष्ठ नामका ती सज्जन प्राणीलाई नै जान्छ।
जीवनको पछिल्लो कालमा आध्यात्मिक मार्ग अँगालेका थिए चन्द्रशेखरले। तैपनि संगीतप्रतिको उनको अगाध अनुराग उनले इटहरीको ‘संगीत साधना प्रतिष्ठान’लाई गरेको जग्गादानबाट पनि झल्किन्छ। उनले जग्गा दान दिंदाको प्रसंग पनि कम रोचक र नाटकीय छैन। संगीत साधना प्रतिष्ठानको भवन निर्माणका लागि तरहराको आँपगाँछी नजीक सार्वजनिक जग्गा उपलब्ध हुने भएपछि त्यसैसित टाँसिएको चन्द्रशेखरको थोरै जग्गा माग्न प्रतिष्ठानका राजु केसी धरान जान्छन्। त्यो जग्गा मिलेमा भवन निर्माणमा केही सुबिस्ता हुन्थ्यो र जग्गाको स्वरूप पनि राम्रो हुने थियो। जम्मा पाँच धुर थियो प्रतिष्ठानले मागेको जग्गा।
चन्द्रशेखरले कुनै नाइँनास्ति नगरी तुरुन्तै जग्गा दिन्छु भनिहाले। मागे जति जग्गा दान पाएकोमा फुरुङ्ङ भएर बाटो लागिसकेको राजुलाई चन्द्रशेखरले तत्काल डाके र भने, “मेरो विचार बदलियो बाबु। मैले अघि दिएको वचन म फिर्ता लिन्छु।” राजु केसी खङ्रङ्ग। अनि चन्द्रशेखरले मुस्कुराउँदै भने, “पाँच धुर मात्र होइन, म मेरो पूरै घडेरी संस्थालाई दान दिन्छु।” त्यो भनेको झन्डै एक कट्ठा जग्गा थियो आजको भाउमा जसको मोल घटीमा पनि दुई करोड रुपैयाँ हुन आउँछ। दान दिएकै बखत पनि एक करोड रुपैयाँ त पर्दो हो। आफ्ना सन्तानलाई हस्तान्तरण गर्न सकिने त्यस्तो मूल्यवान् अचल सम्पत्तिलाई सार्वजनिक हितका लागि त्यसरी एकै वचनमा सहजै सुम्पने काम चन्द्रशेखर बाहेक अरूबाट शायदै हुन सक्थ्यो। उनको दानशीलताका कारण आज खडा छ संगीत साधना प्रतिष्ठानको भवन। यस्ता उदारमना कहाँ पाउनु अहिलेको जुगमा?
***
एक जना थिए ‘सेन्डो’। अचेलभरि ‘सेन्डो’ शब्द प्रचलनमा रहेको पाइँदैन विना बाहुलाको भित्री गन्जीको हकमा बाहेक। तर उसवेला हट्टाकट्टा र सुगठित पहलमानी शरीर भएको व्यक्तिलाई ‘सेन्डो’ भन्ने चलन बसेको थियो। त्यस नामको कुनै जर्मन बडी-बिल्डर थिए क्यारे एक जमानामा। त्यसै हुनाले बलियो र तगडा पुरुषले सेन्डो विशेषण पाउँथ्यो। जस्तो, पछिल्लो समयमा बलिष्ठ पुरुषलाई दारासिंह भन्ने गरिन्थ्यो भारतीय कुश्तीबाजको नाममा। कसरी र कताबाट हो धरानमा पनि एक जना सेन्डो आइपुगे र चतरालाइनमा डेरा गरी बस्न थाले। सानोतिनो दोकान थापेका थिए तिनले।
फ्रेन्च कट दारी पालेका, कालो वर्ण, मध्यम उचाइ र गठिलो शरीरका ती सेन्डो पक्कै हिन्दूस्तानको कुनै ठाउँमा लामो समय बिताएर आएको हुनुपर्थ्यो। हिन्दी मिस्रित थियो तिनको बोलीको लवज। धरान यसै पनि गर्मी ठाउँ, धेरैजसो सेन्डो गन्जी र हाफ पाइन्टमै हुन्थे तिनी। आफ्नो मांसल शरीरको प्रदर्शन पनि तिनको अभीष्ट हुँदो हो। आएको धेरै समय नहुँदै तिनको नाम फैलेको थियो धरानमा। सेन्डो भनेर सबैले चिन्ने भएका थिए तिनलाई। तिनको असली नामबारे कसैलाई सरोकार थिएन। तिनी फूटबल पनि खेल्ने गर्थे। खेलमा निपुणताभन्दा पनि शारीरिक आकारका कारण तिनी चिनिएका थिए दर्शकमाझ।
तिनको एउटा विशेषता के थियो भने, तिनी फूटबल लात्तीले भन्दा टाउकाले धेरै फर्काउँथे अर्थात् ‘हेड’ गर्थे। लगभग तिनकै सिको गरेको थियो पछि हाम्रो दाँवलको भोटेपुल निवासी कुस लामाले जसलाई हामी कुसे भन्थ्यौं। कुसे पनि फूटबल हान्न खुट्टाभन्दा टाउको नै अघि सार्थ्यो। घुँडा घुँडा उचाइको फूटबललाई समेत दुई हात टेकेर भए पनि ऊ हेड गरेरै फर्काउँथ्यो।
***
एक थिए महेश पलिखे, धरानका जीताजागता अमीन सयानी। महेश पलिखेको नाउँ स्वाभाविक रूपमा जोडिएर आउँछ सेन्डोको प्रसंग चल्दा। बिफरले छाडेको हल्का दागयुक्त अनुहार भएका महेश पलिखे हँसमुख थिए स्वभावले। गहकिलो थियो तिनको गलाको आवाज। तिनको पेशा थियो दिनहुँ खुला विलिस जीपमा उभिएर माइकमा बोल्दै सिनेमा हलमा चलिरहेको फिलिमको प्रचार गर्नु। दायाँबायाँ फिलिमका ठूला साइजका पोस्टर झुन्ड्याइएको र सामुन्ने लाउडस्पीकर जोडिएको जीप गाडी धरानका कच्ची सडकमा धूलो उडाउँदै चक्कर लगाउँथ्यो बजार एरिया बाहेक फुस्रे, घोपा, खोल्सापारी, बाँझगरा सबैतिर।
धेरैजसो आधा बाहुलाको र छातीको माथिल्लो टाँक खोलिएको सेतो शर्टमा देखिन्थे महेश पलिखे। देब्रे हातले खुला जीपको डन्डी समातेका तिनको दाहिने हातमा हुन्थ्यो माइक्रोफोन, जुन माइक्रोफोनबाट आफ्नो भरिलो आवाजमा सम्भावित दर्शकहरूलाई महेश पलिखे सार्वजनिक आह्वान गर्थे– “आउनुहोस्, हेर्नुहोस्! शिवसिनेमाको रूपौलो पर्दामा (या रजतपटमा) अपार भीडका साथ (वा अपार सफलताका साथ) पहिलो (वा दोस्रो) हप्तामा चलिरहेछ फलाना फलाना अभिनीत फलाना फिलिम।” त्यस्तो जानकारीमा बहुधा संगीतकारको नाम पनि उल्लेख हुन्थ्यो जस्तै नौशाद, एस डी वर्मन, रवि, शंकरजयकिशन, ओ पी नैय्यर आदि। किनभने मुख्य कलाकारको भूमिका जत्तिकै फिल्मी संगीत पनि दर्शकहरूका लागि उत्तिकै आकर्षणको विषय हुने गर्थ्यो।
नाम चलेका निर्देशक भए महेश पलिखे तिनको नाम लिन पनि छाड्दैनथे, भन्थे– “महबूब खान वा विमल राय वा एस मुखर्जी आदि आदि द्वारा निर्देशित”। माइक घन्किएको आवाज सुन्नासाथ हामी केटाकेटीका कान ठाडा हुन्थे र प्रतीक्षा गर्थ्यौं फिलिम प्रचारक जीपको। जीपबाट पर्चा पनि छरिन्थे जुन पर्चामा फिलिमको छोटो कथानक परिचय, कलाकार, संगीतकार, निर्देशकको नाम अनि फिलिम देखाइने समय उल्लेख गरिएको हुन्थ्यो।
महेश पलिखेको बोल्ने त्यो अदा र आवाज देख्दा-सुन्दा लाग्थ्यो क्या गजबको नोकरी! जीप गाडीमा सरसर घुम्नु छ, माइकमा बोल्नु छ, सारा धरानवासीको आँखाको तारा बन्नु छ, सित्तैमा फिलिम हेर्न पाउनु छ। अहा! काम त यस्तो पो हुनुपर्छ! हुन पनि तिनको दैनिक माइकिङका कारण महेश पलिखेलाई नचिन्ने को पो थियो होला र त्यस वेला धरानमा। रेडियो सिलोनमा सुन्ने गरेको अमिन सयानीको प्रस्तुतिभन्दा कम लाग्दैनथ्यो महेश पलिखेको आवाज। ठूलो भएर महेश पलिखे जस्तो हुन पाऊँ भन्ने इच्छा मेरो केटाकेटी मनमा पनि नजागेको होइन। उनी हिरो थिए धेरैको नजरमा।
उनको त्यस हिरोपनबाट मोहित हुनेमा थिइन् चतरालाइनकी एक नवयौवना। महेश पलिखे जीपबाट माइकिङ गर्दै रोजै त्यो बाटो भएर गुज्रिने र ती नवयौवना बार्दलीबाट आँखा लडाउने। आँखैआँखाको भाकाबाट रोपिएको उनीहरूको प्रणय-पुष्पको बिरुवा समयसारमा पल्लवित भयो। एक दिन हल्ला चल्यो महेश पलिखेले ती नवयौवना प्रेमिकालाई भगायो। धरानमा चर्चाको विषय बनेको थियो उनीहरूको प्रेमगाथा र भागीबिहा। ती नवयौवना थिइन् सेन्डोकी एक मात्र छोरी।
***
धरानका बिर्सन नसकिने अर्का पात्र थिए रामकृष्ण डेन्टिस्ट। उनको र साथसाथै यमकुमार राईको प्रसंग म पुनरावृत्तिको दोष बेहोर्दै फेरि एक पटक यहाँ उल्लेख गर्दछु। यी दुई प्राणीबारे लगभग यही कुरा मैले यसअघि अन्यत्र लेखिसकेको छु। तथापि यिनको चर्चा यस आलेखमा प्रासंगिक ठहरिने हुनाले म त्यो दोष जानाजान बेहोरिरहेको छु।
रामकृष्ण डेन्टिस्ट धरानका पहिलो र एक मात्र डेन्टिस्ट थिए लामो समयसम्म धरानमा। धेरै पछाडि हो चन्द्रशेखर श्रेष्ठका भाइ बुद्धिमान श्रेष्ठ डेन्टिस्ट्री पढेर आएका। तर तिनले धरानमा क्लिनिक चलाएनन्। सेतो हाफ प्यान्ट र आधा बाहुलाको सेतै कमीज अनि आँखामा कालो चश्मा चढाएर बेलुकीपख निस्कन्थे रामकृष्ण डेन्टिस्ट धरानको सयर गर्न आफ्नो भटभटेमा। केही घुम्रिएको कपाल तेल लगाएर सिनित्त कोर्ने गर्थे र उनको मुहारको चिनारी थियो प्रस्ट देखिने सुनको दाँत। उनको ‘बीएसए’ वा ‘ट्राइम्प’ यस्तै कुनै ब्रान्डको मोटरसाइकल थियो जसको भ्याटभ्याटे आवाज टाढैबाट सुन्न सकिन्थ्यो। अघिल्तिर हावा छेल्ने भाइजर जडान गरिएको थियो त्यस मोटरसाइकलमा। उसवेला धरानमा मोटरसाइकल हुने र चढ्ने सम्भवत: उनी एक्ला थिए। धेरै पछि हो माधवराज जोशीले सानो पांग्राको स्कूटर ल्याएर धरानमा चढेका।
कुनै फूटबल टुर्नामेन्टको फाइनल या महत्त्वपूर्ण फूटबल म्याच रामकृष्ण डेन्टिस्टले दुवै टीमको ग्रूप फोटो नखिंची शुरू हुँदैनथ्यो। खेलाडीहरू लहरै उभिएर फोटो खिच्न तयार भइसकेपछि बल्ल यासिकाको बक्स क्यामेरा घिच्रोमा झुन्ड्याएर रामकृष्ण डेन्टिस्ट मैदानमा विना हतारो आरामसित पदार्पण गर्थे, कुनै विशिष्ट अतिथिको पारामा। मैदानमा आएर पहिले त आफू उभिएर फोटो खिच्ने ठाउँको दूरी तय गर्थे र आफू अगाडि उभिएका खेलाडीलाई हातले दायाँबायाँ सर्न वा अघि बढ्न या पछि हट्न इशारा गर्थे। म्याच हेर्ने दर्शकको चौ चौलाई अझ उकास्दै बडो आरामसित फोटो खिच्थे र उसरी नै नहतारीकन मैदानबाट बाहिरिन्थे जसरी मैदानमा प्रवेश गरेका हुन्थे दर्शकहरूको ध्यान आफूतिर तान्दै।
मानिस भन्थे– उनले खिचेको फोटो खेलाडीहरूले पाउने कुरा त परै जावोस् हेर्न पनि पाउन्नथे। किनभने उनको क्यामेरामा फोटोरील नै हुँदैनथ्यो रे। केवल शान देखाउन उनी तस्वीर लिन मैदानमा ओर्लन्थे। जे भए पनि फूटबल म्याच शुरू हुनुअघि उनले फोटो खिच्नुपर्ने अलिखित नियम झैं थियो र धरानका दर्शकले त्यस कर्मकाण्डलाई सहजतासाथ स्विकारेको थिए। फूटबल म्याच बाहेक धरानमा कोही नामगिरामी व्यक्ति वा सेलिब्रेटी आएका बखत आयोजना गरिएको कार्यक्रममा पनि रामकृष्ण डेन्टिस्ट क्यामेरा लिएर अगाडि पुग्थे अरूलाई पन्छाउँदै।
***
एक थिए यमकुमार राई। तिनी थिए स्त्रैण स्वभावका। गुन्युचोलो लगाएर नारी भेषमा स्टेजमा नाच्ने। सबै उनलाई कान्छा भनेर चिन्थे र कान्छा भनेरै बोलाउँथे। यद्यपि उनको हाउभाउ र बोल्ने हिंड्ने तरीका थियो कान्छीको जस्तो। सानो उमेरकाले कान्छादाइ भन्थे भने हाम्रो दाँवलका केटाहरू उनलाई कान्छामामा भन्थ्यौं उनको भान्जा हाम्रो साथी भएकाले। सांस्कृतिक कार्यक्रम भनिने नृत्य संगीतको आयोजनमा यमकुमार कान्छाको उपस्थिति अनिवार्य झैं थियो। आफू नाच्नु बाहेक उनी अरूलाई पनि नाच्न सिकाउँथे। नाच्ने कलाकारको शृंगार गर्ने जिम्मा पनि उनैको हुन्थ्यो। उनी एक हिसाबले डान्स डाइरेक्टर र मेकअप म्यान दुवै थिए। ‘ब्यूटीपार्लर’ नभएको उसवेला चिनजानका मानिसहरू यमकुमार कान्छालाई नै बोलाउँथे बिहाबटुलमा बेहुलीलाई सिंगार्न। त्यस्तो थियो यमकुमार कान्छाको चिनारी।
यहाँनिर यमकुमार कान्छाको एउटा रमाइलो प्रसंग रामकृष्ण डेन्टिस्टसित जोडिन्छ। स्वघोषित फोटोग्राफर त उनी छँदै थिए। त्यस बाहेक रामकृष्ण डेन्टिस्टको अर्को शोख पनि थियो। त्यो शोख थियो नृत्य संगीतको कार्यक्रममा मन परेको कलाकारलाई नगद पुरस्कार दिने। माइकमा घोषणा हुन्थ्यो- “डाक्टर रामकृष्णले फलाना कलाकारलाई उनको प्रस्तुतिबाट प्रसन्न भएर रु. १० नगद पुरस्कार दिनुभएको छ।” अनि शानसित स्टेजमा गएर डेन्टिस्ट आफ्नै हातले कलाकारलाई दिन्थे नगद पुरस्कार। एक पटक त्यस्तो १० रुपैयाँको नगद पुरस्कार यमकुमार कान्छाले पाए उनको नृत्यमा डेन्टिस्टको हातबाट।
किस्सा के छ भने, १० रुपैयाँको नगद पुरस्कार थापेको भोलिपल्ट बिहानै रामकृष्ण डेन्टिस्टका अनुचर यमकुमार कान्छाकहाँ आयो र भन्यो– “डाक्टरसाबले भनेको हिजो उहाँले दिएको १० रुपैयाँ फर्काउनु रे।” यमकुमार कान्छाले ‘डाक्टरसाबले मलाई इनाम दिएको पैसा कहाँ फर्काउँछु’ भनेर फर्काउन मानेनन् र अनुचर खाली हात फर्क्यो। त्यसपछि अर्को कुनै दिन रामकृष्ण डेन्टिस्टले यमकुमारलाई बाटामा भेट्दा पैसा किन नफर्काएको भनी सोधे। यमकुमारले भने, “मलाई इनाम दिएको पैसा पनि म कहाँ फर्काउँछु र?” रामकृष्ण डेन्टिस्टले भने, “मैले दिएपछि अरूले पनि तँलाई इनाम दिन्छन् भनेर पो दिएको त।”
“त्यस्तो कहाँ हुन्छ र, म त फर्काउँदिनँ इनाम पाएको पैसा,” यमकुमार कान्छाले जिद्दी गरे। त्यसपछि रामकृष्ण डेन्टिस्टले यसो भने, “कान्छा, अब म तँलाई कहिले पनि इनाम दिन्नँ।”
यस्तो ‘प्राक्टिकल जोक’ सितिमिति अरू ठाउँमा कहाँ सुन्न पाइन्छ?
डेन्टिस्ट रामकृष्णको व्यक्तित्व जतिसुकै रोबदार र रंगीन भए पनि ममा उनी जस्तो डाक्टर बनूँ भन्ने आकांक्षा कहिल्यै पल्हाएन। हो, उनको जस्तो भटभटेमा चढ्ने रहर भने जरूर जागेको थियो।
***
यस्ता निराला प्राणीहरूबाट निर्माण भएको थियो धरानको उसवेलाको सामाजिक-सांस्कृतिक परिवेश जुन परिवेशमा म हुर्कन पाएको थिएँ। यहाँ उल्लेख भएका पात्र त केवल नमूना हुन्। यस्ता अरू पनि कैयन् थिए जसका अनेक किस्सालाई सम्झन सकिन्छ र जसबारे लेख्न सकिन्छ। ती निराला चरित्रले आआफ्नै रंग भरेका थिए धरानको इन्द्रधनुषी रंगको समाजमा। धरान जीवन्त बनेको थियो यिनै प्राणीको विविध रंगको सम्मिश्रणबाट निर्मित सप्तरंगी घोलबाट। ती रंगका छिर्का मेरो जीवनमा पनि परेको छ नि:सन्देह। त्यसैले इन्द्रेनीको त्यही रंग खोज्दै म घरीघरी पुरानो धरानमा फर्किरहन्छु स्मृतिको तरेलीमा।
हिमाल दशैं साहित्यका थप सामग्री: